भर्खरै :

चीनमा कोरोनाविरुद्धको स्वदेशी खोप प्रयोगको स्वीकृति

पेइचिङ, २ जनवरी (सिन्ह्वा) । चीनले आफ्नो देशमा निर्माण भएको कोरोना भाइरसविरुद्धको खोपलाई यहाँ प्रयोग गर्ने अनुमति बिहीबार दिएको जनाएको छ । चीनको एक सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी बायालोजिकल प्रोडक्ट् इन्स्टिच्युट प्रोडक्ट्स लिमिटेडको साइनोफार्मले तयार पारेको कोरोना भाइरसविरुद्धको सो खोपको भारतमा प्रयोग गर्न पाइने गरी अनुमति दिएको हो ।
बिहीबार सो खोपको सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् । सो खोप अब चिनियाँहरूले आफ्नो देशमा प्रयोग गर्न पाउने भएका छन् । त्यस्तै सरकारी मातहतमा रहेको उक्त औषधि कम्पनीले उत्पादन गरेको उक्त खोप चीनमा प्रयोग र त्यसको सार्वजनिकरूपमा ओसारपसार गर्ने तथा बिक्री वितरण पनि गर्न पाइने भएको पनि सो समाचारमा जनाइएको छ ।
चाइना नेसनल बायोटेक ग्रुपले सो खोपको निर्माण निकै पहिलादेखि गरेको भनी चीनमा प्रचार गरिएको थियो । उक्त कम्पनीद्वारा उत्पादित सो खोपको तीन चरणसम्म परीक्षण गरिएको थियो । सो परीक्षणपछि पछिल्लो पटक आएको यसको प्रभावकारिताको परिणाममा यस खोपको ७९.३४ प्रतिशतसम्म काम गर्ने भनेर यसको प्रभावकारिता देखिएको पाइएको थियो ।
त्यसपछि यो खोपको प्रयोगका लागि अनुमति दिइएको हो । बिहीबारबाट सो खोप चीनमा सार्वजनिकरूपमा प्रयोगमा ल्याइने बताइएको छ । उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप प्रभावकारी देखिएको जनाएपछि त्यसको भोलिपल्ट नै अर्थात् बिहीबारमात्र चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन् ।
चीनमा अरू पनि केही खोपहरू परीक्षणमा रहेको बताइएको छ । अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपत्कालीनरूपमा प्रयोगमा ल्याउने भन्दै यसको तयारी गरी राखिएको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले बताएका छन् ।
सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर उहानबाट कोरोना भाइरसको महामारी सुरु भएको थियो । क्रमिकरूपमा विश्वभर फैलिएको कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न कुनै औषधि र खोप पनि बनेका थिएनन् । जसका कारण विश्वका कैयौँ देशले पनि कडा खालका प्रतिबन्धहरू लागू गर्दै सङ्क्रमणको दर घटाउने प्रयासमात्र गरेका थिए । सोही माध्यमबाट सङ्क्रमणको दरलाई निकै कम राख्न चीन भने सफल भएको छ ।
बिहीबार चीनमै विकास गरिएको खोपको सार्वजनिक प्रयोगका लागि दिइएको पहिलो स्वीकृति हो । चीनले गत जुलाईमा आपत्कालीन प्रयोगका लागि तीनवटा खोप स्वीकृत गरेको थियो । त्यसरी वितरण गरेका ती खोपहरूमा चीनले त्यहाँ हालसम्म करिब ४५ लाखभन्दा बढी मात्रा खोपहरू वितरण गरिसकेको जनाएको छ ।
यी सार्वजनिकरूपका वितरणहरू गरेर चीनले फेब्रुअरी महिनामा पर्ने चिनियाँ नयाँ वर्षकोे मध्यसम्ममा यहाँका करोडौँ सर्वसाधारणलाई कोरोनाविरुद्धको खोप लगाउने अपेक्षा गरिएको यहाँका स्वास्थ्यका अधिकारीहरूले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *