भर्खरै :

विदेशी सहायताले देश विकास मृगतृष्णा

देशको विकास गर्नुपर्नेमा सायदै कसैको दुईमत होला तर देश विकासको बहानामा राष्ट्रिय ढुकुटीको ब्रम्हलुट धेरैअघिदेखि चल्दै आएको विसङ्गति हो । शासकहरूले जब देशको ढुकुटी कम देख्न लाग्यो विकासको नाममा विदेशीसित हात फैलाउने र सहायता बटुल्ने प्रवृत्ति थाले । साँचिकै देशको विकास हुन्छ भने विदेशी सहायता पनि ठीकै हो भनी सबैले स्वीकार गरे । केही विदेशी सहायता साँचिकै विकासको निम्ति सहायक नै भयो । विगतमा सोभियत सङ्घ, चीन, भारत, स्वीट्जरल्यान्ड, इटालीलगायत मित्र देशहरूले नेपालमा सडक पूर्वाधार निर्माण गरिदिएका थिए । सोभियत सङ्घ र चीनले त कैयौँ स्थानीय स्रोतमा आधारित उद्योगहरू स्थापना गरी सञ्चालनको तालिम समेत दिएका थिए । देशमा आर्थिक उदारीकरणको नीति लागू भएपछि ती उद्योगमध्ये धेरै कौडीको मोलमा स्वदेशी र विदेशी पुँजीपतिहरूलाई बेचियो । पछि पछि पूर्वाधार विकासको क्षेत्रमा प्राविधिक सहयोगलाई अस्वीकार गरी आर्थिक सहयोगमात्र माग्ने र दिने चलन आयो । तर त्यसरी आएको सहयोगको धेरै प्रतिशत भ्रष्टाचारमै सकिने र योजनाअनुरूपको कार्य कहिल्यै पूरा नहुने विकृति देखियो । विदेशी सहयोग शासकहरूको व्यक्तिगत र पारिवारिक सम्पत्ति बढाउने र विदेशी बैङ्कहरूमा पैसा थुपार्नका लागि मेसो बन्यो । विदेशी सहायता भित्रिएको रकमको आधारमा नेपाल त विश्वमा नभए पनि एसियामै सबैभन्दा विकसित देश हुनुपर्ने थियो तर त्यो सपनामा मात्रै सीमित रह्यो । हाम्रो जस्तो देशमा विदेशी सहायताले देश विकास हुने सपना देख्नु मृगतृष्णामात्र हो । देशवासी आफैले विकासका लागि आ–आफैले र मिलेर केही नगरेसम्म देशको अवस्था बदलिन सम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *