भर्खरै :

पृथ्वीनारायण शाह : एक नायकको खोजी

सिँहदरबारको नाकैसामु उभिएको पृथ्वीनारायण शाहको सालिक शासक पार्टीका नेताहरूको चुनावी कलेवरलाई चुनौती दिएजस्तै फूलमाला र अबीरले ढाकेको देखिरहँदा र हप्तैपिच्छे ‘ठूला’ अखबारहरूमा ‘पृथ्वीगान’ पढिरहँदा केही प्रश्नले घोचिरहन्छन् । पृथ्वीनारायण शाह यति नै स्तुत्य हुन् भने शाह वंश किन ढल्यो वा ढालियो ? यस प्रश्नको चित्तबुझ्दो जवाफ पृथ्वीगानलाई स्थान दिने र शाहीकालमा वाक् स्वतन्त्रताको हाँक लगाएका ती अखबारहरूले दिनुपर्दैन ? यसको उत्तर ‘राजतन्त्र फाल्ने’ काङ्ग्रेस र नेकपाका आफ्नो जमानाका ‘क्रान्तिकारी’ हरूले दिनुपर्दैन ? राप्रपाको कुरा छोड्ने हो भने पनि काङ्ग्रेस र नेकपा दुवैमा पृथ्वीनारायण शाहको ध्वजा बोक्ने नेता, कार्यकर्ता र बुद्धिजीवीको सङ्ख्या उल्लेख्य छ । तसर्थ, पृथ्वीनारायण शाह नामको बाकस नेपालमा पूरै खुल्न बाँकी रहेको देखापर्छ ।
पृथ्वीनारायण शाहको जुन ‘विराटस्वरूप’ आज हाम्रासामु छ, त्यस स्वरूपका रचनाकारहरूमध्ये धेरैजसो ‘व्यासहरू’ दरबारी वा दक्षिणपन्थी हुन् । नमीठो लागे तापनि यहाँ उनीहरूमध्ये अगुवाहरूको नाम लिनु उचितै हुन्छ । बाबुराम आचार्य, सूर्यविक्रम ज्ञवाली, योगी नरहरिनाथ, नयराज पन्त र उनका शिष्यजस्ता इतिहासकारहरू यस कोटीमा आउँछन् । त्यसबाहेक कतिपय आधुनिक कहलिएका इतिहासकारहरू समेत नायक निर्माणको यज्ञमा धेरथोर होम चढाउने गर्छन् । विदेशी इतिहासकारहरू पृथ्वीनारायण शाहको मूल्याङ्कनमा विभाजित छन् । उनीहरूमध्ये धेरैजना ‘मूलधार’ मा हिँड्न खोज्छन् । राजतन्त्र छँदा डरको माहोल थियो भन्न सकिन्छ । तर, त्यसपछि पनि पृथ्वीनारायण शाहको विश्लेषणमा उल्लेख्य परिवर्तन आएको छैन । कोही उनलाई अत्यन्त विद्रुप शासकको रूपमा चित्रण गरेर थाक्दैनन् भने कोही उनलाई ईश्वरका अवतारसिद्ध नगरी कुरा बिसाउँदैनन् ।
पृथ्वीनारायण शाह खासमा सामन्ती समाजका प्रतिनिधि शासक थिए । संसारभर सामन्ती समाज जमिनको उपज वा भूदासहरूको शोषणमा आधारित हुन्छ । त्यसकारण सामन्ती युगमा अब्बल खेत र धनसम्पत्ति हात पार्ने होडमा ससाना राजामहाराजा वा युद्धसरदारहरूबीच लडाइँहरू चलिरहन्छ । विजित भूभागका किसानहरूको शोषणपछि सेना झन् मोटाउँछ र राजाले अर्को राज्य ताक्छ । द्रव्य शाहले गोर्खा राज्य हत्याउनुमा यस्तै सामन्ती मानसिकताले काम गरेको थियो । दाजु नरहरि शाह लमजुङका राजा छँदाछँदै अर्को राज्यको राजा बन्ने सोच द्रव्य शाहको महत्वाकाङ्क्षा थियो । त्यो महत्वाकाङ्क्षा तत्कालीन सामन्ती समाजको मनोदशाभन्दा बाहिर थिएन । कठोर भूगोलले गर्दा गोर्खा अति गरिब राज्य थियो । यसको हेक्का गोर्खाली शासकहरूलाई थियो ।
पृथ्वीनारायण शाहकी जेठी आमा चन्द्रप्रभावतीको माइत पाल्पा थियो । इतिहासकार स्टिलरले सेन राज्यका मुकुन्द सेनलाई पृथ्वीनारायण शाहभन्दा अगाडि ‘आधुनिक नेपालका पिता’ बन्ने सौभाग्य गुमाएका राजा भनेका छन् किनभने उनले पाल्पादेखि पूर्व कोसी क्षेत्रसम्म ‘एकीकरण’ गरेको भूभाग छोराहरूबीच अंशबन्डामा तीन टुक्रा पारेका थिए । माइती राज्यबारे जानकार चन्द्रप्रभावतीले नरभूपाल शाहमा काठमाडौँ उपत्यका कब्जा गर्ने महत्वाकाङ्क्षा जगाइन् । काठमाडाँै हान्ने तर्खरमा नुवाकोटको लडाइँ हारेपछि नरभूपालमा राजपाठप्रतिको रूचि हरायो । चन्द्रप्रभावतीले पृथ्वीनारायण शाहको लालनपालन गरिन् र उनको मनमा राज्य विस्तार गर्ने महत्वाकाङ्क्षा भरिदिइन् । यही महत्वाकाङ्क्षा पूरा गर्न पृथ्वीनारायण शाहलाई भक्तपुरको राजदरबारमा शिक्षादीक्षा लिन पठाइएको थियो । भक्तपुर राजदरबारमा बसेर पृथ्वीनारायण शाहले उपत्यकाको समाज र राजनीतिको अध्ययन गरेका थिए भनी इतिहासकार बिहरले लेखेका छन् ।

पृथ्वीनारायण शाहको अङ्ग्रेज नीतिबारे चर्चा गरौँ । दिव्य उपदेशमा उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्दै अङ्ग्रेजहरूबारे सतर्क हुन सुझाएका छन् । जर्मन इतिहासकार बिहरले यस विषयमा पान्डोराको बाकस खोलेका छन् । ‘नेपाल ः देवताहरूको उपहार’ नामक पुस्तकमा उनी लेख्छन्, “अङ्ग्रेज सरकारले गोर्खालीहरूलाई हातहतियार दिएको थियो तर यो तथ्य नेपाली इतिहासका पुस्तकहरूमा लुकाइएको छ । त्यस विषयमा गरिएको गुप्त सन्धि अहिले पनि लन्डनको इस्ट इन्डिया कम्पनीको अभिलेखमा सुरक्षित छ । सन्धिपत्रमा कप्तान सियन र गोर्खालीले हस्ताक्षर गरेका थिए । अङ्ग्रेज सरकारले हतियार र सल्लाह प्रदान गर्ने र गोर्खालीहरूले भारत र चीनबीचको पुरानो व्यापार मार्ग ध्वस्त गर्नुपर्ने सहमति भएको थियो । नेपालका मल्लहरूसँग भारतका मुगलहरूको राम्रो व्यापारिक सम्बन्ध थियो र यस मार्गबाट हुने व्यापारले मुगल सम्पत्तिको ३० प्रतिशत हिस्सा ओगट्थ्यो । बेलायतीहरूले यही धनमा आँखा गाडेका थिए । दस्तावेजअनुसार, पृथ्वीनारायण शाहले ८ सय थान बन्दुक र २१ जना बेलायती सल्लाहकारहरू पाएका थिए । बेलायती हतियार र परामर्श पाएर गोर्खालीहरूले १७६६ मा कीर्तिपुर आक्रमण गरे ।” तर्कले पनि यसै भन्छ ।

पृथ्वीनारायण शाहमा लिच्छविकालमा छिन्नभिन्न हुन पुगेको ‘विशाल हिन्दु राज्य एकीकरण गर्ने विलक्षण प्रेरणा पलाएको’ भनी दक्षिणपन्थी इतिहासकारहरूले लेखेजस्तो कुनै लक्षण इतिहासमा भेटिन्न । बरु, उनको प्रेरणा विशुद्ध आर्थिक थियो भन्ने कुरामा नेपालका आर्थिक इतिहासकारहरू एकमत छन् । उपत्यका विजयपछि पृथ्वीनारायण पूर्वी भेगका लडाइँहरूमा प्रत्यक्ष सहभागी नहुनुले पनि उपत्यका नै उनको मूल ध्येय थियो भन्ने प्रस्ट हुन्छ । उपत्यकाको राजनीति मिलाउन उनी काठमाडाँैमा बसेका थिए भन्ने तर्क आउँछ । तर, उनको सैन्य व्यक्तित्वबारे बढाइचढाइ गर्नेहरूले भनेजस्तो उनी महान् सैनिक थिए वा ‘एकीकरण’ नै उनको ‘महान् प्रेरणा’ हुन्थ्यो भने यवन सम्राट सिकन्दरले जस्तै प्रशासकहरू नियुक्त गरेर उनी अन्य राज्य कब्जा गर्न जानुपर्ने थियो । त्यस्तै अर्को तर्क आउँछ, पृथ्वीनारायण शाहले ‘एकीकरण’ नभई ‘राज्यविस्तार’ गरेको भए देशको नाम ‘नेपाल’ नराखेर ‘गोर्खा’ राख्ने थिए । वास्तवमा उनले २५ वर्षसम्म लगातार लडाइँ, छलकपट, षड्यन्त्र र नाकाबन्दीपछि बल्लतल्ल उपत्यका हत्याएका थिए । उपत्यकाका जनता चिढाएर उनी थप जोखिम मोल्न चाहँदैनथे । त्यसकारण, उनले देशको नाम ‘गोर्खा’ राख्न सक्दैनथे । तथापि राजकाजमा उनले गोर्खाली र शत्रु देशका विश्वासघातीहरूलाई मात्र ठाउँ दिए । आफ्ना वरिपरिकाहरूलाई मात्र कब्जा गरिएको भूभाग बाँडेर उनले पन्पछ्याइँ गरे । इतिहासकार स्टिलर मुगल दरबारमा समेत नातावाद वा कृपावादको अभ्यास नभएको समयमा पृथ्वीनारायणको व्यवहार ‘आसेपासे पोस्ने’ रहेको लेख्छन् । सेनामा खाली केही जाति विशेषलाई स्थान दिइएकोले नै नेपाल एक राष्ट्र बन्न नसकेको इतिहासकार रेग्मीले लेखेका छन् ।
पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट ‘नेपाल चार जात छत्तिस वर्णको फूलबारी’ भन्ने वाक्यको अति प्रचार गरिन्छ । दिव्य उपदेश उनले मर्नुभन्दा केही वर्षअघि दिएको इतिहासकार आचार्यको मत छ । पृथ्वीनारायण शाहको जीवनकालमा उपरोक्त ‘उपदेश’ पालन भएको प्रमाण कतै पाइन्न । कीर्तिपुरको युद्धमा उनी युद्धको मर्यादाभन्दा पर गई पाशविक बनेको देखिन्छ । अन्तर्घातका कारण तेस्रो गोर्खाली आक्रमणमा पराजित भएपछि आम माफीको सर्तमा कीर्तिपुरले आत्मसमर्पण गरेको थियो भनी इतिहासकार लेभीले लेखेका छन् । तर, आफैले कबुल गरेको सर्तभन्दा विपरीत पृथ्वीनारायणले कीर्तिपुरे नागरिकहरूको ओठ र नाक काट्न र घरहरू जलाउन लगाएका थिए । आफ्ना विश्वासपात्र कालु पाँडे र भाइ सुरप्रतापको आँखा फोरिएकोले आवेगमा आएर उनले यसो गरेको भन्ने केही इतिहासकारको तर्क छ । आजका केही औतारी दक्षिणपन्थी इतिहास–उद्यमीहरूले यस प्रकरणलाई निराधार र विदेशी इतिहासकारहरूको ‘षड्यन्त्र’ भन्दै छन् । माल्थसको थोत्रो सिद्धान्त खोक्दै नामी लेखक सौरभले वामपन्थी इतिहासकारहरूप्रति विषवमन गरेको धेरै भएको छैन । फासीवादीहरूले जनताको इतिहासचेत मेट्न खोज्छन् भनेको यही पो हो कि ?!
कीर्तिपुरको लडाइँमा पृथ्वीनारायण झन्डै मारिएका थिए । कीर्तिपुरे सैनिकले राजा मार्नु हुँदैन भनी युद्धको मर्यादामा बसेको हुनाले मात्र उनी जोगिएका थिए । त्यसैगरी कालु पाँडे मारिनु र सुरप्रताप कानो बनाइनुलाई पनि युद्धको नियम नै मान्नुपर्छ । पृथ्वीनारायणको मनमा साँच्चै ‘फूलबारी’ को सत्वगुण हुन्थ्यो भने हतियार बिसाइसकेको कीर्तिपुरमा तमोगुण देखाउँदैनथे । काठमाडाँैका पुराना बस्तीवरिपरि खस बस्ती बसालेर रैथाने सभ्यतालाई दबाउने काम गर्दैनथे । यसलाई अर्को अतिवादी दृष्टिबाट हेर्नु पनि समीचिन देखिन्न । शाहवंश नेवारविरोधी थियो भन्नु अर्को अतिवाद हो । उपत्यकाका कैयन् नेवार घरानालाई शाह राजाहरूले हातमा लिएका थिए । उपत्यका कब्जाकै क्रममा पाटनका प्रधानहरूले उनलाई आफ्नो देशको राजा बन्न निम्तो दिएका थिए । त्यसमाथि चौबीसी र बाइसी राज्यहरू त खस राज्य नै थिए । तथापि, राज्यविस्तारका क्रममा गोर्खालीहरूले त्यहाँ अनेक जालझेल र विश्वासघात गरेका थिए, हत्याकाण्ड र लुटपाट मच्चाएका थिए । खस राज्य जुम्लाका विद्रोही परिवारका बालबच्चामध्ये कसैलाई जिउँदो नछोड्नु भन्ने उर्दी दिइएका दस्तावेजहरू रेग्मी अभिलेखमा पढ्न पाइन्छ । तुलनात्मकरूपमा बलियो किराती भेगमा गोर्खालीहरूले त्यहाँका मुखियाहरूलाई किपट प्रथा कायम गर्न दिएका थिए । फेरि राज्यविस्तारका कारण १२०० घर गोर्खालीहरूमध्ये सबै परिवार शासक वा मौजामालिक बनेका थिएनन् ।
पृथ्वीनारायण शाहलाई ‘एकीकरणकर्ता’ देखाउने वैचारिकीमा अर्को एक भाष्य पनि पाइन्छ । इतिहासकार आचार्यले भारतमा आएको इस्ट इन्डिया कम्पनीले हडप्ला भनी पृथ्वीनारायण शाह नेपाल ‘एकीकरण’ को ‘महान्’ पथमा लागेको लेखेका छन् । पृथ्वीगान गाउने कथित इतिहास शिरोमणीको प्रयास फोस्रो थियो किनभने गोर्खामा उपत्यका कब्जा गर्ने योजना बन्ने बेला भारतमा अङ्ग्रेज दबदबाको कुनै सङ्केत थिएन । यसबारेमा इतिहासकार स्टिलरले बहुपक्षीय व्याख्या गरेका छन् ।
पृथ्वीनारायण शाहको अङ्ग्रेज नीतिबारे चर्चा गरौँ । दिव्य उपदेशमा उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुल भन्दै अङ्ग्रेजहरूबारे सतर्क हुन सुझाएका छन् । जर्मन इतिहासकार बिहरले यस विषयमा पान्डोराको बाकस खोलेका छन् । ‘नेपाल : देवताहरूको उपहार’ नामक पुस्तकमा उनी लेख्छन्, “अङ्ग्रेज सरकारले गोर्खालीहरूलाई हातहतियार दिएको थियो तर यो तथ्य नेपाली इतिहासका पुस्तकहरूमा लुकाइएको छ । त्यस विषयमा गरिएको गुप्त सन्धि अहिले पनि लन्डनको इस्ट इन्डिया कम्पनीको अभिलेखमा सुरक्षित छ । सन्धिपत्रमा कप्तान सियन र गोर्खालीले हस्ताक्षर गरेका थिए । अङ्ग्रेज सरकारले हतियार र सल्लाह प्रदान गर्ने र गोर्खालीहरूले भारत र चीनबीचको पुरानो व्यापार मार्ग ध्वस्त गर्नुपर्ने सहमति भएको थियो । नेपालका मल्लहरूसँग भारतका मुगलहरूको राम्रो व्यापारिक सम्बन्ध थियो र यस मार्गबाट हुने व्यापारले मुगल सम्पत्तिको ३० प्रतिशत हिस्सा ओगट्थ्यो । बेलायतीहरूले यही धनमा आँखा गाडेका थिए । दस्तावेजअनुसार, पृथ्वीनारायण शाहले ८ सय थान बन्दुक र २१ जना बेलायती सल्लाहकारहरू पाएका थिए । बेलायती हतियार र परामर्श पाएर गोर्खालीहरूले १७६६ मा कीर्तिपुर आक्रमण गरे ।” तर्कले पनि यसै भन्छ । चाणक्य नीतिअनुसार छिमेकी देशको शत्रु मित्र हुन्छ । जसरी पनि काठमाडाँै उपत्यका हत्याउने सपना साँचेका चतुर पृथ्वीनारायणले छिमेकी मकवानपुर र कान्तिपुरका शत्रुहरू नगुहारेका होलान् भनी पत्याउन गाह्रो छ । मकवानपुरका मित्र मीर कासिम थिए र मीरका शत्रु अङ्ग्रेजहरू थिए । जहाँसम्म अङ्ग्रेज कप्तान किन्लकको सैन्य टोली जयप्रकाश मल्ललाई सघाउन आएको र गोर्खालीहरूसँग उनीहरू हारेको प्रसङ्ग छ, त्यसलाई इतिहासकार बिहरले ‘मैले हानेझैँ गर्छु, तँ रोएझैँ गर’ भनेका छन् । उनको विवरण सत्य हो भने इतिहासकार आचार्यको तर्क उल्टो सावित हुन्छ । त्यसबाहेक दिव्य उपदेशमा पृथ्वीनारायण शाहले दिएको सल्लाह उदाङ्गिन्छ र त्यसबाट ‘सर्पको खुट्टा सर्पले नै देख्छ’ भन्ने उखान पुष्टि हुन पुग्छ । बिहरको पुस्तकले पृथ्वीनारायण शाहको नखोलिएको बाकस झट्टै खोल्नुपर्ने जिम्मेवारी नेपाली इतिहासकारहरूको काँधमा राखिदिएको छ । एक हक्की नेपाली इतिहासकारले देशलाई एउटा ठूलो भ्रमबाट मुक्ति दिलाउने यस्तो मौका नगुमाउला । इतिहासकारले लन्डन जाने हिम्मत गर्नैपर्छ ।
नेपाली इतिहासकारले गर्नुपर्ने अर्को काम पनि छ । पृथ्वीनारायण शाहको दिव्य उपदेशबारे विद्वानहरूबीच एकमत छैन । दिव्य उपदेश १९५० को दशकमा मात्र फेला परेको र त्यसको भाषिक शैली पृथ्वीनारायण शाहका अन्य कागतपत्रभन्दा फरक भएको तर्क दिँदै भाषाविद् कमलप्रकाश मल्लले दिव्य उपदेशको आधिकारिकतामाथि सशक्त प्रश्न उठाएका छन् । दिव्य उपदेशकै विषयमा पुस्तक लेखेका इतिहासकार स्टिलरले समेत त्यसका कतिपय सन्दर्भ बाझिएको चर्चा गरेका छन् । जस्तो, सानोमा पृथ्वीनारायण भक्तपुरमै बसेका थिए । तर दिव्य उपदेशमा मकवानपुरको ससुरालीमा बेइज्जती भोगेर चन्द्रागिरीको बाटो फर्किँदा आफूले ‘नेपाल कुन हो’ भनी सोधेको र एक सहयात्रीले ‘त्यो भादगाउँ, त्यो पाटन र त्यो काठमाडौँ’ भनी देखाएको उनले उल्लेख गरेका छन् । त्यस्तै, कहिले उनी नेपाललाई भारत, चीन, रुस र रोमका चार सम्राटबाट खतरा भएको बताउँछन् भने कहिले तुर्क, मगर र मुगलहरूबाट खतरा भएको बताउँछन् । दिव्य उपदेशमा बाझिएका प्रसङ्गबारे विदेशी इतिहासकार वेल्पटनले आफ्नै शैलीमा प्रतिउत्तर दिएका छन् । उनको विचारमा दिव्य उपदेश एकै बसाइमा नभनिएर बेलाबखत पृथ्वीनारायणले बोलेका कुराको टिपोट हुनसक्छ । त्यसो हो भने उनले सबै गुरूपुरोहित, थरघर, भाइभारदार र बुढापाका डाकेर दिव्य उपदेश दिएको भन्ने योगी नरहरीनाथहरूको दाबी असत्य सावित हुन्छ । त्यसैगरी, दिव्य उपदेशको मूल पाठमा आफूलाई ईश्वरले नै काठमाडाँै जित्ने आशीर्वाद दिएका प्रसङ्गहरूको चर्चा पृथ्वीनारायणले गरेका छन् । उपदेश सार्वजनिक हुँदा नेपालका बहुसङ्ख्यक जनता धर्मभीरु थिए र नेपाल एक हिन्दू अधिराज्य थियो । त्यसैले दिव्य उपदेशमार्फत राजसंस्थाको लोकप्रियता बढाउन खोजिएको त थिएन भन्ने आशङ्का उठ्छ । जेहोस्, यी विषयलाई किनारा नलगाएसम्म पृथ्वीनारायणको ऐतिहासिक छवि पूर्ण हुने छैन । यसको वैज्ञानिक निक्र्योल गर्ने जिम्मा नेपाली भाषाविद् र इतिहासकारहरूको हो ।
पृथ्वीनारायण शाहको समयमा नेपाल ५० भन्दा बढी भुरेटाकुरे राज्यहरूमा विभक्त थियो । ती राज्यहरू समाज विकासक्रमअनुसार कुनै अघि बढेका थिए त कुनै राजतन्त्रसम्म पनि पुगेका थिएनन् । त्यतिबेला एउटा राजाले अर्को राज्य हडप्नु सामान्य थियो । यसले विजित राज्यका दास वा भूदासहरूको वर्गीय स्थितिमा कुनै फेरबदल हुने थिएन । शोषणको कहर कमबेसी हुनसक्थ्यो । सांस्कृतिक असर पर्नसक्थ्यो । जस्तो, राज्यको जमिन बढ्दै जाँदा भूदासले बुझाउनुपर्ने कुतको मात्रा घट्न सक्थ्यो । विजयी शासकले आफ्नो संस्कृति थोपरेर हारेको राज्यका जनताको भाषा र संस्कृति आफूअनुकूल ढाल्न सक्थ्यो वा आफ्नो संस्कृति थोपरेर तिनको संस्कृति मास्न सक्थ्यो । गोर्खाली विजयका कारण शासकहरूले पूर्व–पश्चिम छरिएका अन्य जातिमा प्रचलित प्राकृतिक संस्कृति भ्रष्ट पारेको र हिन्दुकरण थोपरेको डोरबहादुर विष्टलगायत नेपाली समाज र संस्कृतिका अध्येताहरूले लेखेका छन् । उपत्यकामा गोर्खालीहरूले नै तल्लो जातिका मानिसलाई छुवाछूतको बन्देज लगाएको विद्वानहरूको मत छ । सारमा पृथ्वीनारायण शाहको ‘एकीकरण’ मा जमिन थप्ने र आफ्ना भाइभारदारलाई मोटाउन हाल्ने काम भएको थियो । यही उनको उद्देश्य थियो । ‘चार जात, छत्तिस वर्णको माला उन्नु’ उनको ध्येय थिएन । यो कुरा उनको जीवनकालमात्र होइन, त्यसपछिको अढाइ सय वर्षको नेपाली इतिहासले पुष्टि गरिसकेको छ । यसकारण पृथ्वीनारायण शाह राज्यविस्तारको क्रममा मौजा, बिर्ता वा जागीर पाएर लाभान्वित भएका सामन्तहरूका नायक थिए । नेपालमा शाहवंश सामन्ती व्यवस्थाको रक्षक थियो । दलाल पुँजीवादसँग सम्झौता गर्न नसक्दा उसको मूलोच्छेदन भयो । (नेपालमा दलाल पुँजीवादको संरक्षक को हो, भनिरहनुपर्दैन ।) दलाल पुँजीवादले कुनै भरपर्दो नायक प्रस्तुत गर्न नसकेपछि पतनोन्मुख दक्षिणपन्थीहरूले पृथ्वीनारायण शाहलाई नायकको रूपमा उभ्याउन खोज्दै छन् । सत्य के हो भने, दलालहरू कहिल्यै नायक बनेको इतिहास छैन । शाहकालमै पनि राणा रजाइँका १०४ वर्षहरूमा अङ्ग्रेजको दलाली, चाकडी र चाप्लुसीको उदाहरणीय अभ्यास भएको थियो । त्यसकारण, ९७ सालका सहिदहरूलाई नेपालीहरूले आफ्नो नायक माने । उनीहरू विदेशी आशीर्वादले भन्दा पनि जनताकै तहबाट माथि उठेका थिए ।
पृथ्वीनारायण हुँदैनथे भने के हुन्थ्यो होला (?!) भन्दै दक्षिणपन्थीहरू र तिनको होमा हो मिलाउने र नायकको खोजमा तल्लीन रहने आधुनिक बुद्धिजीवीहरूले सर्वसाधारणलाई ‘फिरङ्गी’ हरूको भय देखाउने गर्छन् । (हिजोआज फिरङ्गीको ठाउँमा भारतीय विस्तारवादलाई राख्ने गरिन्छ ।) यस्तो प्रश्नले लिओ टोल्सटोयको एउटा लघुकथा स्मरण गराउँछ – “लुटेराहरू आफ्नो मौजामा लुटपाट गर्न आएपछि एक जमिनदारले आफ्नो घोडालाई भनेछ, ‘छिटो दौडी । नत्र डाँकाहरूले लुट्लान् ।’ घोडाले सुनेको नसुन्यै गरेछ । जमिनदारले कर गर्दै भनेछ, ‘छिटो भाग । नत्र तँलाई डाँकाहरूले भारी बोकाउलान् ।’ घोडाले भनेछ, ‘हजुरले के बोकाउनुभएको थियो त मालिक ?’ जमिनदार हस्याङफस्याङ गर्दै भागेछ ।” कथाको मर्म हो – शोषकहरू फेरिँदैमा जनसाधारणका दैनिक पीरव्यथा वा शोषण फेरिँदैन । यसको अर्थ पृथ्वीनारायणको ठाउँमा अर्को नारायण आउने थिए । त्यसो हुन नसक्दा फिरङ्गीहरूले सारा भारत निलेझैँ हिमालमुनिको यो भूखण्ड निल्न सक्थ्यो । त्यसले के फरक पथ्र्यो ? कथाको घोडाले सोधेझैँ सम्पूर्ण नेपाली श्रमजीवी जनताले सोध्नुपर्छ – के अढाइ सय वर्षसम्म नेपाली राजामहाराजा र बाबुसाहेबहरूले देशका बहुसङ्ख्यक कामदार जनतालाई आफ्नो ऐøयासी र मोजमज्जाको भारी बोकाएका थिएनन् ? तिनका बिर्ता वा मौजामा कसले ढाड भाचुञ्जेल मिहिनेत गरेको थियो ? तिनका घोडेटा र राजमार्ग खन्न कसले खन्ती र गैँटी चलाएको थियो ? तिनको जमिनको भोक शान्त पार्ने लडाइँ धान्न कसले गोलाबारुद र बन्दुक बनाएको थियो ? शत्रुहरूको गोलाबारीमा कसले छाती थापेको थियो ? तिनीहरूको रातोपिरो र खाइलाग्दो मुहार कसले चम्काइदिएको थियो ? तिनले थोपरेको जातपातको छोइछिटोमा कसको जीवन खस्केको थियो ? के तिनको शासन व्यवस्थामा घोडाको जीवनले कोल्टो फे¥यो ?
टोल्सटोयको कथाबाट टिप्पणीकार नेपालमा विदेशी हस्तक्षेपले केही फरक पर्दैन भन्ने निष्कर्षमा पुगेको मान्नु गलत हुनेछ । सामन्ती समाजको नियमअनुसार राजाहरू आउँछन्, जान्छन् । तर, जस्तोसुकै उतारचढावबीच किसान र शिल्पकर्मीहरूले राज्यसत्ता धानिरहेका हुन्छन् वा शासकहरूलाई पालिरहेका हुन्छन् । जस्तो, राणाहरू आए, नेपाल र नेपालीलाई अङ्ग्रेजका भाडाका टट्टु बनाए, अर्थतन्त्र परनिर्भर बनाउँदै लगे र अन्तमा सारा सम्पत्ति कुम्ल्याएर मोजमज्जाको जीवन बिताउन भारतका विभिन्न सहरतिर भागे । उनीहरूसँगै नेपालका तमाम मजदुर, किसान र पेशाकर्मीहरू भागेनन् नि ¤ अन्तिम निष्कर्षमा राज्य शासकहरूको भन्दा बढ्ता शोषित, दलित र उत्पीडितहरूको हुन्छ, हेपिएका चेपिएकाहरूको हुन्छ । यसरी हेर्दा, पृथ्वीनारायण शाह अर्थान्तरले नेपाल ‘राज्य निर्माणका अगुवा’ बन्न पुगे । याद गर्नुपर्ने कुरा के पनि हो भने, किसान र शिल्पीहरूबिना नेपाल राज्यको निर्माण सम्भव थिएन । पृथ्वीनारायणका सिपाहीहरू किसान परिवारबाटै आएका थिए । तर ‘साम्राज्य निर्माणको अगुवाइ’ लाई नै ‘महान्’ भन्ने हो भने हिन्दुस्तानको ‘एकीकरण’ गर्ने कुटिल अङ्ग्रेज लर्डहरूलाई भारतीय जनताले बर्सेनि फूलमाला चढाइरहनुपर्ने हुन्छ । कलिङ्गका लाखौँ जनताको नरसंहार गर्ने सम्राट अशोकको पूजा गरिरहनुपर्ने हुन्छ । स्कटल्यान्ड र आयरल्यान्डमा बेलायती महारानीहरूको स्तुति गाइनुपर्ने हुन्छ । चिनियाँहरूले कुब्ला खाँलाई र रुसीहरूले सम्राट पिटरलाई एकताको प्रतीक मान्नुपर्ने हुन्छ । त्यसैगरी, पृथ्वीनारायण शाहको ‘असल हिन्दुस्तान’ को सोच ‘राष्ट्र निर्माण’ को कुँजी बन्न सक्दैन । उनी नेपाली ‘राष्ट्रनिर्माता’, ‘राष्ट्रनायक’ वा ‘राष्ट्रिय एकताका प्रतीक’ होइनन् र हुन सक्दैनन् किनभने ‘राष्ट्र’ मान्छेको भावनासँग जोडिएको कुरा हो । यस भावनालाई उनी र उनका सन्ततीको सामन्ति शासनले पटकपटक कुल्चेको र टुक्राएको थियो । यसको पराकम्पन जातीय, क्षेत्रीय र भाषिक मनमुटावका रूपमा अझै पनि देशभरि महसुस गरिन्छ । यद्यपि नेपाल बहुसांस्कृतिक र बहुभाषिक राज्य हो । आपसी सम्मानमा नै नेपाली राष्ट्र फल्छ फुल्छ ।
टोल्सटोयका उत्पीडित देशवासीहरूले उनको कथाको सन्देश बुझे । रुसीहरू आपसी सम्मानका आधारमा एउटै क्रान्तिकारी वर्गमा उनिए । सन् १९१७ मा समाजवादी अक्टोबर क्रान्ति गरेर उनीहरूले शोषणकारी राज्यको लगाम आफ्नो हातमा लिए र एउटा शोषणविहीन समाज निर्माणको सपना साकार पार्न मिलेर अघि बढे । नेपालका बहुसङ्ख्यक मजदुर, किसान र अन्य पेशाकर्मीहरूले इतिहासका खण्डहरहरूमा शोषक वर्गका नायकहरूमध्ये आफ्नो नायक रोज्ने वा खोज्ने होइन, बरु आफै शासक र नायक बन्ने हिम्मत जुटाउनुपर्छ र समग्र देशलाई गोलबन्द गर्ने समाजवादी क्रान्तिको ऐतिहासिक कार्यभार पूरा गर्नपट्टि लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *