बाढीले ‘टुहुरा’ बनेका ५ सय भन्दा बढी बालबालिकाको भविष्य अनिश्चित !
- आश्विन ९, २०८३
असार १५ गते ‘राष्ट्रिय धान दिवस’
हरेक वर्ष नेपाल सरकारले असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदै आइरहेको छ । सरकारले कहिले गमलामा धान रोपेर, कहिले खेतमै पुगेर हिलोमाटो गर्दै महिलामाथि अभद्र व्यवहार गरेर त कहिले खुट्टा र जुत्तामा हिलो माटो लाग्ला भनेर आलीमा बसेर धान रोपी राष्ट्रिय धान दिवस मनाइएको हामी सबैले देखेका छौँ ।
तर, यसपालिको धान दिवस खोकना–बुङ्गमतीको वर्षौँदेखि ‘राष्ट्रिय गौरव योजना’को नाममा कब्जा गरिराखेको फास्टट्रयाकको जीरो किलोमिटर शुभारम्भ क्षेत्र खुडोल फाँटमा किसान सङ्घर्षको रूपमा रोपाइँ गरी धान दिवस मनाइयो ।
खोकना र बुङ्गमती जनसरोकार समितिको आह्वानमा राष्ट्रिय धान दिवस २०७७ को अवसर पारेर रोपाइँ गर्न असार १५ गते खोकनाका किसानहरू खुडोल फाँट पुगे ।
सामाजिक सञ्जालमा सूचना जारी गरी स्थानीय वडा सरकारलाई पनि अवगत गराई गरिएकोे रोपाइँ कार्यक्रम बिथोल्न प्रहरीहरूले रोपाइँ स्थलको भूमि घेरेका थिए ।
रोपाइँ गर्न किसानहरू खेतमा पुगे, तीन वटा ट्याक्टरले बाँझो जग्गा खन्न थाले । खोलाबाट पानी तानियो र रोपाइँ भयो ।
दुई सय प्रहरीले खेतमा घेरे पनि किसानले ट्याक्टर जोते । प्रहरीहरूसँग ठेलमठेल र घम्साघम्सी भयो । प्रहरीले ट्याक्टर रोक्न पटक–पटक प्रयास गरे ।
प्रहरी प्रशासनको शक्ति नपुगेपछि थप सशस्त्र प्रहरी र दङ्गा प्रहरी परिचालन भयो ।
सशस्त्र र दङ्गा प्रहरीसामू खोकना–बुङ्गमतीका महिला किसानहरूले पहरा दिए भने पुरुष किसानहरूले प्रहरीको अगाडि नै सुतेर प्रहरीको अवरोध रोके । रोपाइँ रोक्न आउने प्रहरीको ललितपुर जिल्ला प्रशासन प्रमुख सीडीओ र गृह मन्त्रालयमा नियमित सम्पर्क गर्दै स्थलगत रिपोर्टिङ्ग हुँदै थियो ।
किसानहरूको आन्दोलनलाई रोक्न नसकेपछि त्यही दिन ४ बजे सीडीओ कार्यालयमा छलफल गर्ने सर्कुलर प्रहरीले आन्दोलनकारीलाई दिए ।
प्रहरी प्रशासन ४ बजे रोपाइँ रोकेर आन्दोलनकारीलाई आफूसँगै छलफलमा लिएर जान चाहन्थ्यो । तर, जनसरोकारवाला किसानहरूले रोपाइँ सकेरमात्र छलफलमा बस्न सकिने भन्दै रोपाइँलाई निरन्तरता दिए ।
साँझ ४ बज्न लाग्दा प्रहरी प्रशासनले छलफलमा गएर टुङ्गो लगाऔं भन्दै अवरोध गर्न खोज्दा फेरि घम्साघम्सी भयो । रोपाइँ ६ बजेसम्म चालू रह्यो, आन्दोलनकारी कोही छलफलमा गएनन् । स्थानीय ललितपुर महानगरपालिका वडा नं. २० का वडा अध्यक्षलगायत रोपाइँ रोक्न चाहनेहरू सीडीओ कार्यालय पुगेका थिए ।
जनसरोकार समितिका साथीहरूको अनुपस्थितिमा वडा अध्यक्ष अब अर्को जग्गामा रोपाइँ गर्न दिँदैनौँ भनेर सीडीओको अगाडि वचन दिएर फर्केका थिए ।
असार १५ गते प्रहरी प्रशासनको अवरोध हुँदाहुँदै खोकनावासीले किसान आन्दोलनको रूपमा रोपाइँ गरे ।
पहिलो दिनको रोपाइँ कार्यक्रममा एकजना वृद्ध किसानले अग्रपङ्क्तिमा बसेर बरु ‘गोली ठोक, गर्धन काट, हामी रोपाइँ रोक्दैनौँ’ भनेर प्रहरीलाई चुनौती दिएका थिए । महिलाहरूले प्रहरीलाई खेतमा पस्न नदिन पहरा दिए । सयौँ युवाहरूले ‘फास्टट्रयाक चाहिँदैन, भोकै मार्न पाइँदैन’ नारा लगाई प्रहरीलाई रोके ।
कार्यक्रममा जनसरोकार समिति बुङ्गमतीका अध्यक्ष अष्ट महर्जन र सचिव महेन्द्र ब्रह्माचार्यले पनि पीडित किसानहरूको धान रोपाइँको सङ्घर्षमा सहयोग गर्नुहुनेलाई धन्यवाद दिँदै खोकना र बुङ्गमती संरक्षण र कृषि भूमि सुरक्षित गर्ने सङ्घर्षमा सधैँ साथ रहने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा कृष्णशरण डंगोलले किसानहरूको सङ्घर्ष सफल हुने बताउनुभयो ।
आफ्नो खेतमा धान रोप्न गएका खोकनाका किसानमाथि प्रहरी दमन
जनसरोकार समिति खोकनाको आह्वानमा असार २० गते दोस्रो पटक खोकनाको खुडोल फाँटमा सशस्त्र प्रहरी र प्रहरीको हवाईफायर, अश्रुग्यास र लाठी प्रहारबीच पीडित किसानहरूले रोपाइँ गरे ।
‘राष्ट्रिय गौरवको योजना’ मानिएको फास्टट्रयाक निर्माण गर्न स्थानीय किसानहरूको असहमतिबीच जबरजस्ती अधिग्रहण गरिएको जमिनमा किसानहरूले धान रोप्न जाँदा प्रहरीले दमन गरेको हो । धान रोपिरहेका किसानलाई रोक्न प्रहरीले दमन गरेको थियो ।
किसानहरू रोपाइँमा व्यस्त भइरहेको बेला रोपाइँमा संलग्न किसानहरूलाई तितरवितर पार्न सुरक्षाकर्मीले लाठी प्रहार गर्नुका साथै १७ थान अश्रुग्यास र तीन राउन्ड हवाईफायर गरेका थिए ।
सुरक्षाकर्मीको लाठी प्रहारबाट दुर्गाराम डंगोल, विद्या श्रेष्ठ, मनोज महर्जन, राजकुमार महर्जन, उज्ज्वल डंगोललगायत एक दर्जनभन्दा बढी किसान घाइते भएका थिए । प्रहरी दमन र अवरोधबीच किसानहरूले रोपाइँलाई निरन्तरता दिइरहे ।
किसानहरू खेतमा पुग्नुअघि नै बन्दुकधारी सुरक्षाकर्मीहरू रोपाइँ गर्ने ठाउँमा घेरा हालेर बसेका थिए । प्रहरी दमनमा उत्रने सम्भावनालाई ध्यानमा राखी आयोजकले सोही फाँटको अर्को खेतमा धान रोप्ने योजना बनाएका थिए । अर्को पीडित किसानको खेतमा धान रोप्दै गर्दा प्रहरी रोपाइँ स्थलमा जान खोज्दा रोपाइँमा सहभागी युवाहरूले बाटोमा छेकेका थिए । बाटोमा छेकेर नाराबाजी गरेपछि सुरक्षाकर्मीहरू जबरजस्ती अघि बढ्न खोज्दा घण्टौँसम्म घम्साघम्सी भएको थियो । घम्साघम्सी भइरहेको बेला सुरक्षाकर्मीहरूको सङ्ख्या थपिएको थियो । रोपाइँमा संलग्न युवाहरूलाई तितरबितर पार्न सुरक्षाकर्मीहरूले चारैतिर घेर्ने प्रयास गरेका थिए । सयौँ किसानहरूले उत्साहपूर्वक धान रोपेका थिए ।
रोपाइँ सकेपछि सोही स्थानमा समापन कार्यक्रम भएको थियो ।
कार्यक्रममा जनसरोकार समितिका अध्यक्ष नेपाल डंगोलले आफ्नै थातथलोको जग्गामा रोपाइँ गर्दा र अधिकारको निम्ति आवाज उठाउँदा पनि बन्दुकधारी प्रहरी तैनाथ गरेर हिंसा भड्काउने कार्य गरेको बताउनुभयो ।
स्थानीय आदिवासी जनतालाई विस्थापित गर्ने षड्यन्त्र वर्तमान सरकारले गरिरहेकोमा रोष व्यक्त गर्दै उहाँले आफ्नै खेतमा धान रोप्दा पनि आतङ्क मच्चाउने सरकारको निन्दा गर्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारले रोपाइँलाई आन्दोलनसँग जोडेर अघि बढ्न बाध्य बनायो, हाम्रो आन्दोलन जारी छ ।”

सरोकार समितिका उपाध्यक्ष कृष्णभक्त डंगोलले रोपाइँ स्वाभिमानी स्थानीय आदिवासी जनताको आन्दोलन हो, खुडोल फाँटमा सुरक्षाकर्मीलाई निषेधित गर्नुपर्छ भन्नुभयो ।
सभामा महेन्द्र ब्रह्माचार्य, दुर्गाराम महर्जन, बुङ्गमतीका पीडित किसान कृष्णशरण डंगोलले स्थानीय जनतालाई भोका–नाङ्गा बनाउने सरकारको निन्दा गर्दै काठमाडौँ उपत्यका सुरक्षित हुनुपर्छ भन्नुभयो ।
रोपाइँ सुरू हुनुअघि खोकनाको रूद्रायणी मन्दिरको प्राङ्गणबाट जुलुस सुरू भएको थियो । धिमाय् बाजाका साथ सबै किसानहरूलाई रोपाइँमा सहभागी हुन आह्वान गर्दै सुरू भएको सो जुलुसमा रोपाइँका लागि आवश्यक कुटो, कोदालो, धानको बीउसहित हजारौँ युवा र महिलाहरू सहभागी भएका थिए ।
किसानको भूमि फिर्ता गर, नेपाली सेना खोकना छोड– सक्छौ भने सिमाना जाऊ, जीवन त्याग्न सजिलो– माटो छोड्न गा¥हो, उर्वर भूमिमा डोजर होइन–कोदालो चलाउने हो, कर्मशील किसानलाई होइन–बन्दुक सीमा मिच्नेलाई तेस्र्याऊ आदि नारा लगाई जुलुस खुडोल फाँट पुगेको थियो ।
जुलुस सुरू भएपछि घर–घरबाट किसानहरू जुलुसमा सहभागी भएका थिए । खेतमा घाँस गोडमेल गरिरहेका महिलाहरू पनि जुलुस र रोपाइँमा थपिएका थिए ।
शान्तिपूर्वक रोपाइँमा सहभागी किसानहरूमाथि प्रहरीबाट भएको दमनको विरोधमा शनिबार बेलुका खोकनामा मसाल जुलुस आयोजना गरिएको थियो । मसाल जुलुसमा सहभागीहरूले जनभावनाविपरीत अघि बढे सरकारको प्रतिरोध जारी रहने भन्दै प्रहरी दमनको निन्दा गरेका थिए ।
असार १५ गते धान दिवसको दिन खोकानाका किसान र प्रहरीबीच पटक–पटक घम्साघम्सी र ठेलमठेल गर्दै रोपाइँ कार्य सम्पन्न भएको थियो । असार १५ गते जस्तै असार २० गते पनि खोकनाका पीडित किसानको आन्दोलनमा उपत्यकावासी किसानहरू खोकना खुडोल फाँट पुगी धान रोपेर ऐक्यबद्धता जनाएका थिए ।
असार १५ गते किसानहरूले खेत घेरेर प्रहरीलाई धान रोपाइँमा अवरुद्ध गर्न रोकेजस्तै २० गते रोपाइँ नै गर्न नदिने तयारी प्रहरीको थियो । तर, आन्दोलनकारी किसानहरूले रोपाइँको स्थल अन्तै गरेको प्रहरीले चाल नै पाएनन् । प्रहरीको घेरा नाघेर जुलुस अगाडि बढ्यो । किसानहरूले गन्तव्यमा पुगेर रोपाइँ गरे । निश्चित जग्गामा रोपाइँ गर्दैगर्दा प्रहरीहरू रोपाइँस्थलमा रोपाइँ रोक्ने उद्देश्यका साथ परिचालन भयो । प्रहरी आएपछि आन्दोलनकारीहरूले बीचमै रोक्ने प्रयास गरे । युवा, महिला, किसानलगायत रोपाइँमा पुगेकाहरूले आधा घण्टाजति नारा लगाउँदै घम्साघम्सी चल्दै थियो । प्रहरी कमान्ड डीएसपी रोपाइँ रोक्न आदेश दिँदै उत्तेजित पार्ने काम गरेका थिए । प्रहरी एजेन्ट प्रोभेकेटरहरूले प्रहरीमाथि माटो के फालेको थियो, प्रहरीले लाठी बर्सायो । ६ पटक हवाई फायर गरियो र २३ वटा अश्रुग्यास छाड्यो ।
लाठीचार्जबाट दर्जनौँ घाइते भए भने प्रहरी पनि घाइते भए । हानेको टियर ग्यास प्रहरीतर्फ फर्काइयो र प्रहरी तितरबितर भएको थियो । एकजना महिलामाथि माटोको ढिस्कोमा प्रहरीले लगातार लाठी बर्साएर घाइते बनाएको थियो । हवाईफायर, अश्रुग्यास र लाठीले प्रहरी दमन हुँदा पनि खेतमा रोपाइँ रोकिएको थिएन । खेतमा ट्याक्टर जोत्दै, महिलाले रोपाइँ गर्दै कामलाई निरन्तरता दिइएको थियो । लाठी चार्जको बीचमा आन्दोलनकारीहरूले किसान प्रहरी एक होऔँ, फास्टट्रयाक फर्काऔँ, प्रहरी हामी साथीसाथी, फास्टट्रयाक चाहिँदैन–किसान मार्न पाइँदैन, किसान एकता जिन्दावादजस्ता नारा लगाएपछि फेरि शान्त भएको थियो ।
ललितपुर महानगरपालिका वडा नं.२० का अध्यक्षले रोपाइँ रोक्ने प्रतिबद्धता दिएर आएको खुलासा गर्दै जनप्रतिनिधि नै जनताको भक्षक भएकोमा जनताले विरोध गरे ।
साउन ३ गते
खोकनाको धान रोपाइँ किसान सङ्घर्ष
साउन ३ गते खोकोना जनसरोकार समितिको आह्वानमा फास्टट्राय्कलगायत खोकनाका किसानहरूको उठीबास गराउने कथित गौरवशाली योजनाको विरोधमा तेस्रो दिनको रोपाइँ कार्यक्रम भयो । खोकनाको सांस्कृतिक धरोहर सिकाली चौर परिसरबाट बिहान ९ः३० बजेबाट धान रोपाइँमा सहभागीहरूको जुलुस निस्केको थियो । सांस्कृतिक बाजागाजासहित हजारौँ सङ्ख्यामा ब्यानर बोकेर जुलुस खुडोल फाँटतिर लाग्दा खेतमा प्रहरीले घेरेको थियो । हजारौँको जुलुससहितका किसानहरू उर्लेपछि जनशक्तिको बलमा प्रहरी प्रशासन फिर्ता गएको थियो । किसानहरूले रोपाइँ गरेका थिए ।
रोपाइँ चल्दै गर्दा धेरै सहभागी आन्दोलनकारीहरूले प्रहरी तैनाथ भएको नदेख्दा आज नारा जुलुस गर्न नपाइने भयो भन्दै दुःखेसो पनि पोखेका थिए । सहभागीहरूले साउन ३ गते पनि प्रहरीसँग झडप होला, अश्रुग्यासको सामना गर्नुपर्ने होला भनेर आफ्नो साथमा प्याज र रुमाल पनि बोकेका थिए ।
जनशक्तिको अगाडि प्रहरी प्रशासनको केही सीप लागेन । बाध्य भएर प्रहरी फर्केको थियो । प्रहरी फर्केपछि रोपाइँ भएको थियो ।

असार १५ र २० गतेको बाँकी खेतमा रोपाइँ सम्पन्न भयो भने थुपारिएको माटोमा भटमास, मास, मकै छरिएको थियो । पहिला रोपेका खेतमा धान सप्रेको पाउँदा किसानहरूले सङ्घर्षको उपलब्धिको रूपमा लिएका थिए ।
किसान आन्दोलनबाट जनता सचेत र सङ्गठित भए । जनविरोधीहरू पराजित भएको इतिहास हामीले पढेका, देखेका र भोगेका छौँ । खोकना र बुङ्गमती रोपाइँ आन्दोलन ताजा उदाहरण बनेको छ । यसले भावी पुस्ताको लागि पथप्रदर्शन भएको छ ।
‘एक जुगमा एक दिन एक पटक आउँछ, उलटपुलट उथलपुथल हेरफेर ल्याउँछ’ भन्ने गीतजस्तै हामीले हरेश खानु हुँदैन । ‘जीवन सङ्घर्ष हो, सङ्घर्ष हो जीवन’ भन्ने भावनाले अगाडि बढेमा सङ्घर्ष असफल हुँदैन । त्यस क्षेत्रमा दबाब र सैनिकको डरमा मुआब्जा लिएका किसानहरूले पैसा फिर्ता दिने आँटका साथ आफ्नो बाँझो खेतमा रोपाइँ गर्न कम्मर कस्नुपर्दथ्यो । मुआब्जा नलिइकन सङ्घर्षमा उभिएका किसानहरूप्रति सलाम छ ।
स्थानीय जग्गा दलाली र आन्दोलन भाँड्न चाहनेहरूको दबाबमा किसानहरूलाई मुआब्जा लिन लगाएको खुल्दै छ । स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारमा पुगेका सांसद र मन्त्रीहरूले नै असहयोग गरेका कारण माग पूरा नभएको स्थानीय किसान र जनसरोकार समितिको गुनासो छ । १० वर्षसम्मको आन्दोलनमा धेरै आन्दोलनकारीहरूले बाटो बिराइसकेका छन् । तर, नेपाल डंगोल, अष्ट महर्जन, नरेश महर्जन, कविन्द्र महर्जन, महेन्द्र ब्रह्माचार्य, कृष्णशरण डंगोल, कृष्णभक्त डंगोल, दुर्गाराम डंगोललगायतका आन्दोलनकारीहरूको सङ्घर्षप्रतिको लगाव, धैर्यता र निरन्तरताले आज खोकनाको आन्दोलन राष्ट्रिय मुद्दा बनेको छ ।
सरकार अर्को विकल्पबारे विचार गर्न बाध्य बनेको छ । किसानहरूको उर्वर भूमि म्हास्ने, सांस्कृतिक सम्पदा सिकालीमाथि धावा बोल्ने, खोकना र बुङ्गमतीको प्राचीन बस्ती विस्थापित गर्ने अर्थात् जातीय संहार र सांस्कृतिक मूर्त–अमूर्त सम्पदा सखाप पार्ने बदनियतले राष्ट्रिय गौरवको नाममा फास्टट्रयाक, १३० केभीए हाइटेन्सन लाइन, स्मार्टसिटी, बाग्मती करिडोर, रेलमार्ग, बाहिरी चक्रपथ आदि त्यो क्षेत्रमा मात्र किन ? प्रधानमन्त्री आफ्नो जन्म दिन मनाउन आफ्नो जन्मथलो झापा जाँदा ३ वटा हेलिकप्टर चार्टर गरी महँगो यात्रा खर्चेको पैसाले आफ्नै क्षेत्रमा सडक बनाए पनि त हुन्थ्यो नि । काठमाडौँ–झापा फास्टट्रयाक बनाए पनि त हुन्थ्यो । किसानहरूको उर्वरभूमि म्हास्ने, सांस्कृतिक सम्पदा, खोकना र बुङ्गमतीको प्राचीन बस्ती विस्थापित हुने गरी कथित विकास किन ?
आजसम्म बनेका सरकार भारतभक्तिको सरकार हो । गौरवशालीको नाममा ल्याइएका योजनाहरू देशको स्वार्थमा भन्दा दक्षिण छिमेकी देश भारतको स्वार्थका योजनाहरू हुन् ।
फास्टट्रयाकको निर्माण पूर्वबाट काठमाडौँ छिर्ने दु्रतमार्ग (छिटो पुग्ने बाटो) हो । स्मार्टसिटी र बाहिरी चक्रपथ मानव बस्ती थुपार्ने ‘गौरवशाली’ योजना हो । स्मार्टसिटीको नाममा उपत्यकाका उर्वर कृषियोग्य जमिन एक लाख चालीस हजार रोपनी अधिकरण गर्नेछ । बाहिरी चक्रपथको नाममा ५८ हजार रोपनी जग्गा अधिकरण गरिनेछ । सरकारी मूल्यमा गरिने अधिकरणले किसानहरूले चलनचल्तीको मूल्य पाउँदैनन् । स्मार्टसिटी र बाहिरी चक्रपथको काम सम्पन्न भएपछि लाखौँ उपत्यका बाहिरका मानिसको घरजम हुनेछ । अहिलेको उपत्यकामा जनसङ्ख्या वृद्धिले खानेपानीको समस्या, ढल र फोहोरको समस्या, यातायातको चाप, अपराधजन्य कार्यको वृद्धिले आक्रान्त भइरहेको समयमा फेरि लाखौँ मानिसको बसाइले कस्तो रूप लेला ? भयावहको स्थिति आउनुभन्दा अघि नै हामी किन सचेत नहुने ?
Leave a Reply