भर्खरै :

‘शाकाहारी आन्दोलन’ नभए के ?

संरा अमेरिकामा गत वर्षको नोभेम्बर महिनामा राष्ट्रपति पदको लागि निर्वाचन हुनुअघि केही अमेरिकी विश्लेषकहरूले ‘कदाचित चुनावमा ट्रम्प पराजित भए त्यहाँ अर्को उपद्रव हुनसक्ने’ विश्लेषण गरेका थिए । ट्रम्पको दक्षिणपन्थी र अनुदार गतिविधिको कारण निर्वाचनमा पराजित भए पनि उनले सजिलै सत्ता नछोड्ने उनीहरूको अनुमान थियो । नभन्दै चुनावमा पराजित भएपछि छटपटाएका ट्रम्प र उनका समर्थकहरूले गत जनवरी ६ मा अमेरिकी संसद् भवनमै हमला गरे । अमेरिकी इतिहासमा जनवरी ६ को त्यो दिन कालो दिनको रूपमा धेरै समयसम्म अङ्कित रहनेछ । यसले अमेरिकी फासीवादीहरूको लोकतन्त्रप्रतिको समर्थन नक्कली भएको पुष्टि गरेको छ ।
नेपालमा सत्तारूढ दल नेकपा विभाजनपछि यतिबेला एउटा खेमा सडक आन्दोलनमा छ । दुई पक्षबीच एक–अर्कालाई हिलो छ्यापाछ्यापको अवस्था छ । यसैबीच संसद् विघटनको विरोधमा सडक आन्दोलनमा रहेको खेमाका नेता पुष्पकमल दाहालले हालै एक कार्यक्रममा ‘शाकाहारी आन्दोलन’ ले मात्र नपुग्ने बताएका छन् । सशस्त्र आन्दोलनको पृष्ठभूमिबाट आएका नेताबाट यस्तो अभिव्यक्ति आउनुलाई नेपाली जनताले देश फेरि एकपल्ट राजनीतिक अस्थिरता र द्वन्द्वको दलदलमा फस्ने अर्थमा बुझेका छन् ।
संसद् विघटनबारे यतिबेला सर्वाेच्च अदालतमा बहस पैरवी भइरहेको छ । नेपालको संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतमा निहित छ । तसर्थ, प्रधानमन्त्रीले संसद् विघटन गरी निर्वाचनको मिति घोषणा गर्नु संविधानसम्मत हो वा होइन भन्ने मुद्दाको छिनोफानोको अधिकार सर्वोच्चमा छ । तर, विशेषतः दाहाल–नेपाल समूहले अदालतबाट आफ्नो प्रतिकूलतामा निर्णय भए आन्दोलन उठाउने अथवा अदालतलाई सडकबाट दबाब दिने तयारी गरिरहेको उनीहरूका अभिव्यक्तिबाट पुष्टि हुन्छ । ‘शाकाहारी आन्दोलन’ को विकल्प खोज्नुको खास अर्थ यही हो ।
माओवादी सशस्त्र युद्धको कारण देशले झन्डै एक दशक लामो अस्थिरता भोग्यो । यसको निम्ति मुख्यतः पुष्पकमल दाहाल दोषी छन् । अहिले फेरि आन्दोलनको नाममा देशलाई अस्थिरतातिर डो¥याउन यही समूह सक्रियतापूर्वक लागिरहेको छ ।
दाहालले युवा भेलाहरूमा गएर ‘आफू टाउको फुटाउन आतुर भएको’ भएको जस्ता उत्तेजना फैलाउने अभिव्यक्ति दिंदै हिँडेका छन् । उनका यस्ता अभिव्यक्तिले युवाहरूलाई समाजमा अराजकता फैलाउन अझ बढी उत्साहित बनाउने देखिन्छ । नेकपाका दुई खेमाबीचको यो झगडा राज्यसँगको झगडाभन्दा ओली पक्ष र दाहाल–नेपाल पक्षबीचको झगडा हुने सम्भावना छ । दुई पक्षका नेताहरूले आज आफ्ना कार्यकर्तालाई आपसमा लड्न पाखुरामा तेल मालिस गरिरहेका छन् । यसले अन्ततः देश र सिङ्गो नेपाली समाजलाई अर्को द्वन्द्वमा धकेल्ने सम्भावना छ ।
शासक दलका नेताहरूबीच पद, पैसा र भागबन्डाको लागि भएको झगडाले समाज र जनताको जीवनमा कदापि प्रतिकूल प्रभाव पार्न दिनुहुन्न । नेतृत्वले जनताबीच एकताको लागि आह्वान गर्ने हो, विभाजनको लागि होइन । यतिबेलाको द्वन्द्व कुनै सिद्धान्त र देशको आमूल परिवर्तनको लागि कदापि होइन । यो स्वार्थको लडाइँमा जनतालाई बलिको बोका बनाउने अधिकार शासक दलका नेताहरूलाई कदापि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *