भर्खरै :

खेलाडीमात्र थिएनन् म्याराडोना

बिदा भएको सन् २०२० मा हामीले भोगेका वियोगहरूमध्ये डिएगो म्याराडोनाको असामयिक निधन पनि हो । नोभेम्बर २५ मा विश्वविख्यात फूटबल खेलाडीको हृदयघातको कारण अर्जेन्टिनास्थित आफ्नो निवासमा निधन भयो ।
म्याराडोना आफ्नो समयमा एक महानतम फूटबल खेलाडीमात्र थिएनन् । उनी फूटबललाई खेलमैदानभन्दा बाहिर निकाल्न सफल भए । फूटबललाई राजनीतिक गतिविधिको उचाइमा उकासे । अनि उनले लाखौँ लाख गरिब र सीमान्तकृत समर्थक (फ्यान)हरूबीच आशा र मुक्तिको अनुभव गराए । उनले खेल खेल्ने शिल्पले मात्र सबै कुराको टुङ्गो नलगाउने पुष्टि गरे । त्यसको निम्ति साहस, विवेक र धैर्यताको पनि खाँचो पर्ने कुरा उनले देखाए ।
म्याराडोनालाई उनको विलक्षण खेल शिल्पको कारणमात्र संसारले स्मरण गर्नेछैन । बरु, सत्ता र शक्तिलाई चुनौती दिने उनको विद्रोही स्वभावको कारण पनि सम्झना गरिनेछैन । उनको जस्तो विद्रोही भावना आजभोलि धेरै खेलाडीका साथै वैज्ञानिक, लेखक र कलाकारमा पनि भेटाउन गाह«ो छ । मोहम्मद अलीजस्ता खेलाडीमा पनि पाइने यस्तो स्वभाव विश्वमञ्चमा आफूलाई रक्षा गर्न असमर्थ कमजोर जनसमुदायको रक्षाको निम्ति ज्यादै महत्वपूर्ण छ ।
खेल मैदानमा अब्बल खेलको कारणमात्र म्याराडोना विभूति बनेनन् । बरु, आफ्ना फ्यानहरूबीच उनले जोडेको बलियो भावनात्मक सम्बन्धको कारण त्यस्तो हुन सम्भव भएको हो । उनले आफू मालिक वा रङशालाको न्यानो कुर्सीमा बस्ने शक्तिशाली कुलीनहरूको लागि होइन, सधैँ जनताको लागि खेल्ने गरेको बताउँथे । दुव्र्यसनीसँगको लड्दै गर्दा पनि उनी इमानदार र जनतासँगै उभिरहे । “मैले गल्ती गरेँ र त्यसको क्षति म भोग्दै छु । तर, फूटबलमा कुनै पनि दाग लाग्न दिइनँ”, उनले भनेका थिए ।
म्याराडोना व्युनर्स आयर्सको दक्षिणी छेउको एउटा सानो सहर भिल्ला फ्युरोटोमा जन्मेको र हुर्केकोमा गौरव गर्थे । अर्जेन्टिनाको सुदूर उत्तरपूर्वी कोरेन्टस प्रान्तबाट म्याराडोनाका मातापिता त्यो सहरमा बसाइ सरेका थिए । उनीहरूको घर इँटा चाङ पारिएको पर्खाल र जस्तापाताले छानो छाएको थियो । त्यो टहरोमा न धारा थियो न विद्युत् । एघार वर्षको उमेरमा नै म्याराडोनाभित्र प्रतिभा उजागर भएको थियो । ‘सानो प्याज’ नामको अर्जेन्टिनाको जुनियर क्लव खेल्दा उनीभित्रको प्रतिभा सबैले देखेको थियो । त्यसको केही समयपछि नै उनी अर्जेन्टिनाभर परिचित भइसकेका थिए ।
केही वर्ष व्युनर्स आयर्सको चर्चित फूटबल क्लव ‘बोका जुनियर्स’ मा खेलेपछि उनी सन् १९८२ मा युरोपको अब्बल क्लबहरूमा खेल्न गए । उनले सबभन्दा पहिले खेलेको फूटबल क्लव बार्सिलोना थियो । त्यो क्लव धनी थियो । तर, घाउ चोटपटक र दक्षिणी अमेरिकीहरूप्रतिको गहिरो जातिवादको कारण उनी त्यहाँ टिक्न सकेनन् ।
त्यही कारण सन् १९८४ मा उनी पश्चिम युरोपकै सबभन्दा गरिब सहरमध्येको एउटा सहर इटालीको नेपल्समा गएर आफ्नो प्रतिभा देखाउन पुगे । नेपल्सका जनतालाई उत्तरी इटालीका मानिसहरू ‘इटालीका अफ्रिकीहरू’ भन्थे । नेपल्सका फूटबल टीमका खेलाडी र जनतासँग मेलजोल हुन म्याराडोनालाई कति पनि समय लागेन । इटालीको धनी उत्तरी क्षेत्रले गरिब र कम विकसित दक्षिणलाई सधैँ होच्याएर व्यवहार गथ्र्यो । त्यही कारण दुई क्षेत्रबीच सधैँ तनाव भइरहन्थ्यो । कतिबेला त्यो तनाव खेलमैदानमा पनि पोखिन्थ्यो ।
इटालीको फूटबल लिग खेलमा उत्तरको दबदबालाई म्याराडोनाले छिन्नभिन्न बनाइदिए । सन् १९८५ मा नेपल्सलाई पहिलो पटक ‘सिरी ए’ को पदक जिताउन उनले नेतृत्वदायी भूमिका खेले । ‘ला रिपब्लिका’ पत्रिकामा प्रकाशित एउटा लेखमा इटालीका लेखक रोबर्टो साभाइनोले लेखेका छन्, “म्याराडोना मुक्तिका प्रतीक थिए । हो, मुक्ति … किनभने इटालीको च्याम्पियनसीप दक्षिणले कहिले पनि जित्न सकेको थिएन । दक्षिणको कुनै पनि टीमले युइएफए कफ जित्न सकेको थिएन । दक्षिणको कुनै पनि टीममाथि संसारको ध्यान परेको थिएन ।”
नेपल्समा पनि म्याराडोना असमान तलब र नीतिविरुद्ध क्लव मालिकहरूसँग सङ्घर्ष गर्न कति पनि पछि परेनन् । उदाहरणको लागि सन् १९८४ मा उनले क्लवका अधिकारीहरूको इच्छाविपरीत एक जना गरिब बालकको स्वास्थ्योपचारको लागि नेपल्सको एउटा गरिब बस्तीको हिलाम्य मैदानमा च्यारिटी खेलको आयोजना गरेका थिए ।
यी र स्थानीय जनतालाई सहयोग गर्ने यस्ता धेरै गतिविधिकै कारण नेपल्सका जनता म्याराडोनाको मनैदेखिका फ्यान बने । उनीहरू म्याराडोनाका यस्ता जब्बर समर्थक बने कि सन् १९९० को विश्व कपअन्तर्गत इटाली र अर्जेन्टिनाबीच भएको सेमिफाइनल खेलमा उनीहरूले अर्जेन्टिनेली टोलीको पक्ष लिएका थिए किनभने म्याराडोना त्यो टोलीबाट खेलेका थिए । संयोगवश, त्यो खेल पनि नेपल्समा नै भएको थियो ।
म्याराडोनाको देश अर्जेन्टिनामा त उनीप्रति अगाढ प्रेम थियो । त्यहाँका सबै जाति र सामाजिक वर्गका जनताले उनलाई हुरुक्कै भएर समर्थन गर्छन् । अर्जेन्टिनाली जनता म्याराडोनालाई खेल मैदानमा एक जना खेलाडीको रूपमा मात्र हेर्ने गर्दैनन् । सन् १९८६ को विश्व कपमा दुई असामान्य गोल गरेर उनी अर्जेन्टिनाका नायक नै बने । त्यो सालको विश्व कप फूटबल प्रतियोगिता फूटबलको इतिहासमै सबभन्दा बढी राजनीतिक दोष लागेको प्रतियोगिता थियो ।
बेलायतले नियन्त्रणमा राखेको अर्जेन्टिनाको दक्षिण एटलान्टिक माल्भिनस (फकल्यान्ड) टापु पुनःप्राप्त गर्ने अर्जेन्टिनेली सेनाले गरेको असफल प्रयासको चार वर्षपछि विश्व कपको क्वाटरफाइनलमा अर्जेन्टिना र बेलायतको टक्कर परेको थियो । म्याराडोनालाई फकल्यान्ड टापुको लडाइँमा मारिएका सयौँ अर्जेन्टिनालीहरूप्रति सम्मान व्यक्त गर्ने बेलायतसँगको त्यो खेल एउटा उपयुक्त मौका भएको कुरा थाहा थियो । अर्जेन्टिनाली जनतामात्र होइनन्, शताब्दियौँदेखि उपनिवेशवादी शक्तिहरूबाट मारिएका दक्षिणी गोलाद्र्धका लाखौँ लाख जनताप्रति सम्मान दर्शाउने पनि त्यो राम्रो मौका थियो ।
त्यो खेलमा म्याराडोनाले गरेको पहिलो गोल ‘भगवानको हात परेको गोल’ (ह्यान्ड अफ गड) भनी विख्यात भयो । दोस्रो गोल भने ‘शताब्दीको गोल’(गोल अफ सेन्चुरी) बन्यो । बेलायतीहरूले कहिले पनि ती गोल भुल्न सक्दैनन् । उनीहरू अझै पनि ‘झुक्याउने’ पहिलो गोल र विलक्षणपूर्ण दोस्रो गोलको कारण अपमानको आगोले जल्छन् ।
अर्कोतिर तिनै गोलका कारण अर्जेन्टिनाका जनताले म्याराडोनाको चमत्कारमा खुसियाली मनाए । तिनताक बेलायतमा मार्गरेट थ्याचरको नवउदारवादी शक्ति सर्वोच्च उचाइमा थियो । म्याराडोनाका ती गोलले थ्याचर सरकारलाई लाजले निहुरिने बनाइदियो । गत अक्टोबरमा फ्रान्स फूटबल टोलीले ६० औँ जन्म दिनको लागि के उपहारको अपेक्षा गर्नु हुन्छ भनी सोध्दा म्याराडोनाले अर्थपूर्ण तरिकाले जवाफ दिएका थिए, “बेलायतविरुद्ध अर्को गोल गर्न चाहन्छु । तर, यो पटक दाँया हातबाट त्यो गोल गर्ने इच्छा छ ।”
इटालीको नेपल्स र अर्जेन्टिनाका जनता तथा लाखौँ लाख फ्यानहरूका निम्ति म्याराडोना आफूमाथिका सबै खालका उत्पीडन र विभेदबाट मुक्तिका प्रतीक हुन् । सन् १९९७ मा उनले व्यावसायिक खेल जीवनबाट बिदा भए । त्यसपछि उनको प्रतिरोधको आयतन फराकिलो बनेर विश्वव्यापी बन्यो ।
म्याराडोनाले सार्वजनिकरूपमा व्यवसायिक खेलाडीहरूको सङ्गठनलाई समर्थन गरे र फिफाभित्रको भ्रष्टाचारको खुला विरोध गरे । उनले प्यालेस्टाइनी जनताको आन्दोलनलाई समर्थन गरे । त्यस्तै अमेरिकी साम्राज्यवादको विरोधमा एकजुट भएका दक्षिण अमेरिकी वामपन्थी नेताहरू फिडेल क्यास्ट्रो, ह्युगो चाभेज र ते मोरालेससँग हातमा हात मिलाए । सन् २००५ मा चांैथौ अमेरिकी शिखर सम्मेलनको क्रममा आयोजित विशाल प्रदर्शनमा उनी सहभागी बनेका थिए । त्यो प्रदर्शनमा उनले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुशलाई युद्धअपराधी लेखिएको टी–सर्ट लगाएका थिए ।
म्याराडोनाको विद्रोही र सत्ता–शक्तिलाई चुनौती दिने स्वभाव खेलकुद क्षेत्रलाई सामाजिक न्यायको मुद्दाबाट अलग राख्न सकिन्न भन्ने मान्यतामा आधारित थियो । विडम्बना ¤ आज खेलकुद क्षेत्रबाट राजनीतिलाई निचोर्ने कर्पोरेट क्षेत्रको दबाबको कारण व्यवसायिक खेलाडीहरूलाई राजनीतिक अभिव्यक्ति दिएबापत र सीमान्तकृत एवम् विभेदमा परेका समुदायप्रति ऐक्यबद्धता व्यक्त गरेवापत सजाय भोग्न बाध्य पारिएको छ ।
हामी म्याराडोनालाई स्मरण र सम्मान गर्छौं । त्यसकारण हामी खेलकुदलाई व्यापारीकरण गर्ने र त्यहाँबाट सामाजिक न्यायको मुद्दालाई निकाल्ने अभ्यासको प्रतिरोध गर्दै उनको विरासतलाई अघि बढाउन प्रतिबद्ध छौँ ।
(मोस्चिल्ला बार्सिलोनाका स्वतन्त्र खेलकुद पत्रकार हुन् । जाबाला बार्सिलोनाकै पोम्पी फब्रा विश्वविद्यालयमा दर्शनशास्त्रका प्राध्यापक हुन् ।)
स्रोतः अल–जजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *