भर्खरै :

विश्वयुद्धका पत्राचारहरू–२

(अघिल्लो अङ्कमा हामीले बेलायती प्रम विन्सटन चर्चिल र रूसी मार्शल स्तालिनबीच आदानप्रदान भएका सातवटा पत्रहरूको अध्ययन ग¥यौँ । ती पत्रबाट संसारभर आफ्नो झन्डा फहराएको बेलायती साम्राज्य नाजीवादी जर्मनीबाट आत्तिएको स्पष्ट झल्किन्छ । यसकारण, पहिले सोभियत सङ्घसँग गठबन्धन बनाउन अन्कनाएको बेलायतले ऊसँग मित्रता गाँस्न कम्मर कसेको देखिन्छ । सोभियत रूसलाई बेलायतले विभिन्न सैन्य साधनहरूको सहयोग गरेको वर्णन ती पत्रहरूमा पाइन्छ । चर्चिललाई लेखेको एक पत्रमा स्तालिनले युद्धको रणनीतिबारे बेलायतलाई महत्वपूर्ण सुझाव दिनुभएको थियो । पश्चिममा अर्को मोर्चा खोल्नाले जर्मनीको शक्ति बाँडिने स्तालिनको ठम्याइ दूरदर्शी थियो । फ्रान्स जर्मनीको कब्जामा गइसकेको थियो भने बेलायत इङ्गलिस च्यानलको दक्षिणमा पर्ने डनकर्कको तटभन्दा अगाडि बढ्न सकिरहेको थिएन । त्यसैले बेलायतलाई अर्को मोर्चा खोल्न हम्मे भइरहेको अघिल्लो अङ्कका पत्रहरूबाट थाहा हुन्छ । यस अङ्कमा त्यसै प्रकारका थप पत्रहरू प्रस्तुत गरिन्छ ।)
पत्र नं. ८
१५ अगस्ट १९४१ मा प्राप्त (रूसमा)
स्तालिनलाई चर्चिल र रुजवेल्टको संयुक्त पत्र
मस्कोबाट फर्केपछि ह्यारी होप्किन्सले प्रतिवेदन बुझाए । (राष्ट्रपति रुजवेल्टको निजी प्रतिनिधिको रूपमा होप्किन्स स्तालिनलाई भेट्न १९४१ जुलाईमा मस्को पुगेका थिए ।) सोही प्रतिवेदनलाई आधार बनाएर हाम्रा दुई देशले नाजी आक्रमणका विरुद्ध सशक्त प्रतिकार गरिरहेको यहाँको देशलाई सकेसम्म राम्ररी सघाउने विषयमा सरसल्लाह गर्ने मौका छोपे । यसबेला तपाईँलाई अत्यावश्यक परेका सामग्री अधिकतम मात्रामा उपलब्ध गराउनमा हामीले सहकार्य गरिरहेका छौँ । धेरै भरिभराउ जहाजहरूले हाम्रा समुद्री तट छोडिसकेका छन् र छिट्टै अरूले पनि त्यसै गर्नेछन् ।
अब हामीले अझ दीर्घकालीन नीतिमा ध्यान दिनुपर्छ किनभने विजयको निम्ति अझै पनि लामो र कठिन बाटो हिँड्न बाँकी छ । दीर्घकालीन नीतिबेगर हाम्रा प्रयास र बलिदानहरू खेर जानेछन् ।
धेरै स्थानमा युद्ध लडिँदै छ र लडाइँ नसिधिँदासम्म अझै धेरै मोर्चाहरू बन्ने सम्भावना छ । हामीसँग प्रशस्त स्रोतसाधन भएपनि तिनको सीमा छ । त्यसैले तिनलाई कहाँ र कहिले प्रयोग गर्दा हाम्रा साझा प्रयासहरू बढाउन उपयोगी हुनसक्छन् भनी केन्द्रित हुनुपर्छ । यो कुरा हाम्रा युद्ध उत्पादन र कच्चा पदार्थ दुवैमा लागु हुन्छ ।
निर्णय लिनेबेला ध्यान दिनुपर्ने धेरै तथ्यहरूको आलोकमा मात्र तपाईँ र हाम्रा सेनाहरूको खाँचो र माग निर्धारित गर्न सकिन्छ । हामी सबै हाम्रा स्रोतसाधनको प्रयोगबारे द्रुत निर्णयमा पुग्नका निम्ति मस्कोमा एक बैठक बस्ने तयारी गर्नुपर्ने हाम्रो राय छ । यसको लागि तपाईँसँग सीधै यी विषयमा छलफल गर्न हामीले उच्च प्रतिनिधिहरू पठाउनेछौँ । यस सम्मेलनमा सहमत हुनुहुन्छ भने सम्मेलनका निर्णयहरू थाती राखेर पनि सामग्रीहरूको आपूर्ति सकेसम्म चाँडो पठाउन हामी छोड्नेछैनौँ ।
हिटलरवादको पराजयका निमित्त सोभियत सङ्घको पराक्रम र दृढ प्रतिरोध कति महत्वपूर्ण छ भन्ने कुरा हामीलाई थाहा छ । त्यसैले तत्काल हाम्रा संयुक्त स्रोतसाधनहरूको वितरण गर्ने कार्यक्रम तर्जुमा गर्न हामी कुनै पनि हालतमा चुक्नुहुँदैन भन्ने हामी महसुस गर्छौँ ।
फ्राङ्कलिन डी रुजवेल्ट
विन्सटन एस चर्चिल
(१९४१ अगस्ट ९–१२ मा रुजवेल्ट र चर्चिलबीच एटलान्टिक सम्मेलन नामक बैठक सम्पन्न भएको थियो । हिटलरले सोभियत सङ्घलाई हमला गरी युद्धमा तानेपछिको स्थितिको बारेमा त्यहाँ छलफल भएको थियो । उनीहरूले आफ्नो विदेश नीति मिलाएर युद्धसम्बन्धी साझा उद्देश्यहरू तय गरे । अगस्ट १४ मा उनीहरूले एटलान्टिक चार्टर नामक संयुक्त घोषणापत्र जारी गरे । सेप्टेम्बर २४ मा सोभियत सरकारले एटलान्टिक चार्टरका आधारभूत सिद्धान्तमा सहमति जनायो । यसै बैठकमा दुई देशका नेताले सोभियत सङ्घलाई हातहतियार र सैन्य साम्रगी पठाउने विषयमा छलफल गरेका थिए । माथिको संयुक्त पत्र यसै छलफलपछि लेखिएको थियो ।–अनु.)
पत्र नं. ९
३० अगस्ट १९४१
स्तालिनलाई चर्चिलको निजी सन्देश
यहाँहरूको प्रभावशाली प्रतिरोधमा सघाउन मैले हरसम्भव तरिका खोजिरहेको छु । यसको लागि मैले संरा अमेरिकासँग छलफल भइरहेको दीर्घकालीन प्रबन्धलाई समेत थामेर राखेको छु । यस प्रबन्धबारे मस्को सम्मेलनमा वार्ता हुनेछ । तपाईँको पक्षमा ठूलो क्षति हुनाले म. माइस्कीले लडाकु विमानहरू अत्यावश्यक भएको बताउनुभएको छ । मैले पछिल्लो पत्रमा जनाए अनुरूप हामीले २ सय वटा टोमाहक विमान पठाउँदै छौँ । हाम्रा दुई विमान टोली सेप्टेम्बर ६ सम्ममा मुरमान्स्क पुग्नुपर्छ । त्यसमा ४० वटा हुरिकेन विमान हुनेछन् । मलाई थाहा छ, यहाँले हाम्रो घरेलु सुरक्षाको जग नै लडाकु विमानहरू हुन् भनी महसुस गर्नुहुनेछ । यसबाहेक हामीले लिबियामा समेत हवाई क्षेत्रमा अगाडि बढ्ने प्रयास गरिरहेका छौँ । टर्कीलाई हामीतिर ल्याउन पनि उसलाई यसरी नै सघाउन खोजिरहेका छौँ । तैपनि तपाईँका पाइलटहरूले प्रभावकारी प्रयोग गर्न सक्छन् भने मैले २ सय वटा हुरिकेन विमान पठाएर लडाकु विमानको सङ्ख्या ४ सय ४० पु¥याउन सक्छु । यिनमा ८ देखि १० वटा बन्दुकधारी हुरिकेन हुनेछन् । यस्ता हुरिकेन अत्यन्त विनाशकारी साबित भएका छन् । अहिले हामीले एकचोटिमा ५० गरी दुई किस्तामा १ सय वटा विमान आर्केन्जेल (उत्तरी रूस) पठाउन सक्छौँ । साथमा मेकानिक (मिस्त्री), निर्देशक, पार्टपुर्जा र उपकरणहरू पनि हुनेछन् । यसबीच तपाईँले आफ्ना पाइलट र मेकानिकहरूलाई मुरमान्स्कस्थित हाम्रा विमान टोलीसमक्ष पठाउनु भयो भने उनीहरूलाई नयाँ विमानको लागि तयार पार्न सकिनेछ । यहाँलाई यो कुरा उचित लाग्छ भने यताबाट निर्देशन पठाइनेछ । हाम्रो हवाई सेनाको मिसनलाई प्राविधिक स्मरणपत्र पठाइँदै छ ।
पर्सियालीहरूले आफ्नो प्रतिरोध रोक्ने निर्णय गरेको खबर स्वागतयोग्य छ । (सोभियत सङ्घ र बेलायतको समझदारीमा अगस्ट २५ मा दुवै देशका सेना इरानमा उत्रेका थिए । त्यसबाट इरानलाई फासीवादी जर्मनीको कब्जामा पर्न नदिने र त्यो बाटो हुँदै सोभियत सङ्घमा घुस्न नदिने वा त्यस भेगका बेलायतका उपनिवेशहरू जोगाउने उद्देश्य राखिएको थियो ।) पर्सियाका तेल खानीहरूको सुरक्षा गर्नुमात्र हामी त्यहाँ पुग्नुको उद्देश्य होइन । बरु तपाईँसम्म पुग्ने अर्को बाटो खोज्नु पनि हाम्रो उद्देश्य हो । शत्रुले त्यो बाटो बन्द गर्नसक्ने छैन । यसको लागि हामीले पर्सियाली खाडीदेखि क्यास्पियन सागरसम्म रेलमार्ग विस्तार गर्नुपर्छ । र, भारतबाट रेलमार्गका सरसाधनको आपूर्ति गरेर त्यसलाई निर्बाध सञ्चालन गर्नुपर्छ । विदेश सचिवजीले म. माइस्कीमार्फत यहाँलाई बुझाउनका निम्ति हामीले पर्सियाली सरकारसँग कस्तो सम्बन्ध बढाउन चाहन्छौँ भन्ने विषयमा सर्तहरू उल्लेख गरेका छन् । यसले गर्दा त्यहाँका जनता मित्रवत हुनेछन् र रेलमार्गको सुरक्षा गर्नकै लागि थप (सैन्य) डिभिजन खेर फाल्न बाध्य हुनुपर्ने छैन । भारतबाट रसद पठाइँदै छ । पर्सिया सरकारले मान्छ भने हामीले शाह (इरानी राजा) लाई तिर्नुपर्ने तेलको बक्यौता तिर्नेछौँ । तपाईँको सेनासँग हमादान र काज्वीनको बीचमा भेट्ने तय भएको थियो । त्यहाँसम्म पुग्न र यहाँको सेनासँग हात मिलाउन हामीले हाम्रो अग्रदस्तालाई निर्देशन जारी गरेका छौँ । सारा विश्वलाई बेलायती र सोभियत सेनाले हात मिलाइसकेका छन् भन्ने सन्देश दिनु राम्रै हुन्छ । हाम्रो विचारमा यसबेला बल प्रयोग नगरी तेहरान पस्नु राम्रो हुन्छ । (बेलायतकै अगुवाइमा बेलायती र सोभियत सेनाले सेप्टेम्बरमा तेहरानमा भेटघाट गरेका थिए ।) साथै, हामी निष्कण्टक बाटो चाहन्छौँ । हामीले बस्रामा विशाल आधार शिविर बनाएका छौँ । हामी यसलाई अमेरिकी आपूर्तिका निम्ति बन्दोबस्तीयुक्त आरामदायी बन्दरगाह बनाउन चाहन्छौँ । यसले गर्दा अमेरिकी मालताल क्यास्पियन र भोल्गा क्षेत्रहरूमा सजिलै पुग्न सक्छन् ।
नाजी अपराधीहरूविरुद्ध रूसी सेना र रूसी जनताले लडिरहेको गजबको लडाइँका निम्ति मैले यहाँहरूप्रतिको बेलायती राष्ट्रको प्रशंसा दोहो¥याउनैपर्छ । युद्धमोर्चामा जनरल म्याकफार्लेन आफूले देखेको दृश्यबाट औधी प्रभावित भएका थिए । अगाडिको समय अत्यन्त कष्टकर छ । तर, हाम्रो बढ्दो बमबारीबीच हिटलरको हिउँद सुखद रहनेछैन । तपाईँले भ्लादिभोस्तोक हुँदै जापानलाई आफ्नो आपूर्तिबारे दिएको कठोर चेतावनीले म खुसी भएको थिएँ । (अगस्ट २३ मा जापानी विदेशमन्त्रीले टोकियोस्थित रूसी राजदूतलाई बोलाएर अमेरिकाबाट भ्लादिभोस्तोकमा मालसामान ओराल्दा आफूलाई जमर्नी र इटालीले अप्ठ्यारोमा पार्ने जानकारी गराए । यसको उत्तरमा अगस्ट २६ मा सोभियत राजदूतले अमेरिका र सोभियत सङ्घबीचको लेनदेनमा जापानले चासो राख्नुपर्दैन भनी जानकारी गराए ।) दक्षिणमा होस् वा उत्तर–पश्चिम प्रशान्तमा होस् बढ्दो जापानी आक्रमणविरुद्ध कडा कदम चाल्न मैले राष्ट्रपति रुजवेल्टलाई भेट्दा उहाँ सन्तुष्ट देखिनुहुन्थ्यो । (चर्चिल र रुजवेल्टबीचको यो भेट अगस्टमा एटलान्टिकमा भएको थियो ।) युद्ध भइहालेमा हामी उहाँको पक्षमा लाग्नेछौँ भनी घोषणा गर्न म हतारिएको थिएँ । म जनरल च्याङ काई–सेकलाई सघाउन एकदम आतुर छु । यसअघि हामीलाई यो कुरा यतिबिघ्न महसुस भएको थिएन । हामी जापानसित युद्ध चाहँदैनौँ । उसलाई रोक्ने एउटै उपाय भनेको उनीहरूको सामना गर्नु नै हो भन्नेमा म ढुक्क छु । उनीहरू विभाजित छन् र उनीहरूको खुट्टा भुर्इँमा छैन । यी दुवै समस्याले उनीहरूलाई गाँजेको छ ।
पत्र नं. १०
३ सेप्टेम्बर १९४१
चर्चिललाई स्तालिनको निजी सन्देश
सोभियत सङ्घलाई पहिलेको २ सय युद्धविमानसँगै थप २ सय विमान बेच्ने वचन दिनुभएकोमा मेरो तर्फदेखि धन्यवाद स्वीकार्नुहोस् ! सोभियत पाइलटहरूले तिनलाई चलाउन दक्षता हासिल गर्नेछन् भन्नेमा म ढुक्क छु ।
तैपनि मैले बताउनैपर्छ, ती विमानले पूर्वी मोर्चाको अवस्थालाई आनका तान फेर्न सक्नेछैनन् । तिनलाई हामीले झट्टै प्रयोग गर्न वा एकैचोटि प्रयोग गर्नसक्ने सम्भावना देखिन्न । बरु बीचबीचमा समूह बनाएर तिनको प्रयोग गर्न सकिनेछ । ठूलो आकारको युद्धका निम्ति निरन्तर धेरै सङ्ख्यामा युद्धविमानहरू चाहिन्छ । युद्धको आकारका कारण ती विमानहरू ठूलो परिवर्तनका निम्ति असमर्थ हुने होइन । बरु केही हप्तायता सोभियत सेनाको स्थिति युक्रेन र लेनिनग्रादजस्ता महत्वपूर्ण स्थलमा कमजोर बन्दै गइरहेकोले ती विमानले ठूलो अर्थ नराख्ने देखिन्छ ।
तथ्य के हो भने तीन हप्ता अघिसम्म अग्रमोर्चा सन्तुलित थियो । जर्मनीका ३०–३४ नयाँ पैदल डिभिजन, ट्याङ्क र विमानहरू आएपछि तथा फिनल्यान्डका २० र रोमानियाका २६ डिभिजनहरू सक्रिय भएपछि त्यो सन्तुलन बिथोलिएको छ । जर्मनहरूले पश्चिमलाई खतराको रूपमा हेर्दैनन् । त्यसैले उनीहरूले आफ्नो समस्त सेनालाई जोडतोडले पश्चिमबाट पूर्वतिर सारिरहेका छन् । पश्चिममा दोस्रो मोर्चा छैन वा बन्ने छैन भन्नेमा उनीहरू निर्धक्क छन् । उनीहरू शत्रुलाई एकएक गर्दै सखाप पार्न सकिने सोचिरहेका छन् । पहिले रूसीहरूलाई हराउने र त्यसपछि बेलायतीहरूलाई हराउनेमा उनीहरू ढुक्क छन् ।
फलस्वरूप हामीले युक्रेनको आधाआधी गुमाइसकेका छौँ र अब शत्रु लेनिनग्रादको ढोकैसम्म आइपुगेको छ ।
यस स्थितिमा हामीले ‘क्रिभोइ रग’ फलाम खानीलगायत युक्रेनका धेरै फलाम र स्टील खानीहरू गुमाएका छौँ । डिनिपेर र तिखभिनमा हामीले आलुमिनियम उद्योग, लेनिनग्रादमा एउटा मोटर उद्योग र दुइटा विमान उद्योग खाली गर्नुपरेको छ । यिनले आफ्नो नयाँ थलोमा सात वा आठ महिनासम्म केही पनि उत्पादन गर्न सक्नेछैनन् ।
यसले हाम्रो प्रतिरक्षा क्षमतालाई कमजोर तुल्याएको छ र सोभियत सङ्घलाई जीवन र मृत्युको दोसाँधमा धकेलेको छ ।
यहाँनिर महत्वपूर्ण प्रश्न उठ्छ, यो दुरुह स्थितिबाट कसरी पार पाउने ?
मेरो विचारमा एउटै उपाय भनेको बाल्कन वा फ्रान्समा यस वर्षभित्र दोस्रो मोर्चा खोल्नुपर्छ । यस मोर्चाले ३०–४० वटा जर्मन डिभिजनहरूलाई पूर्वी मोर्चाबाट मोड्नेछ । साथसाथै, सोभियत सङ्घलाई अक्टोबरको आरम्भसम्म ३० हजार टन आलुमिनियम आपूर्ति गर्नुपर्छ र न्यूनतम मासिक सहयोगको रूपमा ४ सय विमान र साना वा मध्यम आकारका ५ सय ट्याङ्क दिनुपर्छ ।
यी दुईथरी सहयोगविना सोभियत सङ्घ हार्नेछ वा कमजोर बन्नेछ । कतिसम्म भने उसले नाजीवादका विरुद्धको अग्रमोर्चामा सक्रिय बनेर मित्र शक्तिलाई सघाउने क्षमता लामो समयसम्मलाई गुमाउनेछ ।
यस सन्देशले तपाईँलाई केही अलमल्याउन सक्छ भन्ने मलाई हेक्का छ । तर, अरू उपाय छैन । अनुभवले मलाई कठोरै भएपनि यथार्थको सामना गर्न र सत्य बोल्नबाट नहिच्किचाउने पाठ सिकाएको छ ।
इरानको स्थिति सुध्रिएको छ । बेलायती र सोभियत सेनाको संयुक्त अपरेसनहरूले समस्या सल्टियो । हाम्रा सेनाहरूले संयुक्तरूपमा काम गरेसम्म भविष्यमा पनि यस्तै हुनेछ । तर, इरानको घटना एउटा पाटोमात्र हो । पक्कै पनि इरानको स्थितिले युद्धको स्थिति निर्धारित गर्नेछैन ।
बेलायतजस्तै सोभियत सङ्घ पनि जापानसँग युद्ध चाहँदैन । जापानसँगको तटस्थताको सन्धिलगायत कुनै पनि सन्धिलाई सोभियत सङ्घ उल्लङ्घन गर्न चाहँदैन । तर, जापानले सन्धि उल्लङ्घन गरेर सोभियत सङ्घमाथि हमला गर्छ भने सोभियत सेनाले उसलाई गतिलै जवाफ दिनेछ ।
अन्तमा, हाम्रा साझा मुक्तिको ध्येय प्राप्तिका निम्ति हिटलरका डाँकु दलहरू विरुद्ध रगतको युद्ध लडिरहेको सोभियत सेनाका कारबाहीहरूप्रति देखाउनुभएको प्रशंसाभावका लागि यहाँलाई धन्यवाद !
पत्र नं. ११
६ सेप्टेम्बर १९४१
स्तालिनलाई चर्चिलको निजी सन्देश
तपाईँको पत्रकै भावभूमिमा उत्तर लेख्छु । हात बाँधेर बस्नु हुँदैन भन्दाभन्दै पनि बेलायतले पश्चिममा केही गर्नसक्ने सम्भावना छैन । बेलायतले हवाई गतिविधि मात्र गर्न सक्छ । हिउँद लाग्नुभन्दा अगाडि जर्मन सेनालाई पूर्वबाट तान्न यस्तो गर्न सकिन्छ । टर्कीको मद्दतबेगर बाल्कनमा दोस्रो मोर्चा खोल्ने सम्भावना छैन । यस विषयमा आज विदेश सचिव र (सैन्य) चीफ अफ स्टाफसँगको सम्मेलनमा तपाईँका राजदूतसँग छलफल भइसकेको छ । महँगो पराजयमा टुङ्गिने गतिविधिले हिटलरलाई मात्र सघाउनेछ ।
मसँग भएको सूचनाअनुसार जर्मन कब्जाको खतरा अब सकिनै थालेको प्रतीत हुन्छ । यो हिउँदमा तपाईँका पराक्रमी सेनाले ह्वात्तै स्थान लिनेछन् । तैपनि यो मेरो निजी धारणा हो ।
आपूर्तिको विषयमा भनौँ ¤ रूसी उद्योगधन्दा चौपट भएको विषयमा हामी जानकार छौँ । यहाँलाई सघाउन हामी हरसम्भव गर्नेछौँ । मैले राष्ट्रपति रुजवेल्टलाई ह्यारीमेन मिसनलाई सक्दो चाँडो लन्डन पठाउन तार पठाएको छु । मस्को सम्मेलनभन्दा पहिले नै हामीले मिलेर यहाँलाई प्रतिमहिना पठाउनसक्ने विमान र ट्याङ्कहरूको सङ्ख्या तथा रबर, आल्मुनियम, लुगा, आदिबारे निधो दिने प्रयास गर्नेछौँ । हाम्रो तर्फदेखि हाल हामीले बेलायती उत्पादनबाटै यहाँले मागेको सङ्ख्याको आधा विमान र ट्याङ्क पठाउन तयारी गर्दै छौँ । यहाँको आधा आवश्यकता संरा अमेरिकाले आपूर्ति गर्ने हाम्रो आशा छ । उपकरणहरू तत्काल यहाँको हातमा परोस् भनेर हामी सम्पूर्ण बलबुता लगाउनेछौँ ।
हामीले पर्सियाली रेलमार्गको स्तर उन्नति गर्नका लागि आपूर्ति व्यवस्था मिलाउन आदेश दिइसकेका छौँ । एकोहोरो दिनको दुई रेलबाट बढाएर त्यसलाई पूर्ण क्षमता अर्थात् दिनको बाह्र रेल गुडाउनुपर्छ । सन् १९४२ को वसन्तसम्म त्यसो गर्न सकिनेछ । यसबीच बिस्तारै त्यसमा सुधार गरिनेछ । इन्जिन र डिब्बाहरू यहाँबाट केप हुँदै पठाउनुपर्छ । रेलमार्गमा पानीको आपूर्तिको प्रबन्ध गर्नुपर्छ । पहिलो लटका ८ वटा इन्जिन र ४ सय वटा स्टिलका ट्रकहरू यहाँबाट निस्कँदै छन् ।
हामी तपाईँसँग संयुक्त योजनाहरू निर्माण गर्न तयार भएका छौँ । सन् १९४२ मा बेलायती सेनाले युरोपको मूल भूमिमा कब्जा जमाउन सक्छ कि सक्दैन भन्ने कुरा आउँदा घटनामा निर्भर हुनेछ । अँध्यारो बढेपछि सुदूर उत्तरको बाटो हुँदै यहाँलाई सघाउन सम्भव हुनेछ । यस वर्षको अन्त्यसम्म मध्यपूर्वमा साढे ७ लाखको हाराहारीमा हाम्रो सेनालाई उतार्ने आशा लिएका छौँ । सन् १९४२ को गर्मी यामसम्म त्यसलाई १० लाख पु¥याउनेछौँ । लिबियामा जर्मनी र इटालीका सेनालाई ध्वस्त पारेपछि यी सबै सेनालाई तपाईँको दक्षिणी पाखोमा सहयोगका लागि पठाउन सकिनेछ । यसको लागि टर्कीलाई कम्तीमा तटस्थ बस्न हौस्याउनुपर्छ । यसबीच हामी जर्मनीमाथि हवाई हमला चर्काउँदै जानेछौँ र समुद्र खुला राखेर आफूलाई बचाइरहनेछौँ ।
पहिलो अनुच्छेदमा तपाईँले ‘बेच्ने’ शब्दको प्रयोग गर्नुभएको छ । हामीले विषयलाई त्यसरी हेरेका छैनौँ र पैसाको कुरा सोचेकै थिएनौँ । कुनै पनि सहायता कामरेड भावनामा आधारित भयो भने जाती होला, अमेरिकी लेन्ड–लीज विधेयकमा जस्तै । त्यसमा कुनै औपचारिक हिसाब–किताब राखिन्न । (लेन्ड–लीज विधेयकले अमेरिकी सरकारलाई अमेरिकी सुरक्षाको निम्ति राष्ट्रपतिले चाहेमा अन्य देशलाई विविध सैन्य सामग्री उपलब्ध गराउने छुट दिएको थियो । यो विधेयक १९४१, मार्च ११ मा कानुन बनेको थियो ।)
हामी फिनल्यान्डमाथि आफूले सकेको दबाब दिन तयार छौँ । उसले पुरानो सीमारेखा नाघेमा हामी हमला गर्नेछौँ भनी तत्काल जानकारी गराउन सकिन्छ । फिनल्यान्डलाई प्रभावमा पार्न सम्भव सबै उपाय लगाउन हामीले संरा अमेरिकालाई आग्रह गरिरहेका छौँ ।
४ सेप्टेम्बर, १९४१

Leave a Reply

Your email address will not be published. Required fields are marked *