भर्खरै :

रामायण मिथक वा यथार्थ ?

(एचडी साङकालिया अर्थात् हंशमुख धिरजलाल साङकालिया भारतका संस्कृत र पुरातत्वका विद्वान् हुनुहुन्छ । उहाँले भारतको प्राचीन र त्यसअघिको इतिहासबारे विशेषज्ञता हासिल गर्नुभएको थियो । भारतमा पुरातात्विक अन्वेषण गर्ने उहाँ नै सुरुका विद्वान्हरूमध्ये हुनुहुन्थ्यो । रामायण नेपाली समाजसँग पनि नजिकबाट जोडिएको कृति हो । नेपालमा रामायणसँग जोडिएका धेरै धार्मिक तीर्थ र मठ मन्दिर छन् । पछिल्लो समय रामायण र राम जन्मभूमिबारे नेपालको राजनीतिमा पनि चर्चाको विषय बन्यो । विशेषतः प्रधानमन्त्री ओलीले चितवन जिल्लाको ठोरी छेउछाउ रामको जन्मभूमि भएको भन्ने अभिव्यक्तिले रामायण र रामबारे बौद्धिक विमर्श र बहस पनि भइरहेको छ । यस परिस्थितिमा एचडी साङकालियाले सन् १९७० को दशकको सुरुवातमा रामायणबारे दिनुभएको भाषण नेपाली पाठकको लागि पनि पठनीय हुनसक्ने भएकोले यो भाषण अङ्ग्रेजी भाषाबाट नेपाली भाषामा अनुवाद गरिएको छ । साङ्कालियाका भाषणहरू सन् १९७३ मा पहिलो पटक प्रकाशित ‘रामायणः मिथ अर रियालिटी ?’ नामको पुस्तकमा सङ्कलित छन् । पिपुल्स पब्लिसिङ हाउस, नयाँ दिल्लीले यो पुस्तक प्रकाशन गरेको छ । यो लेखको अनुवाद सुप्रियाले गर्नुभएको छ ।)
राम, सीता, रावण, हनुमान र अरू धेरै पात्रहरूको कथा रामायण सयौं वर्षदेखि मानिसको दिमागमा बस्दै आएको छ । शिक्षित होस् वा अशिक्षित, धनी होस् वा गरिब–रामायण चुम्बक बनेर मानिसको दिमागमा टाँसिएको छ । रामायणको रचनाकार बाल्मिकी भएको कुरा सबैलाई थाहा छ । अनि अहिले विद्वान् तथा सर्वसाधारण मानिसमा पनि रामायणलाई आदिकाव्य भन्ने एउटा परम्परा छ । यो संस्कृतमा रचना गरिएको पहिलो काव्य हो । (एक थरी चिन्तनअनुसार यो संसारकै पहिलो काव्य हो ।)
भारतीय चेतनामा रामायण
रामायण एक जना कविले रचना गरेको काव्य हो भन्ने कुरा जान्दा जान्दै भारतमा त्यस्ता मानिस कमै होलान् जसले राम र सीता, बाली, हनुमान र रावणको यो कथालाई फगत एउटा परिकल्पना मान्ने गर्छन् । झन्डै सबैजना स्वाभाविकरूपमा रामायणमा वर्णित कुरालाई तथ्यको रूपमा लिने गर्छन् । विगतको कुनै कालखण्डमा साँच्चै घटेको घटनाक्रमको रूपमा त्यसलाई बुझ्ने गरिएको छ । भारतीय चिन्तनमा रामायणको ऐतिहासिकताबारे यो विश्वास यति गहिरो गरी गडेको छ कि मलाई धेरै पटक प्रश्न सोध्ने गरिन्छ ः “राम र कृष्णबारे केही ऐतिहासिक प्रमाणहरू फेला पार्नुभयो त ?” हामीलाई थाहा छ, “राम कृष्णभन्दा अघिका थिए । रामले सिलोन र भारतको बीचमा रहेको समुद्रमा ढुङ्गाको पुल बनाएका थिए ।”
जब यस्ता प्रश्नहरूको उत्तर दिन हामी असमर्थ हुन्छौँ, विद्वान्हरूसमेत हामी पुरातत्वविद्हरू बेकारमा समय र देशको पैसा खेर फालिरहेको ठान्छन् !
निःसन्देह यस्ता प्रश्नलाई ‘रामायण आदिकाव्य हो, इतिहास त के, पुराण पनि होइन । यो कविको कल्पनाबाहेक केही होइन । त्यसकारण राम वा उनको समयका केही पनि कुरा फेला पार्न सकिँदैन’ भनी पन्छाउन सकिन्छ ।
एक सय वर्षअघि हुँदो हो त यस्तो धारणालाई सही ठह¥याउन सकिन्थ्यो होला जतिबेला भारतको इतिहास मुस्किलले दुई हजार वर्ष पुरानो भएको मानिन्थ्यो । युरोपेली देशहरूको हमला र उपनिवेशीकरणको पहिलो लहरमा सबै पुर्वीय सम्पदालाई ग्रीस र रोमको तुलनामा उत्ति पुरानो नभएको र पछौटे ठान्थे । त्यसयता निकट पूर्व
(वा पश्चिम एसिया) मा र विशेषतः बाइबल भूमि (पुरानो प्यालेस्टाइन) ले ठोसरूपमा सबै बाइबल ५ हजार वर्षमात्र पुरानो नभएको देखाएको छ । बरु त्यसमा उल्लेखित ठाउँहरू त्यसभन्दा निकै अघिका थिए र ती ठाउँहरूले मानिसलाई ज्ञात भएका केही सुरुका सभ्यताहरूको प्रतिनिधित्व गर्थे ।
महाकाव्यमा उल्लेखित ठाउँमा उत्खनन
हामीले रामायणबारे खोज गर्ने पुरातात्विक उत्खननको लागि पश्चिम एसियाबाट उदाहरण लिनु उपयुक्त हुन्छ । विडम्बना, हामीले त्यतातिर निकै कममात्र ध्यान दिनसकेका छौँ । त्यहाँका खोज नसुन्ने कान र नदेख्ने आँखामा परेका छन् । हिन्द सभ्यता र त्यसअघिका सभ्यता (जसको फैलावट अझ फराकिलो हुनसक्छ) बारे पत्ता लाग्ने सम्भावनाले समेत हामीलाई कुम्भकर्णको निद्राबाट ब्युँझाउन सकेन । परिणामतः अयोध्या र मथुराजस्ता परम्परागत ठाउँको अझै पनि व्यवस्थित उत्खनन हुन सकेको छैन । हामीलाई ती ठाउँहरू कति पुराना हुन् भन्ने कुरा पनि थाहा छैन । यस्ता कुराबारे ठोस जानकारी नै नभई हामीले कसरी अयोध्या मथुराभन्दा पुरानो भन्ने निष्कर्षमा पुग्न मिल्छ र ? हाम्रो विश्वास र परम्पराअनुसार राम कृष्णभन्दा अघिका थिए । तर, यो परम्परा मूर्त जगमा उभिएको छ वा देखिन्छ किनभने रामायणको आलोचनात्मक संस्करणमा मैले कृष्णको कहीं उल्लेख भएको पाइनँ । के त्यसो भए रामायण सबै सत्य हो ?
आलोचनात्मक अध्ययनको खाँचो
कुनै निष्कर्षमा पुग्नुअघि हामीले रामायणका केही महत्वपूर्ण पात्र, ठाउँ र घटनासम्बन्धी वर्णनको आलोचनात्मकरूपमा जाँच गरौँ ।
क) पात्रहरू
१) राम, सीता र लक्ष्मण
२) रावण र उनका आफन्त
३) हनुमान र उनको समुदाय
ख) ठाउँ
१) अयोध्या
२) किष्किन्धा
३) लङ्का
४) दण्डकारण्य
ग) घटना
१) दण्डकारण्यमा रामले १४ हजार राक्षसहरू सखाप पारेको,
२) रामेश्वरम टापु टरेर सिलोन (श्रीलङ्का) मा रामको यात्रा
३) रावण र अरू राक्षसहरूसँग रामले एक हातले लडेको
४) हनुमानसँग रामको एकता
५) पुष्पक विमानबाट अयोध्यातर्फ रामको फिर्ता
६) सीताको निर्वासन
यी प्रमुख समूहका सबै कुरालाई एकै सम्भाषणमा चर्चा गर्न सकिन्न न त त्यो आवश्यक नै छ किनभने मूल घटनाक्रम त केटाकेटीलाई पनि थाहा छ । रामायणका दुई मुख्य पात्रहरू राम र रावण अनि केही अरू घटना र ठाउँबारे चर्चा गरौँ ।
रामको हतियार
रामलाई अभिलेखहरूमा दुई हात भएको मानिसको रूपमा व्याख्या वा देखाइएको छ । लडाइँमा उनका सामान्य हतियार भनेको या त द्वन्द्व युद्ध (दुई व्यक्तिबीचको लडाइँ) अथवा औसत युद्धमा धनुषवाण अथवा ढाल तरबार थिए । यस्तो सामान्य शारीरिक बनोट रामले हजारौँ राक्षस र दस टाउके रावणको पनि बध गरे । त्यसो गरेर उनले चमत्कार नै देखाए ।
त्यस्तै कथित बाँदर भनिएका हनुमानले देखाएका गतिविधि पनि ज्यादै अस्वाभाविक खालका छन् । हनुमान वायु पुत्र भएकोले यी सबै गतिविधि गर्न सक्षम भएको र उनले आफ्नो इच्छाअनुसार रूप बदल्नसक्ने, हावामा उड्न सक्ने बताइएको छ ।
सहर
चामत्कारिक शक्तिको कारण ज्यादै अस्वाभाविक गतिविधि गर्नसक्ने पात्रहरूको यो छोटो चर्चा पछि अब निकै झकिझकाउ सहरको वर्णन हेरौँ । रामायणमा अयोध्या, किष्किन्धा र लङ्का तीन सहरको मात्र वर्णन गरिएको छ । म यहाँ किष्किन्धा र लङ्काको वर्णनको छोटो चर्चासँगै अयोध्यासँग तिनको तुलना गर्नेछु ।
लङ्का
लङ्काको पहिलो उल्लेख बाल काण्डमा गरिएको छ । स्वभावतः त्यो काण्डमा लङ्काको सारसङ्क्षेपमा मात्र वर्णन गरिएको छ । त्यसकारण त्यो वर्णन सही छलफललाई उपयुक्त छैन ।
दोस्रो र खासमा सबभन्दा सुरुको सन्दर्भ अरण्यकाण्डमा दिइएको छ । त्यसपछि किष्किन्धा, सुन्दर र युद्ध काण्डहरूमा त्यसको वर्णन छ । लङ्का त्रिकुत पहाडमा रहेको बताइन्छ । त्यो पहाड आफै सागर (ताल, समुद्र वा महासागर) मा थियो । अघिल्ला काण्डमा थोरै चर्चा गरिएको छ तर लङ्कामा राति पसेका हनुमानले पटक पटक लङ्काको वर्णन गर्छन् । हनुमान सीता खोज्न गएका थिए र अन्ततः अशोकवनमा सीतालाई हनुमानले भेटाउँछन् ।
सुन्दर काण्डमा यी सबै कुराको वर्णन पाइन्छ । तथापि, लङ्काको सुरक्षा व्यवस्था र अन्य वर्णन भने युद्ध काण्डमा पाइन्छ ।
लङ्का त्रिकुत पहाडको चुचुरोमा रहेको वा थुम्कोमा रहेको भनी पटक पटक उल्लेख भए पनि त्यसको पैmलावट कति थियो भन्ने कुरा अज्ञात छ । यद्यपि, हामीलाई रावणको दरबार आधा योजन (चार कोस लम्बाइ भएको) मा फैलिएको भनिएको छ ।
लङ्कालाई चारैतिर प्राकार (दुर्ग वा पर्खाल) ले घेरिएको थियो । अनि, पर्खालसँगै चारैतिर परिखा (सुरक्षाको लागि खनिएको खाल्डो) थियो । प्राकार सुनले बनेको थियो । त्यस्तै प्राकारभित्र बनाइएका तोरणहरू पनि सुुनकै थियो । सहर (पुरी) भित्रको क्षेत्र चेसको बोर्डजस्तै सडकहरूले विभाजन गरिएको थियो । अनि त्यहाँ ठाउँ–ठाउँमा चौकी (गुल्म) भएको एउटा शाही राजमार्ग थियो । लङ्कामा सात र आठ तल्लाका अग्ला घर, दरबार र भवनहरू (गृह, वेश्म, प्रासाद, विमान र मन्दिर) थिए । त्यहाँका दरबारहरूका खम्बाहरू सुन र पत्थरले बनेका थिए अनि हिरामोती जडिएका थिए ।
पुष्पक विमान (यहाँ विमानको अर्थ निवास हुन्छ) मा निकै सुन्दर आकृति कुँदिएका थिए । तीमध्ये पनि हनुमानको सबभन्दा मन खाएको निवास भनेको लक्ष्मी बसेको वा उठेको र दुई हात्तीले नुहाइदिएको अनि इहामृगका आकर्षक आकृति कुँदिएको खम्बा थिए ।
सीतालाई राखिएको अशोक वन आफै पनि पर्खालले घेरिएको थियो । त्यसभित्र हजार खम्बाले अडेको एउटा हल थियो । अनि, त्यहाँ बगैंचा, मनोरञ्जन कक्ष, चित्रशाला र मदिराशाला
(अपनशाला) थिए । त्यो सहर जवारत, खाना र हतियारको मनग्य भण्डारण थियो । त्यसकारण, लङ्का ज्यादै समृद्ध थियो ।
लङ्का सहर त्यत्तिबेला जानिएका सबै खालका हातहतियारबाट सुसज्जित सेनाबाट सुरक्षा दिइएको थियो । यो निकै सुन्दर सहर देखेपछि हनुमानले मनमनै भनेका थिए, “लङ्कामाथि कब्जा गर्न त भगवानलाई पनि गाह«ै पर्ला ।”
लङ्काको सुरक्षा र रामको हमला
विशाल बाँदर सेना लिएर रामले लङ्कामाथि हमला गर्दा त्यहाँको सुरक्षाबारे चर्चा गरौँ । राम लङ्काको दक्षिणमा पर्ने सुभेला पर्वतमा बसेका थिए । हामीलाई भनिएजस्तै महाभारतको गीतामा जस्तो राम र रावणले लडाइँ मैदान र व्युहमा विभिन्न सेनापतिहरूको नेतृत्वमा विभिन्न एकाइको अनुगमन गरेका थिए । लङ्काको पूर्वी द्वार प्रहस्तले, दक्षिणी द्वार महापश्र्व र महोधराले अनि पश्चिमी द्वार इन्द्रजीत र रावणले सबभन्दा महत्वपूर्ण उत्तरी द्वारको रक्षा गरेका थिए । स्वभावतः यति व्यवस्थित रक्षा व्यवस्थामा रावणले कुनै न कुनै एउटाको नेतृत्व गर्नु नै पथ्र्यो । कविले उनलाई पनि एउटा द्वारको जिम्मा लगाए ।
यो वर्णनको कृत्रिमता प्रस्ट छ । भारतमा धेरै तला भएका दुर्गहरूले घेरिएका बलियो सुरक्षा व्यवस्था भएका सहरहरू छन् । मेगस्थनीजले पातलीपुत्रको परम्परागत वर्णन हामीलाई थाहा छ । त्यो वर्णनमा काठले बनेका बुर्जाहरू हुनुले त्यत्तिबेला काठे सुरक्षा पर्खाल भएको पुष्टि हुन्छ । मोहेनजोदारोमा धेरै तल्लाका घरहरूका अवशेषमात्र फेला परेका होइनन्, बरु कार्ला, केनहेरी, जुन्नार र इलोराले यदि आवश्यक परे त्यस्ता घरका भौतिक सदृश्य प्रमाण नै जुटाइदिएको छ ।
त्यसपछि नालन्दामा पनि तीन वा चार तलाका गुम्बाहरूका भव्य अवेशष हामीसँग छन् । तसर्थ, धेरै तला भएका घरको अस्तित्वबारे कुनै सन्देह छैन ।
ती अधिकांश घरहरू हाम्रा आधुनिक निर्माण जस्ता काठ, इँटा र ढुङ्गाको मिलाइएको थुप्रोमात्र थिएन भन्नेमा पनि हामीलाई कुनै सन्देह छैन । बरु, ती घरहरू पशुपक्षी र मानव आकृतिहरूले कुँदिएका थिए । अघि गुफाहरू र साँची एवम् भरहुटमा फेला परेका आकृतिहरू र ती आकृतिमा समानता थिए । राजाको सिंहासन र कुर्सी आदि दरबारका फर्निचर एवम् केही सुनले मोडिएका खम्बाको अस्तित्वबारे पनि हामीलाई कुनै सन्देह छैन ।
यद्यपि, सबभन्दा आकर्षक त सुनका द्वार, पर्खाल आदि नै थिए र त्यही कारण मानिसहरू जब लङ्का र द्वारकाबारे कुरा गर्दा तिनलाई सुनकै भनी कल्पना गर्छन् । तर, त्यस्ता द्वारहरू अस्तित्वमा थिएनन् । हामीले सबभन्दा पछिल्लो समय फेला पारेको द्वार भनेको बेबिलोनको इस्तार द्वार हो । बर्लिनको पूर्वी क्षेत्रमा आज त्यो द्वार पुनःनिर्माण गरी प्रदर्शनमा राखिएको छ ।
लङ्का र किष्किन्धाको वर्णनको तुलनामा अयोध्याको वर्णन अझ बढी भव्य र वस्तुपरक थियो किनभने लेखकले वास्तवमै त्यो सहर देखेका थिए ।
सेतु
सेतु बनाउन समुद्रमा सबै किसिमका रूखहरू–साल, अश्वकर्भ, ताला, तिलक, कुटजा, अर्जुन, विल्भा, सप्तभर्व, कर्णिकारा, अशोकको प्रयोग गरिएको थियो । विश्वकर्माका छोरा नालाले त्यो पुल बनाइएको थियो । त्यो पुल १ सय योजन लामो र १ सय योजना चौडा थियो ।
कसैले सोध्न सक्छः “उनीहरूले त्यत्ति धेरै काठ कहाँबाट ल्याए होलान् त ?” त्यत्ति धेरै रूख त कसैले पनि आफ्नो वरपर हुर्काउन सक्दैन अथवा कम्तीमा दक्षिण भारतमा त्यस्तो हुनसक्दैन ¤ त्यसकारण यो सेतु निर्माणको कुरा कविको एउटा भव्य परिकल्पनामात्र थियो । कसैले भन्न सक्छ, उनले यो परियोजना कुनै दैवी सहायताबाट सम्पन्न गरेको हुनसक्छ । समुद्र आफैले पुल बनाउन पुग्दो मात्रामा सुक्न सहमत भएपछि दैवी वास्तुविद् विश्वकर्माका छोरा नालाले पुलको नक्सा बनाएको हुनसक्छ । अनि कम गहिराइको समुद्रमा सबै किसिमका वस्तु थुपार्न बाँदरहरूले सहयोग गरेको हुनुपर्छ । अनि त्यसैको परिणाम स्वरुप संसारकै सबभन्दा लामो १ सय योजन लामो पुल बनेको हुनुपर्छ ¤ यी सबै कुरामाथि विचार गर्दा सबै अविश्वसनीय लाग्छ । तर, अझै पनि अबुझ र अज्ञानी सर्वसाधारण मानिसहरूमात्र होइन, विद्वान्हरू पनि यो परिकल्पनामा विश्वास गरिरहेका छन् ।
रामायणका सन् १९५४ को र अर्को झन्डै चार सय वर्ष पुरानो संस्करणले उल्लेखित निम्नानुसारका दुई पङ्क्तिले यहाँ भनिएका कुरालाई अझ टेवा दिएको छ । ती पङ्क्तिमा भनिएको छः
‘समुद्रागमनं चैव नलसेतोश्च दर्शनम् ।’
बालकाण्ड (अनुक्रमणी सत्र्र), ३.२४.
यसको अर्थ जब राम र बाँदरहरू मध्यप्रदेशमा अथवा अमरकन्टक पठार अथवा जबलपुर नजिकको लङ्कामा पुगे, उनीहरूले त्यहाँ साँघुरो पाइप अथवा कुलो जस्तो सेतु (यहाँ सेतुको अर्थ ठूलो ताल हो) पार गर्न बाटो भेटाए । तथापि पछि गएर यो शब्द योग ‘नलसेतोश्च’ लाई समयान्तरमा गलत तरिकाले बुझियो । व्याख्याता र हरिकृतनकारहरूले त्यही कुरालाई नालाले बनाएको पुलको रूपमा व्याख्या गरे । फलतः राम र बाँदरहरूले भारत र लङ्काबीच एउटा पुल बनाएको भव्य र काल्पनिक सोचको विकास भयो ।
यो ज्यादै रोचक र महत्वपूर्ण तथ्य सुरुमा आफ्ना दुई लेखमा राइकृष्णदासजीले गर्नुभएको थियो । पछि डा. युपी शाहले आफ्नो पछिल्लो लेखमा तिनको प्रयोग गरेका थिए ।
डा. शाहले हामीलाई राइकृष्णदासजीको भनाइमा अहिलेको रामायणमा पनि हनुमानले लाभानर्व (नुनिलो ताल वा सागर) पौडेर तरेको वर्णन गरेको पनि बताएका छन् । ३२ वर्षअघि परमशिव एइरले पनि त्यस्तै भन्नुभएको थियो । रघुवंशमा पनि ठीक यही कुरा दोहो¥याइएको छ । सीतालाई अशोकवनबाट उद्धार गर्दा हनुमानले उस्तै शब्द ‘संतरिष्यामि सागरम’ प्रयोग गरेका थिए ।

तसर्थ, मूल कथामा एउटा बलियो जिउडाल भएको व्यक्तिले ‘सानो’ ताल नै मात्र पार गरेको वा पौडेको हुनुपर्छ । त्यही ‘सानो ताल’ लाई कालान्तरमा ठूलो समुद्रको रूपमा परिकल्पना गरिएको हो ।
किष्किन्धा
किष्किन्धालाई बाँदरहरूका मुखिया बालीको राजधानीको रूपमा व्याख्या गरिन्छ । किष्किन्धा बिन्ध्या वनमा अवस्थित थियो । ऋष्यमुक पर्वत र पाम्पा सरोवर नजिकै किष्किन्धा थियो । यो ठाउँ गुफा थियो । अनि वास्तवमै यो गुफा नै हुनुपर्छ र हुनुपथ्र्यो ।
हालसालै बिन्ध्या वनमा धेरै सङ्ख्यामा गुफा र ओडारका थुप्रो फेला परेका छन् । बिन्ध्या वन पश्चिममा भोपाल र पूर्वमा पन्नासम्म फैलिएको छ । पञ्चमरी वरपर मैले व्यक्तिगतरूपमा ती गुफा र ओडार देखेको छु । भोपालबाट ३० माइल वरपर त्यस्ता गुफाहरू देख्न सकिन्छ । कर्णाटकको बेल्लारी र रैचुर जिल्लाहरूमा पनि ग्रेनाइटका पहाडहरू देख्न सकिन्छ ।
कुनै कुनै गुफा र ओडार ज्यादै विशाल छन् । तिनमा आजभन्दा एक लाख वर्षअघि पूर्व ढुङ्गेयुगमा बसोबास थियो । तथापि, तीमध्ये कुनैलाई पनि सहर अर्थात् पुरी वा नगरको रूपमा व्याख्या भने गर्न सकिन्न । रामायणमा भने त्यस्ता गुफालाई नै पुरी वा नगरको रूपमा व्याख्या गरिएको छ । अनि हामीलाई अनायासै भनिन्छ–सीतालाई खोजेर ल्याउने सुगरिभको वाचा पूरा नभएको भन्दै लक्ष्मण पानी पर्ने मौसमको अन्त्यतिर कार्तिक महिनामा जब क्रोधित मुद्रामा किष्किन्धामा पुग्छन्, तब उनले त्यहाँ द्वारपालहरूमात्र होइनन् बरु कैलाश जति अग्ला घरहरू भएका शाही राजपथ र सात वटा ठूला चोकहरू पनि देखेका थिए । त्यहाँ उनले अन्न र मदिरा बेच्न राखिएको बजार(पन्य) पनि देखेका थिए । त्यहाँ लक्ष्मणले सुग्रिरब सुनको आसनमा रुमालाई अँगालेर बसेका देखेका थिए । सुग्रिबको वरपर निकै सुन्दर युवतीहरू थिए ।
किष्किन्धाबारे यति समृद्ध र काव्यिक वर्णन यही काण्डमा पटक पटक दोहोरिने वर्णनसँग विरोधाभासपूर्ण छ । रामायणको यो काण्डमा बाली र सुग्रिरब गुफामा बस्ने गरेको र त्यो गुफा पहाडी जङ्गलको माझमा थियो ।
बाली गम्भीररूपमा घाइते बन्दा उनले रामलाई भनेका थिए, “तिमीले म जस्तो फलफुल, कन्दमुल र अन्य वन्य आहार खाएर बाँचेको जङ्गल डुलुवालाई किन मा¥यौ ?” बालीले बोलेका यी केही वाक्यले बाँदर र उनीहरूका जीवनशैली अनि उनीहरू बस्ने ठाउँबारे हामी बुझ्न सक्छौँ ।
सहरका तीन वर्णनमध्ये किष्किन्धाको वर्णन सबभन्दा अवस्तुगत, काल्पनिक र नियोजित लाग्छ । तथापि, सर्वसाधारणदेखि केही विद्वान्हरूसमेत यी वर्णनहरूको सही थप्दै छन् ।
दण्डकारण्य
दण्डकारण्यको सही पहिचानको लागि मरिचीको वर्णन ज्यादै महत्वपूर्ण हो । तथापि, केही विद्वान्हरूले भने यो वर्णनलाई उपेक्षा गरेका छन् । शुपर्णखा लङ्का पुगेर जब रावणसमक्ष रामले आफ्ना भाइहरू र अन्य कैयौँ राक्षसको वध गरेको र सीताको अत्यन्त सुशील सौन्दर्यबारे वर्णन सुन्दै गर्दा रावणले रामलाई सजाय दिनेबारेमा नभई सीतालाई अपहरण गर्ने विषयमा मात्र सोच्छन् ¤ रावण तत्कालै आफ्नो सुनको रथ (इच्छाधारी रथ) बसेर मरिचीको सहायताको लागि दौडिहाले । मरिचीलाई रावणले सुनको मृगको रूप धारण गरेर रामलाई अन्यत्र आकर्षित गर्न अह«ाए । मरिचीले सुरुमा त यो काम गर्न मानेनन् किनभने उनलाई रामको शक्तिबारे थाहा थियो । राम भर्खरको केटो नै भए पनि उनको एउटै तीरले मरिची घाइते भए । मरिची त्यत्तिबेला दण्डकारण्यमा बसेर ऋषिमुनिहरूलाई दुःख दिइरहेका थिए । रामको तीर लागेर मरिची समुद्रमा खसे र पछि होस आएपछि लङ्कातिर भागे ।
अब केही क्षणको लागि हामीले रावण आउनु र सीतालाई लङ्का लगिनुअघिको समग्र घटनाक्रममा विचार गर्ने हो भने हाम्रोसामु सबभन्दा प्राकृतिक भौगोलिक अवस्था छर्लङ्ग हुन्छः
क) विश्वामित्र अयोध्या जान्छन् अनि राम र लक्ष्मणसामु राक्षसविरुद्ध लड्न सहायताको लागि आग्रह गर्छन् ।

ख) दशरथले निकै पीडा र असजिलो मानेर राम र लक्ष्मणलाई जान अनुमति दिन्छन् ।
ग) विश्वामित्रले दुवै केटाहरूलाई साथमा लिएर गएर कौशम्बी, वैशाली, मिथिला र अन्य केही महत्वपूर्ण सहरहरू देखाउँछन् ।
घ) अयोध्याको दक्षिणमा रहेको गङ्गा तरेर उनीहरू दण्डकारण्य जङ्गलमा जान्छन् ।
ङ) यही जङ्गलमा मरिची र अन्य राक्षसहरूले ऋषिमुनिहरूलाई दुःख दिइरहेका हुन्छन् । ती राक्षसहरूमध्ये कतिलाई त्यहाँ मारिन्छ भने कति भागेर लङ्का पुग्छन् ।
त्यसो भए लङ्का कहाँ छ त ? यो समुद्रपारि सिलोन हुनसक्दैन । बरु, त्यो आज दण्डकारण्य भनिएको जङ्गल नै हुनुपर्छ । गोण्ड र सो क्षेत्रका अन्य आदिवासी जातिहरूले त्यो ठाउँलाई त्यही नाम (लङ्का) ले बोलाउने गर्छन् । यो खास लङ्का पनि तालको बीचमै थियो । जबलपुर र पूर्वी मध्य प्रदेशमा र वरपर अहिले पनि धेरै प्राकृतिक ताल तलैयाहरू छन् ।
अयोध्या
अयोध्या कोशलामा थियो । सुरायु नदीको किनारामा अयोध्या थियो । राजा मनुले यो सहर बनाएको बताइन्छ । यो सहर १२ योजन लामो र ३ योजन चौडा क्षेत्रफलमा फैलिएको थियो । यो सहरलाई सडक र बजारले विभाजित गरेको थियो । पर्खाल र पर्खालसँगै खनिएका खाल्डोले यो सहरको सुरक्षा व्यवस्था गरिएको थियो । सो सहरमा अग्ला अग्ला भवन, बजार र नाचगान गर्ने प्रेक्षालय र सबै खालका व्यापारी र शिल्पकारहरू थिए । यो सहर अन्न र हिरामोतीको लागि समृद्ध र धनी थियो ।
विष्णुको अवतार राम
महाभारतभन्दा रामायण कुन अर्थमा फरक छ भने रामायणका हरेक महत्वपूर्ण घटनाक्रममा राम नै केन्द्रीय भूमिकामा छन् । लक्ष्मणको सहयोगमा १६ वर्षको उमेरमा नै रामले रावणको वध गरेका थिए । उनले दण्डकारण्यमा एकैचोटि कम्तीमा १४ हजार राक्षसहरूलाई मारेका थिए । त्यो लडाइँमा रामका विपक्षीहरू भव्य रथहरूमा आएका थिए भने राम खाली खुट्टा थिए । रामले आफ्नो एउटै तीरले सबै सात सालका रुखहरूलाई चिरा पारेका थिए । अन्ततः रामले नै रावणको वध गरे अनि शुद्धि गरिएकी सीतालाई रावणको पुष्पक विमानमा बसेर अयोध्या फर्केका थिए । यी सबै घटनाक्रम र विशेषतः बहुविवाह गर्ने चलन भएको र सुन्दर युवतीहरूसँग सामिप्यता सामान्य भएको त्यो समयमा रामको एक पत्नी व्रत, सबै प्रतिकूल परिस्थितिबीच रामप्रति सीताको अगाढ प्रेम, लक्ष्मणको भ्रातृप्रेम र हनुमानको अथक सेवा भारतीय मन मनमा बलियो गरी बस्न सफल भयो । यी सबै चरित्र भएका पात्र आदर्श बने र त्यो आदर्शलाई सबैले सम्मान गरे ।
यो विश्वास कति पुरानो हो र यसको स्रोत के हो ?
राम र सीताको कथा स्वाभाविक कथा हो । यो कुनै पनि बेला कुनै पनि ठाउँमा हुनसक्ने घटना हो । त्यसकारण यो सर्वव्यापी छ । तर, यसका चार वा पाँच पात्रहरूको व्यवहार भने दुर्लभ र असामान्य छ । त्यसले सबै पाठकको मन तानेको हुन्छ । बारोडामा रामायणको आलोचनात्मक संस्करण तयार हुनुले कम्तीमा पाँचौँ शताब्दी ईस्वी संवत्देखि भारतमा रामायण अस्तित्वमा थियो भन्ने कुरा पुष्टि हुन्छ । त्यही समयबाट नै रामायणका महत्वपूर्ण घटना र दृश्यलाई विष्णुका मन्दिर र सम्भवतः शिवका मन्दिरहरूमा पनि कुँदने काम थालनी भयो । (यद्यपि अहिलेसम्म हामीले त्यत्तिबेलाको रामकै नाममा बनेका कुनै पनि मन्दिर भने देखेका छैनौँ ।)
कालीदासले एउटा महत्वपूर्ण काव्य ‘रघुवंश’ यही समयमा रचना गरेका थिए । त्यसमा रामायण पनि समावेश गरिएको छ । अनि केही समयपछि भावभुतीले आफ्नो प्रसिद्ध ‘उत्तर–रामचरित्र’ रचना गरेका थिए ।
पन्ध्रौँ शताब्दीसम्ममा रामायण भारतका अधिकांश भूभागमा मात्र होइन, भारतबाहिर समेत फैलिसकेको थियो । इन्डोनेसियाको जाभाको मन्दिरका साथै मध्य एसियाबाट प्राप्त शिलाहरूबाट त्यो थाहा पाउन सकिन्छ ।
रामायणका धेरै थरी संस्करण (रूप) छन् । भारतमा मुख्यतः दुई वटा रामायण छन् ।
रामायणका विभिन्न थरी
उत्तरी संस्करणका थप तीन थरी छन् ः
क) शारदा वा उत्तर–पश्चिम थरी
ख) नेपाली वा उत्तर–पूर्वी थरी
उत्तर–पूर्वी रामायणका थप दुई थरी छन् ः
१) मैथिली
२) बङ्गाली
ग) देवनागरी थरी
प्रमुख तीन रामायण अरू धेरै उपविभाजनमा विभाजन गर्न सकिन्छ ।
दक्षिणी संस्करणका थप तीन थरी छन्ः
१) तेलुगु थरी
२) ग्रन्थ थरी
३) मलायालम थरी
यी प्रत्येकका पनि तीन थरी छन् ।
यी सबै विभाजन र उपविभाजनबीच एउटा कुरा भने स्पष्ट हुन जरुरी छ–रामायणको सुरुको संस्करण ईस्वी संवत् १०२० देखि सबभन्दा पछिल्लो संस्करण १८०० सम्म अवधिको छ । यो कुरालाई अझ प्रस्टरूपमा बुझ्न हामी निम्नानुसारको रेखाचित्र बनाउन सक्छौँ । हेनोस् चित्र नं. १ र २ ।
आलोचनात्मक संस्करण
विभिन्न रामायणका पाण्डुलिपिलाई एकै ठाउँमा ल्याएर बारोडामा आलोचनात्मक संस्करण तयार गरियो । रोचक कुरा के हो भने रामायणको अहिलेसम्मको सबभन्दा पुरानो पाण्डुलिपि नेपालको पाण्डुलिपि हो । त्यो सन् १०२० को मितिको हो । अनि चार थरी रामायणमध्ये दक्षिण भारतको रामायण भने सबभन्दा भरपर्दो मानिएको छ किनभने त्यसमा सबभन्दा कम विरोधाभास छ ।
कुनै पनि कृतिको आलोचनात्मक संस्करणले मात्र हामीलाई कुनै निश्चित समयमा अस्तित्वमा रहेको प्रमाणित हुनसक्ने भरपर्दो कृति दिनसक्छ । हामीले अहिले चर्चा गरिरहेको रामायण ईस्वी संवत् पाँचौँ शताब्दीतिर अस्तित्वमा आइसकेको हुनुपर्छ । तर, भरपर्दो पाठको पुनःपाठको अर्थ त्यो पाठमा लेखिएका सबै कुरा तत्कालीन समय र विगतको कुनै पनि समयमा सत्य नै हुन्छ भन्ने होइन । बाल्मिकीले कुनै वीररसले भरिएको काव्य रचना गरेका थिए । त्यो काव्यले इतिहासका हरेक कालखण्डमा रूप बदल्दै गयो र हरेक कालखण्डले त्यसमा आफ्नो केही न केही छाप छोड्दै गएको छ । जब यो साहसिक काव्यको रचना भएको थियो, त्यत्तिबेला मिथकीय पात्र र घटना कथामा राखिएको थियो । यस्तो रूपान्तरणको प्रक्रिया रोकिएन । हाम्रो आँखाअघि पनि यसले आफ्नो रूप बदलिरहेको छ ।
दैवी हतियार
बालकाण्डमा रामलाई कसरी दैवी हतियार हासिल गर्ने अवस्थामा पु¥यायो भन्ने विषयमा म चर्चा गर्छु । संसारको कहीं पनि लामो समयसम्म लडाकुहरूको सामान्य हतियारको रूपमा धनुष र वाण प्रयोग हुने गथ्र्यो । हात–हातै लडाइँको लागि लडाकुहरू त्यत्तिबेला गदा वा ढाल–तरबार प्रयोग गर्थे । राक्षसहरूले पनि आफ्नै खालका हतियार प्रयोग गर्थे । उनीहरू कहिले रुख उखेलेर लड्थे । कहिले ठूलठूला ढुङ्गा शत्रुमाथि हानेर आक्रमण गर्थे । बाँदरहरूले कहिल्यै पनि धनुष–वाण, ढाल–तरबार वा अन्य कृत्रिम हतियार प्रयोग गरेनन् । उनीहरू सधैं रुख, पत्थर नै हमलाको लागि प्रयोग गर्थे । उनीहरू स–साना पहाडका थुम्कोमा बसेर लड्थे ।
तसर्थ, रामायणका रचयिताले गरेको भेदबाट हामीलाई महाकाव्यका तीन प्रमुख सहभागीहरूलाई चिन्न वा वर्गीकरण गर्न मद्दत गरेको छ । राम, लक्ष्मण र राक्षसहरूका हतियार, वाण, ढाल आदिको वर्णन गर्दा, प्रयोग गरिएका शब्दहरूको अध्ययन गर्दा तिनीहरू सबै फलामले बनेको थियो । त्यत्तिबेला प्रयोग गरिएका हतियार कस्तो खालका थिए, सदृश्य वर्णन गर्न गा¥हो छ । तथापि, ती हतियार पुराना खालका थिएनन्–यो भने हामी निश्चयका साथ भन्न सक्छौँ । ती हतियार फलामे युगका हतियार थिए । फलामे युगको सुरुवात झन्डै ८०० ईसापूर्व थियो ।
इतिहासको समयक्रममा ‘अस्त्र’ शब्दको अध्ययन गर्दा पनि ती हतियार त्यत्ति पुराना थिएनन् भन्ने देखिन्छ । ‘अस्त्र’ को अर्थ हुन्छ–जादुमयी हतियार अथवा विभिन्न मन्त्र फुकेर प्रयोग गर्न सकिने हतियार । त्यस्ता हतियारले विभिन्न खालका प्रभाव पार्न सक्छन् । जस्तैः सहर वा खेतीपातीमा आगो लगाउने, पानी पार्ने वा आँधीबेहरी सिर्जना गर्ने आदि । संस्कृत साहित्यमा यो निकै पछिको परिकल्पना हो । ऐतिहासिकरूपमा भन्दा अस्त्रहरू सेनाको तल्लो तहका सिपाहीहरूलाई चलाउन दिइँदैनथ्यो । त्यस्ता हतियारको प्रयोग निकै कम मात्र हुने गथ्र्यो र तिनको प्रयोग सीमित मानिसको हातमा हुन्थ्यो । त्यस्ता मानिसहरूमा दैवी शक्ति हुन्थ्यो । रामायण आफैले पनि त्यस्ता जादुमयी हतियारको उत्पत्तिबारे रोचक व्याख्या गरेको छ । बालकाण्डमा गरिएको वर्णनले त्यस्ता हतियारको पछिल्लो उत्पत्ति प्रमाणित गर्छ ।
रामायण महाकाव्य र पुराणहरूमा अस्त्रको अवधारणाको सुरुवात त्यत्तिबेला भयो जतिबेला स–साना ऐतिहासिक घटनाहरूलाई मिथकीय वर्णनले उछिन्न थालेको थियो । तर, यसले भारतीय इतिहासमा कुनै असर पारेको देखिएन । यदि त्यस्ता जादुमयी हतियार भारतसँग त्यत्तिबेला वास्तवमै हुँदो हो त इतिहासमा भारत कुनै पनि विदेशी हमलाकारीसँगको लडाइँमा पराजित हुने थिएन । त्यसकारण अस्त्रको अवधारणा मिथकीय भएको मलाई लाग्छ ।
किष्किन्धा र लङ्काको वर्णन ज्यादै झकिझकाउ थियो । तर, तिनको ऐतिहासिक आधार निकै कमजोर थियो ।
भारतभित्र होस् वा बाहिर, पुरातत्वलाई थाहा भएको कुनै पनि प्राचीन सहरमा सुनको ढोका थिएन । न सुनको पाताले मोडिएको द्वार नै । फलामको तोरण भएको पनि कहीँ भेटिएको छैन । लङ्का सहरको सिङ्गो वर्णन एउटा पहाडको थुम्कोको थियो । त्यसैलाई समुद्रको टापु मानियो । त्यो दरबारलाई चारैतिर बुर्जाहरूले घेरिएको भएको भनी गरिएको वर्णन मिथकीय वर्णन हो । रामले लङ्कामाथि हमला गर्दा त्यसको कसरी चारैतिरबाट रक्षा गरियो भन्ने कुराले पनि यो मिथकीय वर्णन भएको बुझाइलाई टेवा दिन्छ ।
दक्षिण भारत–अज्ञात
रामायणका रचयिता कवि बाल्मिकीलाई दक्षिण अथवा भारतको बिन्ध्याभन्दा दक्षिणतिरको भूभागबारे केही थाहा नभएको देखिन्छ । उनलाई त्यहाँ (दक्षिण) का विभिन्न पहाडी शृङ्खलाबारे प्रस्ट र स्पष्ट जानकारी नभएको मात्र होइन, बरु दक्षिणी भारतका मानिस, स्थान र परम्पराबारे पनि उनलाई कुनै जानकारी थिएन ।
अन्तिम संस्कार र बालिको दाहसंस्कार
बाँदरहरूका मुखिया बालिको राजधानी किष्किन्धा आन्द्र–कर्णाटकको बेलारी क्षेत्रमा थियो भन्नेमा केही विद्वान्हरू विश्वास गर्छन् । तर, उनीहरू सो क्षेत्र र त्योभन्दा दक्षिणी भागमा मेगालिथिक र निओलिथिक काल अर्थात् ईसापूर्व ५०० देखि २५०० सम्मका अवशेषहरूले भरिएको कुरालाई उपेक्षा गर्छन् । रामले बालिको हत्या गरेपछि सुग्रिबले आफ्नो परिवारका सबै सदस्यसँगै आएर बालिको दाहसंस्कार गर्न आदेश दिन्छन् । रामायणमा बालिको दाहसंस्कारको बिस्तारमा व्याख्या गरिएको छ । तर, निकै थोरै मानिसले मात्र दाहसंस्कारको यो चलन कति पुरानो हो र आज पनि आन्द्र–कर्णाटक क्षेत्रमा यो चलन छ वा छैन भनी सोधेको वा चासो राखेको देखिन्छ । रामायणमा समावेश बालिको दाहसंस्कारसम्बन्धी ३० वटा श्लोक पढ्ने जोकोही कविले हिन्दू (आर्यन) मौलिक शैलीको दाहसंस्कारको वर्णन गरेकोमा स्पष्ट हुन्छ । दाहसंस्कारको यो शैली वैदिककालबाट सुरु भएको मानिन्छ । तर, सिङ्गो दक्षिण भारतमा यस प्रकारको दाहसंस्कारबारे पूर्णतः अज्ञात छ । उत्तरमा गोदावरीदेखि दक्षिणको तामब्रपार्नीसम्म आदिकालदेखि कम्तीमा झन्डै तेस्रो शताब्दीसम्म त्यस्तो कहीँ पनि चलन पाइँदैन । त्यहाँ लास गाड्ने चलन थियो । वयष्कलाई उत्तर–दक्षिण गरी खनिएको खाल्डोमा गाडिन्छ भने १४ वा सोभन्दा मुनि उमेरका केटाकेटीलाई माटोका भाँडाहरूमा उत्तानो पारेर वा बसाएर गाडिन्छ । त्योभन्दा निकै साना बच्चाहरूलाई एक वा दुई वटा माटाका भाँडामा त्यसरी नै गाडिन्छ । झन्डै २५०० ईसापूर्वमा यसरी मानिस गाडिएको सबभन्दा पुरानो प्रमाण पाइन्छ । ईसापूर्व १००० सम्म यस्तो चलन चालू थियो । त्यसपछिको कालखण्डमा लासलाई माटोका विभिन्न आकृति राखिएको विशेषरूपमा खनिएको खाल्डोमा घोप्टो पारेर गाड्ने अनि त्यसमाथि ठूलो ढुङ्गाको स्लाबले मिलाएर ढकनी लगाउने चलन चल्यो । यो प्रक्रियाका विभिन्न तरिका छन् तर, सामान्यतः यसरी खाल्डोमा लास राखेर माथिबाट ढकनी लगाउने ठूलो ढुङ्गाको नाम ‘मेगालिथ’ थियो । सुरु–सुरुका तामिल साहित्यमा प्राग ऐतिहासिक कालसम्म यस्तो चलन चालू रहेको उल्लेख छ । तथापि, रामायणका रचयितालाई मेगालिथिक कालबारे केही जानकारी थिएन । अनि निओलिथिक कालको अन्तिम संस्कारबारे पनि उनलाई थाहा थिएन ।
विद्यमान रामायण–एउटा आख्यान
रामायणका विद्यमान सबै संस्करणहरूप्रति मानिसहरूको विश्वास यति पुरानो, व्यापक र गहिरो थियो कि बारोडामा तयार गरिएको आलोचनात्मक संस्करणले समेत तिनका अधिकांश मान्यता र कथा समावेश गर्नुपरेको थियो । रामायणसम्बन्धी झन्डै ईस्वी संवत्को पाँचाँै शताब्दीका मन्दिरका अभिलेख, प्रथमदेखि द्वितीय ईसापूर्व शताब्दीका साना माटाका पाटाहरू, जाभा (इन्डोनेसिया) र भियतनाम (प्राचीन चम्पा) मा ईस्वी संवत्को सातौँ शताब्दीअघिका अभिलेखहरू फेला परे पनि तिनमा घटना, स्थान र व्यक्तिहरूको वर्णनको आलोचनात्मक अध्ययनले ती सबै अतिरञ्जनापूर्ण भएको र वास्तविक जीवनमा तिनको कुनै अस्तित्व नभएको निकै दुःखका साथ भन्नुपर्छ । (भियतनामको त्रा–कियन भन्ने ठाउँमा ईस्वी संवत् सातौँ शताब्दीमा राजा प्रकाशधर्म (६५३–७९ ईस्वी संवत्) ले बाल्मिकीको नाममा समर्पित मूर्ति र मन्दिर बनाउन लगाएका थिए ।) रामलाई विष्णुको अवतार र रावण तथा अन्य रामका विरोधीलाई राक्षसको रूपमा लिइने समयका सबै पात्र मिथकीय बने । फलतः राम र रावण अनि उनका आफन्त र सहयोगीहरू, उनीहरू बसेका ठाउँलाई विभिन्न कोणबाट हेर्न र व्याख्या गर्न थालियो ।
रामायण बाल्मिकीको सिर्जनामात्र थियो । बाल्मिकीलाई त्रिकालदर्शी भनिएको छ । उनीसँग भूत, वर्तमान र भविष्य देख्न सक्ने क्षमता थियो । तथापि, उनी आफै कुनै समय र ठाउँका थिए । अनि उनले आफ्नो काव्यमा बेला मौकामा आफ्नो समय र स्थानबारे सङ्केत पक्कै दिने गरेको हुनुपर्छ । यदि कवि बाँचेको समयसम्बन्धी सङ्केतलाई पहिचान गर्न सके हामीले वास्तविकता वा सत्य कथा पहिल्याउन सफल हुनेछौँ । रामायणको सत्य वा वास्तविकता पुरातत्वको सहायतामा र रामायणको गम्भीर भौगोलिक अध्ययनबाट पहिल्याउन सक्छौँ । जातजातिसम्बन्धी तथ्य–तथ्याङ्कका साथै बोटविरुवाहरूको अध्ययनबाट हामीले यस्तो छलफललाई बलियो बनाउन सक्छौँ । यस्तो बहुआयामिक अध्ययनबाट हामीलाई वास्तविक रामायणसम्म पुग्न मद्दत गर्नसक्छ ।
डा.पीएल वैद्यले सोचेजस्तो वास्तविक रामायण ‘रामोपख्यान’ जस्तै वाचन गर्न सकिन्न । काव्यको रूपमा नभई इतिहासको रूपमा लिइने महाभारतमा ‘रामोपख्यान’ समावेश भए पनि तथ्य (पुरातत्व) का कोही पनि विद्यार्थीको एकै हेराइमात्रले पनि ‘रामोपख्यान’ मा पनि धेरै मिथकहरू भएको सजिलै पहिल्याउन सक्दछन् । त्यसमा उल्लेख धेरै त्यस्ता मिथकमध्ये एउटा मिथक त सयौँ योजन लामो नदीमा पुलको निर्माण गर्ने कथा हो । रामायणको कथाभन्दा रामोपख्यानको कथा केही फरक पनि छ । रामोपख्यानमा विभीषणको चर्चा छैन । बरु अभिन्ध्या नामको पात्र छ । सीताको शुद्धता अग्निमा नभई वायुमा परीक्षण गरिन्छ । तथापि, मलाई रामोपख्यान रामायणकै सङ्क्षेपीकरणजस्तो मात्र लाग्छ जसरी जाकोबी, सुकथान्करलगायतका विद्वान्हरूले गरेका थिए । जति जति म रामायणको ऐतिहासिकता वा हाम्रा महाकाव्य र पुराणलाई प्रमाणित गर्ने यस्ता साहित्यिक अवधारणाबारे गहनरूपमा पढ्दै जान्छु, मलाई पुरातात्विक र अन्य विभिन्न कोणबाट यसमा अझ धेरै काम गर्नुपर्ने अनुभव हुने गरेको छ ।
रामायण– वास्तविकता
यदि हामीले रामायणको मूल कथा वास्तविक हो भन्ने कुरा प्रमाणित गर्नु छ भने त्यसका मुख्य पात्रहरू–राम, दशरथ, सीता, जनक, बालि, हनुमान र रावणका साथै तिनीहरूसँग जोडिएका विभिन्न महत्वपूर्ण स्थान पनि सत्य हुन् भनी प्रमाणित गर्नुपर्ने हुन्छ । त्यस्तै रामको वनवास, सीताको अपहरण, रावणबाट सीताको फिर्ता आदि घटनाक्रम निश्चित भौगोलिक परिधिभित्र हुनसक्छ भनेर पनि प्रमाणित गर्नुपर्ने हुन्छ ।
रामको ऐतिहासिकता
रामका पुर्खा इक्ष्वाकु वंशका थिए । त्यो वंशको राजधानी अयोध्या थियो । यो वाक्यलाई प्रमाणित गर्ने कुनै ऐतिहासिक प्रमाण त छैन । तथापि, सबै पुराण र इसापूर्व तेस्रो शताब्दीसम्मका आरम्भिक जैन तथा बौद्ध परम्पराले पनि यो कुरालाई स्वीकारेका छन् । वैदिक साहित्यका सुरु–सुरु र पछिल्ला साहित्यमा रामलाई कुनै प्रस्ट र दुविधारहित पात्रको रूपमा चित्रण गरिएको छैन । यद्यपि, विदेहका राजा जनकको चर्चा उपनिषद्मा प्रायशः आउने गरेको छ ।
त्यस्तै अयोध्या, मिथिला, कौसम्बी, कन्याकुब्जा निकै चर्चित स्थान नामहरू हुन् । पुरातात्विकरूपमा प्रमाणित नभए पनि ती स्थानहरूको इतिहास कम्तीमा ८०० ईसापूर्व पुरानो हुनुपर्छ ।
म अयोध्याको उत्खनन शीघ्रातिशीघ्र हुनुपर्ने बताउन चाहन्छु । म त्यो ठाउँमा पुग्दा मैले त्यहाँ केही भेटाउन सकिनँ । बरु रामायणका विभिन्न चरित्रहरूका नाम जोडिएका थुम्काहरूमात्र देखेँ । नदीको बीचमा पनि एउटा थुम्को थियो । त्यो भूक्षयले साँघुरो बन्दै थियो ।
अयोध्यामा मेरो भ्रमण निकै छोटो अवधिको थियो । हामी बनारसबाट त्यहाँ अपराह्न ३ बजे पुगेका थियौँ, ५ बजेसम्ममा त हामी फर्किसकेका थियौँ । त्यही क्रममा हामीले चित्र कोरिएको एउटा खैरो रङको माटा भाँडाका टुक्राहरू हे¥यौँ । ती उत्तर राजस्थानका विभिन्न स्थान र मध्यप्रदेशको उज्जेननजिक कयाथा तथा पञ्जाबको उत्तरी क्षेत्रमा फेला परेका माटाका भाँडाका टुक्राहरू थिए । उत्तर प्रदेशका विभिन्न स्थान हुँदै पूर्वमा नेपालको तराईसम्ममा यस्ता टुक्राहरू फेला परेका छन् । यी टुक्राटाक्री ईसापूर्व ८०० देखि ४०० सम्मको हुनुपर्छ । यदि सबभन्दा पछिको समयलाई नै आधार मान्ने हो भने अयोध्या र अन्य स्थानको ऐतिहासिकता ईसापूर्व ८०० सम्मको हुनसक्छ । अयोध्या, मिथिला, कौसम्बीलाई अझ गहिराइमा उत्खनन गर्ने हो भने त्यो अझ पुरानो कालखण्डको पनि प्रमाणित हुन सक्छ । बेसार रङको भाँडाकुँडा भेटिए त्यो स्थान १७०० ईसापूर्वको हुनसक्नेछ ।
अयोध्याको जग
त्यसकारण उत्तर प्रदेश र विहारमा पर्ने अयोध्या र अन्य स्थानहरूको जगलाई हालको लागि झन्डै १५०० ईसापूर्वको मान्न सकिन्छ । यो कुनै पुरातात्विक अन्वेषणको आधारमा निकालिएको निष्कर्ष भने होइन । गङ्गा र घोग्रा नदीको सङ्गम चिरान्डमा उत्खनन गर्दा प्रारम्भिक पशुपालन र कृषि युगका अवशेष फेला परे । जस्तैः चामल, माछा मार्ने र शिकार गर्ने सामान आदि । त्यो समय भनेको ईसापूर्व २००० को हुनुपर्छ । रामायणमा अयोध्याको वर्णन गर्दा चामलको भकारीको प्रसङ्ग आउने गर्छ । यद्यपि, यो सम्भवतः सबभन्दा पछिल्लो समयको वर्णन हुनसक्छ र त्यो सहरको सुरुको अवस्थालाई यसले व्याख्या नगरेको हुनसक्छ ।
रामायणको बालकाण्ड र अयोध्याको वर्णनलाई आधार मान्ने हो भने अयोध्या ईसापूर्व १५०० अथवा निकै ढिलामा १००० ईसापूर्वको हुनसक्ने अनुमान गर्न सकिन्छ । सिन्ध, पञ्जाब, बलुचिस्तान र कुचमा रहेका हिन्द (र अहिले हिन्दभन्दा अघिका) सहरहरूको आधारमा गङ्गा–यमुना तटमा कुनै साना–ठूला सहर छैन भनी प्रस्टरूपमा भन्न सकिन्न । हाम्रो पूर्ण अज्ञानता नै योजनाबद्ध र समस्यामुखी उत्खननको कारण हो । अयोध्या, वैशाली, कोसम्बी, अचीछात्रजस्ता क्षेत्रको ठाडो शैलीको उत्खननले हामीलाई बुद्ध अघि र पछिका तथ्यगत चित्र पक्कै दिनेछ । वास्तवमा मौर्य, सुङ्गा, कुशाना र गुप्त अवधिको समेत हामीसँग कुनै किसिमको प्रमाण छैन । रामायणले हामीलाई त्यो समयावधिको विषयमा थोरैमात्र भए पनि जानकारी दिने भएकोले त्यसप्रति हामी आभारी बन्नै पर्दछ । मलाई लाग्छ, अयोध्या, किष्किन्धा र लङ्काबारे रामायणको आलोचनात्मक संस्करणमा उल्लेखित वर्णनका आधारमा ती सहरहरू सन् १०० देखि सन् ४०० को बीचमा कुशाना र गुप्त अवधिमा बनाइएका सहर हुनसक्छन् । अयोध्याबारे गरिएका केही अन्य व्याख्याको आधारमा त्यो ईसापूर्व तेस्रो वा चौथो शताब्दीसम्मको पनि हुने सम्भावना छ । त्यत्तिबेला सहरहरू किल्लाबन्द हुन्थे । घरहरू कम तला र कौसी भएका हुन्थे । साँची र भरहुतका अस्तित्वमा रहेका अभिलेखहरूको आधारमा यस्तो निष्कर्ष निकाल्न सकिन्छ ।
आयोध्याका माटाका घर
राम वनबास जाने खबर सुनेर कौशल्या भुईँमा लडेकी थिइन् र उनको शरीरमा धुलो लागेको थियो । हामीले रामायणमा यही कथा सुनेका छौँ । यदि दरबारको भुर्इँमा ईँटा वा ढुङ्गा छापिएको हुँदो हो त कौशल्या भुर्इँमा लड्दा उनको शरीरमा धुलो लाग्ने थिएन । कविले त्यत्ति ध्यान पु¥याउन नसकेको यो सानो र कम महत्वको प्रसङ्गले खासमा अयोद्याका घरहरूको वास्तविक अवस्थाबारे हामीलाई केही सङ्केत गरेको छ । ती घरहरू आकारमा ठूला नै भए पनि तिनीहरू माटा वा माटाले बनेका र्इँटाको हुनुपर्छ । हिन्द सभ्यताको उत्खनन गर्दा हामीले त्यस्तै अवशेष फेला पारेका थियौं । त्यत्तिबेला ढुङ्गा सजिलै पाइन्थ्यो भने अहार र सोमनाथमा जस्तै तिनको जग पनि ढुङ्गाकै हुनुपथ्र्यो । तर, त्यत्तिबेलाका घरका भित्ताहरू बाँसका आधारमा माटाले बनाइएका थिए । छाना फुसले छाएको थियो । आधुनिक सभ्यता पस्न नपाएका भारतभरका अधिकांश बस्तीहरूमा अझै पनि त्यस्तै शैलीका घरहरू छन् । अयोध्या नजिकका गाउँका छाप्राहरू त्यस्तै थिए ।
दण्डकारण्यमा रामको यात्रा
हिन्दू र बौद्ध स्रोतका सुरुका ऐतिहासिक साहित्यमा त्यस्तो कुनै पुरातात्विक प्रमाण त छैन, तथापि हामीले राम अयोद्यामा बस्ने कुरामा विश्वास गर्नुपर्छ । अनि उनी सीता र लक्ष्मणसँग अयोद्याको दक्षिणतिर लागेका थिए । त्यही क्रममा उनी दण्डकारण्य पुगेका थिए । अयोद्याबाट प्रयागको दक्षिणमा रहेको चित्रकुता र अलाहाबादमा पुगेको सही ढङ्गले पहिचान गर्न सकिन्छ । खासमा यसमा कुनै पनि विवाद नै छैन ।
भारद्वाज आश्रममा सत्कार
तर, रामायणका सम्पादकहरू र सबै सुरुका विद्वान्हरू अनौठो नमानेको कुरा के हो भने भरत, उनका तीन विधुवा आमा र साथमा गएको सेनालाई भारद्वज ऋषिले नदीको दक्षिण किनारामा ज्यादै अनुचित व्यवहार गरेका थिए ।
एक सय घ्याम्पो मदिरा
रामायणको एउटा प्रसङ्गमा सीताले निकै ठूलो कालिन्दा नदी आफूलाई सुरक्षितरूपमा तर्न मद्दत गरे आफूले कालिन्दा नदीमा एक सय घ्याम्पो मदिरा चढाउने वाचा गरेकी हुन्छिन् । भाग्यवश यो प्रसङ्ग रामायणको आलोचनात्मक संस्करणमा हटाइएको छ । रामायणका विभिन्न संस्करणमा यी घटना र तिनको प्रस्तुतिले हामीलाई तिनको संस्करण पत्ता लगाउन सहज हुनेछ ।
दण्डकारण्य–गलत पहिचान
दण्डकारण्य भन्ने ठाउँ खासमा कहाँ पर्छ भन्ने कुरा निश्चय नहुँदा सिङ्गो रामायणकै गलत व्याख्या भएको छ । सीतालाई नासिक नजिक पञ्चावतीबाट अपहरण गरिएको, लक्ष्मण उनलाई खोज्ने क्रममा बाँदरहरूको सम्पर्कमा पुगेको, अनि सिङ्गो दक्षिण भारतमा अघि बढेको अनि रामेश्वरम्मा हिन्द महासागरमाथि पुल बनाएर श्रीलङ्कामाथि हमला गरी रावण अनि उनको परिवारको वध गरी सीताको उद्धार गरिएको कथा सबै दण्डकारण्यको सही पहिचान नहुँदा बनेका कथाहरू हुन् । रामायणको वास्तविक संस्करण गम्भीरतापूर्वक अध्ययन गर्ने जो कोहीले पनि यो सबै कथा कुनै घटित घटना नभएको सजिलै भन्न सक्छ ।
बिन्ध्या वनमा लङ्का
गल्तीको सुरुवात गोदावरी नदी र दण्डकारण्यको सही पहिचान हुन नसक्नुबाट नै सुरु भएको थियो । रामायणमा प्रस्ट शब्दमा ती स्थानहरू चित्रकुता पहाडबाट नजिक रहेको उल्लेख छ । त्यहाँ पञ्चावती, ऋष्यमुख, पम्पा, किष्किन्धा र लङ्का थिए । रामायणमा ती सबै स्थानहरू बिन्ध्या वन र पहाडकै वरपर भएको बारम्बार उल्लेख छ । सबभन्दा उल्लेखनीय कुरा के हो भने भारतको झण्डै मध्तगमा पर्ने बिन्ध्या वनभन्दा दक्षिण भएर बग्ने नरमदा नदीबारे कहीं पनि उल्लेख भएको पाइँदैन । किष्किन्धा काण्डमा जबरजस्ती घुसाइएका केही श्लोकमा मात्र त्यो नदीको नाम उल्लेख हुने गरेको छ । त्यहाँ सुगरिब आफ्ना बाँदर सेनालाई सीताको खोजी कसरी र कहाँ गर्ने भन्ने विषयमा निर्देशन दिन्छन् । लङ्काको सही पहिचानको लागि यी कुरा ज्यादै महत्वपूर्ण छन् । डा. हिरालाल, डा. रामदास, सरदार किबे र परमशिव अयरजस्ता केही विद्वान्हरूले गरेको रामायणको गहिरो अध्ययन, विशेषतः सुगरिबले हनुमान र अन्य बाँदरहरूलाई बिन्ध्या वनको कुनाकाप्चामा सीताको कसरी र कहाँ खोजी गर्ने भन्ने विषयमा दिएको निर्देशन र अरण्यकाण्डमा सुपर्णखाले व्याख्या गरेको आधारमा रावणको यात्राले लङ्का चक्रकुताको दक्षिण र नरबदाको उत्तरमा पर्ने प्रस्ट पार्छ । यो छोटा नागपुर पठारले बनाएको क्षेत्र हो । यो हालको मध्यप्रदेश, पश्चिम उडिसा, पश्चिम बङ्गाल र दक्षिण बिहारमा अवस्थित छ । हिरालाल र अरूहरूले हामीलाई चक्रकुताबाट झण्डै एघार माइल दक्षिण गोदावरी नदी रहेको बताएका छन् । अहिले त्यो नदी अस्तित्वमा छैन । गोदावरी र दण्डकारण्य कहाँ पर्छ भन्ने पत्ता लागे लङ्का कहाँ पर्छ भन्ने कुरा पत्ता लगाउन सकिन्छ ।
रावण–गोन्ड जातिका राजा
रामदासको सबभन्दा महत्वपूर्ण योगदान भनेको उनले रावण र उनका आफन्तहरू सबै सामान्य मानिसहरू नै थिए भनी प्रमाणित गर्नु हो । रावण एउटा टाउको, दुई वटा हात र दुई वटा खुट्टा भएका साधारण मानिस थिए । उनले अझ अघि बढ्दै हामीलाई रावण सम्भवतः गोन्ड नामको आदिबासी समूहका राजा थिए भनी प्रस्ट पारेका छन् । गोन्ड समुदायमा अझै पनि रावणलाई निकै आदर गर्ने गरिन्छ । उनीहरूको भाषामा लङ्का भनेको निकै ‘उँचो स्थान’, ‘टापु’, ‘राजाको घर’ आदि हो । यही कुरा श्री भी एस पतबद्र्धनले पनि अघि सारेका छन् । पतबद्र्धनले आफ्नो सिङ्गो जीवन चन्द (चन्द्रपुर) का जङ्गलमा रेञ्जरको रूपमा काम गरेका थिए । चन्द्रपुर अघि मध्यप्रदेशको भाग थियो । उनका अनुसार गोन्डहरू सबै महत्वपूर्ण कुरालाई ‘लक्का’ (लङ्का होइन) भन्ने गर्छन् । त्यसकारण, रावण र अन्य राक्षसहरू वास्तवमा आदिबासी समुदाय थिए । धेरै सम्भव उनीहरू गोन्ड समुदायका जनता थिए । बाँदरहरू पनि अन्य आदिबासी वन्यजातिहरू थिए । जसरी सवारा र कोर्कुसहरू त्यस्ता जाति थिए ।
सरदार किबेले अमरकान्टक टारलाई नै लङ्काको रूपमा मान्नुपर्ने प्रस्ताव गरेका थिए । त्यस्तै परमशिव एयरले सर्भे अफ इन्डियाले तयार गरेको भूमि नक्साको बुद्धिमत्तापूर्ण अध्ययन गरी लङ्का त्रिकुत पहाड र सुभेला पहाडमा रहेको तर्क प्रस्तुत गरे । ती पहाडमा रामले आफ्ना बाँदर सेना तैनाथ गरेका थिए । ती दुवै पहाड एकआपसमा आमनेसामने थिए । जबलपुरभन्दा ती पहाडहरू झण्डै १५ वा १६ माइल उत्तर थिए । लङ्का रहेको पहाडको नाम इन्द्राना थियो । उनले रामायणमा सागर वा समुद्र भनिएको १ सय योजन चौडा सागर खासमा एउटा सानो ताल वा नदी भएको पनि बताए । ती ताल वा नदी हनुमान वा रावणले केही कठिनाइ पार गरी तर्न सकिन्थ्यो । एक योजनको हिसाब गर्दा त्यो ताल ११.५ माइलभन्दा चौडा थिएन । किनभने एक योजन भनेको एक सय धनुको लम्बाइ बराबर थियो । त्यो भनेको २०० एकड हो ।
यी सबै विश्लेषण झण्डै ३०–४० वर्षअघि गरिएको थियो । जब म कुनै समस्यामा पर्छु, म बारम्बार रामायणको आलोचनात्मक संस्करण पढ्ने गर्छु । त्यत्तिबेला मलाई हिरालाल, रामदास, सरदार किबे र परमशिव एयरका तर्कमा सहमत हुन्छु । तर, दण्डकारण्य र लङ्का समेतको पहिचानको लागि सालका रुखहरू ज्यादै महत्वपूर्ण सङ्केत हुन् भन्ने मलाई लाग्छ ।
सालका रूखको महत्व
रामले सात वटा रूख र एउटा वाणले हानेर बालीको वध गरेका थिए । यसलाई उनको शक्ति वा क्षमता मानिएको छ । बाँदर र राक्षसहरूबीचको कुनै लडाइँ वा बाँदरहरू आपसमा लड्दा पनि बाँदरहरूले सालको रूख उखेल्ने र त्यसैलाई लठ्ठीको रूपमा प्रयोग गर्थे । हनुमानले लङ्कामा उत्पात मच्चाउँदा रावणको जेठा छोरा इन्द्रजीतले कुनै जादुमयी र अदृश्य ब्रम्हास्त्रले बाँध्दा अरू राक्षसहरू अज्ञानतावश साना, चिरा र अन्य प्राकृतिक डोरीले बाँधिरहेका थिए । यी दुई तथ्यले लङ्का र दण्डकारण्यका स्थानीय परिवेशबारे हामीलाई केही कुरा सङ्केत गर्दछ । छोटा नागपुर टारमा धेरै सालका रूखहरू पाइन्छन् । कवि बाल्मिकी अथवा जो कोहीले पनि सालका रूखलाई उपेक्षा गर्नै सक्दैनन् । यद्यपि उनले लङ्कालाई समुद्र पारि देखाएका छन् जहाँ सालका रूखहरू सामान्यतः भेटाइन्न ।
त्यही भएर मैले सालको जङ्गल पाइने स्थानहरूबारे अध्ययन गर्ने प्रयास गरें । त्यही शिलशिलामा सन् १९६८ मा म छोटा नागपुर पुगें । यसअघि मैले अमरकर्णाटकमा सालको जङ्गल देखेको थिएँ । त्यसकारण, मैले त्यसबाहेक अन्य ठाउँ सोच्न सकिनँ । तर, पछि वनस्पति विज्ञानको अन्य सामग्री पढ्दा ती रूखहरू छोटा नागपुरमा मात्र पाइने र अन्यत्र नपाइने पत्ता लाग्यो । त्यत्ति कुरा पत्ता लागेपछि महाराष्ट्रको नासिक, दक्षिण गुजरातको दाङ जङ्गल र आन्द्र–कर्णाटकको बेलारी क्षेत्र सम्भावित विकल्पबाट हटाउन पनि सकियो । अर्थात् लङ्का पक्का पनि छोटा नागपुरतिर नै हुनुपर्छ । त्यसको लागि हामीले भाषा विज्ञान, जनसाङ्ख्यिक र पुरातात्विक प्रमाण भेटाउन जरुरी हुन्छ । मैले माथि पनि भनिसकें, रामायणको गम्भीर अध्ययन गर्दा लङ्काको भूगोलबारे हामी केही भेउ पाउन सक्छौँ । अनि यो भेउको लागि पुग्दो जनसाङ्ख्यिक र भाषा विज्ञानको प्रमाण पनि भेटिन्छन् । लङ्का अथवा लक्का मुन्दारी शब्द हो । रावण पनि मुन्दारी शब्द नै हो ।
यी सबै प्रमाणको आधारमा आजभोलि श्रीलङ्का भनिने सिलोन क्षेत्र लङ्का भएको पुरानो विश्वास सही हुने सम्भावना निकै कम छ ।
सिलोन र रामेश्वरम
रामेश्वरम वरपरको क्षेत्र समथर भूभाग छ । त्यहाँ बालुवाका होचा ढिस्का भेटिन्छन् । तर, त्यहाँ ढुङ्गाको नाममा केही पनि भेटिँदैन । त्यहाँ ढुङ्गा मनग्य पाइँदो हो त राम र उनका बाँदर सेनाले ती ढुङ्गाको बाटो बनाएको कुरा पत्याउन सकिन्थ्यो । त्यो क्षेत्रमा त रूख बिरूवा समेत निकै कमैमात्र भेटाइन्छ । रामले बनाएको ढुङ्गाको बाटो अथवा सेतुको अवशेष मानिएका कुरा केही नभएर एउटा प्राचीन पहाडी थुम्कोमात्र हो । त्यस्ता किल्लाहरू अस्टे«लियामा पनि भेटिएका छन् । सन् १९६४ मा भएको अध्ययनले यी तथ्यहरू प्रकाशमा आएका हुन् ।
रामेश्वरम र सिलोनबीचको दुरी यति टाढा छ कि कसैले यो दुरी आफ्नै आँखाले देखे भने यो दुरीमा पुल बनाउन सकिने कल्पना पनि गर्नसक्दैन । तर, जसै कविले ‘सागर’लाई नै समुद्रको रूपमा कल्पना गरे उनले समुद्रका सबै पर्यायवाची शब्दजस्तै ‘लवाना–अम्भाषा’ को प्रयोग गरी त्यसको वर्णन गरे । ती शब्दको प्रयोगबाट कविले काव्यमा वास्तवमै समुद्रको प्रभाव बसाल्न खोजे । उनको वर्णन पानीको ठूलो दह वा तालमा मात्र सीमित रहेन । उनको त्यही व्याख्याको कारण एक जना साधारण व्यक्तिदेखि विद्वान्सम्मले लङ्कालाई समुद्रको टापुकै अर्थमा बुझ्नु स्वाभाविक हो ।
सिलोनको प्राचीन नाम
सिलोन टापुको प्राचीन वा प्राक–ऐतिहासिक नाम सिमहाला–द्विप भनी अभिलेख र साहित्यमा लेखिएको छ । विदेशी यात्रीहरूको विवरणमा त्यो ठाउँको नाम ताप्रोबाने ( ताम्रपार्नी) लेखिएको छ । दसौँ शताब्दी ईस्वी संवत्अघिका अभिलेखमा लङ्काको नाम के थियो, थाहा छैन । सिलोनमा रामायण अथवा रामको कथा त्यत्ति प्रख्यात पनि छैन । यद्यपि अशोकवनका केही स्थानहरूको नाम भने रामायणसँग जोडिएका छन् । सिलोनको नाम लङ्का भएको धेरै पुरानो घटना होइन । लङ्का शब्दको गोन्डी भाषामा अर्थ के हो भन्ने विषयमा माथि नै चर्चा भइसकेको छ । अरू अस्ट्रो–एसियाली भाषाहरूमा पनि यो शब्द हुनसक्छ । त्यसको अर्थ ‘टापु’, ‘उँचो ठाउँ’ हो । त्यसकारण सिमहालाको सन्दर्भमा त्यो नाम (लङ्का) प्रयोग भएको हो । त्यो कम्तीमा दुई हजार वर्ष पुरानो कुरा हो ।
लङ्का र भारतका सुरूका बौद्ध सम्पदा
रामायणको सुन्दरकाण्डमा लङ्काको बारेमा गरिएको वर्णनसँग मिल्ने सिलोनमा कुनै नाम वा अवशेष भेटिएको छैन । पुष्पक र अन्य स्थानहरूमा सुन्दर युवतीहरू, हात्ती र अन्य अनौठा जनावरहरूका आकृति कुँदिएका सुन्दर खम्बा छन् । डा. शिवराममूर्तिले निकै प्रस्टताका साथ आजभन्दा ३४ वर्षअघि भरहुत, साँची, जग्गाएपेता, अमरावत्ती र नासिकका गुफा ३ मा त्यस्ता आकृतिहरू भेटिने बताएका छन् ।
रामायण र महाभारत दुवै महाकाव्यमा यस्ता कुरा उल्लेख छन् । भारतभर बुद्ध धर्मको तीव्र विस्तारको कारण त्यस्ता भौतिक निर्माणहरूको प्रभाव यी दुवै काव्यमा परेको देखिन्छ । त्यसकारण दुवै महाकाव्यका यी भागहरू ईसापूर्व दोस्रो शताब्दीदेखि ईस्वी संवत्को तेस्रो शताब्दीसम्मको हुने वा त्योभन्दा पुरानो नभएको देखिन्छ । रामायणको सुन्दरकाण्डमा रावणको दरबारको पटक–पटक वर्णन गरिएको पाउँछौँ । दरबारको वर्णनको क्रममा रात्रीकालीन उत्सवपछि विभिन्न आसनमा बसेका महिलाहरूको आकृति चित्रण गरिएको छ । ती आकृतिहरू देख्दा जो कोहीलाई अमरावती र नगरजुनाकोन्डामा रहेका स्टुपाहरूका ढाँचाको याद हुन्छ । ती स्थानहरूमा गरिएको उत्खनन्को क्रममा रोमन थिएटरजस्ता र अन्य संरचनाहरूका अवशेष भेटिएका छन् । लङ्कामा पनि त्यस्तै थिएटर र मधुशालाहरू हुनसक्छ । तर, मेरो विचारमा रामायणमा गरिएको यस्तो चर्चा कहीँ अन्यत्र रहेको संरचनाको आधारमा गरिएको वर्णनमात्र थियो । दुवै काव्यका यी भागहरू झन्डै त्यही समयमा वा पछिमात्र रचना गरिएका अरू पनि अलग प्रमाणहरू छन् ।
लङ्कामा गोपुरम
रामायणमा लङ्कामा अग्लो गोपुरम भएको प्रसङ्ग मेरो विचारमा पछि मात्र समावेश गरिएको प्रसङ्ग हो । वास्तवमा सिङ्गो सुन्दरकाण्ड र किष्किन्धाका अन्य धेरै श्लोकहरूलाई अति आलोचनात्मक कोणबाट भन्दा त्यहाँ उल्लेख धेरै प्रसङ्ग पछि मात्र समावेश भएका प्रसङ्ग हुन् । ‘गोपुरा’ को शब्दार्थ कुनै गाउँ वा सहरभित्र पस्ने द्वार हो । ईसापूर्व पहिलो र दोस्रो शताब्दीदेखि त्यस्ता द्वारहरू प्रयोगमा थिए । दक्षिण भारतका अहिले पनि धेरै मन्दिरको द्वारमा अग्ला शिखरको लागि त्यो शब्द प्रयोग हुने गरेको छ । ती मन्दिरहरू ईस्वी संवत् ६–७ शताब्दीभन्दा अघिका होइनन् ।
लङ्का हो, सिलोन होइन
लङ्का सहर सिलोन (श्रीलङ्का) टापु अथवा दक्षिण पूर्वी एसियाको कुनै अरू टापु भएको भन्ने बुझाइ रामायणको सतही अध्ययनको फल हो । भूगोल, भाषाशास्त्र, जातीय र पुरातात्विक प्रमाणको अध्ययनबिना नै त्यस्तो निष्कर्ष निकालिएको सहजै बुझ्न सकिन्छ ।
दक्षिण भारतका अभिलेखका स्थान, नाम र व्यक्तिको नाममा राम
प्रमाणको अर्को एउटा पनि स्रोत छ । पल्लव, चोला र सुरूका पाध्यालगायत दक्षिण भारतका विभिन्न स्थानमा फेला परेका अभिलेखमा उल्लेखित स्थान, नाम र व्यक्तिका नामको अध्ययनबाट पनि हामी सत्यको नजिक पुग्न सक्छौँ । दक्षिण भारतका कति स्थानको नामको पहिलो हिस्सामा ‘राम’ शब्दको प्रयोग भएको छ ? मेरो बुझाइमा रामेश्वरमजस्ता स्थानको नाम निकै पछि मात्र राखिएको हो । डेकन कलेजका दुई जना विद्यार्थीले पल्लव र सुरूका चोलाका अभिलेखहरूको अध्ययन गरेका थिए । उनीहरूको अध्ययनअनुसार पल्लवको अभिलेखहरूमा नामको अघि ‘राम’ शब्द आएको कुनै पनि प्रमाण थिएन । त्यस्तै चोलाको सुरूका अवधिमा त्यस्ता नाम चार वटाभन्दा बढी भेटिएन । पाध्याको अभिलेखले पनि त्यही कुरा देखाउन सक्छ ।
भगवानको रूपमा राम
हिन्दू देव–देवताको नाममा राम अगाडि आउने गर्दैन । शिव सबभन्दा पहिले आउने गर्छ । त्यसपछि विष्णु अनि अन्य स्थानीय देव देवता आउने गर्छ ।
रामायणका दृश्यहरू उजागर गर्ने रामका मन्दिर र अभिलेखहरू
रामको लोकप्रियताको विषयमा बुझ्न रामका मन्दिरहरू र रामका विषयमा विभिन्न आकृति र चित्र भएका भारतका विभिन्न स्थानहरूको अवस्थितिबारे पनि बुझ्न आवश्यक छ । मैले यो विषयमा गहनरूपमा अध्ययन त गरेको छैन । तर, मेरो सामान्य जानकारीको आधारमा केही निचोड निकालेको छु । सुरूको गुप्तकाल (ईस्वी संवत् ३५० सम्म) विष्णुको पूजा अर्चना निकै प्रसिद्ध थियो । रामलाई पनि त्यत्तिबेला विष्णुकै अवतारको रूपमा पूजा गरिन्थ्यो । देवघर, नचुवाकुथर, भिता र मध्यप्रदेशको पूर्व तथा उत्तर प्रदेशको पश्चिम भागमा गुप्तकालको आरम्भिक चरणका मन्दिरका भित्ताहरूमा रामका आकृति पाइन्छन् । त्यस्तै कोसाम्बीको एउटा माटोको पर्खालमा सीताको अपहरणको चित्रण गरिएको केही विद्वान्हरूले व्याख्या गरेका छन् । त्यो कथा त्यत्तिबेला पनि चर्चित भएको पुष्टि गर्ने केही पुरातात्विक आधार पनि फेला परेका छन् । चार वा पाँच शताब्दीपछि कर्णाटकको पट्टाडकलका चुलक्या मन्दिरका अभिलेखमा रामायणको प्रसङ्ग आएका छन् । तर, पल्लवका अभिलेखमा रामायणको कहीँ कतै उल्लेख छैन । त्यो ठाउँ महाभारतसँग बढी परिचित देखिन्छ । मद्रास नजिक महाबालीपराममा अर्जुनको आत्मविलापको प्रसङ्ग चित्रण गरिएको छ ।
पल्लवका उत्तराधिकारीहरू आरम्भिक चोलाहरूले पनि रामको पुजा आराधना गर्दैनथे । तर, चोलाहरूको पछिल्लो कालखण्डमा भने राम र सीताको ढलौटका मूर्तिहरू फेला परेका छन् । यसले रामको पुजा आराधनाको विकासक्रम प्रस्ट पार्छ । त्यसको अर्थ रामको पूजा आराधना निकै पछि मात्र थालिएको हो । ईस्वी संवत्को दसौँ शताब्दीभन्दा अघि दक्षिण भारतमा रामको पूजा आराधना हुने गर्दैनथ्यो ।
इस्वी सम्वत्को साताँै शताब्दीमा रामायण शैव सन्त ज्ञानुसम्बदरले आफ्नो देवराम भजनमा भारतको उत्तरमा गाएजस्तै रामायणको भजन गाउने गर्थे । सम्भवतः त्यही समयमा नै रामेश्वरमको मन्दिर पनि स्थापना भएको थियो किनभने तिनी सन्तको शब्दमा रावण हत्याको पाख पखाल्न रामले नै त्यो मन्दिर बनाउन लगाएका थिए । आठौँ – नवौँ शताब्दीमा मन्दिरको भगनावशेषमा हालको मन्दिर बनाइएको मलाई बताइएको छ । तर, बाल्किमीको रामायणमा यस्तो कुनै उल्लेख छैन । योपछि मात्र राखिएको हुनुपर्छ ।
त्यसको दुई शताब्दीपछि सदैयर कोइल, कुम्बकोनमको नागेश्वर मन्दिरका अभिलेखहरूमा रामायणका कथाहरूमा आधारित कथाहरू उल्लेख थिए । तर, ती निकै सीमितमात्र थिए ।
नेपाली अनुवाद : सुप्रिया

एचडी साङकालिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *