भर्खरै :

विकासको वर्ष अन्तरकलहको वर्षमा परिणत

सरकारको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गरिरहेको छ । तर, देशमा कम्युनिस्टको सरकार छ भन्ने कुनै अनुभूति जनतामा भइरहेको छैन । कम्युनिस्टको सिद्धान्त र विचारमा रहेर सरकारले कुनै पनि नीति तथा कार्यक्रम र बजेट ल्याएको छैन । सरकारले कमसेकम समाजवादउन्मुख देशको परिचय दिन पूर्वाधार तयार गरेको भए, अभ्यास गरेको भए यो सरकारप्रति जनताको केही आशा र भरोसा हुन्थ्यो । सरकारको पहिलो वर्ष व्यवस्थापन गर्नमै बितेको उर्दी जारी भयो । दोस्रो वर्ष विकास आरम्भ भएको बताइयो र तेस्रो वर्ष विकासको वर्ष बताइयो । तर, विकासको वर्षमा नेकपाका नेताहरूको अन्तरकलहको वर्ष भयो । यसअघि नेकपा मन्त्रिपरिषद् गठन र भागबन्डामा अल्झियो । अन्तरकलह चर्केर अन्ततः नेकपा विभाजित भयो या पार्टी फुटको सङ्घारमा पुग्यो ।
पाँच वर्षसम्म स्थिर सरकार दिने नेकपाको वाचा तोड्यो । झन्डै दुईतिहाइ प्राप्त शक्तिशाली सरकार पनि असफल हुँदोरहेछ भन्ने कुरा नेकपाले देखायो । नेकपाको सरकारले संसारमै चमत्कार देख्ने गरी विकास गर्ने प्रतिबद्धता गरेको थियो । नेकपाका नेता र मन्त्रीहरूले दशकौँसम्म शासन गरिरहने वाचा गरेका थिए । नेपालमा पनि कम्युनिस्टको सरकार बन्यो भनी तिनै नेताहरूले ध्वाङ फुकेका थिए । सत्तासीन दलका नेता र मन्त्रीहरूमा यस्तै दम्भ थियो । आगोसँग खेल्ने आगोसँगै मर्छ भनेजस्तै शक्तिको मातमा चढेको नेकपा शक्तिकै सेखीको कारण विभाजित भयो । अरू दलका नेता तथा कार्यकर्ताहरू भाड्दै, सङ्गठन फोर्दै विकास भएको नेकपा अन्ततः व्यवहारमा फुट भयो ।
नेकपा विभाजित भए पनि अझै उनीहरूमा कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारअनुसार राजनीति गर्ने र सङ्गठन गर्नेतर्फ बुद्धि पलाएको छैन । नेकपाले वर्गसङ्घर्षलाई स्वीकारेको छैन । वर्गसङ्घर्ष देशमा आवश्यक छैन भन्ने निचोड नेकपाको हो । संसदीय व्यवस्थाबाटै देशमा समाजवाद लागू हुन्छ भन्ने विचार नेकपाको हो । यसरी नेकपामा खोटो विचार देखियो । त्यो खोटो विचार सच्याउनेतर्फ नेकपाका शीर्ष नेताहरूको ध्यान गएको छैन । नेपाल मजदुर किसान पार्टीले देशमा कम्युनिस्ट पार्टी र कम्युनिस्ट आन्दोलन अघि बढाउन गलत सिद्धान्त र विचारको विरोध गरिरह्यो, खबरदारी गरिरह्यो । देशका अरू कम्युनिस्ट भनिने दललाई नेमकिपाले सिद्धान्त र विचारको राजनीति गर्न, पद, पैसा र भागबन्डामा भुलेर झूटको खेती नगर्न, लोभलालचको राजनीति नगर्न सैद्धान्तिक बहस गरिरह्यो ।
नेकपाको सरकारले भ्रष्टाचार, अनियमितता र कमिसन रोक्न सकेन । भ्रष्टाचारको आरोप लागेका आफ्नै नेता र मन्त्रीहरूको छानबिन गर्नुको सट्टा स्वयम् प्रम ओलीले गंगाजल छर्केर पवित्र बनाउने काम गरे । रासायनिक मल ल्याउन सकिएन । विषादि खाद्यान्न नियन्त्रण गर्न सकिएन । निःशुल्क स्वास्थ्य सेवा दिन सकिएन । आपराधिक घटना रोक्न सकिएन । बलात्कार, हत्या र हिंसा रोक्न सकिएन । जनताको निःस्वार्थपूर्वक सेवा गर्नुपर्छ विचार दिन सकिएन । फलतः देशमा कम्युनिस्टको सरकार भए पनि कम्युनिस्टको कुनै अनुभूति भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *