भर्खरै :

बीबीएम र बीबीएको आधारभूत विषय उस्तै

यस वर्षको प्लस टु परीक्षाको नतिजा प्रकाशित भयो । विद्यार्थीहरू अब स्नातक तहको कक्षामा भर्ना हुने तयारीमा छन् ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन सङ्कायको स्नातक तहको कार्यक्रमबारे यहाँ सङ्क्षिप्त चर्चा गरिएको छ । यस सङ्कायअन्तर्गत जम्मा १० कार्यक्रम छन् । यीमध्ये बीबीएम र बीबीए सेमेस्टर प्रणालीमा सञ्चालित छन् भने अन्य कार्यक्रमहरूमध्ये बीबीएस एउटामात्र वार्षिक प्रणालीमा सञ्चालित छ । बैङ्किङ र फाइनान्समा चाहिने दक्ष जनशक्ति तयार गर्ने उद्देश्यबाट सञ्चालित बीबीएम र बीबीए कार्यक्रममा तात्विक भिन्नता छैन । चार वर्षका यी कार्यक्रमहरूमा पाँचौँ सेमेस्टरबाट विशेषज्ञता हासिल गर्ने विषयहरू राखिएका छन् । आधारभूत विषय उस्तै भएको हुँदा यी दुवै विषय झन्डै झन्डै एउटैजस्तो देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयको बीबीएम ख्वप कलेजले २०७५ सालमा यो विषयको सम्बन्धन प्राप्त गरेको हो । सुरूको पहिलो सेमेस्टरमा जम्मा १९ जना विद्यार्थीहरू भर्ना भए, उनीहरूमध्ये अहिले १७ जना विद्यार्थीहरू छन् । शैक्षिक सत्र २०७६ सालमा भर्ना भएका ४४ जना विद्यार्थीहरूमध्ये अहिले ४३ जना विद्यार्थीहरू छन् । त्रि.वि.का आङ्गिक क्याम्पसबाहेक बीबीएम अध्ययन गर्ने विद्यार्थीहरूको रोजाइमा परेको र सीट पूरा भरिएको कलेज ख्वप कलेज हो । ख्वप कलेजमा बीबीएम विद्यार्थीहरूको नतिजा ९० प्रतिशतभन्दा माथि छ ।
बीबीएम र बीबीएमा फरक के छ ?
पाठ्क्रयमको आधारमा बीबीएम र बीबीएमा तात्विक भिन्नता छैन । दुवै सेमेस्टर प्रणालीमा अध्ययन हुने कार्यक्रम हुन् । बीबीएममा १२० क्रेडिट छ भने बीबीएमा १२४ क्रेडिट पूरा गर्नुपर्छ । त्रिविको अनुसार बीबीए प्रशासनिक व्यवस्थापनसँग केन्द्रित सङ्काय हो । यो विषयको अध्ययनपछि Account, Finance, Marketing, operation मध्ये कुनै एकमा विशेषज्ञता हासिल गर्न सकिन्छ ।
त्रिविको व्यवस्थापन सङ्कायका अनुसार बीबीएमले युग सुहाउँदो र प्रतिस्पर्धी जनशक्ति तयार गर्छ । बीबीएममा Banking Operation & Cooperative Management, Enterprise Development & Risk Management / Sales & Marketing लाई  Focus Course Area  गरिएको छ ।
Focus Course Area  मा पाँचवटा विषय अध्ययन गर्नुपर्दछ । साथै बीबीएममा जम्मा Elective विषयहरूको रूपमा तीनवटा विषयहरू छनौट गरेर अध्ययन गर्न सकिन्छ । ख्वपमा बीबीएम अध्ययन गर्न विद्यार्थीहरूलाई कलेजले दुई वटा Non-Credit कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । यी Non-credit Course हरू बैङ्किङ तथा फाइनान्ससँग सम्बन्धित हुनेछ । बीबीएममा धेरै विषयहरूको पूर्णाङ्क ६० र प्रयोगात्मक कक्षाको ४० अङ्क वा कलेजले पढाउने अङ्क तोकिएको छ । ४० अङ्कलाई विभिन्न प्रस्तुति, कक्षामा सहभागिता, हाजिरी, परीक्षा, MCQ मा प्राप्ताङ्क वितरण गरिएको छ । बीबीएममा कम्प्युटर विषय सुरूका सेमेस्टरहरूमा समावेश गरिएको छ र विद्यार्थीहरूलाई बैङ्किङ क्षेत्रमा आवश्यक सफ्टवेयरहरूको शिक्षा पनि दिइन्छ । Computer Bored Financial Accounting, Corporate Taxation in Nepal, Legal Environment of Business, Economics जस्ता नवीन विषयहरू बीबीएममा समावेश गरिएका छन् । यी विषयहरूले विद्यार्थीहरूलाई उद्यमी बनाउन उत्साहित गर्नेछ ।
बीबीएम र बीबीएमा भर्नाको लागि न्यूनतम योग्यता
बीबीएम र बीबीएमा भर्नाको प्रक्रिया एउटै हो । यसमा भर्ना हुन चाहने विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयबाट लिइने CMAT परीक्षामा कम्तीमा ४० अङ्क ल्याउनुपर्ने हुन्छ । +2 मा कम्तीमा D+ प्राप्त गर्नुपर्ने र कलेजबाट लिइने अन्तर्वार्तामा उत्तीर्ण हुनु आवश्यक छ ।
अध्ययन शुल्क
बीबीएम र बीबीएमा अध्ययन गर्ने विषयहरू एउटै भए पनि विद्यार्थीसँग उठाउने शुल्कमा एकरूपता छैन । त्रिविकै आङ्गिक क्याम्पसबीच धेरै भिन्नता छ । निजी कलेजहरूले मनपरी शुल्क उठाउँदै आएका छन् । ख्वप कलेजमा यस वर्ष भर्ना हुने विद्यार्थीलाई ४ वर्षको बीबीएमको लागि ३ लाख ६२ हजार शुल्क तोकिएको छ ।
बीबीएम र बीबीए वा अन्य कुनै व्यवस्थापन सङ्काय वा अन्य सङ्कायमा भर्ना हुने विद्यार्थीहरूले कलेज छान्दा सो कलेजको उद्देश्य के हो जान्नुपर्छ । नाफामुखी कलेजले विद्यार्थीहरूलाई ग्राहकको रूपमा व्यवहार गरी शिक्षालाई व्यापारमा सीमित गरिएको हुन्छ । शैक्षिक सफलता हासिल गर्न दक्ष प्राध्यापकको आवश्यक हुन्छ भने विद्यार्थीहरू पनि लगनशील र जिज्ञासु हुनु जरूरी छ र विद्यार्थी–प्राध्यापकबीच नियमितरूपमा अन्तरक्रिया आवश्यक छ । पाठ्यक्रमसँग सम्बन्धित विषयहरू अन्य स्रोतमार्फत अध्ययन गर्नु आवश्यक छ । कलेजको राम्रो युनिफर्मलाई मात्र नहेरी समग्र पढाउने प्राध्यापकदेखि कलेजको उद्देश्यप्रति विद्यार्थीहरू सचेत भए शिक्षा उपलब्धिमूलक हुनेछ ।
देश र जनताको सेवामा समर्पित भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजमा बीबीएमलगायत अन्य विषयहरू अध्ययन गरी देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने दक्ष र सक्षम नागरिक बन्ने अवसर प्राप्त गर्नु आवश्यक छ ।
(लेखक ख्वप कलेजका शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *