भर्खरै :

लकडाउनमा कुुखुरापालन व्यवसाय

नेपालमा कोरोना रोग देखिएपश्चात् २०७६ चैत ११ बाट सरकारले लकडाउन घोषणा गरेको थियो । सुरुसुरुमा जनताले समर्थन गरे पनि पछि जनताको समर्थन तथा विरोधको आवाज सुनिन थाल्यो । अन्तमा ८० औँ दिनमा सरकार सर्तसहितको केही खुकुलो लकडाउनको नीति अपनाउन बाध्य भयो ।
लकडाउन सुरु भएदेखि नै व्यापार–व्यवसाय तथा आर्थिक चलायमानमा व्यापक कमी आई संस्था÷बैङ्कमा रहेको नगद पनि चलाउन पाइएन । यसले समस्या झन् विकराल बनायो । लकडाउनको अवधिमा सबभन्दा बढी समस्यामा परेको व्यवसाय भनेको उत्पादनमूलक व्यवसाय नै हो । गैरउत्पादनमूलक व्यवसायको पनि आफ्नै किसिमको समस्या नभएको होइन । तर, उत्पादनमूलक व्यवसायमा उत्पादन हुने वस्तुलाई रोक्न सकिँदैन । कृषि तथा कुखुरापालन व्यवसायमा लकडाउन अवधिभर र केही खुकुलो भएपश्चात् धेरै समस्याग्रस्त अवस्थाबाट गुज्रिएको थियो । प्रशस्त लकडाउनमा कुनै पनि व्यवसायमा राम्रो प्रतिफल पाउन सकिएन । मासु, अन्डा तथा दूधका लागि पालिएका पशुपन्छीको हकमा समस्याले आकाश छोएको थियो । उत्पादित मासु, अन्डा तथा दूधलाई रोक्न पनि सकिँदैन भने बजार व्यवस्थापन पनि सम्भव भएन । तर, पशु आहारा तथा स्याहारको लागि आर्थिक समस्याले झन् पिरोलिएको थियो । त्यसमाथि झन् पशुपन्छी आहारा÷दानाको लागि व्यापारीले किसानसँग नगदमा भुक्तानीको माग गर्नथाल्यो । किसानसँग हुनेले नगद छउञ्जेल दियो पनि । तर, आम्दानीको बाटो बन्द । अनि भएको नगद पनि सकिएको अवस्थामा किसानको मुटुमा ढ्याङ्ग्रो ठोक्नु स्वाभाविक हो । यही स्थितिमा कतिपय किसान मासु, अन्डा तथा दूध कौडीको मोलमा बिक्री गर्न बाध्य भए । अझ, प्रस्ट समस्या त वास्तविकरूपमा भोगेका किसानहरूलाई मात्र थाहा हुन्छ ।
व्यवसायीहरूका अनुसार लकडाउन अवधिभर पोल्ट्री क्षेत्रमा मात्र करिब दैनिक रु.२५ करोडको घाटा हुने गरेको छ । सबभन्दा बढी ब्रोइलर कुखुरापालनमा करिब दैनिक १६ करोडभन्दा माथि नोक्सानी हुने गरेको छ । ह्याचरी चल्लामा ४ करोड, अन्डामा ४ करोड, दानालगायत अन्य उत्पादनमा रु. १ करोडभन्दा बढीको दैनिक नोक्सानी व्यहोरिएको थियो ।
लकडाउनभन्दा अगाडि, सामान्य अवस्थामा देशभर झन्डै १० लाख केजी मासु दैनिक खपत हुने गरेको तथ्याङ्क छ । ती मासु बढी खपत हुने स्थानहरू होटेल, रेष्टुरेन्ट तथा सहरकेन्द्रित उपभोक्ताहरू नै बढी देखिन्छ । लकडाउनमा ती सबै बन्द भएको कारणले उत्पादित मासुको खपत न्यून हुन गएको छ ।
वि.सं २०७७ जेठमा लकडाउन खुकुलो पारेसँगै सरकार, पशु सेवा विभाग, भेटेरिनरी एसोसिएसन तथा सम्बन्धित निकायहरूले कोभिडविरुद्ध लड्न तथा शारीरिक तन्दुरुस्तीको लागि प्रोटिनको आवश्यकताको महत्व दर्शाउँदै, अन्डा दूध तथा मासु उपभोग गरी रोग प्रतिरोधात्मक शक्तिको विकास हुने जनचेतना फैलाउँदै, सरकारले जनतामा उपभोगको निम्ति अनुरोध ग¥यो । नतिजास्वरूप असार महिनामा मासुको उपभोग दरमा उतारचढावको महसुस भयो । दुई महिनाअगाडि १५० प्रति केजीमा बिक्री भएको कुखुराको मासु अहिले ३५०–४०० प्रति केजीसम्म बिक्री भइरहेको छ ।
पूर्ण लकडाउनको अवधिमा तयारी अवस्थामा रहेको कुखुरा बजारसम्म पु¥याउन नसक्नु, भएको कुखुरालाई दाना खरिद गर्न नसक्नु, घरको अन्न ख्वाएर पनि धान्न नसक्नुले अधिकांशको कुखुरा मारेर खाल्डोमा पुर्नुबाहेक अरू विकल्प नै नरहेका किसानहरूको व्यथा थियो । कति किसानले चल्ला तथा कुखुरा निःशुल्क नै वितरण पनि गरे । प्रायः साना किसानले आफ्नो कुखुरा बचाउन हम्मेहम्मे परेको अवस्थामा थोरै किसानहरूले मोल्डिङ्ग प्रविधि
(ःयगमिष्लन त्भअजलष्त्रगभ) प्रयोग गरेर पनि जोखिम मोलेको देखिन्छ । मोल्डिङ्ग भनेको कुखुरालाई दाना नखुवाई तौल घटाउने र निश्चित समयपछि दाना खुवाउने प्रविधि हो । यस प्रविधिको फाइदा भनेको पछि लामो समयसम्म अन्डा उत्पादन दिइरहने हुन्छ । तर, लकडाउनको अवधि धेरै भएकोले यस प्रविधिबाट उचित फल प्राप्त गर्न सकिएन । जे जस्तो अवस्था भए पनि देशभरि मासु तथा अन्डाका लागि पालिएका कुखुराको सङ्ख्यामा अत्यधिक कमी आई हाल उत्पादनमै कमी भएको अवस्था छ । उक्त लकडाउनको प्रभावले हालसम्म बजारमा अन्डा र मासुको भागलाई पूर्ति गर्न नसकेको बजार भाउले प्रस्ट देखाइरहेको छ । हाल मासुको बिक्री मूल्य नै ३५० प्रति केजी रहेको छ भने अन्डा २५०० प्रति बाकस (७ क्रेटको १ बाकस) किसान मूल्यको कारोबारले देखाउँछ । जबकि लकडाउनभन्दा अगाडि (२०७६ माघमा) प्रति बाकस १६–१७ सयले कारोबार भएको थियो ।
यता अन्डाको लागि पालिएका लेयर्स जातका कुखुरा व्यवसाय पनि सास्तीरहित बन्न सकेन । लेयर्स कुखुरा व्यवसायीहरू विगत ३ वर्षदेखि निरन्तर घाटामा छन् । त्यसमाथि लकडाउनले झन् लडाइदिएको छ । फलस्वरूप भएका कुखुरा पनि किसानलाई समयअगावै सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता भयो । यो भनेको घाउमा नुन छर्केसरि हो । किसानहरूको ऋणको बोझमा अर्को ऋण थपिएको छ । २०७५ सालमा आत्मनिर्भर भएको पोल्ट्री व्यवसाय फेरि एकपल्ट ढलेको छ । यसले कति किसानलाई उठ्नै नसकिने गरी पछारेको छ भने कति व्यवसाय नै छोडेर विस्थापित भएका छन् । कतिले घरखेत बिक्री गर्नुपर्ने बाध्यकारी परिस्थितिको सामना गर्नु परेको छ ।
सरकारले व्यवसायीलाई सहज गर्न चैत १२ गते परिपत्र नै जारी ग¥यो । त्यसमा औषधि, दाना, दूध, पशुपन्छी, कुुखुराको चल्ला, दाना ढुवानी गर्ने र फर्केर जाने सवारी साधनलाई सुरु गर्ने । यस्ता सवारी साधनले यात्रु ओसार–पसार गर्न नपाउने भनेर निर्णय गरेको थियो । तर, परिपत्र तल्लो तहसम्म समन्वयको अभावमा साना किसानले धेरै सास्ती भोग्नु प¥यो र कुनै राहत पाउन सकेनन् ।
२०७५ सालदेखि नेपाल अन्डामा आत्मनिर्भर भएको सरकारले निर्णय ग¥यो । हुन त २०७१ सालमै अन्डामा आत्मनिर्भर बन्दै व्यवसाय फेरि माथि उठ्दै गरेको अवस्था थियो । तर, भूकम्प, मधेस आन्दोलन र नाकाबन्दीले गर्दा व्यवसाय खुम्चिन गएको थियो । २०७५ मा महालेखा परीक्षकको ५६ औँ प्रतिवेदनमा, नेपाल अन्डामा आत्मनिर्भर भएको उल्लेख ग¥यो । सरकारी तथ्याङ्कअनुसार आ.व. २०७३÷७४ मा १३५ करोड अन्डा उत्पादन भएको थियो अर्थात् ३६.९ लाख अन्डा दैनिक उत्पादन थियो । आ.व. २०७५÷७६ मा १४५ करोड (३९.७ लाख प्रतिदिन) अन्डा दैनिक उत्पादन हुने अनुमान थियो । आगामी आ.व. २०७७÷७८ सम्ममा १८३ करोड (५० लाख दैनिक) अन्डा उत्पादन गर्ने राष्ट्रिय योजना आयोगको योजना छ । २०७६÷०७७ को लकडाउनले गर्दा सरकारको योजना पूरा नहुने पक्का छ । सरकारको यो योजना लकडाउन नहुँदो हो त पूरा हुने देखिन्छ । नेपाल अन्डा उत्पादन सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार लकडाउन नेपालमा दैनिक अन्डा उत्पादन ४०–५० लाखसम्म रहेकोमा (आधिकारिक तथ्याङ्क नरहेको) लकडाउन खुकुलो वा हटेपछि यो झरेर २५ लाख दैनिक उत्पादनमा पुगेको छ । अन्डाको मूल्यमा पनि अत्यधिक उतारचढाव भएको देखिन्छ । लकडाउन (२०७६ फागुन) अघिसम्म १९०० प्रतिकार्टुन (७ क्रेटको १ कार्टुन) ले कारोबार भएको देखिन्छ अर्थात् २७० रूपैयाँ प्रतिक्रेट त्यसैगरी २०७५ माघको तथ्याङ्कअनुसार १६८० प्रतिकार्टुन अर्थात् २४० रूपैयाँ प्रतिक्रेटले कारोबार भएको थियो । लकडाउन र त्यसपश्चात्को अन्डाको मूल्यमा व्यापक उकालो चढेको देखिन्छ । २०७७ दशैँ अघिसम्म अन्डा २८५–३०० रूपैयाँ प्रतिक्रेटले कारोबार गरेकोमा माघसम्म पुग्दा रु. ३८० प्रतिक्रेट (२६५० प्रतिकार्टुन) पुगेको देखिन्छ । उपभोक्ताले ४००–४२५ सम्म मूल्य तिरेको देखिन्छ ।
सरसरती हेर्दा लकडाउनपछि कुखुरा पालेका किसानहरूले राहत पाउनुका साथै केही मुनाफा पनि कमाउन सकेको देखिन्छ । लकडाउनअघिका किसानहरूको लगानी पनि उठाउन नसक्ने अवस्थामा थियो, नाफा त अकल्पनीय कुरा हो । लकडाउनअघिका नोक्सान बेहोरेका किसानहरू लकडाउनपछि चल्ला हाल्न नसक्ने अवस्थामा पुगे । हाल अन्डाको मूल्यमा ओरालो झर्ने क्रममा छ अन्डाको उत्पादनमा वृद्धि र खपत कम भएपछि मूल्य घट्नु स्वाभाविक नै भए पनि अझ केही समय मूल्य नघटिदिए हुन्थ्यो भन्ने किसानहरूको मनसाय छ ।
प्रतिव्यक्ति प्रतिवर्ष अण्डाको खपत
नेपाल अन्डा तथा मासु आत्मनिर्भरको घोषणा गरिए पनि अन्तर्राष्ट्रिय मापदन्दअनुसारको खपत बढाउन अझै सकिरहेको छैन । नेपालको आन्तरिकरूपमा अन्डा, मासु तथा दूधको उत्पादन, खपत तथा मूल्यमा उतारचढाव भए तापनि अन्तर्राष्ट्रिय प्रचलनअनुसार सन्तुष्टि मान्न सक्ने अवस्था छैन । छिमेकी मुलुक चीनमै हेर्ने हो भने ३३० गोटा अन्डा प्रतिव्यक्ति खपत हुने गरेको पछिल्लो तथ्याङ्क छ (चीन अन्डाको उत्पादन र खपटको हिसाबमा विश्वकै पहिलो नं. मा पर्ने राष्ट्र हो) भने भारतमा ८० गोटा अन्डा प्रतिव्यक्ति खपत हुने गरेको पछिल्लो तथ्याङ्क छ । नेपालमा सन् २०१६ को तथ्याङ्क हेर्ने हो भने ४४ गोटा अन्डा र ४.१ केजी मासु प्रतिव्यक्ति खपट गरेको केन्द्रीय तथ्याङ्क विभागको प्रतिवेदनमा उल्लेख छ । सोही सालमा विश्व खाद्य तथा कृषि सङ्गठन (ँब्इ) को प्रतिवेदनअनुसार १५३ गोटा अन्डा र १२ केजी मासु प्रतिव्यक्ति प्रतिवर्ष खपत हुुनुपर्ने भनी तथ्याङ्क प्रस्तुत गरेको देखिन्छ ।
सन् २०१८ को नेपालको सरकारी तथ्याङ्कअनुसार ५१ गोटा अन्डा र ७.१ केजी मासु प्रतिव्यक्ति, प्रतिवर्ष खपत भएको देखिन्छ । सन् २०२० सम्म आउँदा ५२ गोटा अन्डा र ५.६ केजी मासु प्रतिव्यक्ति प्रतिवर्ष खपत भएको देखिन्छ ।
प्रतिवर्ष प्रतिव्यक्ति खपत, उत्पादनसँग परनिर्भर रहने हुँदा यसको स्थिर हुन नसक्ने अवस्था छ । लकडाउनभन्दा अघि ५२ गोटा अन्डा प्रतिव्यक्ति प्रतिवर्ष खपत हुने गरेकोमा लकडाउन र सो पछि कुखुराको सङ्ख्या नै घट्न गई अन्डाको उत्पादनमा कमी आई ३१ गोटा अन्डा प्रतिव्यक्ति प्रतिवर्ष खपत घटेको देखिन्छ । बर्डफ्लु, प्राकृतिक प्रकोप, राजनैतिक सङ्कट, नाकाबन्दी तथा अन्तर्राष्ट्रिय घटनाले पनि पोल्ट्री व्यवसायको उत्पादन तथा खपतमा उतारचढाव भएको थियो ।
पोल्ट्रीमा हालको महामारी
कोरोनाको महामारी त हामीले देखेका, भोगेका अनि सुनिरहेका छौँ । पशुजन्य र पन्छीजन्य महामारीको महत्व कमै हुने गर्छ । पशुमा विषाणुबाट हुने महामारी रोग लम्पी स्किन डिजिज् (ीगmउथ क्पष्ल म्ष्कभबकभ) (नेपालमा पहिलोपटक देखा परेको रोग हो) ले २०७७ साउनदेखि महामारीको रूप लिइरहेको छ । पन्छीहरूमा विगत दुई महिनादेखि काठमाडौँ उपत्यकामै रानीखेत (ल्भधअबकतभि मष्कभबकभ) महामारीको रूपमा फैलिरहेको छ । यद्यपि, समाचारहरू प्रकाशित नगरेको अवस्था छ । यस रोगले अधिकांश साना ठूला किसानहरूको कुखुरा मारेको र कतिको खोर नै खाली पारेको छ । यस रोगले पनि ठूलो नोक्सानी व्यहोर्नु परिरहेको छ । यस महामारीले फेरि एकपटक मासु र अन्डाको मागमा उतारचढाव आउने देखिन्छ । यस रोगले मानिसमा कुनै असर गर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *