भर्खरै :

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीसँग भलाकुसारी

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले डेनमार्कमा आर्किटेक्चरको अध्ययन गरेकी हुन् । डेनमार्कमा अध्ययन गर्दा प्रत्येक वर्ष उनले घर आउने बिदा पाउँथिन् ।
उपप्रमुख जोशी भन्छिन्, “बिदामा आएर नेपालका भवन तथा मठ मन्दिरको शैली र संस्कृतिबारे अध्ययन गर्थेँ र डेनमार्क फर्केर सुनाउँथे । त्यसो गर्दा मलाई आप्mनो देश, यहाँको कला–संस्कृतिको माया बढेको थियो ।”
डेनमार्क रहँदा उनलाई देशको मायामात्रै बढेन, देशका लागि केही गरौँ भन्ने भावना पनि जागेको थियो । आज उनी कला र संस्कृतिको नगर भक्तपुरमा उपप्रमुख छिन् । उनले यो कला र सभ्यताको नगरको उपप्रमुख भएर के गर्दै छन् त ?
उनी भन्छिन्, “पर्यटकीय क्षेत्र भएकोले पुरानो कला र संस्कृतिलाई जोगाउन पहल गरिरहेका छौँ, ०७२ को भूकम्पले भक्तपुरको सांस्कृतिक सम्पदा ध्वस्त पारेको थियो । उक्त संरचनाको पुनर्निर्माण कार्य भइरहेको छ ।”
उपप्रमुख जोशीले ‘काठमाडौँ प्रेस’ को जनप्रतिनिधि महिला शृङ्खलामा कुरा गर्न हामीलाई आइतबार समय दिएकी थिइन् । यो श्रृङ्खलामा हामी जनप्रतिनिधि महिलाको व्यक्तिगत सङ्घर्षको कथा प्रस्तुत गर्छौँ ।

विकास निर्माणको अनुगमनमा उपप्रमुख जोशी (बायाँबाट तेस्रो)


नयाँ संविधानसँगै स्थानीय तहमा महिला सहभागितालाई अनिवार्य गरिएको छ । तर, धेरैजसो ठाउँमा पुरुष प्रमुख वा अध्यक्ष र महिला उपप्रमुख वा उपाध्यक्ष भएको अवस्था छ । यो अवस्थामा जनप्रतिनिधि महिलाबाट गुनासो पनि आउने गरेको छ, ‘प्रमुख (पुरुष) ले कार्यालयका काम र निर्णयमा आफूलाई सोधपुछ नै गरेनन्, एकलौटी निर्णय गरे ।’ भक्तपुरकी उपप्रमुख जोशीसँग भने यस्तो कुनै गुनासो छैन । उनी भन्छिन्, “हामी (प्रमुख–उपप्रमुख) दुवै एउटै पार्टी (नेपाल मजदुर किसान पार्टी) बाट आएका हौँ । नगरपालिकाले गर्ने हरेक गतिविधिमा प्रमुखले सबै जनप्रतिनिधिहरूसँग छलफल गरेर निर्णय गर्नुहुन्छ । उहाँ (प्रमुख सुनिल प्रजापति) ले मलाई महिला उपप्रमुख हुँ भन्ने अनुभूति हुन दिनुभएको छैन ।”
आफूले उप–प्रमुखको पदभार ग्रहण गरेसँगै सरकारले तोकिदिएको काम, कर्तव्य र अधिकार प्रयोग गर्दै आएको उनको भनाइ छ । उनी भन्छिन्, प्रमुख कानुनका विद्यार्थी भएकाले होला, उहाँले कार्यालयका सबै काम छलफल र सहमतिमा अगाडि बढाउनुहुन्छ । नेपाल मजदुर किसान पार्टीको एजेन्डा नै महिला र पुरुषबीच विभेद हटाउनुपर्छ भन्ने हो ।”
विदेशमा गएर स्वदेशको चर्चा गर्दा उपप्रमुख जोशीलाई समाजका लागि केही गर्नुपर्छ भन्ने लागिरहन्थ्यो । आज उप–प्रमुख भएर जनताको सेवा गर्ने मौका पाएकामा उनी सन्तुष्ट छन् । उनी यहाँसम्म के कस्तो पृष्ठभूमि, सोच र सङ्घर्षले आइन् त ?
रजनीको जन्म ललितपुरको मङ्गलबजार नजिकै स्वठ टोलमा भएको हो, २०२२ असार २९ मा । उनका बुबा नारायणराज जोशी पेशाले लेखा परीक्षक थिए, आमा (मौसम) गृहिणी थिइन् । तीन दाजु र एक दिदीमध्ये उनी कान्छी हुन् ।
लेखा परीक्षणको सिलसिलामा उनका बुबा जावलाखेलस्थित सेन्ट म्यारिज स्कूल गइरहन्थे । एक दिन स्कूलको प्रधानाध्यापकले भन्नुभयो, ‘तपाईँकी छोरी भए ल्याउनू, हामी पढाउँछौँ ।’
त्यतिबेला रजनी मङ्गलबजारस्थित आदर्श कन्या निकेतनमा भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । बुबाले उनलाई सेन्ट म्यारिज स्कूल लिएर गए । त्यहाँ उनले १ देखि १० कक्षासम्म पढिन् । शिक्षित पारिवारिक वातावरणका कारण उनलाई शिक्षामा अघि बढ्न सहज भएको थियो ।
रजनीले सेन्ट म्यारिजबाट २०४० मा एसएलसी पास गरिन्, दोस्रो श्रेणीमा । त्यसपछि २०४२ सालमा उनले पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा आर्किटेक्चर विषयमा डिप्लोमा गरिन् ।
२०४७ सालमा उनको सरोजप्रसाद वैद्यसँग प्रेम–सम्बन्ध मागी विवाहमा परिणत भयो । उनको श्रीमान्को कूल घर भक्तपुर नगरपालिका ५ तिबुक्छेँ हो भने हाल सूर्यविनायक नगरपालिका ८ सिपाडोलमा बस्नुहुन्छ ।

पचपन्न झ्याले दरबार सर्वसाधारणको लागि खुला गर्ने कार्यक्रममा उपप्रमुख जोशी


विवाहपछि पनि उच्च शिक्षा हासिल गर्न दुवै जना डेनमार्क गए । ‘डेनिडा फेलोसिप’ मार्फत ‘रोयल डेनिस एकेडेमी अफ् फाइन आर्टस्’ अन्तर्गत स्कूल अफ आर्किटेक्चर अध्ययन गरेर नेपाल फर्किए । सन् १९९५ मा डेनमार्कबाट नेपालमा डानिडाको परियोजनामा काम गर्न थालिन् । उनीहरूले ललितपुरको पाटनमा आर्किटेक्चरसम्बन्धी कन्सल्टेन्सी पनि खोले ।
सन् १९९६ मा उनले पहिलो सन्तानका रूपमा छोरा जन्म दिइन् । छोरालाई जन्म दिन र आफू सुत्केरीबाट तङ्ग्रिन उनलाई तीन महिना जति लाग्यो । त्यसपछि छोरालाई परिवारको जिम्मामा छाडेर उनी दिनमा केहीबेर काममा निस्कन थालिन् । महिलाहरू पुरुषजस्तो स्वतन्त्र भएर घर बाहिरको काममा निस्कन सजिलो हुँदैन । छोराछोरी जन्माउन र हुर्काउन समय दिनैपर्छ ।
सन्तान हुर्काउने र आप्mनो पेसाको काम पनि गर्दै थिइन्, यसैबीच ०५८ सालमा भक्तपुरमा ख्वप इन्जिनियरिङ कलेज खुल्यो, उनले त्यहाँ पढाउन थालिन् । ०६६ देखि ०७३ सम्म यहाँको सहायक प्राचार्यको जिम्मेवारी पनि सम्हालिन् । यो बीचमा उनले नेपाल मजदुर किसान पार्टीको सदस्यता लिएकी थिइन् ।
ख्वप इन्जिनियरिङ कलेजको विकास र प्रवद्र्धनमा निरन्तर सेवा गरिरहिन् । उनी भन्छिन्, “नेपाल मजदुर किसान पार्टीले जनताको सेवामा लाग्न स्थानीय तहमा आउन प्रस्ताव गर्यो । समाजसेवा गर्ने चाहना भएका कारण मैले पार्टीको प्रस्तावलाई स्वीकार गरेँ ।”
पार्टीबाट उनले ०७४ सालको स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भइन् । त्यसपछि उनी भक्तपुरवासीको सेवा र विकासमा लागेकी छिन् ।
दुवै ‘घर–परिवारको साथ र सहयोगले मैले आफ्नो काममा निरन्तरता दिन पाएँ । सधैँ आप्mनो उद्देश्य र काममा स्वतन्त्ररूपमा अगाडि बढ्न पाएँ,’ उनी भन्छिन्, ‘महिलाले प्रगति गर्न श्रीमान्सँगै घर–परिवार सहयोगी हुनुपर्छ ।” हाल उनी छोरा र श्रीमानसँग सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएकी छन् । उपप्रमुख जोशीलाई सांस्कृतिक नगरको कला–संस्कृति जोगाउनु त छँदै छ, यो सँगै महिला उत्थानमा पनि काम गर्नु छ । स्थानीय तहको जिम्मेवार पदमा आएसँगै शिक्षा, स्वास्थ्य र सरसफाइमा थप परिवर्तन गर्न लागिपरेको उनी बताउँछिन् । उनी भन्छिन्, “भक्तपुर नगरपालिकाले स्थापना गरेका सात वटा कलेजहरूबाट नगरवासीलाई २५ प्रतिशत सहुलियत दिँदै आइरहेको छ ।”
यी शैक्षिक संस्थाहरूबाट देशकै लागि नर्स र इन्जिनियरलगायत अन्य विधामा दक्ष जनशक्ति उत्पादन गरिरहेको उनको भनाइ छ । नगरपालिकाले महिला स्वास्थ्यमा पनि जोड दिएको छ । उनी भन्छिन्, “महिलाको स्वास्थ्य परीक्षणका लागि नर्सहरूबाट घरदैलो सेवा प्रदान गर्दै आइरहेको छ ।’ विशेषगरी महिलाहरूको पाठेघरलगायत समस्या, बालबालिकाको समग्र अवस्था, वृद्धवृद्धाको श्वासप्रश्वास आदिको चेकजाँच गर्न पनि पठाउने गरेको उनको भनाइ छ । उनी भन्छिन्, “नगरपालिकाबाट दिने सेवा–सुविधामा महिला–पुरुषबीच विभेदलाई हटाउनु हो । आवश्यकताअनुसारको सेवा र तालिम पनि प्रदान गरिरहेका छौँ ।”
उनका अनुसार, भक्तपुर नगरपालिकाका १० वडामध्ये ६ वटा वडामा शिशु स्याहार केन्द्र स्थापना भइसकेको छ । हाल एक शिशु स्याहार केन्द्रमा ३० देखि ४० बालबालिका छन् । ‘जागिर वा कुनै पेसामा जानुपर्ने महिलाले यी स्याहार केन्द्रमा बच्चा राखेर जान्छन् । प्रत्येक बालबालिकाका अभिभावकबाट मासिक एक हजार रूपैयाँ सेवा शुल्क लिन्छौँ,’ उनी भन्छिन् ।
(भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले ‘काठमाडौँ प्रेस’ को जनप्रतिनिधि महिला श्रृङ्खलाका लागि सरिशा अछामीसँग गरेको कुराकानीको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *