भर्खरै :

हाम्रा गुरुहरू

राजनीतिशास्त्र, अर्थशास्त्र र कुटिल राजनीतिज्ञ चाणक्यले भनेका छन्, “गुरु या शिक्षक साधारण मानव हुनसक्दैन ।” तक्षशिला विश्वविद्यालयका एक गुरु विष्णुगुप्त चाणक्यले विभिन्न राष्ट्र र जातजातिमा विभाजित जनतालाई मातृभूमिको मुक्तिको लागि दीक्षित गरेर, सचेत पारेर, चन्द्रगुप्तको नेतृत्वमा आफ्नो भूमिमाथि आक्रमण गर्न आएका यवन साम्राज्यलाई प्रत्याक्रमण गरी धपाएका थिए । उनले देशको रक्षा गरे र देशलाई मुक्त गरे । त्यसैले गुरु या शिक्षकहरू विदेशी बन्धनबाट मुक्त गर्न हेरक विषयमा जानकार राख्छन्, राख्नुपर्छ । देश विदेशको इतिहास, भूगोल, राजनीति, अर्थशास्त्र, नागरिकशास्त्र, विज्ञान, संस्कृति, आदिबारे ज्ञान राख्नुपर्छ । त्यो आफूले सिकेको ज्ञान, विज्ञान, शिक्षा देश र जनताको सेवामा लगाउनुपर्छ । अग्रज गुरु या शिक्षकहरूले लेख, रचना, आत्मसंस्मरण र पुस्तकहरू लेखेर सेवा गर्नुपर्छ ।
वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) हिजो विद्यार्थी, युवा र गरीब शोषित पीडित जनताका गुरु हुनुहुन्थ्यो । आज पनि गुरु हुनुहुन्छ र भोलि पनि गुरु नै हुनुहुनेछ । हिजोको गुरु हुनु हुँदा उहाँ कक्षामा पाठ्यपुस्तकबाहेक भियतनाम युद्ध, अक्टोबर क्रान्ति, चिनियाँ क्रान्ति, सामन्त, जमिनदार, धनीहरूले गरीब जनतामाथि हुने थिचोमिचो र भ्रष्टाचारको बारेमा विद्यार्थीहरूलाई पढाउनु हुन्थ्यो । आज उहाँ देशको रक्षा गर्न अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवादले दक्षिण एसिया र संसारलाई गरेको हस्तक्षेप, इतिहास, राजनीति, भूगोल, कला र संस्कृति नागरिकशास्त्रका बारेमा बैठक, सभा र सम्मेलनमा विद्यार्थी, युवा, जनतालाई निरन्तर दीक्षित गर्दै हुनुहुन्छ । उहाँको यो सङघर्षशील विचार र जनलेखक रामेस श्रेष्ठको गीतले नेपाल र विश्वका उत्पीडित जनतालाई मुक्तिको लागि सङ्घर्ष गर्न सिकाइरहेका छन् ।
सङ्घर्ष हो जीवन, जीवन सङ्घर्ष हो
जीवनदेखि थाकेर बस्छु नभन, जीवनदेखि हारेर मर्छु नभन
न्याय निम्ति जीवन यो लम्किरहन्छ
उज्यालो जिन्दगी यो चम्किरहन्छ
हार भयो भनेर दुःख नमान
रातपछि दिन हुन्छ हेर बिहान
पटक–पटक शासनमा बसेका दलहरू राजनीतिक क्रान्ति चाहिँदैन, आवश्यक छैन भन्दै छन् । त्यस्तै हिजो माक्र्स, एङ्गेल्स, लेनिन, माओ, किम हल सङ, फिडेल क्यास्ट्रो, होचिमिन्ह, चेग्वेभारा, नेल्सन मण्डेला, अब्राह्म लिङ्कन, महात्मा गान्धी, यासेर आराफाट, अल्बर्ट आइनस्टाइन, डार्विनजस्ता गुरुहरूले संसारका गरीब, उत्पीडित जनताको मुक्ति, विभिन्न विभेद र थिचोमिचोबारे, जीव विकासको उत्पति र विकासबारे, ज्ञान विज्ञानबारे संसारका विद्यार्थीहरूलाई, विश्वका गरीब उत्पीडित जनतालाई शिक्षा दिइरहेका छन् । नेपालका भीमसेन थापा, भक्ति थापा, दशरथ चन्द, धर्मभक्त माथेमा, लक्ष्मीप्रसाद देवकोटा, हृदयचन्द्रसिंह प्रधान, सत्यमोहन जोशी, भैरव रिसाल, कृष्णप्रसाद भण्डारी, गोविन्दप्रसाद लोहनीजस्ता गुरुहरूले बेलायती साम्राज्यवादबाट नेपालको रक्षा, निरङ्कुश तन्त्रको अन्त्य र विभिन्न इतिहास, साहित्य, अर्थशास्त्र, कुटनीति, पत्रकारिता, संविधान, कानुनका बारेमा नेपाली विद्यार्थी र जनतालाई पढाएका थिए र पढाइरहेका छन् ।
सचेत देशभक्त गुरुहरू भन्दै छन्, “शिक्षकले पढाइको साथसाथै शोषण, थिचोमिचो, भ्रष्टाचार, सामाजिक विभेदका बारेमा पनि पढाउनु पर्छ । देशको अखण्डता, स्वाधीनता, सार्वभौमिकताको रक्षा, देशी विदेशी शक्तिको थिचोमिचो, हस्तक्षेपको बारेमा विद्यार्थीहरूलाई पाठसँग सन्दर्भ मिलाएर ज्ञान दिनुपर्छ । देशको रक्षा र मुक्ति सङ्घर्षमा युवा र विद्यार्थीहरू अगाडि बढ्छन् । संसारको इतिहासमा देशमाथि आपत् आइपर्दा, जनतामाथि विपद् आइपर्दा युवा–विद्यार्थीहरू नै अगाडि बढेको पाइन्छ । त्यसैले इजरायल, उत्तर कोरिया, चीनलगायतका देशहरूमा सरकारले युवा विद्यार्थीहरूलाई सैनिक तालिम दिँदै छ । यसले देशको रक्षा गर्न मद्दत गर्दछ । यसरी विद्याथी र युवाहरूले देशको रक्षा गर्न, विकास गर्नको लागि राजनीति गर्नुपर्छ । यो सिक्ने र सिकाउने काम गुरुहरूको हो । पञ्चायती व्यवस्था त्यसै अन्त्य भएको थिएन । साम्राज्यवाद, उपनिवेशवाद र पुँजीवादले अरू विकासील देश र गरिब देशहरूलाई थिचोमिचो गरिरहेका हुन्छन् । उनीहरू लोभलालच देखाएर विद्यार्थीको काम राजनीति गर्नु होइन, पढ्नु हो, पैसा कमाउनु हो, डलरको लोभमा भजन गाउने लगाउँछन्, सुगारटाइ लगाउँछन् । त्यस्ता गुरुहरू देशघाती र देशद्रोही हुन् ।
हिजो देशी विदेशी शक्तिले अधिकारका नाममा, प्रजातन्त्रका नाममा, विकासका नाममा, एनजीओ, आइएनजीओमार्फत डलरको लोभ देखाएर, सुविधाको लोभ देखाएर जाति, भाषा, धर्म, क्षेत्र र रङ्गको नाममा, ताम्सालिङ राज्यको नाममा, नेवाः राज्यको नाममा, मगरात राज्यको नाममा, मिथिला राज्यको नाममा, महिला राज्यको नाममा नेपालीहरूलाई लडाउन र भिडाउन खोजे, देशलाई अस्थिर बनाउन खोजे । यसलाई बेलैमा रोक्न गुरुहरूले पनि भूमिका खेलेको जनताले महसुस गरिरहेका छन् ।
अभिभावकहरू भन्दै छन्,“केही गुरुहरू विद्यालय र कलेजको कामको बहानामा शेयरको खरीद बिक्री र जग्गाको खरीद बिक्रीमा लागेका छन्, पैसा कमाउनतिर लागेका छन् । यो पुँजीवादी व्यवस्था हो । केही बुद्धिजीवीहरू भन्ने गर्दछन्, “पैसा जीवनको लागि हो । तर, जीवन पैसाको हो । तर जीवन पैसाकोे लागि होइन, बाँच्नको लागि खाने हो, खानको लागि बाँच्ने होइन । विद्यालय कलेज बनाउन सामूहिक त्याग चाहिन्छ, समर्पण चाहिन्छ । स्वार्थी गुरुहरूबाट विद्यालय बन्दैन, कलेज बन्दैन । हाम्रा धेरै अग्रज गुरुहरू विद्यालय, कलेज र विश्वविद्यालय बनाउन त्याग र समर्पणका साथ लागिरहेका छन् । विद्यालयको विकास गर्ने हो भने, कलेजको विकास गर्ने हो भने अरूभन्दा हामी एक कदम अगाडि बढ्नुपर्छ ।
सामन्तका छोराछोरीहरू, जमिनदारका छोराछोरीहरू, धनीका छोराछोरीहरू त विदेशमा पढ्छन् । गरीब, दुर्गम, पिछडिएको जाति, दलित आदिको झूटो विवरण पेश गरेर, सुविधा लुटेर तिनीहरूकै सन्तानहरू पढिरहेको पीडित विद्यार्थीहरू बताउँछन् । देशको सन्तुलित विकासको लागि नेमकिपाले शासक दलहरूलाई देशको राजधानी दाङमा राख्न जोड दिएको थियो ।
सामान्यतया गुरुहरू समाजको रूपान्तरणमा, जनताको सुखदुःखमा पनि लागेका हुन्छन् । त्यसैले शिक्षकहरूलाई जनता विश्वास गर्छन्, आदर गर्छन् । गुरुआमाहरूले पनि विद्यार्थी भाइबहिनीहरूलाई पढाउनुको साथै समाज परिवर्तनमा, महिला दिदीबहिनीहरूको शिक्षा, सोच र संस्कारमा परिवर्तन ल्याउन, समाजको विकासमा भूमिका खेल्न उत्साहित गरिरहेका छन् । जनताको यस्तो सुख दुःखमा नजिक भएर काम गर्ने गुरुहरूलाई अझ बढी जनता विश्वास र आदर गर्छन् ।
कसैसँग व्यवहार गर्दा सचेत हुनुपर्छ । अहिले सामाजिक सञ्जाल, फेसबुक अनलाइनमा पनि नक्कली मायाजालमा फसाउने समस्या आइरहेको प्रहरी सूत्रको दाबी छ । कति कठिन पार्टीका कार्यकर्ता, नेताहरूले पनि अशिक्षा, गरिबीको फाइदा उठाएर अबोध नेपाली चेलीहरूलाई भारतको डिल्ली, बम्बई, कलकत्ता, अरब देशहरू, अफ्रिका लगायत विश्वका अन्य देशहरूमा बेचिएका छन् । त्यस्ता दलालहरूलाई प्रहरीले पक्रँदा या पक्रेको एक घण्टा पनि नबित्दै हाम्रा इमानदार, निर्दोष नेता, कार्यकर्तालाई छोड्नुपर्यो भनी ठूला नेताको फोन आउने गरेका समाचारहरू प्रकाशमा नआएको होइन । यसको प्रमुख जिम्मेवार भनेको शासक दलहरू नै हुन् ।
हिजो नेपालका अधिकांश शासक दलका सभासद्, मन्त्री, प्रधानमन्त्रीहरू गाउँ ठाउँमा गुरु बनेर आएका नेताहरू हुन् । ‘सादा जीवन उच्च विचारको आदर्श बोकेर विद्यार्थीहरूलाई नैतिक शिक्षा, देशभक्तिको शिक्षा, भ्रष्टाचार, शोषणविरुद्धको शिक्षाको ज्ञान बाँडेर आएका गुरुहरू थिए । आज कति नेताहरूले हिजो विद्यार्थीहरूलाई बाँडेको आदर्श, नैतिक शिक्षा, देशभक्तिको शिक्षालाई धोती लगाएर, भ्रष्टाचार गरेर, शोषण गरेर काठमाडौँमा बङ्गला बनाएका छन्, प्राडो, पजेरो, गाडी चढेका छन् । उनीहरूको हिजोको आर्थिक हैसियत, जनतालाई थाहा छ । तर, निश्चित छ, जनताको शक्तिले पदको दुरूपयोग गरी कमाएको सम्पत्ति एकदिन जफत गर्नेछ र राज्यको सम्पत्ति बनाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *