भर्खरै :

संरा अमेरिकी प्रभुत्वविरुद्धको प्रतिरोध : हर्मुज जलडमरु

संरा अमेरिकी प्रभुत्वविरुद्धको प्रतिरोध : हर्मुज जलडमरु

विश्वव्यापी तेल व्यापारको करिब एक–पाँचौँ हिस्सा सञ्चालन गर्ने यो जलडमरू पूर्ण रूपमा बन्द नभए पनि विश्वकै व्यस्त तेल मार्गमा आएको अवरोधले विश्व ऊर्जा बजारमा ठुलो झट्का दिएको छ । द्वन्द्व सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा तेल ट्याङ्करहरूको आवागमन ९० प्रतिशतभन्दा बढीले घटेको छ । द्वन्द्व अझ चर्कँदो छ किनकि इरानको ‘प्रतिरोधको धुरी’ भनिने समूह (जसमा यमनका हुथीहरू पनि समावेश छन्) समन्वय बढाउँदै समुद्री मार्गहरू र अमेरिकी सम्पत्तिहरूलाई लक्ष्य बनाइरहेका छन् । ठुला ढुवानी कम्पनीहरूले रातो सागर मार्ग स्थगित गरेका छन् र केप अफ गुड होप हुँदै वैकल्पिक मार्ग अपनाएका छन् । यसले सामान्य ढुवानी पुनःस्थापनाको आशा उल्ट्याउँदै विश्व व्यापार लागत बढाएको छ ।
गएको अप्रिल ३ मा अमेरिकी एफ–१५ई स्ट्राइक इगल लडाकु विमान दक्षिण इरानको इस्फहान प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनाग्रस्त भयो । त्यसपछि ३६ घण्टा लामो सीमापार खोज तथा उद्धार अभियान सञ्चालन गरियो । संरा अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा यसलाई “अमेरिकी इतिहासकै सबैभन्दा साहसी खोज तथा उद्धार अभियानहरूमध्ये एक” भन्दै घमण्ड अनि दाबी गरे ।
तर इरानको विवरण पूर्णतः फरक थियो । इरानको तस्नीम समाचार एजेन्सीका अनुसार, इरानी सेनाले दुईवटा ब्ल्याक हक हेलिकोप्टर र एउटा सी–१३० यातायात विमान खसाल्यो, जसमा धेरै अमेरिकी सैनिकहरू मारिए । साथै अमेरिकी सेनाले दुर्घटनास्थलका अवशेष नष्ट गर्न र मृतकहरूको शव लुकाउने प्रयास गरेको आरोप पनि छ । अप्रिल ५ को बिहान सार्वजनिक गरिएको जानकारीअनुसार खसेको युद्धविमानका एक पाइलटको खोज तथा उद्धार प्रयास असफल भयो र अमेरिकी सेनाले सम्भावित लुक्ने स्थानहरूमा हवाई आक्रमण गरेर उक्त पाइलटलाई नै मार्ने प्रयास गरेको अध्ययन छ । यसरी ट्रम्पको ‘वीर उद्धार’ विश्वस्तरकै कालो व्यङ्ग्यजस्तो बन्न पुग्यो । मानवीयता या सहयोगको आवरणमा संरा अमेरिकाको वर्चस्व भोक नाङ्गिदै छ ।
२००१ यता, अमेरिकाले तथाकथित ‘आतङ्कविरुद्धको युद्ध’ अन्तर्गत करिब ८० देशमा सैन्य कारबाही सञ्चालन गरेको तथ्य छ । ब्राउन विश्वविद्यालयको “Costs of War परियोजनाले २०२१ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार, संरा अमेरिकी मानवीय उद्धार अभियानहरूले प्रत्यक्ष रूपमा ९ लाख ४० हजारभन्दा बढी मानिसको ज्यान लिए जसमा ४ लाख ३२ हजारभन्दा बढी सर्वसाधारण छन् र करिब ३ करोड ८० लाख मानिस विस्थापित भए ।
फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि सर्वोच्च नेता अली खामेनीलगायत इरानका धेरै प्रमुख व्यक्तित्वहरू हवाई आक्रमणमा मारिए । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट महासङ्घका अनुसार १ हजार ९ सत्न्दा बढी इरानी सर्वसाधारणको मृत्यु भइसकेको तथ्याङ्क छ र कम्तीमा २० हजार घाइते भएका छन्, जसमा धेरै महिला र बालबालिका छन् । इरानको शिक्षा विभागका अनुसार अप्रिल ८ सम्म कम्तीमा ३१२ शिक्षक र विद्यार्थीहरू यस युद्धमा मारिएको खबर अप्रिय छ । मानवताको तराजुमा एक अमेरिकी पाइलटको जीवन र एक इरानी बालकको जीवन बराबर मूल्यवान हुन्छ । संरा अमेरिकी इतिहासमा मानवीय उद्धारको घटना या अभियानलाई राजनीतिक महत्वाकाङ्क्षा या वर्चस्वको लडाइँको रुपमा लेखक मा मियाओमियाओले पेइचिङ रिभ्युको अप्रिल १६ अङ्कमा विश्लेषण गरेका छन् ।
पेइचिङ रिभ्यु अप्रिल ९ अङ्कमा भ्लादिमिर बेरेझ्निखको लेखले पनि ट्रम्पको वर्चस्ववादी दाउपेच उजिल्याउँछ । ट्रम्पले विश्वका तेल र ग्यास स्रोतहरू नियन्त्रणमा लिने उद्यत प्रयास ग¥यो । उनले गुण्डा शैलीमा भेनेजुयलाका राष्ट्रपति दम्पतीलाई नियन्त्रणमा लिए । भेनेजुयला विश्वकै सबैभन्दा ठुलो तेल भण्डार अमेरिकाको नियन्त्रणमा ल्याउने लक्ष्य राख्यो । ग्रिनल्यान्डको बरफमुनि विशाल तेल र ग्यास भण्डार रहेको थाहा पाएपछि उनले तुरुन्तै ‘रुस र चीनबाट हुने खतरा’ को बहाना बनाएर डेनमार्क र ग्रिनल्यान्डका आदिवासीहरूमाथि तीव्र दबाब सिर्जना गरे । इरानविरुद्ध युद्ध सुरु गर्नु पनि त्यही उद्देश्य अर्थात् इरानी तेल कब्जा गर्ने हिस्सा या सिलसिला हो । यदि यो योजना सफल भएको भए अमेरिकाले विश्व तेल उद्योगमा प्रमुख नियन्त्रण प्राप्त गर्ने, रुसलाई बजारबाट हटाउने र चीन, बेलायत, युरोप तथा पर्शियाली खाडीका तेलमा समृद्ध राष्ट्रहरूलाई समेत तेल आपूर्तिका लागि वासिङटनमा निर्भर बनाउने थियो ।
पछिल्लो समय ट्रम्पका विदेश नीतिमध्ये एउटा मात्र आंशिक रूपमा सफल भनेको भेनेजुयलासम्बन्धी चाल हो । चीनसँगको व्यापार युद्ध अन्त्यको विकल्प अमेरिकासँग थिएन, किनभने व्यापार युद्धको नकारात्मक प्रभाव अमेरिकी अर्थतन्त्रमा चीनको तुलनामा असाध्यै बढी परेको थियो । हमासलाई दबाउन ट्रम्प असफल छ, गाजाको अवस्था गतिरोधमा पुग्यो र ट्रम्पले वाचा गरेको ‘सन्तोषजनक समाधान’ कतै देखिँदैन । युक्रेनको द्वन्द्व पनि अन्त्यहीन लम्बिएको छ† युक्रेनी राष्ट्रपति जेलेन्स्कीले व्यवहारमा ट्रम्पको अवज्ञा गरिरहेको तथ्य उजागर गरेको छ । उनले बाह्य रूपमा वाशिङटनप्रति निष्ठा देखाए पनि, व्यवहारमा बेलायतको रणनीति पछ्याइरहेका छन्् । युक्रेन र रुसबिचको युद्धलाई रुस नाटोसँग पूर्ण रूपमा पराजित नभएसम्म लम्ब्याउने जिद्दी देखिन्छ  । यी निरन्तर असफलताहरूबिच ट्रम्पको प्रतिष्ठा देशभित्र र बाहिर दुबैतिर घट्दै छ ।
अमेरिका–युरोप सम्बन्ध बिग्रिएको छ । २०२२ मा ट्रम्पले युरोप र रुसबिचको आर्थिक सम्बन्ध विच्छेद गरायो र सस्तो रूसी ऊर्जा स्रोतबाट युरोपलाई वञ्चित गरायो । यसले युरोपेली वस्तुहरूको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा क्षमता सिधै घटाइदियो । वाशिङटनको मुख्य योजना युरोपका ठुला अर्थतन्त्र र प्रमुख कम्पनीहरूलाई क्रमशः अमेरिकातर्फ आकर्षित गर्नु थियो ताकि अमेरिका विश्वको एकमात्र सुरक्षित र स्थिर आर्थिक आश्रयस्थल बन्न सकोस् । २०२५ मा युरोपेली युनियनले औपचारिक रूपमा अमेरिकासमक्ष झुकेको जस्तो देखायो र ट्रम्पसँग एक ‘सम्झौता’ ग¥यो । युरोपले अमेरिकी वस्तुहरूमा शून्य भन्सार लगाउने, ७५० अर्ब डलर बराबरको अमेरिकी ऊर्जा आयात गर्ने, थप ६०० अर्ब डलर अमेरिकी अर्थतन्त्रमा लगानी गर्ने र रुसविरुद्धको युद्धका लागि अमेरिकी हतियार खरिदमा अर्बौँ डलर खर्च गर्ने साथै आफ्नो पुराना हतियार युक्रेनलाई हस्तान्तरण गर्ने । यसको ‘बदला’ मा अमेरिकाले युरोपेली वस्तुहरूमा भन्सार दर ३० प्रतिशतबाट घटाएर १५ प्रतिशत मात्र बनायो । आफ्नो आर्थिक र राजनीतिक स्वार्थका लागि युरोपलाई बलिदान गर्न अमेरिकाले तयारी गरेपछि युरोपलाई रुस र चीनसँग संवाद खोज्न बाध्य बनाएको यथार्थ हो । युरोपले पनि रुस र चीन असल विकल्प मानेको छ ।
जुमार्ट ओटोरबाएभको लेखले अमेरिकी एकध्रुवीय आर्थिक युद्ध बझ्न थप सघाउँछ । शीतयुद्धपछि आर्थिक दबाब मुख्यतः एकध्रुवीय उपकरणको रूपमा अमेरिकाले प्रयोग ग¥यो । अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा डलरको प्रभुत्व र व्यापार तथा प्रविधि सञ्जालमा अमेरिकाको केन्द्रीय स्थानका कारण अमेरिकाले प्रभुत्वको प्रणाली बसाल्यो । आज यो प्रणाली परिवर्तनको सङ्घारमा पुग्यो भन्दा फरक नपर्ला । चारैतिरबाट प्रतिकारको आगो बल्न सुरु भइसकेको अवस्था छ ।
हर्मुज जलडमरूमा विकसित भइरहेको अवस्था नयाँ प्रकारको आर्थिक प्रतिकारको उदाहरण हो । जलमार्ग पूर्ण रूपमा बन्द गर्नुको सट्टा, तेहरानले सशर्त पहुँचको प्रणाली निर्माण गरिरहेको देखिन्छ । जहाज आवागमन पूर्ण रूपमा अवरुद्ध नभए पनि पारगमन बढ्दो रूपमा राजनीतिक झुकाव वा अप्रत्यक्ष स्वीकृतिमा निर्भर हुन थालेको छ । यस अर्थमा जलडमरू खुला त रहन्छ, तर अब यसले पूर्ण रूपमा तटस्थ मार्गको रूपमा काम गर्दैन ।
यो भिन्नता अत्यन्त महत्वपूर्ण छ । औपचारिक रूपमा बन्द गर्दा तत्काल र कडा अन्तर्राष्ट्रिय प्रतिक्रिया आउने थियो । इरानले यत्तिबेला केवल अवरोधको धम्की दिइरहेको छैन बरु विश्वका महत्वपूर्ण व्यापारिक मार्गहरूमा पहुँचका नियमहरू नै पुनःपरिभाषित गरिरहेको छ । यस परिवर्तनले विश्व अर्थतन्त्रमा धेरै प्रभावहरू छोड्छ । पहिलो, दबाब दिने हेतुले लगाइएका प्रतिबन्धहरू कमजोर हुँदै छन् । लक्षित देशहरूले वैकल्पिक व्यापार मार्गहरू विकास गर्दै, आन्तरिक उत्पादन बढाउँदै र असंलग्न राष्ट्रहरूसँग आर्थिक सम्बन्ध बलियो बनाउँदै जाँदा प्रतिबन्धहरूको दीर्घकालीन प्रभावकारिता घट्दै जान्छ । उदाहरणका रूपमा, २०२२ पछि रुसले आफ्नो व्यापारलाई एसियाली बजारतर्फ मोड्यो, अर्को उदाहरण भनेको प्रविधि प्रतिबन्धका कारण चीनमा घरेलु नवप्रवर्तनको वृद्धि हो ।
दोस्रो, आर्थिक युद्धको लागत सबै पक्षका लागि बढिरहेको छ । बहुध्रुवीय विश्वमा एउटा हमलाले अर्काेतिर प्रतिकार जन्माउँछ । पहिले कम जोखिमयुक्त मानिएका कदमहरू अब घरेलु आर्थिक अवरोध निम्त्याउने जोखिम बोकेका छन् ।
तेस्रो, आर्थिक र सैन्य द्वन्द्वबिचको रेखा धमिलिँदै गएको छ । जब आर्थिक उपायहरू कम प्रभावकारी हुन्छन् वा अनपेक्षित तनाव बढाउने जोखिम हुन्छ तब राज्यहरूले अन्य दबाबका उपायहरू विचार गर्न सक्छन् । किर्गिस्तानका पूर्वप्रधानमन्त्री, पेइचिङ नर्मल विश्वविद्यालयअन्तर्गत बेल्ट एन्ड रोड स्कूलका विशिष्ट प्राध्यापकसमेत रहेका लेखक ओटोरबाएभको यो विश्लेषण मननीय छ ।
लेखक मा मियाओमियाओले हर्मुजकै सन्दर्भ जोडेर संरा अमेरिकाको आसन्न आर्थिक अवसानको सङ्केत गरेका छन् । हर्मुजको जलडमरू ट्रम्पका लागि एक निर्णायक परीक्षा बनेको छ । यो रणनीतिक समुद्री मार्गले उनको राजनीतिक भविष्य नै उल्ट्याउने खतरा छ । हर्मुज स्ट्रेटलाई ‘ट्रम्प स्ट्रेट’ भनेर नामाकरण गर्नु ट्रम्पका लागि प्रत्युत्पादक बन्यो । फेब्रुअरी २८ देखि सुरु भएको इरानविरुद्धको अमेरिकी आतङ्क इरानी समाजको गलत मूल्याङ्कनमा आधारित देखिन्छ । इरानका सर्वोच्च नेता खामेनी र अन्य शीर्ष अधिकारीहरूको हत्या हुँदा पनि त्यहाँ सरकार ढलेन बरु राष्ट्रिय एकता मजबुत बन्यो, विदेशी सैन्य हस्तक्षेपविरुद्ध सार्वभौमिकता जोगाउने सङ्कल्पलाई अझ सुदृढ बनाइयो ।
विश्वव्यापी तेल व्यापारको करिब एक–पाँचौँ हिस्सा सञ्चालन गर्ने यो जलडमरू पूर्ण रूपमा बन्द नभए पनि विश्वकै व्यस्त तेल मार्गमा आएको अवरोधले विश्व ऊर्जा बजारमा ठुलो झट्का दिएको छ । द्वन्द्व सुरु हुनुअघिको अवस्थासँग तुलना गर्दा तेल ट्याङ्करहरूको आवागमन ९० प्रतिशतभन्दा बढीले घटेको छ । द्वन्द्व अझ चर्कँदो छ किनकि इरानको ‘प्रतिरोधको धुरी’ भनिने समूह (जसमा यमनका हुथीहरू पनि समावेश छन्) समन्वय बढाउँदै समुद्री मार्गहरू र अमेरिकी सम्पत्तिहरूलाई लक्ष्य बनाइरहेका छन् । ठुला ढुवानी कम्पनीहरूले रातो सागर मार्ग स्थगित गरेका छन् र केप अफ गुड होप हुँदै वैकल्पिक मार्ग अपनाएका छन् । यसले सामान्य ढुवानी पुनःस्थापनाको आशा उल्ट्याउँदै विश्व व्यापार लागत बढाएको छ ।
अमेरिका भित्रै ट्रम्प प्रशासनको विरोध शिखरमा छ । मार्च २८ मा आयोजित ‘नो किङ्स’ विरोध प्रदर्शनको पछिल्लो लहरमा लाखौँ मानिसको सहभागिता एउटा दृष्टान्त हो । देशभर ३,३०० भन्दा बढी कार्यक्रममा करिब ९० लाख मानिस सहभागी भएको अनुमान गरिएको छ । आन्दोलनले अनुमतिबिना सुरु गरिएको युद्ध र बढ्दो जीवनयापन खर्चको विरोध ग¥यो ।
भूराजनीतिक रूपमा, ट्रम्प विभिन्न एजेन्डाबिच फसेका छन् । फ्रान्सका विदेशमन्त्री जाँ–नोएल बारोले ‘इरानमाथि थोपिएको युद्ध’ अस्वीकार गर्दै कूटनीतिक समाधानको आह्वान गरेका छन् । जर्मन चान्सलर फ्रिड्रिख मर्जले यो द्वन्द्व ‘नाटोको विषय होइन’ भनेका छन् तर जर्मनीले अमेरिकासँग गोप्य जानकारी आदानप्रदान गरिरहेको छ । साउदी अरेबिया द्विविधामा छ । द्वन्द्व बढ्ने डर भए पनि अमेरिकाद्वारा प्रदान गरिएको सुरक्षामा निर्भर रहन बाध्य छ । इजरायल भने इरानी आणविक संरचनामाथि आक्रमणका लागि दबाब जारी राख्दै छ ।
आन्तरिक रूपमा, ट्रम्पको लोकप्रियता घट्दै छ । मार्च २५ मा प्रकाशित एसोसिएटेड प्रेस–एनओआरसी सर्वेक्षणअनुसार करिब ६० प्रतिशत अमेरिकीहरूले यो सैन्य अभियान अति भएको दाबी गरे । मार्च महिनाको हार्भर्ड–ह्यारिस सर्वेक्षणले ट्रम्पको कार्यसम्पादन अनुमोदन दर ३ प्रतिशतले घटेर ४३ प्रतिशतमा पुगेको देखाएको छ ।
ट्रम्प प्रशासनभित्रका कर्मचारी फेरबदलहरूले वाशिङटनभित्रको आन्तरिक विभाजन झल्काउँछ । गृह सुरक्षा मन्त्री क्रिस्टि नोएमलाई मार्च ५ मा पदबाट हटाइयो । राष्ट्रिय आतङ्कवादविरोधी केन्द्रका निर्देशक जोसेफ केन्टले मार्च १७ मा इरान युद्ध रणनीतिसम्बन्धी असहमतिको कारण राजीनामा दिए । अप्रिल २ मा ट्रम्पले पाम बन्डीलाई महान्यायाधिवक्ता पदबाट हटाए ।
रिपब्लिकन पार्टी आफैँ विभाजित छ । अप्रिल १ को एपी रिपोर्टअनुसार उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो २०२८ को राष्ट्रपति प्राथमिक चुनावका सम्भावित बलिया उम्मेदवार मानिन्छन् र उनीहरूले ट्रम्प प्रशासनभित्रको भूमिकासँगै आफ्ना भविष्यका राजनीतिक योजनाबिच सन्तुलन कायम गर्नुपर्नेछ । “इरानबारे रुबियो र भान्सले गर्ने अभिव्यक्तिबाट उनीहरूको सोच फरक छ भन्ने स्पष्ट हुन्छ ।” भान्स वर्तमान इरान नीतिसँग पूर्ण सहमत छैनन् र धेरै वरिष्ठ सांसदहरूले नोभेम्बरमा हुने मध्यावधि चुनावअघि नै राजनीतिबाट अवकाश लिने घोषणा गरिसकेका छन् ।
मध्यावधि चुनाव नजिकिँदै गर्दा, इरानसम्बन्धी ट्रम्पका निर्णयहरू उनको राजनीतिक अस्तित्वसँग जोडिएका छन् । आक्रामकता बढाउँदा तेल मूल्यवृद्धि र थप विरोध प्रदर्शनको जोखिम हुन्छ, समन्वय वा सम्झौताले भने उनको ‘मेक अमेरिका ग्रेट अगेन’ (MAGA) समर्थक र इजरायललाई असन्तुष्ट पार्न सक्छ ।
सैन्य अभियानको लागत पनि अत्यन्त उच्च छ, पहिलो १०० घण्टामा ३.७ अर्ब डलर (प्रतिदिन ८९ करोड) र कुल लागत सम्भवतः १० खर्ब डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । यसर्थ, हर्मुजको जलडमरू ट्रम्पको ‘वाटरलू’ साबित हुनसक्ने विश्लेषण पेइचिङ रिभ्युको हो ।
स्रोत : भाग ६९, अङ्क १६, अप्रिल १६, २०२६
: भाग ६९, अङ्क १५, अप्रिल ९, २०२६

Leave a Reply

Your email address will not be published. Required fields are marked *