न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
पुरातत्व
भाइ राजु र बहिनी दीपा,
विद्यालय, महाविद्यालय र विद्यार्थीहरूकै आयोजनामा भएका मार्गनिर्देशन कार्यक्रमहरूको विषयमा तिमीहरूले लेखेका छौ । पत्रमा पुरातत्व, चित्रकला वा ललितकला, वन–विज्ञान, सूचना प्रविधि, नर्सिङ, रोग विज्ञान (प्याथोलोजी) आदि विषयका पनि कुरा उठाएका रहेछौ । ती विषयमध्ये पुरातत्व अध्ययन गर्ने व्यक्तिहरू एकातिर सा¥है कम छन् भने केहीले अध्ययन गरे पनि गहिराइमा जानुभन्दा संस्कृति मन्त्रालयअन्तर्गतको पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह अड्डा र केही सङ्ग्रहालयमा हाकिम हुने वा काम पाउने उद्देश्यले मात्र पढ्ने गर्छन् । त्यस क्षेत्रमा पनि केही हाकिमहरू मर्मत सम्भार, संरक्षण कार्य तथा निर्माण कार्यमा भ्रष्टाचार गरेर साह्रै बदनाम भएको हुँदा राम्रा मानिसहरू पुरातत्व विभाग र त्यससम्बन्धी कार्यालय भन्नासाथै नाक खुम्च्याउँछन् । केही मानिस पुरातत्व विभागलाई पुराना मूर्तिहरू विदेश पठाउन सिफारिस गर्ने भन्सार विभागसमेत भन्छन् । त्यस्तै, संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) लाई छली खानेहरूको गिरोह नै पुरातत्व विभाग हो भनेर कतिपयले आरोप पनि लगाउँछन् । सम्भवतः ती आरोपहरू सत्य नहोलान् किनभने २–४ जना खराब मानिस जहाँ पनि हुन्छन् । त्यसमा पुरातत्व विभाग पनि अपवाद होइन ।
त्यसो त भक्तपुर नगरपालिकाले ५५ झ्याले दरबार जीर्णोद्धारबारे तयार पारेको अध्ययन प्रतिवेदनको नाममा युनेस्कोबाट पठाइएको हजारौँ डलर कसले खायो भनी नगरपालिकाले बारम्बार प्रश्न गर्दै छ तर युनेस्को र पुरातत्व विभाग मौन छन् । त्यस्तै, निर्वाचित जनप्रतिनिधि रहेसम्म पुरातत्व विभाग ५५ झ्याले दरबार जीर्णोद्धार गर्न र पुरानै शैलीमा ल्याउन तयार भएन । यो पनि रहस्यकै विषय हो । ती त भए पुरातत्व विभागका अँध्यारा पक्ष । तर, हाम्रो विषय हो – पुरातत्व विज्ञानको उज्यालो पक्ष ।
हो, तिमीहरूले भनेजस्तै पारदर्शिताको प्रश्न निश्चय पनि एउटा समस्याको रूपमा सरकारी कार्यालयहरूमा छ । त्यो अर्कै विषय हो तर देशका विभिन्न क्षेत्रमा नेपाली सभ्यता र इतिहासबारे उत्खनन् र अनुसन्धान गर्नुपर्ने विषय धेरै छन्† त्यसको निम्ति श्रमशक्तिको कमी अनुभव गरिँदै छ । टाढा किन जाने, राजधानीकै काठमाडौँ, पाटन र भक्तपुरलाई ‘येँ’, ‘यल’ र ‘खोप’ वा ‘ख्वपः’ भनिन्छ । ती कुन भाषाका नाम हुन्; तिनको अर्थ के हो† ती ठाउँका किराँतकाल र लिच्छविकालका सबै स्मारकहरू जानकारीमा आइसकेका छैनन् वा उत्खनन गर्न बाँकी नै छ । सारमा, माटोमा पुरिएका पुराना वस्तुहरूको आधारमा प्राचीन इतिहासको अध्ययन गर्ने शास्त्र नै पुरातत्व विज्ञान हो ।
भनिन्छ, काठमाडौँको बलम्बु गाविस किराँत राजा बलम्बले स्थापना गरेका हुन् र काठमाडाँै पनि पहिलो किराँत राजा यलम्बरले निर्माण गरेका हुन् । यस्ता अनेकौँ स्थल र स्थानबारे वर्षाैँसम्म अध्ययन गरी जानकारीहरू खोजबिन गर्न सयौँ–हजाराँै विशेषज्ञ आवश्यक छन् । चीनले आफ्ना विभिन्न कालका स्मारकहरू उत्खनन गरेर पुराना धेरै विषयमा जानकारी हासिल गरी आकर्षणका केन्द्रहरू खोलेको छ भने मिश्र, पाकिस्तान, भारत, रोम र ग्रीसले पनि पुराना स्मारकहरू उत्खनन तथा संरक्षण गरेर मानव सभ्यतामा त्यहाँका जनताको योगदानमाथि प्रकाश पारी मानव जातिकै सिर्जनशीलतालाई उजिल्याउने काम गर्दै छन् ।
नेपाल पनि एक प्राचीन र पूर्वी सभ्यताकै एक अङ्ग भएको हुँदा नेपाल र नेपाली जनताले विश्वको मानव सभ्यता र संस्कृतिमा दिएको देनबारे प्रकाश पार्ने काम गर्नु प्रकारान्तरले स्वयम् मानव जाति र भविष्यको सेवा गर्नु हुनेछ । यसकारण, विद्यार्थी भाइबहिनीहरूले पुरातत्व विज्ञान विषय लिएर अध्ययन गरेमा लाखौँलाख मानिसले अत्यन्त मिहिनेत गरेर विकास गरेका पुराना सभ्यताको गर्भभित्र लुकेका अनेक रहस्यहरू उद्घाटन हुनेछ । यसरी यो आफैमा अत्यन्त रोचक विषय हो भनी मानिसहरूलाई जानकारी दिनु आवश्यक छ । त्यसको निम्ति विभिन्न विदेशी भाषा, संस्कृत भाषा, इतिहास, रसायनशास्त्र, नृवंशशास्त्र, जीवशास्त्र तथा भौतिकशास्त्रहरूको समेत अध्ययन गर्नु जरुरी हुन्छ । म आशा गर्छु, भाइबहिनीहरूको ध्यान यस विज्ञानमा जानेछ ।
मूर्तिकला र चित्रकला
मूर्तिकला र चित्रकला (फाइन आर्ट) मा नेपाल संसारका गनिएका देशमध्ये पर्छ । भित्तेचित्र र पौभा कलाले आज पनि कलाप्रेमीलाई उत्साह प्रदान गरिरहेका छन् । चित्रकला र मूर्तिकला प्राचीन समाजका मानिसहरूका जीवनका अनेक क्रियाकलापलाई सुसूचित गर्ने माध्यम बनेका छन् । पहिलेका मानिसहरूको गतिविधि र सम्पूर्ण समाजकै प्रतिबिम्ब भित्तेचित्र र गुफाहरूमा कुँदिएका चित्रहरूले दिँदै छन् । त्यस्तै, त्यसबेलाका सौन्दर्य, सीप र जानकारीलाई मूर्तिको रूप दिएर त्यस युगले आजसम्म मानव जातिलाई अमूल्य निधि र सम्पदा प्रदान गरिरहेको छ । कति मूर्ति र चित्रहरूले प्रतीकको काम गरेर सबै युगका मानिसका मन र मस्तिष्कलाई सदा उर्वर बनाइरहेकै छन् । एक–एक चित्र र एक–एक मूर्तिले त्यस युगबारे धेरै लामा–लामा सूचना र कथा बताउँछन् ।
मानिसहरूलाई जसरी पुच्छर नभएको बाँदरको सिलसिला हो भनी जीव वैज्ञानिक र मानवशास्त्रीहरू बताउँछन्, त्यस्तै आजको उत्कृष्ट चित्रकला र मूर्तिकलामा प्राचीन सीप एवम् शैलीको प्रकट र अप्रकट रूपमा प्रभाव परिरहेको हुन्छ । नेपालको पनि चित्रकला र मूर्तिकलामा आफ्नै परम्परा र विशेषता छ । यसबारे देश र विदेशका अनेक कलाकारहरू चिन्तन–मनन र अभ्यासमा लागेका छन् ।
भौतिक प्रगतिमा समाज जतिसुकै अगाडि बढे तापनि मन र मस्तिष्कलाई आनन्द प्रदान गर्न वा मनलाई खुसी पार्न मानिस कलाकै शरणमा पर्छन् । वास्तुकला पनि नेपाल र नेपाली जनताले उत्कृष्टता प्राप्त गरेको क्षेत्र हो । तर, आज त्यस विषयलाई इन्जिनियरिङको एक हाँगाको रूपमा विकास गरिँदै छ । हाम्रा सुन्दर मठ–मन्दिरहरू हाम्रै प्राचीन वास्तुकलाका नमुना हुन् । सयौँ वर्षपछि पनि ती धरोहरले हामीलाई प्रेरणा प्रदान गर्दै छन् । हो, धातुको मूर्ति र रङ्गीन चित्रले कलाकारको चमत्कार दर्शाउने मात्रै होइन, धातु र रङले त्यसबेलाको भौतिक र रासायनिक प्रगतिको पनि दिग्दर्शन गराउँछ ।
सङ्गीत र नाचगान पनि मानव सभ्यताकै एक अङ्ग हुन् । भाषाको विकास नहुँदै हाउभाउ वा अभिनयबाट मानिसहरू आ आफ्ना भावना अभिव्यक्त गर्थे । मौन नाच र मुकुन्डो नाच त्यसैका सिलसिला हुन् । देवी नाच, महाकाली नाच, भैरव नाच वा नवदुर्गा नाच यसका उदाहरण हुन् भने रुसको ब्याले र चीनको पेचिङ अपेरा प्राचीन नाचकै विकसित र सुसंस्कृत रूप हुन् । यसैगरी शास्त्रीय नाचहरूले आज विविधता प्राप्त गरेका छन् । यसको प्राचीन रूप र आधुनिक स्थितिलाई अध्ययन गरेर भविष्यमा एउटा सुन्दर र स्वस्थ नृत्यको सिर्जना गर्न पनि भाइबहिनीहरूले यसको अध्ययनको महत्वलाई बुझ्नु आवश्यक छ ।
दुःख र पीडामा मानिसहरू क्रन्दन र चित्कार गर्छन् भने खुसीको अभिव्यक्ति ठुल्ठुलो स्वरले हाँसेर गर्छन् । वनमान्छेहरू पनि नेपालको मुस्ताङमा भेटिएको प्राचीन गुफाचित्र आफ्ना प्रतिद्वन्द्वीसँग छाती पिटेर, खुट्टा बजारेर हुँकार गर्छन् । त्यसै सिलसिलाको रूपमा आज मानिसहरू रिस र इष्र्या अभिव्यक्त गर्छन् । श्रम, दुःख, सुख, रिस, अहङ्कार र विविध भावनाले मानिसलाई भाषा बोल्न कुत्कुत्याएको हुनुपर्छ । भाषाको सरल विकासले नै सङ्गीतलाई आजको शिखरमा पु¥यायो । रूप, रङ र भाषा फरक भएझैँ बाजागाजा, नाचगान पनि देश र महादेश तथा जात र जनजातिअनुसार फरक–फरक छन् । यो नै सम्बन्धित क्षेत्रको सम्पन्नता हो ।
समाजमा दयालु, मायालु, उदार, कन्जुस, सज्जन, रिसाहा, गुनिला र बैगुनी मित्र एवम् दुष्टहरू हुन्छन् । भाषाको अभिव्यक्ति आउनुभन्दा पहिले रङ र आकारले नाचमा तिनीहरूको प्रतीकको निर्माण भयो । ठाउँ र समाजअनुसार सेतोले राम्रो, हरियोले गुनिलो, रातोले रिसाहा, पहेँलोले दयालु, कालोले दुर्जनजस्तै विभिन्न रङ अनेक गुणका प्रतीक हुन्छन् तथा रङअनुसार सौम्य, हँसिलो र डरलाग्दो मकुन्डोले फरक–फरक अभिव्यक्ति दिन्छन् । यही कुरा आजको चित्रकलाको रङ, नाटकका पात्रहरूको रूप र लुगाको रङले समेत प्रतिबिम्बित गर्छन् ।
कोर्रा हातमा लिएको तथा सुरुवालको तलको भाग कस्सिएको पात्र पर्दामा देखिनुको अर्थ घोडचढी हुन्छ भने चीनको गीति नाटक (पेचिङ अपेरा) मा अरूभन्दा फरक गीतले मनको भावना अभिव्यक्त गर्छ । नवदुर्गा नाचमा मकुन्डो पात्रहरूको भावना र संवाद बाजा बजाउने उजाजू वा गुरुले गर्छन् ।
यस्ता मानवीय जीवनलाई लयात्मक ढङ्गले विश्लेषण गर्न र नयाँ युगको अभिव्यक्ति दिन चित्रकला, मूर्तिकला, नाचगान, बाजागाजाको अध्ययन गर्नु अत्यन्त रोचक हुन्छ । विदेशका विद्यार्थीहरू पनि बिस्तारै ती विषयहरू नेपालमा अध्ययन गर्न आउँदै छन् । काठमाडौँ विश्वविद्यालयको सङ्गीत कक्षा छ भने त्रिभुवन विश्वविद्यालयको ललितकला कक्षा पहिलेदेखि नै चालू छ । तर, ललितकला महाविद्यालय सरकारको आँखामा परेको छैन ।
समाजको परिवर्तन र क्रान्तिमा समेत नाचगान, सांस्कृतिक कार्यक्रम, चित्रकला एवम् मूर्तिकलाले ठुलो योगदान पु¥याएको हुन्छ । संसारका मजदुर र कम्युनिस्टहरूलाई एक सूत्रमा बाँध्ने युजेँ पोट्टरको ‘अन्तर्राष्ट्रिय गीत’ यसको उदाहरण हो भने आन्दोलनका चित्रकलाहरूले सारा जनमानसको ध्यान आकर्षित गर्छन् र त्यस अभियानमा सहभागी हुन प्रेरित गर्छन् ।
मजदुर र किसानहरूलाई गर्ने शोषण, ऐतिहासिक सङ्घर्ष र क्रान्तिकालीन अनेक घटनाहरू, वीर गाथाहरू, चित्र र मूर्तिका स्मारकहरू सङ्ग्रहालयमा प्रदर्शित गरिएका हुन्छन् । चीन, कोरिया र अन्य समाजवादी देशमा यस्ता उदाहरण धेरै देख्न सकिन्छ ।
साहित्य
आँखाले हेरेर, छामेर र कानले सुनेर बुझ्ने माथिका कलाका विधाहरू भए भने साहित्यिक फाँटमा कविता, कथा, उपन्यास, नाटक, निबन्ध आदि विधा वा हाँगाबिँगाले अरू विस्तृतरूपले मन छुने ढङ्गले बयान गर्छन् । भाषाको सम्पन्नतामा साहित्यको भूमिका हुन्छ भने सम्पन्न साहित्यले देशमा परिवर्तनको बिगुल बजाउँछ । जुन भाषाको साहित्यले देशको समसामयिक चिन्तनको अगुवाइ गरेको हुन्छ, ती देशमा युगान्तकारी परिवर्तनको अगुवाइ भएको देखापर्छ ।
सम्पन्न अङ्ग्रेजी भाषाको दार्शनिक र राजनीतिक साहित्यले संसारमा सबभन्दा पहिले बेलायती पुँजीवादी क्रान्ति तथा अमेरिकी स्वतन्त्रताको बिगुल फुक्यो । सम्पन्न फ्रान्सेली साहित्यकै कारण युरोपमा उथलपुथल गर्ने फ्रान्सेली राज्य क्रान्ति भयो । रुसी साहित्यकै कारण संसारलाई हल्लाउने समाजवादी क्रान्ति रुसबाटै सुरु भयो । एसियालाई नै जगाउने चीनको मुक्ति युद्धमा प्राचीन सम्पन्न चिनियाँ साहित्यले योगदान ग¥यो । यसकारण, भाइबहिनीहरूले विभिन्न भाषा र साहित्य अध्ययनमा पनि लाग्न साथीभाइलाई उत्साहित गर्नु मनासिब होला ।
नर्सिङ सेवा र प्रयोगशालाका प्रविधिहरू
आजकल संयुक्त परिवार पूर्णरूपले नटुटिसकेको र नयाँ युगल परिवारले आकार लिइनसकेको सङ्क्रमणको बेला घर–घरमा ज्येष्ठ नागरिक (६०–६५ वर्ष नाघेका) बाबु–आमा र हजुरबुबा–हजुरआमाहरू हेरचाहको अभावमा दिनभरि भोकभोकै रहन्छन् भने कसैले समय–समयमा कोल्टे फेर्न लगाउने सेविकाहरू (नर्स) को अभावमा जिउभरि घाउ भएर पीडा भोगिरहेका छन् । देशमा अस्पताल, स्वास्थ्य केन्द्र र घरघरमा हेरचाह गर्ने नर्सहरूको खाँचो छ तर विदेशमा नर्स पठाउने उद्देश्यले निजी नर्सिङ क्याम्पस खोलेर डलर कमाउने व्यवसाय पनि गरिँदै छ ।
त्यतिमात्रै होइन, प्राविधिक शिक्षा र व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले समेत सार्वजनिक नर्सिङ क्याम्पसलाई हतोत्साहित गर्ने उद्देश्यले शुभलाभको आधारमा कमसल खालका नर्स उत्पादन गर्ने निजी क्याम्पसहरूलाई प्राथमिकता दिँदै छ । विदेशीहरूको निम्ति सस्तो प्राविधिक ज्यामी तयार गराउने उद्देश्यले नै सीटीईभीटीको स्थापना भएको हो कि भन्ने शङ्का बढ्दै छ – किसानलाई भैँसी पाल्न दिई दूध पसलले फाइदा उठाएजस्तै ।
(हालै सरकारले १०० बेडको आफ्नै अस्पताल नभएका नर्सिङ कलेज बन्द गर्ने नियम ल्याएकोले अनमी र स्टाफ नर्समा ७३ नर्सिङ क्याम्पस, १३७ प्रि–डिप्लोमा, १० वटा बीए नर्सिङ कलेज, ८ वटा बीएस्सी नर्सिङ कलेज बन्द हुँदा ३८८० जना छात्र–छात्राहरू नेपालका सीमावर्ती भारतीय सहरमा खुलेका झन्डै १०० भन्दा बढी नयाँ नर्सिङ कलेजमा भर्ना भएको खबर छ ।)
बेलायत पहिलो पुँजीवादी वा विकसित देश हो । त्यहाँ अहिले वर्षको २५ प्रतिशत नर्सहरू अवकाश प्राप्त गर्दै छन् । २० हजार नर्सहरूले तालिम प्राप्त गर्छन् । विभिन्न कारणले ३५ हजार नर्सहरूले नर्सिङ पेसा छोड्दै छन् । फिलिपिन्स, दक्षिण अफ्रिका, भारत वा अन्य देशहरूबाट गत वर्ष बेलायतमा १४ हजार नर्सहरू पुगेका थिए । यो वर्ष ११ हजार ५ सय नर्स मात्र त्यहाँ पुगे ।
विकसित देशहरूमा नर्स पु¥याउने उद्देश्यले पनि सीटीईभीटी र नर्सिङ परिषद्का पदाधिकारीहरूले आफ्नो देशको निम्ति होइन गल्लावाला र म्यानपावर कम्पनीहरूले ज्यामी पठाएजस्तै विदेश पठाई पैसा कमाउन वा कमिसनको लागि निजी क्याम्पसहरू खोल्दै छन् भन्ने गुनासो व्यापक छ ।
सस्तोमा नर्सिङ पढाउने क्याम्पसलाई हतोत्साहित गरी नाफामुखी र महँगो शुल्क लिई पढाउने क्याम्पसको पक्ष लिई सीटीईभीटीले पक्षपात र भ्रष्टाचार गरेको होहल्ला भाइबहिनीहरूले पनि सुनेकै होला ¤
नेपाली जनताकै सेवाको निम्ति नर्सिङ क्याम्पसहरूको आवश्यकता अनुभव गरिएको हो । नेपालका नर्सहरू विदेशमा पनि सेवा गर्न जानु अस्वाभाविक ठहरिन्न । तर, आफ्ना स्वास्थ्यकर्मीहरू विदेश पुग्दा देशको स्वास्थ्य सेवा बर्बाद भएका देशहरू धेरै छन् । हाम्रो देशमा यस्तो स्थिति नहोस् भनी हामीले अहिलेदेखि नै कामना गर्नुपर्छ ।
रोग पत्ता लगाउन दिसा, पिसाब, रगत, खकार र अन्य आवश्यक वस्तुको परीक्षण प्रयोगशालामा गर्नुपर्ने हुन्छ । त्यस्ता परीक्षण गर्ने कामदारहरूलाई ‘प्रयोगशाला प्राविधिक’ (ल्याब टेक्निसियन) भनिन्छ । तिनीहरूको जाँचको रिपोर्ट अध्ययन गरेर नै डाक्टर वा चिकित्सकले रोगको निदान गर्छन् र उपचार सुरु गर्छन् ।
कतिपय ‘प्रयोगशाला प्राविधिक’ शिक्षित गर्ने तालिम केन्द्र वा कलेजहरूले गम्भीरतापूर्वक श्रमशक्ति तयार नगर्दा ती प्राविधिकले गलत ढङ्गले परीक्षण प्रतिवेदन वा रिपोर्ट दिन्छन् वा तिनीहरूको बेवास्ताले गर्दा रोगीहरूको जाँच रिपोर्ट उल्टोपाल्टो पर्छ । यसरी रिपोर्ट नै झूटो हुँदा चिकित्सकहरूको रोगको निदान र उपचार नमिल्दा रोगीहरूले धेरै दुःख पाएका गुनासाहरू सुनिन्छ ।
वास्तवमा ती प्राविधिकहरू अत्यन्त आवश्यक जनशक्ति हुन् तर तिनको तयारीमा भएको ‘शुभलाभ’ र बेवास्ताले गर्दा जिउ–धनको धेरै क्षति हुने सम्भावना बढ्दै छ । यसकारण, इमानदारीपूर्वक अध्ययन गर्ने, मिहिनेती र जेहेनदार भाइबहिनीहरूलाई ती विषयहरू अध्ययन गर्न घच्घच्याउनु पनि त्यत्तिकै आवश्यक छ ।
Leave a Reply