भर्खरै :

शैक्षिक विकासमा हाम्रो इमानदार पाइला

(ख्वप मा.वि.को एक्काइसौँ, ख्वप कलेजको उन्नाइसौँ र शारदा क्याम्पसको तीसौँ वार्षिक उत्सवको अवसरमा ख्वप कलेजका प्राचार्य रूपक जोशीबाट प्रस्तुत ख्वप कलेजको वार्षिक प्रतिवेदन)
स्थापना तथा उद्देश्य
सर्वसाधारण जनताका छोराछोरीहरूलाई कम शुल्कमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न, समाजलाई बुद्धिजीवीकरण गर्ने काममा सहयोग गर्न, नयाँ पुस्तालाई एक्काइसौँ शताब्दीका चुनौतीहरू सामना गर्नसक्ने बनाउन, शिक्षालाई उत्पादन श्रमसँग मिलाउन र श्रमलाई सम्मान गर्ने नागरिक तयार गर्नुका साथै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यका साथ आजभन्दा उन्नाइस वर्षअगाडि अर्थात् २०५८ सालमा भक्तपुरका समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवीहरूको अगुवाइमा भक्तपुर नगरपालिकाका तत्कालीन जनप्रतिनिधिहरूको पहलमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा ख्वप कलेजको स्थापना भएको हो । हामी यस अभियानमा अनवरत लागिरहेको यहाँहरूमा अवगत नै छ ।
शैक्षिक कार्यक्रम
त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापन सङ्कायअन्तर्गत बीबीएसमा ५१ जना विद्यार्थी र बीएससी वातावरण विज्ञानमा २२ जना विद्यार्थी गरी ७३ जना विद्यार्थीहरूबाट सुरु भएको हाम्रो यात्रामा अहिले स्नातक तहमा बीबीएस, बीए, बीए सामाजिक कार्य, बीएस्सी भौतिक तथा वातावरण विज्ञान, स्नातकोत्तर तहमा एमएस्सी वातावरण विज्ञान, एमबीएस् र एम.ए. अङ्ग्रेजी र एम.ए. अर्थशास्त्र विषयका कक्षाहरू सञ्चालनमा छन् । स्नातक तहमा सेमेस्टर प्रणालीबाट पढाइ हुने व्यवस्थापन सङ्कायको बीबीएम कार्यक्रम २०७६ सञ्चालनमा छन् । बीएमा मुख्य विषयको रूपमा अङ्ग्रेजी, अर्थशास्त्र, राजनीतिशास्त्र, समाजशास्त्र, सामाजिक कार्य, पत्रकारिता, ग्रामीण विकास, संस्कृति, नेपाली, गणित, मनोविज्ञान विषयका कक्षाहरू सञ्चालनमा छन् ।
विद्यार्थी सङ्ख्या
भर्ना सङ्ख्याको आधारमा यस शैक्षिक वर्षमा बीबीएसमा ६९८ जना, बीएमा ३९० जना, बीएस्सीमा १३५, बीबीएममा ६५ जना, एमएस्सीमा ४१ जना, एमबीएसमा ३८ जना, एमए अङ्ग्रेजीमा ४१ जना र एमए अर्थशास्त्रमा २६ जना गरी जम्मा विद्यार्थी १४३४ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये छात्र ५०६ जना र छात्रा ९२८ छन् ।
शैक्षिक वर्ष २०७५÷७६ मा ३६५ जना स्नातक तहमा विद्यार्थी भएकोमा शैक्षिक वर्ष २०७६÷७७ मा ४०८ जना विद्यार्थी स्नातक तहमा भर्ना भए ।
कोभिड – १९ को कारण यस वर्षको स्नातक तहको भर्ना कार्यक्रम ढिलो सुरु भई अहिले भर्ना कार्यक्रम चलिरहेको छ ।
स्थापनाकालदेखि हालसम्म बीबीएसमा १३५९, बीएस्सी वातावरण विज्ञानमा २७३, बीएस्सी भौतिक विज्ञानमा १०५ र बीएमा ५८३ गरी २३२० जना विद्यार्थीले स्नातक तह उत्तीर्ण गरिसकेका छन् । त्यस्तै एमबीएसमा १९२, एमएस्सीमा १९७, एमए अङ्ग्रेजीमा १३५ र एमए अर्थशास्त्रमा ५० गरी जम्मा ५७४ जना विद्यार्थीले स्नातकोत्तर तह उत्तीर्ण गरिसकेका छन् ।
प्राध्यापक एवं कर्मचारी
हाल कलेजमा १७ जना पूर्णकालीन, १ जना अर्धपूर्णकालीन, ८३ जना आंशिक तथा मन्थलीबेसिस शिक्षक र १४ प्रशासनिक कर्मचारी कार्यरत छन् ।
भौतिक पूर्वाधार
देकोचास्थित भनपाको ५५ रोपनी जग्गामध्ये हाल ३–११–३–२ जग्गामा २०,४८८.६५ वर्ग फिट क्षेत्रफल भएको पाँचतले २ वटा भवन ब्लक ए र बी छन् । जसमा ७७ वटा साना–ठूला कक्षा कोठा छन् । ठूलो कोठामा बढीमा ६० र सानो कोठामा २५ जनासम्म विद्यार्थी अध्ययनको क्षमता छ । हाल ब्लक ‘बी’ भवनमा कलेजका कक्षाहरू सञ्चालित छन् भने ब्लक ‘ए’मा कलेजका प्रयोगशालाहरू रहेका छन् । स्नातक तहका कक्षाहरू चारवर्षे भएको, स्नातकोत्तर तहको कक्षा सेमेस्टर प्रणालीमा गएको र शारदा क्याम्पसका कक्षाहरूसमेत सञ्चालन गर्नुपर्ने भएकोले कलेजको लागि कक्षा कोठा अपुग भएको हुनाले थप भवन बनाउनको लागि गृहकार्य भइरहेको छ । जसमध्ये ब्लक ‘ए’ भवनको भोगाधिकार ख्वप माविलाई दिइएको छ । विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखी उपभोक्ता समितिमार्फत कलेजको क्यान्टिन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
पुस्तकालय, प्रयोगशाला तथा सूचना प्रविधि
विद्यार्थीहरूलाई बढीभन्दा बढी सुविधा दिने उद्देश्यले किताब लेनदेन र अध्ययन कक्ष गरी दुई ठाउँमा पुस्तकालय कक्षाहरू रहेका छन् । पुस्तकालयमा विभिन्न विषयका ३२,९९७ वटा किताब छन् । पुस्तकालयमा १४ वटा दैनिक र ३ वटा साप्ताहिक, ६ वटा मासिक र हवार्ड ब्युजिनेस रिभ्यू जर्नललगायत ६ वटा अन्तर्राष्ट्रिय जर्नलहरू नियमितरूपमा आउने गर्छ । कलेजको सूचना वेभपेज तथा फेसबुक पेजमार्फत विद्यार्थीलाई सूचित गराइरहेको छ ।
कलेज परिसर र कक्षा तथा कार्यालय कोठाका गतिविधिहरू सीसी टीभीमार्फत निगरानी गर्ने व्यवस्था गरेका छौँ । हाल पुस्तकालय तथा लेखा शाखालगायत सबै कार्यहरू एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम ९भ्ःक्ष्क्० जडान गरी कार्य भइरहेको छ । साथै ःयदष्भि ब्एए मार्फत सूचनाहरू अद्यावधिक गर्ने प्रक्रियामा छौँ ।
ख्वप कलेजमा विज्ञान विषय लिई स्नातक र स्नातकोत्तर तह अध्ययन गर्ने विद्यार्थीहरूलाई प्रयोगात्मक कक्षाको लागि भौतिक विज्ञानको दुई वटा, रसायनशास्त्रको १ वटा, प्राणीशास्त्रको १ वटा, वातावरण विज्ञानको १ वटा गरी ५ वटा प्रयोगशाला रहेको छ भने कम्प्युटरको तालिम तथा प्रयोगात्मक कक्षाको लागि छुट्टै प्रयोगशाला रहेको छ ।
शैक्षिक कार्यक्रम र परीक्षा नतिजा
गत वर्षको परीक्षा नतिजाअनुसार बीबीएसमा ५३.५६ प्रतिशत, बीएमा ७९. ९४ प्रतिशत, बीएस्सीमा ६८.४८ प्रतिशत, बीबीएममा ६९.४४ प्रतिशत, एमबीएसमा ७५.८१ प्रतिशत, एमए अङ्ग्रेजीमा ६३.६४ प्रतिशत, एमए अर्थशास्त्रमा ३६.३६ प्रतिशत, एमएस्सी वातावरण विज्ञानमा ९३.३३ प्रतिशत गरी औसतमा स्नातक तहमा ६४.५९ प्रतिशत र स्नातकोत्तर तहमा ७२.८४ प्रतिशत र समग्रमा ६५.८३ प्रतिशत रहेको छ । गत वर्षको समग्र नतिजा ६२.७९ प्रतिशत थियो ।
शैक्षिक क्यालेन्डर
कलेजले वार्षिकरूपमा शैक्षिक क्यालेन्डर प्रकाशित गरी कक्षा र परीक्षा सञ्चालन गर्नुको साथै नियमितरूपमा नतिजा प्रकाशित गरिरहेका छौँ । स्नातक तहका विद्यार्थीहरूको लागि प्रत्येक वर्षमा पहिलो, दोस्रो र प्रि–बोर्ड गरी तीनपटक परीक्षा लिने व्यवस्था गरिएको छ । सेमेस्टर प्रणालीमा सञ्चालन भएका कक्षाहरूको सेमेस्टरअनुसार प्रत्येक सेमेस्टरमा कम्तीमा एकपटक परीक्षा सञ्चालन गरी विद्यार्थीको शैक्षिक गुणस्तर कायम गर्न जोड दिइरहेको छ । कलेजमा त्रिविले तोकेको भन्दा बढी दिन कक्षाहरू सञ्चालन भइरहेका छन् । विभिन्न सार्वजनिक बिदाहरूमा समेत कलेजले नियमितरूपमा कक्षा सञ्चालन गरिरहेको छ ।
२०७३ सालमा भएको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा यस कलेजको एमबीएस तहको छात्र अभिषेकराज खनालले ७७ प्रतिशत अङ्क ल्याई व्यवस्थापन सङ्कायको एमबीएस तहमा नेपाल प्रथम भई स्वर्ण पदक प्राप्त गर्न सफल भएको र २०६९ सालको दिक्षान्त समारोहमा पनि यस कलेजकी एमबीएसकी छात्रा सन्तोषी रिमालले एमबीएस तहमा त्रिवि सर्वोत्कृष्ट भई स्वर्ण पदक प्राप्त गरेको यहाँ उल्लेख गर्न चाहन्छु । वार्षिकरूपमा खेलकुद तथा अन्य प्रतियोगिताहरू आयोजना भइरहेको छ ।
परीक्षाको नतिजालाई गुणस्तरीय बनाउने र विद्यार्थीहरूलाई अनुसन्धानमूलक कार्यमा प्रेरित गर्ने प्रयास भइरहेको छ । विद्यार्थीहरूलाई उत्तीर्णका साथै व्यवहारिक र उत्पादनमुखी बनाउने प्रयास भइरहेको छ ।
BSc.CSIT तह सञ्चालनको लागि सम्बन्धन प्राप्त गर्ने प्रयास जारी छ । यसको लागि Computer Lab, Network Lab, Microprocessor Lab, Digital Lab आदि पूर्ण तयारी अवस्थामा छ । विद्यार्थीको मागअनुसार BBA, LLB, BSc. Agriculture लगायतका विषयहरू पनि थप गर्ने योजना रहेको छ ।
कोभिड–१९ को कारणले भौतिकरूपमा कक्षा सञ्चालन गर्न कठिनाइ भएको बेलामा प्रविधिको प्रयोग गरी जूम तथा एमएस टीममार्फत अनलाइन कक्षा तथा परीक्षा सञ्चालन गरिएको थियो । हाल सबै कक्षाहरू विद्यार्थीको भौतिक उपस्थितिमा सञ्चालन भइरहेको छ ।
छात्रवृत्ति
कलेजले जेहेनदार तथा गरिब छात्रवृत्तिअन्तर्गत आ.व. २०७५÷७६ मा रु. २७ लाख ७५ हजार ४०० रूपैयाँ खर्च गरेको छ । कलेजले परीक्षा नतिजाको आधारमा उत्कृष्ट विद्यार्थी र शिक्षकहरूको सिफारिसमा गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरेको छ । साथै सञ्चालक समितिको निर्णयअनुसार विभिन्न योग्यता हासिल गरेका विद्यार्थीहरूलाई पनि कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको छ । ख्वप मावि र शारदा क्याम्पस माविबाट तथा अन्य सामुदायिक विद्यालय तथा कलेजबाट प्लस टु तथा स्नातक उत्तीर्ण विद्यार्थीहरूलाई भर्ना शुल्कमा छात्रवृत्तिको व्यवस्था छ । यस शैक्षिक वर्षमा छात्रवृत्ति शीर्षकमा रु. ४५ लाख बजेट विनियोजन गरिएको छ ।
बजेट व्यवस्थापन
ख्वप कलेज त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई वार्षिक बजेट सञ्चालक समितिबाट पास गरी खर्च गर्दै आएका छौँ ।
आ.व. २०७६÷०७७ को असार मसान्तसम्म ख्वप कलेजको कुल विनियोजित बजेटबाट विद्यार्थी छात्रवृत्ति रु. ३२ लाख, ९६ हजार २५ रूपैयाँसमेत सञ्चालन खर्च रु. ५ करोड १२ लाख १४ हजार ३ सय ६० र आम्दानीतर्फ विश्वविद्यालय अनुदान आयोगको आम्दानी रु. ३५ लाख १३ हजार ८ सय ५० रूपैयाँसमेत कुल आम्दानी ५ करोड ३८ लाख ९० हजार ५ सय २७ रूपैयाँ भई रु. २६ लाख ७६ हजार १ सय ६६ रूपैयाँ बचत रहेको छ ।
यस आ.व. २०७७÷०७८ को लागि ख्वप कलेजको सञ्चालन खर्च (तलब तथा भत्ता, कार्यालय सञ्चालन, शैक्षिक सामग्री, जेहेनदार विद्यार्थीहरूको छात्रवृत्तिसमेतको लागि) ६ करोड ८२ लाख, ७० हजार, पुँजीगत खर्च (पुस्तक, फर्निचर, मेसिनरी सामान, प्रयोगशालासम्बन्धी सामान, भवन निर्माणको लागि) ४ करोड ८५ लाख समेत कुल रु. ११ करोड ६७ लाख ७० हजार रूपैयाँको बजेट विनियोजन गरिएको छ । आम्दानीतर्फ ६ करोड १० लाख रूपैयाँ (धरौटी बाहेक) हुने अनुमान गरिएको छ । उल्लेखित बजेट अनुसार २०७७ पुस मसान्तसम्ममा १ करोड ६७ लाख ४३ हजार ७५ रूपैयाँ खर्च भइसकेको छ । विद्यार्थीहरूबाट ८५ लाख ६५ हजार ३ सय १६ रूपैयाँ आम्दानी भइसकेको छ ।
ख्वप कलेजाट आ.व. २०७६÷०७७ मा शिक्षक तथा कर्मचारीहरूको पारिश्रमिकबाट सामाजिक सुरक्षा कर रु. १ लाख ८२ हजार ५ सय ४, पारिश्रमिक आयकर रु. १२ लाख ४९ हजार १ सय २२ रूपैयाँ र विभिन्न बिक्रेताहरूलाई भुक्तानी गर्दा कट्टी गरेको अग्रीम आयकर रु. १ लाख ६३ हजार २ सय ५३ समेत जम्मा रु. १५ लाख ९४ हजार ८ सय ७९ आन्तरिक राजस्व कार्यालय भक्तपुरमा राजस्व दाखिला भएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।
राष्ट्रिय गोष्ठी
विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यस कलेजले २०७६ जेठ ३१ र ३२ गते रोल अफ म्यानेजमेन्ट इन इकोनोमिक डेभलोपमेन्ट विषयमा दुईदिने राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको थियो भने विश्वविद्यालय अनुदान आयोगसँग सहकार्य राखी २०७८ जेठ २९ र ३० गते रोल अफ म्यानेजमेन्ट इन इकोनोमिक डेभलोपमेन्ट विषयक दोस्रो राष्ट्रिय सम्मेलन आयोजना गर्दै छौँ । विश्वविद्यालय अनुदान आयोगकै सहयोगमा त्ष्mभ क्भचष्भक ब्लबथिकष्क सम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दैछौँ ।
शारदा क्याम्पस
शारदा क्याम्पसअन्तर्गत चारवर्षे बीएड्, एकवर्षे बीएड र तथा एमएडको कक्षा सञ्चालन भइरहेको छ । शारदा क्याम्पसअन्तर्गत १४ जना प्राध्यापकहरू कार्यरत छन् । क्याम्पसमा स्नातक तहमा ४३ जना विद्यार्थीहरू अध्ययनरत छन् ।
बजेट व्यवस्थापन
शारदा क्याम्पस त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिई वार्षिक बजेट सञ्चालक समितिबाट पास गरी खर्च गर्दै आएका छौँ ।
आ.व. २०७६÷०७७ को असार मसान्तसम्म शारदा क्याम्पसको कुल विनियोजित बजेटमध्ये चालु खर्च (तलब तथा भत्ता, कार्यालय सञ्चालन, शैक्षिक सामग्री, जेहेनदार विद्यार्थीहरूको छात्रवृतिसमेतको लागि) रु. १३ लाख ९९ हजार ५ सय ५३ रूपैयाँ छ भने आम्दानीतर्फ रु. ५ लाख २६ हजार ३ सय ७० रूपैयाँ रहेको छ । यो आम्दानी चालु खर्चभन्दा रु. ८ लाख ७३ हजार १ सय ८३ न्यून छ ।
यस आ.व. २०७७÷०७८ को लागि शारदा क्याम्पसको चालु खर्च (तलब तथा भत्ता, कार्यालय सञ्चालन, शैक्षिक सामग्री, जेहेनदार विद्यार्थीहरूको छात्रवृत्तिसमेतको लागि) रु. २७ लाख ७२ हजार र पुँजीगत खर्च (पुस्तक, फर्निचर, मेसिनरी सामान, प्रयोगशालासम्बन्धी सामानको लागि) रु. ६ लाखसमेत रु. ३३ लाख ७२ हजारको बजेट विनियोजन गरिएको छ । आम्दानीतर्फ रु. २१ लाख (धरौटीबाहेक) हुने अनुमान गरिएको छ । उल्लेखित बजेटअनुसार २०७७ पुस मसान्तसम्ममा रु. ५ लाख ८२ हजार २ सय ५५ रूपैयाँ खर्च भइसकेको छ । साथै आम्दानीतर्फ विद्यार्थीहरूबाट रु. १ लाख ३२ हजार २ सय ८० रूपैयाँ भएको छ ।
शारदा क्याम्पसबाट आ.व. २०७६÷०७७ मा शिक्षक तथा कर्मचारीहरूको पारिश्रमिकबाट सामाजिक सुरक्षा कर रु. ३ हजार ९ सय ९६, पारिश्रमिक आयकर रु. ७९ हजार ७२ रूपैयाँ र विभिन्न बिक्रेताहरूलाई भुक्तानी गर्दा कट्टी गरेको अग्रीम आयकर रु. ९ सय ६७ समेत जम्मा रु. ८४ हजार ३५ आन्तरिक राजश्व कार्यालय भक्तपुरमा राजस्व दाखिला भएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।
हामी सधैँ मितव्ययी र अनुत्पादकशील शीषर्कमा खर्च नगर्नेतर्फ सजग छौंँ । कलेजको आम्दानी भनेको अभिभावकले आफ्ना छोराछोरीहरूको भविष्यको निम्ति गरेको लगानी हो । हाम्रो आर्थिक स्रोत नगरवासीहरूले तिरेको कर नगरपालिकामार्फत प्राप्त हुने हो । यो यथार्थप्रति हामी सदा इमानदार छौँ ।रूपक जोशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *