भर्खरै :

आन्तरिक मामिलामा विदेशी हस्तक्षेप अस्वीकार्य

  • फाल्गुन १९, २०७७
  • गौरव प्रधान
  • विचार

नेपालको आन्तरिक मामिलामा कुनै पनि विदेशी शक्तिको हस्तक्षेप स्वीकार्य छैन । विदेशी दबाब र प्रभावमा हुने कुनै कार्यक्रम या निर्णय नेपाल र नेपाली जनताको हितमा हुनेछैन । विदेशी शक्ति राष्ट्रले सर्त राखेर आर्थिक सहयोग दिने काम पनि एक प्रकारको हस्तक्षेप नै हो । यस अर्थमा एमसीसी सम्झौता सरकारले कुनै हालतमा गर्नु ठीक होइन । प्रम केपी ओली आफै देशी–विदेशी तत्व लागेर देश ध्वस्त बनाउन लागेको बताउँछन्, सत्ता परिवर्तनको लागि देशी विदेशी शक्तिसँग नलाग्न खबरदारी गर्छन् । तर, व्यवहारमा उनी आफै विदेशी शक्ति राष्ट्रको सर्त पालना गर्दै आर्थिक सहयोग लिने पक्षमा छन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध नेता–कार्यकर्ता नेकपामा जति अरू दलमा छैनन् । कामको खोजीमा बर्सेनि लाखौँ युवा युवतीहरू विदेशिरहेका छन् । देशका नेपाली युवालाई विदेशमा पठाउने नेकाको बाटोमा नेकपा पनि लागेको छ । नेकपाको सरकार पनि भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको चङ्गुलमा फसेको छ । अमेरिकी सरकारको दबाबमा सरकारले प्रजग कोरियाका उद्योगीहरूको नेपालमा उद्योग खोल्न नदिने निर्णय ग¥यो । चीनविरुद्ध लक्षित भारत र अमेरिकी कार्य योजना लागू गर्न नेपाल अघि बढ्यो । भारतले नेपाली भूमिमा विनापरामर्श बाटो बनायो । भारतले नेपाली भूमिमा बाटो बनाए पनि नेपाल सरकार तमासे बन्यो । के यो विदेशी हस्तक्षेप होइन ? विदेशी अतिक्रमण होइन ?
नेपालमा विदेशी चलखेल पटक–पटक भइरहेको छ । नेपाली भूमिलाई उपयोग गरेर खेलको मैदान बनाउन विदेशी सेना भित्याउन बाटो खोल्ने प्रयास नेकपाको सरकारले गरिरहेको छ । नेपाली भूमिमा अमेरिकी सेना भित्याएर अमेरिकी सेनाको परेड खेल्ने ठाउँ बनाउने प्रयास वर्तमान सरकारले गरिरहेको छ । विदेशी सेना भित्याउने काम सार्वभौम देशको हितविपरीत छ । विदेशी शक्तिसँग नलाग्न आग्रह गर्ने प्रम ओली आफै विदेशी शक्ति राष्ट्रको पक्षमा लागिरहेका छन् ।
नेपाल विकास नहुनुको कारण पनि विदेशीको भरमा बस्नु नै हो । विदेशी शक्ति राष्ट्रले गरिरहेको सहयोगमा अडेकैले नेपाल विकासमा पछि परेको हो । आफ्नै देशको स्रोत र साधनको उपयोग गरी आत्मनिर्भर गर्नेतर्फ सरकारको ध्यान पुगेकै छैन । उद्योगधन्दा खोल्ने, अध्ययन अनुसन्धान गर्नेतर्फ सरकार लागेको देखिँदैन । सत्तासीन दल सत्तामुखी राजनीतिमा अल्झेर भागबन्डामा लागेकोले पनि देश विकासमा सरकारको ध्यान नपुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *