भर्खरै :

जनहितमा आधारित स्वास्थ्य बीमा कार्यक्रम !

– कृतिका
स्वास्थ्य बीमा कार्यक्रमबारे समाचार तथा प्रचारहरु पत्रपत्रिका, रेडियो, टेलिभिजनलगायतका प्रचारमाध्ययमहरुले गर्दै आएको छ । हामीले अहिलेसम्म जीवन बीमा, सम्पत्ति वीमा, यातायात वीमा, कम्पनी वीमा आदिबारे मात्र सुनेका छौं । हालै नेपाल सरकारले स्वास्थ्य वीमाको अवधारणा जनताको घर–दैलोमा ल्याएको छ । के हो त स्वास्थ्य वीमा ? यसबारे छोटो जानकारी यहाँ प्रस्तुत गरिएको छ ः–
स्वास्थ्य बीमा कार्यक्रम दर्ताका लागि स्वास्थ्य संस्थाहरुले सिफारिस गरिएका दर्ता सहयोगीहरु (स्वयम्सेवकहरु) जनताको घरदैलोमा गई प्रत्येक परिवारका सदस्यलाई छुट्टा छुट्टै फर्म भर्न लगाउँछन् । यसमा परिवारका सबै व्यक्ति अनिवार्य सदस्य बन्नुपर्ने हुन्छ । आफ्नो र परिवारको नाम, जन्म मिति, ठेगाना, नागरिकता नम्बर, हस्ताक्षर आदिको यथार्थ जानकारी दर्ता सहयोगीलाई दिनुपर्छ । दर्ता सहयोगीहरु स्वयम्ले त्यो फाराम भर्ने हुँदा जनतालाई सजिलो बनाएको छ । नाबालिगको हकमा निजको जन्म प्रमाणपत्र वा जन्म दर्ताको प्रमाणपत्र वा अभिभावक वा संरक्षकको परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ । दर्ता फारम भर्ने बेलामा सेवा लिने पहिलो स्वास्थ्य संस्था सेवा (भक्तपुरको सन्दर्भमा भक्तपुर जनस्वास्थ्य कार्यालय, भक्तपुर अस्पताल, कोरिया–मैत्री अस्पताल, दधिकोट र चाँगुनारायण नपाको स्वास्थ्य केन्द्र) रोज्नुपर्ने हुन्छ । त्यसपछि प्रत्येक पाँच जनासम्मको परिवारले वार्षिक रुपमा प्रतिपरिवार रु. २५०० तिनुपर्छ भने ५ जनाभन्दा बढी सदस्य भए प्रति सदस्य रु. ४२५।– का दरले थप रकम तिर्नुपर्ने हुन्छ । दर्ता सहयोगीहरुले फाराम भर्ने समयमै प्रत्येकको फोटो पनि खिचेको हुन्छ । त्यसबापत् बीमा गरिएका परिवारका सबै सदस्यलाई छुट्टाछुट्टै परिचयपत्र दिइन्छ । यो सेवा एक वर्षको लागि मात्र कायम गरिएको हुन्छ । प्रत्येक वर्ष पुनः नवीकरण गर्नुपर्ने यस संस्थाको नियम हो ।
आफूसँग वीमा गरेको त्यस परिचयपत्रको सहयोगले यदि परिवारका कुनै सदस्य बिरामी पर्दा बहिरङ्ग, अन्तरङ्ग, आकस्मिक कक्षबाट प्रदान गरिने सेवाहरुमा वार्षिक रु. ५० हजारसम्मको स्वास्थ्य सेवा उपभोग गर्न सक्नेछन् । पाँच जनाभन्दा बढी सदस्य भएका प्रति सदस्य थप रु. १० हजारको सुविधा थपिनेछ,यसको अधिकत्तम सिमा रु. १ लाखसम्म हुनेछ । एउटा महत्वपूर्ण कुरा के हो भने नेपाल सरकारबाट निःशुल्क उपलब्ध गराइएका सम्पूर्ण स्वास्थ्य सुविधा र औषधिहरु भने यथावत रहनेछन् अथवा यो वीमाबाट प्रभावित हुनेछैन ।
गरिबीको हकमा, यदि नेपाल सरकारले उपलब्ध गराएको गरिबीको परिचयपत्र छ भने पनि दर्ता सहयोगीलाई देखाएर त्यसबापत अति गरिबलाई १०० प्रतिशत, गरिबलाई ७५ प्रतिशत र सीमान्तकृत गरिबलाई ५० प्रतिशत योगदान रकममा छुट पाइने बन्दोबस्त मिलाइएको छ ।
साथै कस्मेटिक सर्जरी (सुन्दर बनाउने) सहायक यन्त्रहरुजस्तै कृत्रिम अङ्गको सर्जरी, दाँत निकाल्ने वा फुकाल्ने सेवाहरु, कृत्रिम गर्भँधानका सेवाहरु, लिङ्ग परिवर्तन, व्यक्तिगत झैझगडाका कारण लागेका चोटपटक लागि उपचार सेवा, मादक वा लागूपदार्थ सेवनका कारणबाट भएका दुर्घटनासम्बन्धी उपचार, गर्भपतन आदिका उपचारहरुलाई यस सेवाअन्तर्गत उपलब्ध गराइएको छैन ।
भविष्यमा स्वास्थ्यसम्बन्धी हुने जोखिम न्युनीकरणको लागि नेपाल सरकारले ल्याएको यो बीमा सुविधा स्वागतयोग्य नै मान्नुपर्छ । जनताको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न आम नागरिकलाई बिरामी पर्दा आर्थिक सुरक्षा प्रदान गर्ने हेतुले यो कार्यक्रम अगाडि सारेको देखिन्छ । विशेषतः यस कार्यक्रमले गरिब तथा आर्थिक रुपले विपन्नलाई सहयोग पुग्ने देखिन्छ । यसबारे जनतालाई राम्ररी सचेत गरेर अगाडि बढ्न सके कार्यक्रमले सफलता पाउन सक्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *