भर्खरै :

सांस्कृतिक महत्वको बोडेको ऐतिहासिक बिस्का जात्रा

नेपालको आदिवासी जनजातिहरूमध्ये नेवार जाति पनि एक हो । सांस्कृतिक विविधताको देश भनेर कहलाउनमा नेवार जातिको आफ्नै संस्कार, संस्कृति र विशेषताका कारण पनि एक हो भन्नुमा अत्युिक्त नहोला । पौराणिक कालदेखि नेवार जाति संस्कार र संस्कृतिमा धनी रहेको उनीहरूले मनाउँदै आएको ऐतिहासिक जात्रा पर्व, सांस्कृतिक नाचगान, टोल–टोलमा बनाइएका मठ मन्दिर र सम्पदाहरूबाट बुझ्न सकिन्छ ।
जहाँ नेवार समुदाय छन्, त्यहाँ उनीहरूले आफ्नै किसिमले जात्रा पर्व, संस्कार संस्कृति र रीतिरिवाज मनाइरहेका हुन्छन् । यस्तै नेवारहरूको बाहुल्यता भएको एउटा ऐतिहासिक सहर हो, बोडे । ऐतिहासिक कालदेखि मनाउँदै आएको जात्रा पर्व र सांस्कृतिक नाचगानका साथै ऐतिहासिक मठमन्दिरका कारण बोडेको सांस्कृतिक महत्व आफ्नै ठाउँमा छ । यहाँ हरेक ऋतुअनुसारको चाडबाड, जात्रापर्व तथा सांस्कृतिक नाचगानका साथै जिब्रो छेड्ने जात्राको रूपमा विश्व प्रसिद्ध ऐतिहासिक बिस्केट जात्रा पनि बोडेकोे एक सांस्कृतिक महत्वको जात्रा हो भनेर बुझ्न सकिन्छ ।
ऐतिहासिक कालदेखि मनाउँदै आइरहेको कुनै पनि संस्कार, संस्कृति तथा जात्रा चाडपर्वहरू कुनै रमाइलो गर्नको लागि त कुनै आत्मा शुद्धता र स्वस्थताको हिसाबले हुने गरेका छन् भने कुनै दैवी देवताको शक्तिको आधारमा मानिरहेको पाउँछौँ । बोडेको बिस्केट जात्रा देवी देवताको खट बोकेर रमाइलो गर्न मनाइरहेको मात्र देखिँदैन । यस जात्राले सामाजिक उत्तरदायित्वलाई पनि ध्यान दिएको पाउँछौँ । कारण जात्राकै सिलसिलामा गर्ने नीलबाराही गणको बिशेपा बाजा बजाई गर्ने क्षमापूजा त्यसैको एक उदाहरण हो । अर्को नीलबाराहीको सङ्गिनीलाई जिब्रो छेडेर सजाय दिएकोले नीलबाराही रिसाएको कारण क्षमापूजा गरेको साथै जिब्रो छेड्दा जात्रामा बोक्ने चिरागको महादीपले देशमा भूत प्रेत भाग्ने र अनिकाल, महामारी, अतिवृष्टि नहुने, प्राकतिक विपत्ति नआउने र बोडेका जनताले एकछाक खानाको समस्या नपर्ने भनी देशवासीको लागि सर्मपणस्वरूप जिब्रो छेड्ने कार्य गरिरहेको भनाइ छ । लाछी टोलस्थित कालिका माईको अगाडि र महालक्ष्मी मन्दिरभित्रको खाल्डोमा जल भर्ने कार्य जसलाई ‘गलु थनेगु’, भन्ने गरिन्छ, त्यस विधिले रोपाइँ चाँडो हुने नहुने अनुमान गर्ने कार्य हो भन्ने गरेको पाइन्छ ।
बोडेको बिस्केट जात्रा अरू ठाउँको जात्राभन्दा भिन्न विशेषताको देख्न सकिन्छ । जात्रा पूर्व अथवा तीनदिन अगाडि जात्रा गर्ने देवी देवताहरूको ‘नीतंः वनेगु’ भनेर निम्तो दिन जाने चलन छ । तान्त्रिक विधिबाट गर्ने यो विशेष किसिमको पूजा विधि हो । निम्तो दिएर आइसकेपछि जात्राको लागि आवश्यक गरगहना र अन्य सामानहरूको व्यवस्था गर्नतर्फ लाग्ने गर्छ । त्यस ‘नितं वनेगु’ कार्य भइसकेपछि चेलीबेटीहरू र लोग्नेमान्छे कोही अर्काको घरमा र देशबाहिर बस्न नहुने मान्यता छ ।
बिस्केट जात्रामा लिङ्गो उठाउने चलन छ । लिङ्गो उठाउने काम भक्तपुर, बोडे र टोखामा मात्र छ । थिमिमा छैन । यस विषयमा ठाउँअनुसार विभिन्न किंवदन्ति रहेको पाइन्छ । तर, पनि लिङ्गो इन्द्रदेवको प्रतीक मानेर उठाउने गरेको भनाइ छ । इन्द्रदेव पानी र वर्षाको देवताको रूपमा लिने गरिन्छ । वसन्त ऋतु सुरु भइसकेको छ । इन्द्रदेवलाई मानेको खण्डमा चाँडै रोपाइँ हुन्छ भन्ने मान्यताको आधारमा इन्द्रदेवलाई मानेको भनाइ छ ।
लिङ्गो नउठाए सम्म जात्रासम्बन्धी कुनै पनि काम हुँदैन । होलीको सुरुआत लामो चिर उठाएर गरिन्छ भने बिस्केट जात्राको सुरुआत पनि लिङ्गो उठाएर गर्ने गरिन्छ । लिङ्गोे उठाइसकेपछि मात्र जात्राको लागि देविदेवताको मूर्ति मन्दिर मन्दिरमा लगी पदस्थापन गर्ने र बोडेकै विश्व बिख्यात जिब्रो छेडने जात्रा गर्नुपूर्व र गरेपछि पश्चातापको पूजा अर्थात् क्षमा पूजा गरिन्छ  ।
बोडेको बिस्केट जात्राको मुख्य दिनमा सातवटा देविदेवताको खट बोकेर जात्रा गर्ने गरिन्छ । ती देवीदेवताको खट बोकी जात्रा गर्नुपूर्व जिब्रो छेड्ने काम हुन्छ । जिब्रो छेड्ने काम भएपछि सांस्कृतिक नाइकेले खटमा राखेको देवीदेवताको मूर्तिमा सिन्दुर चढाएपश्चात् जात्रा सुरु हुन्छ ।
बोडेको बिस्केट जात्राको अर्को आकर्षण भनेको जिब्रो छेड्ने मानिसबाट सुइरो झिक्ने काम हो । जिब्रो छेड्ने व्यक्ति चिरागको महादीप बोकी बोडेको गल्ली गल्लीमा घुम्छ । त्यहाँबाट घुमेर महालक्ष्मी मन्दिर अगाडि पुग्छ । त्यति नै बेला बोडेको गल्ली गल्लीमा जात्रा गर्दै आएको विभिन्न देवीदेवताको खट पनि महालक्ष्मी मन्दिर अगाडि आइपुग्छ । त्यति बेला त्यहाँं उपस्थित सयौँ मानिसको उत्सकता तीव्र हुन्छ । सांस्कृतिक नाइके र सांस्कृतिक प्राविधिक नाइके महालक्ष्मी मन्दिरको अगाडि आइपुगेपछि गणेशको खट पनि महालक्ष्मी मन्दिरको ढोका अगाडि नै पुग्छ । त्यसपछि सांस्कृतिक प्राविधिक नाइकेले जिब्रो छेड्ने व्यक्तिबाट जिब्रोमा छेडेको सुइरो निकालिन्छ र महालक्ष्मी र गणेशको जय जयकार गर्दछ । यसरी बोडेको जिब्रो छेड्ने जात्रा सकिन्छ तर देवीदेवताको खट जात्रा भने सकेको हुँदैन । बोडेको गल्लीगल्ली घुमाउनतर्फ लगिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *