भर्खरै :

साँखुको बिस्का जात्रा

प्रत्येक वर्ष मेष सङ्क्रान्तिलाई स्वागत गर्न साँखुको चलामखु टोलको महालक्ष्मी अष्टमातृका पीठको सामुन्ने लिङ्गो ठड्याई भव्यताका साथ बिस्केट जात्रा मनाउने गरिन्छ । कालान्तरमा गुठी जग्गाको आयस्रोत नपुग्ने कारण विगत ३०÷४० वर्षदेखि औपचारिकतामात्र पूरा गर्ने गरी साँखुमा लिङ्गो ठड्याई बिस्केट जात्रा मनाइँदै आएको छ । उक्त लिङ्गो चैत ३० गते ठड्याएर वैशाख २ गते ढालिन्छ । लिङ्गो ठड्याउने कार्य सबै ठाउँमा चैत ३० गते भए पनि लिङ्गो ढाल्ने कार्य वैशाख १, वैशाख २ गते र कहीँ त वैशाख ३ गते लिङ्गो ढाल्ने गरिन्छ ।
मल्लकालदेखि नै अस्तित्वमा रहेको साँखुको बिस्केट जात्राको लिङ्गो करिब ३२ हातको रहेको छ । हलिंपताको दुबै पातामा अष्टमातृका देवीहरूको रङ्गीन चित्र र चन्द्र सूर्य चिह्नहरू धातुका पाताबाट बनाई सुवर्णलेपन गरिएका छन् । हलिंपतामा दुईवटा पुच्छरजस्तै बनाइएका छन् । जुन नागका पुच्छर हुन् भने विश्वास गरिन्छ । लिङ्गोलाई भैरवको प्रतीक मानिन्छ । जुन सल्लाको रुख बज्रयोगिनी क्षेत्रको बनबाट छानेर गुठियार अथवा टोलको सबैभन्दा जेठो व्यक्ति वा उक्त व्यक्ति वनसम्म जान नसकेको खण्डमा सबैभन्दा कान्छो व्यक्ति (जुन व्यक्तिको व्रतबन्ध गरिसकेको हुनुपर्दछ) ले छान्ने गरिन्छ । त्यसपछि अन्य टोलवासीहरूले रुख काटी हाँगा र बोक्रा काटकुट र ताछतुछ पारिन्छ । सुरुमा काट्न छानेको रुखलाई गुठियारहरूले विधिपूर्वक पूजा र भाले अथवा बोका बलि दिनुपर्दछ । लिङ्गोलाई आकाश भैरवको प्रतीक मानिन्छ ।
साँखुमा मनाइने बिस्केट जात्राको परम्परा चैत ३०, वैशाख १ र वैशाख २ गते गरी दुई दिन दुई रातको हिसाब गरी चार दिनको गणना गरी दुई दिनमै लिङ्गो ढालिन्छ र बिस्केट जात्रा सम्पन्न गरिन्छ । गुठियारहरूले लिङ्गो ठड्याइसकेपछि गुठीको भोज खानेबेलामा उक्त लिङ्गोको हलिपता झिकेर पूजा गरी भोजभाग राखेरमात्र भोजन गर्ने चलन रहेको उक्त गठीका गुठियार श्रीकृष्ण श्रेष्ठ खानीवा बताउनुहुन्छ । यसै प्रसङ्गमा २०६७ वैशाख १ गते र २ गते दुई दिनको बिस्केट जात्रा कार्यक्रम सुरु र अन्त्यमा साँखुका संस्कृतिप्रेमी जीवन श्रेष्ठ, अनुप श्रेष्ठ र प्रकाशमान श्रेष्ठसमेतले उक्त लिङ्गो ठड्याउने कार्यक्रमको रेकर्ड गर्नुका साथै पुरानो र नयाँ हलिंपतामा लेखिएको लेखोट पढेका थिए । उक्त लिङ्गो ठड्याउने जात्रामा चलाखुटोलका युवाहरूले मात्र लिङ्गो ठड्याउने र ढाल्ने कार्यमा सहभागिता जनाएको देखिएको छ । त्यसबेला जानकारी लिँदा, उक्त गुठीमा किसी, मल्ता र खानिवाः (जसलाई नेवारीमा बेनाँ भनिन्छ) थरका मात्र गुठियार भई पालैपालो बिस्केट जात्रा, लिङ्गो ठड्याउने र गुठी भोज खाने प्रचलन रहेको पाइयो । पछि किसी र मल्ता थरका गुठियारहरूले पनि गुठी छोडेर गएपछि जात्रा कार्यक्रम सञ्चालन गर्न नआएकाले खानिवा परिवार एक्लैले औपचारिकरूपमा गुठी एवं जात्रा चलाउने कार्य धानेको देखिन्छ । पछि पुनः सबै गुठियार मिलेर गुठी चलाउन थालियो ।
उक्त जात्रामा गरिने परम्परागत कार्यक्रमहरू यसप्रकार छन् –
१) लिङ्गो ठड्याउनु अगाडि अष्टमातृका पूजा गर्नुपर्ने कार्यक्रमअन्तर्गत साँखुको स्मशानको रुद्रायणी देवीलाई एक वटा भालेको बलि दिई पूजा अर्चना गर्ने चलन छ ।
२) लिङ्गो ठड्याउने स्थानको अष्टमातृका पीठ महालक्ष्मीको विधिपूर्वक पूजा अर्चनासहित लिङ्गो ठड्याइसकेको लिङ्गोलाई बोका बलि चढाइ पूजा अर्चना गरी बाजागाजासहित बिस्केट जात्रामा सहभागी सबैलाई प्रसाद बाँड्ने चलन छ ।
३) मल्लकालमा लिङ्गो ठड्याउने र ढाल्ने समयमा राजा सवारी हुन्थ्यो । प्रताप मल्ल सवारी भएको अभिलेख बज्रयोगिनी शान्ति स्वस्ति घटनावलीमा लेखिएको पाइन्छ ।
४) पुरानो हलिंपता जीर्ण भएकोले ने.सं. १००३ सालमा निर्माण गरिएको अभिलेख छ भने उक्त हलिंपतामा प्रताप मल्लले ने.सं.७८८ सालमा जीर्णाेद्धार गरिएको भनी लेखिएको पाइएको छ ।
५) प्रताप मल्लकालीन जीर्ण हलिंपताको बारेमा गुठियार श्रीकृष्ण श्रेष्ठले हामीलाई गुठीकै दिन उक्त हलिपता हेर्ने अवसर दिएका थिए । उक्त हलिंपता नाग (सर्प) को छालाबाट बनाइएको जस्तो देखिन्छ । त्योभन्दा अगाडिको हलिंपताबारे कुनै जानकारी पाउन सकिएन ।
६) लिङ्गो जीर्ण वा टुक्रा भएमा नयाँ लिङ्गोको लागि परम्पराअनुसार वनमा गई नयाँ ल्याइन्छ ।
७) हलिंपताको अभिलेखअनुसार नन्दलाल माझी, भाजुवीर प्याथ, श्री नारां खानिवा र पुनाँ किसी चार जना गुठीयार रहेको देखिन्छ । मल्ताः थरको गुठियार त्यसबेला थिएन ।
अभिलेखको पूर्ण विवरण यसप्रकार छः
“स्वस्ति श्री र कविन्द्र जयप्रताप मल्ल राजाया पारतसं ७८८ जीर्ण उद्धार थुगु हलिंपताः जीर्ण जुया अरे स्वस्ति श्री ३ पिथीवीर विक्रम महाराजा थाकुल विजय राज्य शङ्खरापुरया न्हापायागु हलिंपताः जीर्ण जुयाओः रेपा दय्काः नन्दलाल माजिः भाजुवीर व्याथः, श्रीनारां खानिओ, पुनांकिसी नेओः न्हको नमः नारायणाय १००३ मिति माघ सुदि १५ जोग ३… जीर्णद्धार शुभम् ।”
लिङ्गो झुन्ड्याइने हलिंपतामा एउटा घण्टी रहेको छ । हलिंपता राख्न र झिक्न मिल्ने गरी डोरी र अङ्कुस मिलाएर राखिएको छ भने हलिंपताको दुबै पातामा चन्द्र र सूर्य एकएक वटा गणेश र भैरवका चित्रहरू, अष्टमातृका देवी र उनीहरूका वाहानहरूको चित्र छ । साँखुको बिस्केट जात्राको लिङ्गो ढाल्ने समयमा तत्कालीन राजा साँखु सवारी हुनुपर्ने प्रमाणस्वरुप शान्ति स्वस्ति घटनावली हस्तलिखित यसप्रकार भाषानुवाद गरिएको छ । “संवत् ७९४ चैत शुक्ल द्वितीया आदित्यबार यो दिन मेष सङ्क्रान्तिको साँखुको बिस्केट जात्रामा श्री श्री प्रताप मल्ल राजा स्वस्थका कारण सवारी हुन नसकी छोरा राजकुमारहरू तीन जना पठाई दिए । साँखुको बिस्केट जात्राको बेलामा लिङ्गो ठड्याउँदा अकस्मात् तीन टुक्रा भई भाँचियो । सालमी एकजना किचियो, धन्न बाँच्यो, मरेको रहेनछ ।”
हलिंपताको भाग पाता १ मा चन्द्रमा धातुबाट बनाइएको–१, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, कुमारी, बाराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मी छन् । हलिंपताको भाग पाता २ मा सूर्य, भैरव, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, कुमारी, बाराही, इन्द्रायणी, चामुण्डा र महालक्ष्मी छन् ।
साँखुको बिस्केट जात्रा परम्परालाई बचाइराख्न शङ्खरापुर नगरपालिका र सम्बन्धित वडा कार्यालयबाट आवश्यक खर्च रकम छुट्याउनु पर्दछ । साँखुको बिस्केट जात्रा परम्परा समिति गठन गरी चलाखुटोलको सत्तलमा कार्यक्रम सञ्चालन गरी गुठियारलाई नाइके पुजारी बनाई भव्यताका साथ जात्रा परम्परा चलाउनुपर्ने आवश्यकता भइसकेको छ ।
स्रोत ः मणिचूडदेखि रत्नचूडसम्म
प्रकाशमान श्रेष्ठ÷प्रेमप्रसाद काफ्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *