भर्खरै :

सक्वको म राजदास – ७९/ सोभियत सङ्घपछि रुसी जनताको बेहाल

  • चैत्र २८, २०७७
  • ई. राजदास श्रेष्ठ
  • साहित्य

संशोधनवादी नव–उदारवादी सोभियत नेता गोर्वाचोभको नीति र दुस्साहसले विश्वमा एक सर्वशक्तिमान भई उदाइरहेको सोभियत समाजवादी राष्ट्रको निदान हुनु अन्तर्राष्ट्रिय दुर्घटना हो । हजारौँ वर्षदेखि उत्पीडित शोषित रुसी जनताको उद्धार गर्न जन्मिएको सोभियत समाजवादी व्यवस्था ७० वर्षको उमेरमा ढल्नु धेरै दुःखदायी छ । यो रुसी जनताको मात्र होइन विश्वका करोडौँ–करोड उपनिवेशवादबाट प्रताडीत श्रमजीवी जनताको लागि पनि ।
सन् १९१७ मा जारशाही रुसमा सम्पन्न भएको महान अक्टोबर क्रान्ति अन्धकारमय विश्वमा एक चम्किलो रातो सूर्यसरि उदाएको थियो र सदियौँदेखि दास जीवन बिताइरहेका रुसी किसान–मजदुरहरूको मुक्ति पाएका मात्र होइन तत्कालीन विश्वमा व्याप्त भइरहेको उपनिवेशवादको जन्जीरबाट पनि सयौँ मुलुकहरूलाई दासत्वबाट उन्मुक्ति हुने मार्ग निर्देश गरिदियो । शोषण र उत्पीडनका द्योतक पुँजीवादी, साम्राज्यवादी देशहरूका सामु कम्युनिस्ट सिद्धान्तमा आधारित थुप्रै राष्ट्रहरू खडा भए ।
सोभियत सङ्घको उदयपछि सोभियत जनताले एक यस्तो समाज बनाए, जहाँ एक मानिसले अर्को मानिसलाई कुनै प्रकारको शोषण गर्न पाउँदैन र कोही व्यक्ति आफ्नो बाहुबलमा बाहेक कसैको सहारामा बाँच्नु पर्दैन ।
कुनै सोभियत नागरिकलाई कुनै साहुमहाजनकहाँ अथवा कुनै कलकारखानामा काम खोज्न जानु पर्दैनथ्यो । सोभियत सङ्घमा कोही साहुमहाजन भन्ने नै हुँदैनथ्यो र कसैको कुनै निजी कलकारखाना या व्यापार व्यवसाय हुँदैनथ्यो । देशको सबै सम्पत्ति सबै सोभियत नागरिकको साझा सम्पत्ति हुन्थ्यो । राष्ट्रले सबै नागरिकलाई समान हकअधिकार दिएको थियो । आफ्नो इच्छाअनुसार पढ्न, लाउन, बस्न, खान र काम गर्न सबै नागरिक स्वतन्त्र थिए । विशाल त्यो सोभियत भूमिमा पढ्न र लेख्न जति पनि पाइन्थ्यो । सोभियत सङ्घ यति विशाल थियो कि हाम्रो विश्व मानचित्रलाई तीन भागमा विभाजन गरियो भने एकमात्र सोभियत सङ्घले ओगट्थ्यो । सोभियत सङ्घ आकार र क्षेत्रफलमा मात्र होइन प्राकृतिक स्रोत साधनमा पनि त्यतिकै धनी थियो । प्राकृतिक स्रोत साधनमा सोभियत सङ्घ सबैभन्दा धनी राष्ट्र थियो । पृथ्वीमा हुने कुनै पनि वस्तु त्यहाँ नहुने भन्ने थिएन । सोभियत सङ्घ वनजङ्गल, जलस्रोत र प्राकृतिक ग्यास तथा इन्धनले भरिपूर्ण थियो । विश्वमा एक सर्वशक्तिमान राष्ट्रको रूपमा उदाइरहेको थियो समाजवादी देश सोभियत सङ्घ ।
शिक्षामात्र होइन त्यहाँ स्वास्थ्य सेवा पनि सर्वव्यापी र निःशुल्क थियो । कुनै सोभियत नागरिक बिरामी पर्दा, अस्पतालमा भर्ना हुँदा र औषधिउपचार गर्दा कुनै पैसा खर्च गर्नु पर्दैनथ्यो । अस्पताल बसुञ्जेलसम्मको सबै सेवासुविधा उसले पाउँथ्यो ।
सन् १९६९ देखि १९७५ सम्म म स्वयम् सोभियत सङ्घमा उच्च शिक्षा अध्ययन गर्न बसेको थिएँ । पुगेको १ वर्षपछि १९७० मा आपेन्डिक्सको शल्यक्रिया गर्न म पढ्ने, बस्ने नजिकको एक अस्पतालमा भर्ना भएँ । ८–१० दिन म अस्पताल बसेँ र सफलतापूर्वक शल्यक्रिया गरेर फर्केँ । अस्पतालमा बस्दा, औषधिउपचार खानाबस्नको कुनै पैसा तिर्न परेको थिएन । न अस्पतालको शुल्क, न डाक्टरको शुल्क । बरु उल्टो म अस्पतालबाट फर्किँदा मैले पाउनुपर्ने छात्रवृत्तिअन्तर्गतको पूरापूर मासिक ९० रुबल बुझि लिएँ । त्यस्तै म ५–६ वर्ष त्यहाँ पढ्दै गर्दा सन् १९७१ मा मेरो सोभियत महिला भ्यालेन्टिनासँग विवाह भएको थियो । ५ वर्षको बसाइमा दुई छोराहरूको पनि त्यहीँ स्थानीय प्रसूति गृहमा जन्म भएको थियो । तर, यसरी पढ्दै गर्दा परिवार बनाउँदा पनि आफ्नो खल्तिबाट एक पैसा खर्च गर्नु परेको थिएन । आफ्ना दुई स–साना छोराहरूलाई स्थानीय किन्डरगार्टन पढाउन पनि निःशुल्क नै थियो ।
सायद आजको विश्वमा केही समाजवादी देशहरूबाहेक विरलै त्यस्ता देश होला जहाँ मानिसलाई काम गरेर पैसा कमाउँ भन्ने कुनै पिर–चिन्ता होस् । सोभियत समाजमा मानिसलाई पैसा कमाएर थुपार्नु पर्ने आवश्यकता नै थिएन ।
सबै सोभियत नागरिकले दक्षअनुसार काम पाएका हुन्थे भने कहीँकतै कसैले काम नगरी ठगी बसेको पाइएमा स्थानीय प्रहरीले समातेर जबरजस्ती काममा लगाउँथे । आफ्नो पढाइको सिलसिलामा एउटा फ्याक्ट्रीमा काम गरिरहँदा एक दर्जन जति जवान ठिटा–ठिटीहरू पुलिसको रोहवरमा उक्त छाला कारखानामा काम गराउन ल्याएका थिए ।
ती नव युवा–युवतीहरू जाँडरक्सी खाने, धूमपान गर्ने र अन्य दुव्र्यसनीमा लागेका थिए । यसरी समाजवादी व्यवस्थामा कम्युनिज्मको नियमअनुसार कसैले कसैलाई शोषण गर्न पाउँदैन र कसैले पनि काम नगरी खान पाउँदैन । समाजवादी देशमा सबै नागरिकले आफ्नो क्षमताअनुसार काम गर्न र आफ्नो आवश्यकताअनुसार राज्यबाट आफूले सुविधा पाउने गर्छ ।
समाजवादी देशमा एक साधारण इलेक्ट्रिक मजदुरले एक प्रोफेसर अथवा एक मेडिकल डाक्टरले भन्दा बढी तलब सुविधा पाउने गर्छ । किनभने, ती मजदुरले डाक्टर अथवा प्रोफेसरले भन्दा बढी शारीरिक काम गरेको हुन्छ भन्ने मान्यता राख्दछ । उसको शरीर धान्नलाई बढी खाद्यान्नको आवश्यकता हुन्छ भन्ने कुरालाई ध्यानमा राखिएको हुन्छ ।
त्यस्तै बढी प्रदूषण हुने कलकारखानामा काम गर्ने मजदुरहरूले अन्य सुविधायुक्त ठाउँमा काम गर्नेले भन्दा बढी तलब पाउँदछन् र छिटो पेन्सनमा जान्छन् । कुनै आर्थिक समस्या नभोगिकन आरामले जीवन यापन गर्छन् ।
सोभियत समाजमा निजी सम्पत्तिको खाँचो नपर्ने भएको कारण र शिक्षा स्वास्थ्य र आवास पनि निःशुल्क पाउने भएको हुँदा त्यो समाजमा आर्थिक भ्रष्टाचार गर्नुपर्ने कुनै आवश्यकता हुँदैन र मानिसको दिमाग र तनमन स्वच्छ भएको हुन्छ । यसकारणले गर्दा मानिसमा पढ्ने र लेख्ने बानी धेरै हुन्छ । धेरै साहित्यकार, लेखक, कविहरू पनि उब्जिएका हुन्छन् । संसारमा सबभन्दा बढी अध्ययन गर्ने र सन् १९७० को दशकमा सोभियत सङ्घमा साहित्य पढ्ने मानिसहरू सोभियत सङ्घमा हुन्छन् भन्ने भनाइ मलाई सही लाग्यो । मेट्रोको ठेलमठेलमा पनि मानिसहरू पत्रिका र पुस्तकहरू पढिरहेको देख्थेँ ।
सन् १९८६ मा सोभियत सङ्घमा मिखाएल गोर्वाचोभ आएदेखि सोभियत कम्युनिस्ट पार्टीद्वारा निर्धारित सिद्धान्त र नीतिमा परिवर्तन ल्याई उनीभन्दा पहिलेका नेता निकिता ख्रुश्चेभले स्तालिनको मृत्युपश्चात् अँगालेको ‘सह–अस्तित्व’को संशोधनवादी बाटो अपनाएर सोभियत सङ्घलाई विघटनतिर धकेल्दै लगे र सन् १९९१ मा आएर सोभियत सङ्घको अवसान गराए । गोर्वाचोभको ‘पेरेस्ट्रोइका’ र ‘ग्लास्नोस्ट’ को परिकल्पनाले सुरुमा सोभियत जनताले केही राम्रो कुराको आशा गरेका थिए । तर, अन्तमा सबै कुरा ध्वस्त बनाइदिए र सोभियत जनताको समाजवाद र साम्यवादको चाहना र परिकल्पनामा आगो लगाईदिए ।
सोभियत सङ्घको विघटनपछि सोभियत जनता अन्योलको भूमरीमा फसे । सोभियत नागरिकले पहिले कहिल्यै नसोचेको आर्थिक सङ्कट भोग्नुप¥यो । शान्ति सुरक्षामा पनि ठूलो समस्या आइप¥यो र सरकारले आफ्नो जनताको जिउज्यान र धनसम्पत्तिको कुनै सुरक्षा दिन सकेन । देश चुर्लुम्म डुब्यो माफियातन्त्रमा । सर्वसाधारण जनतालाई साधारण खान लाउन र जिउनकै समस्या थियो । रुसको पैसा रुबलको मुद्रास्फीतिले गर्दा पेन्सनमा बाँचिरहेका ज्येष्ठ नागरिकहरूलाई सबभन्दा ठूलो आर्थिक समस्या पर्न गयो ।
हामी पढ्न बस्दा सोभियत सङ्घमा सरकारी–दर–रेटमा डलरभन्दा रुबल बलियो थियो । तर, सोभियत सङ्घ विघटनपछि रुबलको भाउ धेरै गिर्न गयो । एक डलरको ६–७ हुँदै २५–३० रुबल पुग्यो । सन् २००० सम्म आइपुग्दा रुसी अर्थतन्त्रमा गिरावट आउनाले एक अमेरिकी डलरको ६०–६२ रुबल पुगेको छ ।
पहिले आफ्नो परिश्रममा आरामले बाँचिरहेका सोभियत नागरिकमाथि गोर्वाचोभको कुशासनले धेरै सङ्कट आइपुग्यो । सोभियत सङ्घ विघटन भएको ३० वर्ष बित्दा पनि रुसी अर्थतन्त्रमा स्थिरता आउन सकेको छैन र नयाँ पुँजीवादी व्यवस्थाले रुसी जनताबीच धनी र गरिबको ठूलो खाडल खडा हुन आइपुग्यो । आज रुसी महासङ्घमा धनी मानिसहरू पनि धेरै छन् र त्योभन्दा बढी आर्थिक समस्याले थिचिएका गरिब नागरिक धेरै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *