भारतको ‘राष्ट्रवादी वक्तव्यबाजी’ ले बङ्गलादेशको जल सुरक्षामाथि खतरा निम्त्याउँदै छ !
- जेष्ठ २३, २०८३
बेलायत साम्राज्यवाद तथा उपनिवेशवादको क्षेत्रमा मात्रै होइन स्वतन्त्र प्रजातन्त्र, संसदीय व्यवस्था आदिको विकास गर्नमा पनि चर्चित भएको तथ्य त्यहाँको इतिहासले बताइरहेको हामी पाउँछौँ । त्यसै सन्दर्भमा अति नै महत्वको ऐतिहासिक विषय म्याग्नाकार्टा पनि एक हो ।
एङ्ग्लो–सेक्सनकाल (ई.सं ४१०–१०६६) का अन्तिम राजा हेरल्डलाई सन् १०६६ मा विलियम प्रथमको नेतृत्वमा जर्मनहरूले पराजित गरेपछि बेलायतमा जर्मन वंशको शासन स्थापित भयो । त्यस वंशको पहिलो राजा विलियम प्रथम भए । उनी योग्य र बुद्धिमान थिए । अङ्ग्रेजहरूको रीतिरिवाजमा कुनै क्रान्तिकारी परिवर्तन नगरी उनले आफ्नो राज्य व्यवस्थालाई मजबुत पार्ने प्रयत्न गरे । आफूलाई साथ दिने र सँगै आएका जर्मनहरू जो कुनै सामन्त र कुनै वीर योद्धाहरू थिए, उनीहरूलाई सन्तुष्ट र बलियो तुल्याई आफू पनि मजबुत स्थितिमा पुग्न आफूले हराएका राजा हेरल्डलाई सहयोग गरेका अङ्ग्रेज सामन्त सरदारहरूबाट उनीहरूको जागिर छिनेर ती जर्मनहरूलाई वितरण गरे । विलियम प्रथमले ती जर्मन योद्धा वीर तथा सामन्तहरूबाट आफूलाई आवश्यक परेको बेला सैनिक सहयोग लिने वाचा पनि गराए । बेलायतमा यसरी सामन्ती प्रथाको स्थापना भयो । ती सामन्तहरूलाई ब्यारोनहरू (Barons) भनिन्थ्यो ।
राजालाई सहयोग र सल्लाह दिने उद्देश्यले राजाद्वारा मनोनीत हुने गरी ब्यारोन र पादरीहरूको एक महान् परिषद् (Magnum Councillium) को पनि व्यवस्था गरियो । यस महान् परिषद्ले दिएको सल्लाहलाई कर लगाउने मामिलामा बाहेक अन्य मामिलामा राजाले स्वीकार्नुपर्ने बाध्यता थिएन । राजाका नजिकका केही ब्यारोन र स्थाइ उच्च अधिकारीहरूको एउटा अर्को सानो परिषद्को पनि व्यवस्था भयो । यसरी ब्यारोनहरू र राजतन्त्र (निरङ्कुश) एक अर्काको सहयोगीको रूपमा विकसित हुँदै गए ।
विलियम प्रथमको मृत्यु ई.सं. १०८७ मा भयो । उनीपछि विलियम द्वितीय, हेनरी प्रथम, स्टिफेन राजा भए । स्टिफेनको (ई.सं. ११३५–११५४) राज्यकालमा यिनकै कमजोरीले गर्दा ब्यारोनहरूको शक्ति र प्रभाव बेलायतमा निकै बढ्यो । तर, उनी पछिका राजा हेनरी द्वितीयले आफ्नो शासनकाल (ई.सं. ११५४–११८९) मा शासन व्यवस्था न्याय तथा धार्मिक क्षेत्रहरूमा सुधारहरू गरी तत्कालीन ब्यारोनहरूको किल्ला शक्ति तथा प्रभावमाथि प्रहार गरी उनीहरूलाई शक्तिहीन पार्ने प्रयत्न गरेर आफू शक्तिशाली राजाको रूपमा स्थापित भए । हेनरी द्वितीयपछि रिचार्ड र उनीपछि उनका भाइ जोन बेलायतका राजा भए । राजा जोनको शासनकाल ई.सं. ११९९ देखि १२१६ सम्म रह्यो ।
राजा जोनलाई आफ्नो पिता हेनरीप्रति श्रद्धा थिएन न त आफ्ना गार्ड रिचर्डलाई माया नै गर्थे । राज्यका वास्तविक अधिकारी उनका भतिजा आर्थर थिए । तर, आर्थर नाबालिग भएकोले राजा हुने मौका जोनले पाए । फ्रान्ससितको युद्धको समयमा सन् १२०६ मा भतिजा आर्थरको हत्या गराई सत्ता लिप्साको घृणित उदाहरणसमेत राजा जोनले दिए । यिनी स्वार्थी, झगडालु, प्रपञ्ची एवम्् असती थिए । त्यसैले गर्दा यिनको शासनकालमा पोप, फ्रान्स र बेलायतका पादरी तथा ब्यारोनहरूसित यिनको युद्ध भयो । त्यही युद्धकै परिवेशमा म्याग्नाकार्टाका निर्माणसम्बन्धी रेखाहरू कोरिन पुगे ।
पोपसितको युद्ध (ई.सं. १२०५–१२१३)
सन् १२०५ मा क्यान्टरबरीका आर्कविशप मरेकोले सो पदमा चर्चका अधिकारीहरूले र राजा जोनले दुई भिन्नभिन्नै व्यक्तिलाई नियुक्त गरी पोपको स्वीकृतिको लािग पठाउँदा पोपले ती दुवैलाई अस्वीकृत गरी अर्कै तेस्रो व्यक्ति स्टिफन लैंगटन नामक अङ्ग्रेजलाई उक्त आर्कविशप पदमा बहाल गराए । यही काण्डले गर्दा पोप र राजा जोनबीच द्वन्द्व चल्यो । एकले अर्काको अधिकार क्षेत्रमाथि प्रहार गरे । फलस्वरूप स्टिफन लैंगटनलाई बेलायत पस्न दिइएन, उनी समर्थक पादरीहरूलाई जोनले बेलायतबाटै निष्काशित गरे । पोपले पनि राजा जोन र बेलायतलाई नै धर्मबाट बहिष्कृत गरे । चर्चहरू बन्द भए । पादरीहरूमाथि दमनको लागि जोनको निरङ्कुश राजतन्त्रात्मक शक्ति क्रियाशील भए । यस्तो स्थिति सन् १२१३ सम्म रह्यो । सन् १२१३ मा पोपले जोनसित युद्ध गर्न फ्रान्सका राजालाई आदेश दिए । यसले गर्दा राजा जोनले ब्यारोनहरूको सहयताको अपेक्षा राखे तर ब्यारोनहरूले राजालाई सहयोग नगर्ने निर्णय गरिसकेकाले आफूले फ्रेन्च सेनासित युद्ध गर्न नसकिने भएकोले पोपका सम्पूर्ण सर्तहरूलाई स्वीकारी युद्धबाट जोगिए । फलस्वरूप बेलायतका राजा जोन अब पोपको मातहतको एक जागीरदारको रूपमा रहे । स्टिफन लैंगटनलाई आर्कविशपको स्वीकार्नु प¥यो । साथै पोपलाई वार्षिक १००० मार्क करसमेत तिर्नुपर्ने भयो । यस घटनाले गर्दा बेलायतका पादरीहरूको समर्थन राजा जोनप्रति रहेन भने सर्वसाधारण जनता बेलायतको राष्ट्रिय सम्मान राजा जोनले पोपको अगाडि सुम्पेको ठानी उनीदेखि असन्तुष्ट भए ।
फ्रान्ससितको युद्ध (सन् १२००–१२०६)
फ्रान्सको लगभग आधाजति भू–भाग बेलायतका जर्मन राजाहरू र जर्मन ब्यारोनहरूको अधीनमा थियो । फ्रान्सका राजा अगस्टस फिलिपको शासनकालमा फ्रेन्चहरूमा राष्ट्रिय भावना केही रूपमा जागृत हुँदै थियो । यिनको समकालीन बेलायतका राजा जोन थिए । फ्रान्सका राजा अगस्टस फिलिप फ्रान्सबाट बेलायतका राजा र जर्मन ब्यारोनहरूको अधिकार समाप्त पार्न चाहन्थे । यसको लागि कुनै तत्कालीन धारणाको प्रतिक्षामा उनी थिए । त्यही बेला सन् १२०० तिर राजा फिलिपले राजा जोनको विरुद्ध बेलायतको गद्दीका वास्तविक उत्तराधिकारी आर्थर हुनुपर्ने र जोनकी पत्नी ईसाबेला (जसको एक फ्रेन्च सामन्तसित विवाह हुनेवाला थियो । बीचैबाट राजा जोनले विवाह गरे) सम्बन्धी विवाद खडा गरे । राजा जोनमाथि तत्कालीन सामन्ती प्रथाअन्तर्गतका नियमहरू तोडेको आरोप लगाउँदै उसलाई पेरिसमा उपस्थित हुन आउने आदेश राजा फिलिपले जारी गरे । तर, बेलायतका राजा जोन पेरिस गएनन् । त्यही आधारमा राजा फिलिपले राजा जोन र जर्मन ब्यारोनहरूको फ्रेन्च भूभागमाथि रहेको स्वामित्व समाप्त पारे । यसले गर्दा बेलायत र फ्रान्सका राजाहरूको सेनाबीच नर्मण्डी भन्ने ठाउँमा युद्ध भयो । अन्तमा, फ्रान्सका राजाको जीत भयो र सन् १२०६ मा युद्ध सकियो । अंजु, नार्मण्डी, एक्विटन आदि प्रदेशहरू राजा जोनले गुमाउनुप¥यो । यस युद्धले गर्दा राजा जोनको बेइज्जतीमात्र होइन आर्थिक हानि पनि भयो । त्यसैले आम्दानीका स्रोतको वृद्धिका लागि बेलायतका ब्यारोनहरू सर्वसाधारण जनतालाई दबाब तथा दुःख दिन लागे । राजाको निरङ्कुशताबाट बच्न र त्यसलाई प्रतिवाद गर्न बेलायतका एंग्लो–सेक्सन र जर्मनहरू आपसमा मिल्न थाले, जसले गर्दा म्याग्नाकार्टाको अस्पष्ट चित्र देखिन थाल्यो ।
ब्यारोन, पादरी तथा जनतासितको द्वन्द्व (ई.सं. १२०५–१२१६)
राजा जोनको पोपसितको विवाद र सम्झौता, फ्रान्ससितको युद्ध र फ्रेन्च भूभागमा रहेको स्वामित्व गुम्नु, उनको अयोग्यता, अकर्मण्यता निरङ्कुशताले गर्दा बेलायतका ब्यारोनहरू, पादरीहरू र सर्वसाधारण कोही पनि सन्तुष्ट हुन सकेनन् । यस्तो स्थितिमा राजा जोनले तत्कालीन सामन्ती व्यवस्थाका मान्यता पालन नगरी ब्यारोनहरूमाथि दुव्र्यवहार गर्न थाले । विभिन्न प्रकारका करहरू लगाए, जमानत मागे, धन मागे । गुमेको फ्रेन्च भूभाग पुनः प्राप्त गर्न फ्रान्सका राजासित युद्ध गर्ने अभियानमा राजाका साथ युद्धमा लागी सहयोग गर्न आदेशहरू दिए । तर, बेलायतभन्दा बाहिर गएर युद्ध गर्नु आफ्नो कर्तव्य क्षेत्रभित्रको कुरा होइन भनी ब्यारोनहरूले राजाको विरोध गरे । फलस्वरूप दुवै पक्षबीच आपसी तनाव र द्वन्द्व बढ्यो । करहरूको बोझले गर्दा सर्वसाधारण जनता पनि आक्रोशित थिए । यस किसिमको अन्तद्र्वन्द्व र अशान्तिपूर्ण आन्तरिक स्थिति हुँदाहुँदै राजा जोनले अन्य केही राजाहरूको एक गुट तयारी गरी फ्रान्सका राजा फिलिपसितको युद्धमा व्यस्त रहे । तर, सन् १२१४ मा राजा जोन पराजित भए र ठुलो अपमानका साथ बेलायत फर्के । यस घटनाले गर्दा प्रोत्साहित र राजा जोनको दुव्र्यवहारले गर्दा क्रोधित भएका ब्यारोनहरू, पादरीहरू र सर्वसाधारण जनता राजाविरोधी समूहको रूपमा स्थापित हुन पुग्यो । त्यस समूहमा ब्यारोनहरूको प्रधानता र आर्कविशप स्टिफलन लैंगटन नेताको रूपमा रहन पुगे । निरङ्कुश राजतन्त्रबाट मुक्ति चाहने ब्यारोनहरू, पादरीहरू, शायर(प्रान्त) तथा हन्ड्रेड (जिल्ला) का केही सर्वसाधारण जनताका प्रतिनिधिहरूसमेत सम्मिलित भएको २ वटा सभाहरू भए । प्रतिनिधित्व प्रणालीको लागि यो घटना पहिलो साङ्केतिक उदाहरण थियो । पिरमर्काहरू, अत्याचार र सुधारात्मक कदमहरूबारे ती सभाहरूमा चर्चा भयो । नेतृत्व स्टिफन लैंगटनले गर्दै थिए । उनले नै राजा हेनरी प्रथमको सुधारात्मक चार्टरको आधारमा अर्को एक नयाँ चार्टर निर्माण गरी राजा जोनसमक्ष स्वीकृतिको लागि राखे । तर, राजा जोनले तिनीहरूबीच फूट ल्याउने, आनाकानी गर्ने, आफ्नो शक्ति बढाउन भाडाका सेनाहरू ल्याउने अनेक प्रयत्नहरू गरी त्यस चार्टरलाई इन्कार गर्दै थिए । तर, आफ्नो उद्देश्य प्राप्ति गर्नमा झन्झन् उनी असफल भए ।
त्यसपछि ब्यारोन तथा पादरीहरूले निर्माण गराएको ६३ वटा बुँदा भएको उपरोक्त चार्टरमा १५ जुन १२१५ ई.सं. मा लण्डन नजिकैको रन्नीमेड नामक स्थानमा राजा जोनले आफ्नो सही गरी स्वीकृति दिन बाध्य भए । यही चार्टर वा मागपत्रलाई ल्याटिन भाषामा म्याग्नाकार्टा, अङ्ग्रेजीमा ग्रेट चार्टर, हिन्दी र नेपालीमा महान अधिकार पत्र भनिन्छ । म्याग्नाकार्टा वा महान अधिकार पत्रमा उल्लेखित बुँदाहरूद्वारा गरिएका केही महत्वपूर्ण व्यवस्थाहरू निम्नअनुसारका थिए ।
१) पवित्र चर्चको अधिकार र स्वतन्त्रतामाथि राजाले हस्तक्षेप गर्न नपाउने तथा त्यसलाई सम्मान गर्नुपर्ने ।
२) कुनै ब्यारोन मरेपछि उनको छोरालाई दण्ड गर्ने, उनको सम्पत्ति जफत गर्ने, विधुवा तथा नाबालिगहरूलाई राजइच्छाअनुसार काम गर्न बाध्य पार्नेजस्ता अधिकार त्यागी राजाले ब्यारोनहरूबाट केही निश्चित रकममात्र लिई त्यसको दुरूपयोग नगरी ब्यारोनहरूको संरक्षणका साथै उनीहरूको अधिकार र स्वतन्त्रताको कदर गर्ने ।
३) राजा र उनका कर्मचारीहरू कतै बाहिर जाँदा तिनीहरूको खानपिन र बसाइँको जिम्मेवारी त्यस क्षेत्रकाहरूले व्यहोर्दै आएकोमा अबदेखि नपर्ने ।
४) राजा कैदमा पर्दा, उसको जेठो छोरो नाईट (knight) हुँदा र उनकी जेठी छोरीको विवाहजस्ता विषयबाहेक अन्य विषयहरूको लािग राजाले महान् परिषद्को सहमतिबिना ब्यारोनहरूउपर कुनै कर लगाउन नपाउने ।
५) महान् परिषद्को बैठक नियमितरूपमा बोलाउनुपर्ने ।
६) न्यायालयद्वारा अपराध प्रमाणित नहुञ्जेलसम्म कुनै पनि स्वतन्त्र व्यक्तिलाई पक्रने, कैद गर्ने र अन्य किसिमबाट दण्डित पार्न नहुने ।
७) अपराधको अनुपातमा नै दण्ड दिइनुपर्ने ।
८) कानुन तथा न्यायको दृष्टिमा सबै समान हुने ।
९) राजाले न्याय गर्न, ढिलाइ तथा इन्कार गर्न नसक्ने तथा धन लिएर न्याय बेच्न पनि नहुने ।
१०) बिना कुनै प्रतिबन्ध व्यापारीहरूलाई व्यापारिक स्वतन्त्रता एवम् सुविधा दिनुपर्ने ।
११) राजाले म्याग्नाकार्टालाई पालना नगरेमा उसमाथि कारबाही गर्न र आवश्यक परेमा गद्दीबाट नै हटाउन सक्ने अधिकार भएको २५ सदस्यीय ब्यारोनहरूको एक समितिको व्यवस्था गरिएको ।
म्याग्नाकार्टाले गरेका व्यवस्थाहरूप्रति राजा जोनको सकारात्मक दृष्टिकोण नभएकोले त्यहाँ केही समय राजा र ब्यारोनहरूबीच लगभग गुट युद्धजस्तै भयो । ब्यारोनहरूको सहयोगको लागि फ्रेन्च सेना पनि बेलायत भित्रिए । सन् १२१६ मा राजा जोनको मृत्यु भएपछि उनका छोरा हेनरी तृतीय नाबालिग अवस्थामा नै राजा भएकाले राज्य व्यवस्था राजाका संरक्षकहरूको हात परेकोले राजतन्त्र कमजोर बन्न पुग्यो । ब्यारोनहरूले त्यसको भरपुर फाइदा उठाई आफ्नो अधिकार र स्थितिलाई मजबुत पारे । राजा हेनरी तृतीय बालिग भएपछि उनले विदेशी सहयोगबाट बेलायतमा पुनःनिरङ्कुश राजतन्त्र स्थापित गर्न खोज्दा त्यहाँ राजा र ब्यारोनहरूबीच फेरि युद्ध चर्कियो । तर, सन् १२६५ सम्ममा राजा हेनरी तृतीय उनका छोरासहित ब्यारोनहरूको कैदमा पर्दा फेरि ब्यारोनहरूको शक्ति मजबुत भयो । यसप्रकार म्याग्नाकार्टाअघि, म्याग्नाकार्टा निर्माण हुँदा र म्याग्नाकार्टापछिको समयसम्म पनि आफ्नो शक्ति, अधिकार, महत्व र वर्चस्व स्थापित गर्न बेलायतमा ब्यारोनहरू र राजाहरू अर्थात् सामन्ती व्यवस्था र निरङ्कुश राजतन्त्रबीच द्वन्द्व भई नै रहेको हामी पाउँछौँ ।म्याग्नाकार्टाले गर्दा बेलायतको सामन्ती व्यवस्था निरङ्कुश राजतन्त्र र समाजमा के कस्ता परिवर्तनहरू भए भन्नेबारे विचार गर्दा मूलतः ब्यारोन र पादरी अर्थात् चर्चहरूलाई राजाको निरङ्कुशताबाट आफूलाई मुक्त पार्नेमात्र होइन त्यो मुक्ति कायम गर्न र आइरहने खतराको समाप्तिको लागि सधैँ उन्मुख गराएको हामी पाउँछौँ । राजाको निरङ्कुशता पूर्णतया अन्त्य नगरी राज्यको नीति निर्धारण गर्ने अधिकार राजामा नै निहित गरिदिँदा उसले आफ्नो पुरानो स्थितिलाई कहिल्यै बिर्सन सकेन । त्यसैले त द्वन्द्व र युद्धमा राजा र ब्यारोनहरू बरोबर अल्झिरहनु प¥यो । तैपनि, चर्च र ब्यारोनहरूको वर्चस्व स्थापित गर्न सदाको लागि यस म्याग्नाकार्टाले ढोका खोलिदिए । म्याग्नाकार्टा लागु भएपछि बेलायतमा स्वतन्त्र व्यापार अघि बढ्यो, नाप तौलमा एकरूपता आयो । राज्यबाट अपराध हेरी कानुनको आधारमा उचित न्याय र दण्ड दिइने परिपाटीले गर्दा व्यक्तिको स्वतन्त्रता र हकको सुरुआत भयो । म्याग्नाकार्टा निर्माण गर्दाको सभामा थोरै अंश र थोरै भूमिकामा सीमित भएर सर्वसाधारण वर्गका प्रतिनिधि निरङ्कुशताविरुद्धको आन्दोलनमा सहभागी भए । तत्कालीन बेलायतको सर्वसाधारणको लागि समाज र राज्य व्यवस्थामा यो एक अनौठो तथा उत्साह ल्याउने घटना थियो । यो साँचो थियो कि म्याग्नाकार्टाद्वारा प्रदत्त अधिकार वास्तवमा सर्वसाधारण जनतालाई प्राप्त भएन । किनभने, सन् १२१५ सम्म महान् परिषद्मा ब्यारोनहरूमात्रै बस्दथे, सर्वसाधारणको लागि कुनै व्यवस्था थिएन । तर, सन् १२६५ मा आएर त्यस महान् परिषद्मा ब्यारोनहरूका अतिरिक्त सर्वसाधारणका प्रतिनिधिहरूलाई थोरै सङ्ख्यामा भए पनि स्थान दिइयो । यसको लागि सम्भावनाका बाटाहरू म्याग्नाकार्टाबाट नै खोलिएका थिए । त्यसैले सर्वसाधारणको अवस्था, भूमिका र महत्वलाई शतप्रतिशत म्याग्नाकार्टाले बेवास्ता ग¥यो भन्न अप्ठ्यारो पारेको छ । त्यसपछिका दिनहरूमा पनि राजा र ब्यारोनहरूबीच थुप्रै द्वन्द्व र युद्ध चले तापनि म्याग्नाकार्टाले गर्दा नै बेलायतको महान् परिषद्को सेरोफेरोमा त्यसकै माध्यमबाट त्यहाँ पछि प्रिवि काउन्सिल, सीमित राजतन्त्र, संवैधानिक राजतन्त्र, हाउस अफ कमन्स, हाउस अफ लर्डस् आदिको विकास भयो । त्यसैले म्याग्नाकार्टाले ल्याएको परिवर्तन र परिणामहरू तत्कालीनमात्र होइन दूरगामी रह्यो ।
बेलायतको संवैधानिक इतिहासको विकासक्रममा म्याग्नाकार्टाको बारेमा प्रतिक्रियावादी विधान, सामन्तवादी विधान तथा अङ्ग्रेजहरूको स्वतन्त्रताको आधारशिला आदि भनी आलोचना एवम् तारिफ गरिएको छ । यी टिप्पणी ठिक्कैजस्तो देखिन्छ । किनभने, म्याग्नाकार्टामा गरिएको व्यवस्थाले कुनै खास नयाँ क्रान्तिकारी परिवर्तनलाई स्थान नदिई पुरानै वा सामन्ती व्यवस्थाकै पुनरावृत्ति गरायो । ब्यारोन अर्थात् बेलायतका सामन्तहरूको शक्ति बढ्दै गयो र तिनीहरूले सर्वसाधारणमाथि अत्याचार गर्दै जानमा कुनै कसर बाँकी राखेनन् । यो महान् अधिकारपत्र बेलायतका पराजित राजा र विजयी ब्यारोनहरूबीचको सम्झौता पत्र भएकोले राजा र सामन्तहरूको बीचको सम्बन्धमा आएका अवयवहरूलाई मिल्काउने प्रयास गरियो । तर, सर्वसाधारण जनतालाई कुनै महत्व दिइएन र सामन्ती प्रथालाई नै यसले बल पु¥याएको जस्तो देखिन्छ । राज्यको नीति निर्धारण गर्ने राजाका अधिकारलाई ब्यारोनहरूले चुप लागी समर्थनजस्तै जनाए । यसको अर्थ ब्यारोनहरू राजतन्त्रका कट्टरविरोधी त थिएनन् । तर, राजतन्त्रको निरङ्कुशताबाट आफ्नो स्वतन्त्रता, अधिकार र वर्चस्वलाई निश्चित दायरासम्म सुरक्षित राख्न चाहन्थे भन्ने वास्तविकता म्याग्नाकार्टामा गरिएका व्यवस्थाहरूबाट स्पष्टिन्छ । तर, निरङ्कुश राजतन्त्रलाई तत्कालीन बेलायतका राजाहरूले त्याग्न नरुचाउँदा आ–आप्mनो स्वतन्त्रता, अधिकार तथा वर्चस्व पुनःस्थापितमात्र होइन अझ मजबुत पार्न ती दुवै पक्ष प्रयत्नशील नै रहे भन्ने तथ्य म्याग्नाकार्टापछि बेलायतका राजाहरू र ब्यारोनहरूबीचको थुप्रै द्वन्द्व तथा युद्धले स्पष्ट पार्दछ । ती घटनाहरूले गर्दा म्याग्नाकार्टाको कुनै मूल्य नै रहेन भन्ने कुरो पनि होइन । किनभने, म्याग्नाकार्टाले गर्दा नै बेलायतमा राजा पनि विधानको अधीनमा बस्नुपर्छ, त्यसो नबसे उसलाई गद्दीबाट निष्काशन गर्न सकिन्छ । यसरी उसको अधिकार पनि सीमित छ भन्ने मान्यताको सुरुवात भयो । सबै समूहको एकताबद्ध आन्दोलनको अगाडि कस्तै निरङ्कुश शासक पनि झुक्नुपर्छ भन्ने पाठ यसले दियो । ब्यारोन तथा पादरीहरूले धेरै हदसम्म स्वतन्त्रता र अधिकार त पाए तर सर्वसाधारणको खास हक, स्वतन्त्रता तथा उन्नतिको लागि त्यतिखेर म्याग्नाकार्टामा कुनै उल्लेख भएन । सर्वसाधारण वर्ग आफ्नो अधिकार, स्वतन्त्रता तथा उन्नतिका लागि उनीहरू आफैले आन्दोलन वा प्रयास गर्नुपर्छ । यसबाट कसैको पछि लागेर हुँदैन भन्ने पाठ सिक्ने मौका मिल्यो । यतिमात्र होइन म्याग्नाकार्टा र त्यसपछिका राजनीतिक आन्दोलनहरूबाट बेलायत एक्लै नभई विश्वका अन्य मुलुकहरूले पनि लाभान्वित हुने मौका पाए । त्यसैले तत्कालीन बेलायतको परिस्थितिलाई हेर्दा म्याग्नाकार्टा अङ्ग्रेजहरूको स्वाधीनताको आधारशिलामात्र नभई त्यस युगकै एक महान् उपलब्धि थियो भन्नुमा कुनै खासै अन्तर पर्दैन होला ।
(लेखक त्रिभुवन विश्वविद्यालयका सेवा निवृत्त सह–प्राध्यापक हुनुहुन्छ)
Leave a Reply