भर्खरै :

संरा अमेरिकाको मानव अधिकार अभिलेख भयानक

धेरै वर्षदेखि संरा अमेरिकाले आफूलाई मानव अधिकारको प्रतिनिधि र न्यायको एक अवतारको मुकुन्डोमा प्रस्तुत गर्दै आएको छ । अन्ततः उसले आफैलाई विश्वका सबै देशको मानव अधिकारको न्यायाधीश मान्न थाल्यो । तर, जतिखेर संरा अमेरिकाले अरू देशमाथि निरन्तररूपमा मानव अधिकारको हननको आरोप लगाइराख्यो, आफ्नै देशको मानव अधिकारको विषयमा भने कहिल्यै फर्केर हेरेन ।
सत्य त यो हो कि त्यस देशमा मानव अधिकार हननको भयानक अभिलेख छ र अहिले पनि गम्भीररूपमा मानव अधिकारको उल्लङ्घन भइरहेको छ । यस्तो देशले अरू देशको मानव अधिकारको स्थितिबारे टिप्पणी गर्ने कुनै हैसियत नै राख्दैन । संरा अमेरिकी सरकारले कोभिड–१९ को महामारीमा प्रस्तुत गरेको व्यवहारले त्यस देशको मानव अधिकारलाई दुःखान्तमा पु¥याएको छ ।
मानव जातिको इतिहासमा बिरलै सामना गर्नुपर्ने महामारीको समयमा संरा अमेरिकी सरकारले विश्व स्वास्थ्य सङ्गठन र संरा अमेरिकाभित्रकै जनस्वास्थ्य संस्थाहरूले दिएका चेतावनीहरूलाई निरन्तर बेवास्ता ग¥यो ।

अमेरिकी आदिवासी रेड इन्डियनहरू


केही निश्चित अमेरिकी राजनीतिज्ञहरूले महामारीलाई पनि आफ्नो राजनीतिक फाइदाको लागि उपयोग गर्न खोजे । उनीहरूले कोरोना भाइरसका कारण भएको निमोनियालाई पनि गम्भीर रोग होइन भन्दै त्यसको इन्फेक्सन दर र मृत्यु दर निकै कममात्र भएको दावी गरे । उनीहरूले कोरोना भाइरसको सङ्क्रमण मौसमी रूघाखोकी भन्दा पनि कम खराब भएको भन्दै केही समयपछि आफै हराएर जाने कुरा पनि गरे । त्यसको कारण अरू केही नभइकन संरा अमेरिकी सरकारले कुनै प्रभावकारी उपाय लागु गर्न नसक्नु हो । त्यस देशले महत्वपूर्ण ६ हप्ता अर्थहीन कुरा गरेर बितायो ।
जब महामारीको स्थिति निरन्तर खराब हुँदै गयो, तबमात्र संरा अमेरिकी सरकारले स्वास्थ्यसम्बन्धी वैज्ञानिक मापदण्डहरूमा केही ध्यान दिन थाल्यो । तर, त्यतिबेलासम्म पनि परीक्षण, कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनको प्रक्रियामार्फत भाइरस नियन्त्रणको गतिविधि गर्न अनिच्छा देखाइ नै रह्यो । त्यसको ठाउँमा केही समयभित्र भाइरसलाई उन्मूलन गर्ने नयाँ जादुई औषधी ल्याउने भन्दै सङ्कटलाई अझ बढ्न दियो । कोरोना भाइरस संरा अमेरिकाको ठूलो क्षेत्रमा फैलिरहँदासमेत तत्कालीन अमेरिकी नेतृत्व र राज्यका केही पदाधिकारीहरू मास्क लगाउन र मास्क लगाउन अनिवार्य गर्ने निर्देशन जारी गर्न अनिच्छुक नै रहे ।
संरा अमेरिकामा कोभिड–१९ को स्थिति नियन्त्रणभन्दा बाहिर गइसकेपछि र कोभिड–१९ सङ्क्रमित र मृत्युको सङ्ख्यामा विश्वका देशहरूमध्ये संरा अमेरिका पहिलो स्थानमा पुगिरहँदा पनि अस्थायीरूपमा लगाएको लकडाउन हटाएर अर्थतन्त्र सुरुआत गर्ने पहिलो मुलुक संरा अमेरिका नै बन्यो । संरा अमेरिकाका धेरै राज्यले लकडाउन खोल्नमा हतारो गर्दा पहिले ठूलो सङ्ख्यामा सङ्क्रमित नदेखिएको संरा अमेरिकाको दक्षिण, पश्चिम र बाँकी भागमा पनि क्रमशः उकालो लाग्दै गयो । महामारीको समयमा अमेरिकी सरकारले समयमै निर्णय लिननसकेको कारण अमेरिकी जनताले यसको भारी मूल्य चुकाउनुप¥यो ।
मार्च २०२१ सम्ममा संरा अमेरिकाले ३ करोड १० लाखभन्दा बढीलाई कोरोना सङ्क्रमण भइसकेको र त्यससित सम्बन्धित मृत्यु ५ लाख ६० हजार पुगेको जनायो । २०२१ को फेब्रुअरी मसान्तसम्ममा संरा अमेरिकाको कुल जनसङ्ख्याको २५ प्रतिशतभन्दा बढीलाई कोरोना भाइरस सङ्क्रमण भइसकेको थियो भने संरा अमेरिकाको अहिले कुल मृत्युको २० प्रतिशतको मृत्यु कोरोना भाइरसका कारण भइरहेको छ ।
महामारीको अवधिमा संरा अमेरिकी जनताको जिउने अधिकार निकै खराब स्थितिमा पुगेको विश्वले देखेकै तथ्य हो । त्यसमा पनि आदिवासी अमेरिकीहरूको अधिकार गम्भीर सङ्कटमा पुगेको छ । संरा अमेरिकी सरकारले अमेरिकन–इन्डियनहरूको विरुद्धमा प्रणालीगत जातीय सफाया र आमनरसंहार गरेको इतिहास छ र त्यो वास्तवमै आमनरसंहारको नमुना थियो । संरा अमेरिका स्थापनाको ठीक एक शताब्दीपछिसम्म पनि अमेरिकी सरकारले अमेरिकन–इन्डियनहरूलाई निरन्तररूपमा पश्चिमतर्फ लखेट्दै र मार्दै गरिरहेको इतिहास कसैले लुकाएर लुक्दैन ।
युरोपेलीहरूको बस्ती बसाल्नुभन्दा पहिले उत्तर अमेरिकामा त्यहाँका आदिवासीहरू करोडौँको सङ्ख्यामा रहेको अनुमान गरिन्छ । तर, बीसौँ शताब्दीको सुरुआतसम्म आइपुग्दा त्यो सङ्ख्या निकै नै घट्यो । संरा अमेरिकाकै आधिकारिक तथ्याङ्क मान्ने हो भने सन् १४९२ मा ५० लाखको सङ्ख्यामा रहेका अमेरिकन–इन्डियनहरूको जनसङ्ख्या १९१० मा आइपुग्दा २ लाख ५० हजारमा झ¥यो । आदिवासी अमेरिकीहरूको आधुनिक इतिहास युरोपेलीहरूको उपनिवेशवाद र आमनरसंहारको इतिहास हो ।
संरा अमेरिकामा आज पनि अमेरिकन–इन्डियनहरू दोस्रो दर्जाको नागरिकका रूपमा ग्रामीण र अर्धसहरी क्षेत्रमा बसोबास गर्छन् । आदिवासी अमेरिकीहरूमध्ये २१.९ प्रतिशत गरिबीको रेखामुनि छन् भने ९.६ प्रतिशत गोरा जातिका मानिसहरू गरिबीको रेखामुनि छन् । संरा अमेरिकामा अहिले पनि आदिवासी अमेरिकन–इन्डियनहरूको औसत आयु अरू सबै वर्णको भन्दा ५.५ वर्ष कम छ । मधुमेह, कलेजोको सङ्क्रमणजन्य रोग, मानसिक डिप्रेसन, रक्सीको लत अरू संरा अमेरिकीहरूको तुलनामा क्रमशः ३.२, ४.६ र ६.६ गुणा बढी रहेको छ । आदिवासी अमेरिकीहरूको कतिपय बस्ती अझै पनि निकै गरिबीमा छन् र अमेरिकन–इन्डियनहरूबीच बेरोजगारी दर ८५ प्रतिशत छ ।

कालो वर्णका अफ्रिकी मूलका दासहरू


आवाससम्बन्धी संयुक्त राष्ट्र सङ्घका विशेष दूतको प्रतिवेदनअनुसार संरा अमेरिकामा अमेरिकन–इन्डियनहरूले सुरक्षित आवासको अधिकार पाइरहेका छैनन् र तिनीहरूको जीवनस्तर पनि पर्याप्त विकास भएको छैन । अनुपातको हिसाबले कोभिड–१९ को महामारी र उपचारको कमीले सबैभन्दा बढी जातीय अल्पसङ्ख्यक र आदिवासी जनताको मृत्यु भएको छ । आदिवासी अमेरिकन–इन्डियनहरूको अस्पताल भर्ना हुने दर अरू गैरहिस्पानियाली गोराहरूको भन्दा पाँच गुणा कम रहेको छ भने मृत्यु दर गोरा जातिको भन्दा निकै बढी रहेको छ । आवासविहीन भएर सडकको फूटपाथ र पुलमुनि दिन–रात बिताउने गरिब अमेरिकी जनताको हिसाब र उनीहरूको मानव अधिकारको कुरा संरा अमेरिकामा कसले राखेको छ, कहाँ सुनुवाइ भइरहेको छ ?
यस क्रममा अफ्रिकी–अमेरिकी (कालो वर्णका) नागरिकहरूको मानव अधिकार त कुल्चिदिएको छ । दासता र बँधुवा श्रमिकका रूपमा तिनीहरूको चरम शोषण गरिएको त इतिहासको एक अध्यायको रूपमा रहेकै छ । उन्नाइसौँ शताब्दीमा संरा अमेरिकामा खेती र बस्ती विकासका लागि काला दासहरूको सङ्ख्या उल्लेख्यरूपमा बढाइएको थियो । भन्न नपर्ला, युरोपेली र अमेरिकी दास व्यापारीहरूले अफ्रिकाका विभिन्न देशबाट जबरजस्ती पक्रेर, सिक्रीले बाँधेर उत्तर र दक्षिण अमेरिकी महादेशमा तिनीहरूलाई पु¥याइएको थियो । काला दासहरूकै श्रमले संरा अमेरिकाको कपासखेतीलगायत अरू खेतीहरू फस्टाएको थियो । संरा अमेरिकामा सन् १८६० मा काला दासहरूको आधिकारिक सङ्ख्या चालीस लाख पुगेको थियो ।
ती दासहरूलाई मानिस भएर पनि मानिसको रूपमा व्यवहार गरिँदैनथ्यो र तिनीहरू निकै वेदनामय र कष्टकर जीवन व्यतित गर्थे । तिनीहरूलाई अमेरिकी कानुनले पनि मानिसको रूपमा लिँदैनथ्यो र तिनीहरूलाई दास मालिकहरूको निजी सम्पत्ति मानिन्थ्यो, जसलाई तिनीहरूका मालिकले जहाँ र जहिले चाह्यो जोत्न, बेच्न र मार्नसमेत पाइन्थ्यो । संरा अमेरिकाको दक्षिणी व्यापारिक खेतीहरूमा त काला दासहरूलाई जनावरजस्तै नै राखिन्थ्यो र दिनको १२ देखि १६ घन्टासम्म काम गर्न बाध्य पारिन्थ्यो ।
संरा अमेरिकामा दासप्रथा एक शताब्दीअघि नै प्रतिबन्धित भयो तर आज पनि अफ्रिकी–अमेरिकीहरूलाई समान अधिकार पाउनबाट वञ्चित गरिँदै छ । अफ्रिकी–अमेरिकीहरूले अहिले पनि निकै नराम्रो जातीय भेदभावको सामना गर्नुपर्छ, जुन हामी कार्य क्षेत्र र दैनिक जीवनमा जताततै सजिलै देख्न पाउँछौँ । अफ्रिकी–अमेरिकीहरूलाई रोजगारीको क्षेत्रमा प्रणालीगतरूपमै भेदभाव गरिएको हुनाले संरा अमेरिकामा यस जातीय समुदायको उच्च बेरोजगारी दर, कम रोजगारको अवसर र कम ज्यालामा काम गर्नुपर्ने अवस्था छ । पछिल्लो ४० वर्षको अवधिमा गोरा अमेरिकीहरूको तुलनामा अफ्रिकी–अमेरिकीहरूको बेरोजगारी दर दोब्बर कायम रहेको छ ।
संरा अमेरिकामा कानुन कार्यान्वयनको क्षेत्रमा पनि जातीय विभेद रहेको सहजै देखिन्छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार अफ्रिकी–अमेरिकीहरूको सङ्ख्या संरा अमेरिकाको कुल जनसङ्ख्याको १३ प्रतिशतमात्र हो । तर, जेलमा रहेका कैदी बन्दीहरूमध्ये एकतिहाइ काला वर्णका छन् । त्यसको तात्पर्य त्यहाँ प्रति एकलाख अफ्रिकी–अमेरिकीमध्ये १ हजार जना जेलमा छन् । अनियन्त्रित प्रहरी हिंसामा परी ज्यान गुमाउने अफ्रिकी–अमेरिकीहरूको सङ्ख्या प्रत्येक वर्ष बढिरहेको छ । अमेरिकी सरकारकै तथ्याङ्कअनुसार प्रहरीको साङ्घातिक गोली हानाहानमध्ये २८ प्रतिशत घटनामा अफ्रिकी–अमेरिकीहरू पर्छन् । त्यो सङ्ख्या भनेको गोरा जातिको तुलनामा ३ गुणा बढी हो ।
मे २०२० मा ४६ वर्षीय अफ्रिकी–अमेरिकी नागरिक जर्ज फ्लोयडको एक गोरा प्रहरी अधिकारीले आठ मिनेटसम्म क्रुरतापूर्वक घुँडाले घाँटी थिचेर राखेको कारण ज्यान गयो । ती अफ्रिकी–अमेरिकीमाथि अमेरिकी प्रहरीको क्रुरताको भिडियोले देशव्यापी आक्रोश र आन्दोलन सिर्जना ग¥यो । ‘ब्ल्याक लात्स म्याटर’ आन्दोलनको अर्को संस्करण ‘आई कान्ट ब्रेथ’ नाराका साथ देशव्यापीरूपमा उठ्यो । तर, न्यायप्रेमी अमेरिकी जनताको आवाजलाई अमेरिकी सरकारले कुनै सुनुवाइ गरेको व्यवहारमा देखिएन, ती हत्यारा प्रहरीलाई दोषमुक्त पार्ने अदालती नाटक त्यहाँ चालु छ । त्यसपछि पनि अमेरिकी प्रहरी र अन्य सुरक्षा बलको अत्यधिक बल प्रयोगबाट अफ्रिकी–अमेरिकीहरूको ज्यान जाने क्रम कम भएको छैन ।
संरा अमेरिकामा वैध बन्दुकधारीहरूको वृद्धिले अमेरिकी जनताको जीवनको अधिकारमा गम्भीर खतरा उत्पन्न भएको छ । संरा अमेरिका त्यो देश हो जहाँ विश्वमै सबैभन्दा बढी सामान्य नागरिकले विष्फोटक पदार्थ घरमा राख्छन् । त्यहाँका नागरिकहरूले राखेको बन्दुकको सङ्ख्या त्यहाँको जनसङ्ख्याभन्दा बढी छ र त्यो सङ्ख्या अझै बढिरहेको देखिन्छ । सर्वसाधारण अमेरिकीहरूको हातमा निकै ठूलो सङ्ख्यामा बन्दुक छरिएको कारण संरा अमेरिकामा गोली हान्ने घटना, त्यसबाट हुने हताहति र क्षति पनि बढिरहेका छन् ।
संरा अमेरिकामा हुने त्यस्ता गोली हान्ने घटना बरोबर समाचारका हेडलाइन बन्ने गरेका छन् र त्यसरी बरोबर हुने ठूला र साना बन्दुकसँग सम्बन्धित हिंसा त्यस देशको विशेषता नै बनिसकेको छ । त्यस्ता हिंसाका घटना बढी भीडभाड हुने स्थानहरू – सपिङ मल, क्याम्पस र विद्यालयहरूमा भइरहेका छन् र तिनको परिणाम निकै गम्भीर हुने गरेका छन् । ठूलो सङ्ख्यामा मानिसहरूको हताहती हुने र सयौँ घाइते हुने घटना अमेरिकी जनताको मानव अधिकारका निम्ति गम्भीर खतरा बनिरहेको छ ।
महामारी नियन्त्रणमा असफलता र सामाजिक अस्थिरताको पृष्ठभूमिमा सन् २०२० को एक वर्षमा मात्र अमेरिकीहरूले २ करोड ३० लाख बन्दुक किने । यति ठूलो सङ्ख्यामा बन्दुक खरिदकै परिणाम बन्दुक हिंसाका घटनाबाट गएका ज्यानहरू हुन् । संरा अमेरिकामा गत एक वर्षमा बन्दुकसित सम्बन्धित घटनामा परी ४१ हजार ५ सय जनाको ज्यान गुम्यो ।

कालो वर्णका जर्ज फ्लोयडको क्रुरतापूर्ण हत्या


सञ्चारमाध्यमका अनुसार बन्दुक प्रयोग गरी हुने कर्तव्य ज्यानको घटना ऐतिहासिकरूपले नै धेरै उच्च हो र त्यो अन्य धनी देशका तुलनामा २५ गुणा बढी हो ।
संरा अमेरिकामा २०२० मा मात्र भीडमा गोली हान्ने घटना ५९२ वटा भए, त्यो सङ्ख्याको अनुपात दैनिक १.६ हुन्छ । मार्च १६ देखि २६ सम्मका ११ दिनमा संरा अमेरिकमा ८ वटा गोली काण्डका घटना भए । तीमध्ये जर्र्जियाको एटलान्टा स्पामा भएको घटना र २३ जनाको ज्यान जानेगरी कोलोराडोको बाउल्डरमा भएको गोली काण्ड पनि पर्छन् ।
संरा अमेरिकाले आफैलाई मानव अधिकारको रक्षक भन्दै अरू देशको आन्तरिक मामिलामा गैरजिम्मेवार टिप्पणीहरू गरिरहेको बेला संरा अमेरिकी सरकार आफ्नै देशको मुख्यमुख्य मानव अधिकार हननका घटना रोक्न असक्षम बनिरहेको छ । हरेक वर्ष गोली काण्डहरूमा परी दशौँ हजार अमेरिकीहरूले ज्यान गुमाइरहेका छन् । त्यस्ता घटना रोक्न वा कम गर्न अमेरिकी सरकारले केही कदम चाल्ने त परको कुरा इच्छासम्म देखाएको छैन । त्यस्तो सरकारले कसरी जनताको सुरक्षाको सुनिश्चितता गर्नसक्छ र कसरी अरू देशका मानव अधिकारको स्थितिबारे स्तरीय मूल्याङ्कन गर्न सक्छ ?
(लेखक चिनियाँ प्रशासन अध्ययन प्रतिष्ठान (विश्वविद्यालय) का प्राध्यापक हुनुहुन्छ । )
-Human rights record of U.S. is appalling_
–People’s Daily, April 08, 2021
अनुवाद ः प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *