भर्खरै :

बालविधवाको मार्मिक कथा

सेतो धरतीका लेखक अमर न्यौपाने शिक्षक पनि हुन् । उनले १० वर्षको कलिलो उमेरबाटै आफ्नो लेखनकार्यको थालनी गरेका थिए । न्यौपाने चितवन महोत्सव(२०५६) मा ‘उत्कृष्ट पुरस्कार’ पाउन सफल एक चित्रकार पनि थिए । नेपालका २५ जिल्ला र धेरै विदेश भ्रमण गरेर विभिन्न अनुभवहरू बटुलेका लेखक आफ्नो भ्रमण कालमा भेटेका मानिसहरूको कथा, व्यथालाई आफ्नो लेखनमा जोड्न र ती लेखलाई जीवन्त अनि मर्मस्पर्शी बनाउन दक्ष तथा सिपालु लेखकका रूपमा चिनिन्छन् ।
आफ्नो पहिलो आख्यान पानीको घामका लागि ‘पद्मश्री’ पुरस्कार प्राप्त गरेका अमर न्यौपानेको दोस्रो उपन्यास ‘सेतो धरती’ एक बाल विधवाको दर्दनाक कथा हो । यस उपन्यासमा मुख्य पात्र ‘तारा’ ले अठहत्तर वर्षको उमेरमा जन्मदेखिको आफ्नो विडम्बनापूर्ण कथा भनेकी छिन् । कुनै नौलो कथावस्तु नबोकेको, अद्भूत घटनाक्रम नसमेटेको र चकित पार्ने कुनै प्रयोग समेत नभएको यो उपन्यासका पाना एकपल्ट पल्टाएपछि पाठकलाई पल्टाऊँ–पल्टाऊँ बनाउने एक किसिमको जादुमय आकर्षण भेटिन्छ ।
उपन्यासलाई विभिन्न शीर्षकहरूमा बाँडिएर लेखिएको छ र हरेक शीर्षकहरूमा एउटा भिन्नै हृदयविदारक कथा राखिएका छन् । सामाजिक संस्कारका कारण जीवनभर अभिशप्त भएर नियतिको सजाय भोगेकी ‘तारा’का जीवनका विडम्बनाहरूसँगै अन्य पात्रहरूको पनि दुःखै दुःखका कथा जोडिएर आउँछ । सुप्रसिद्ध नेपाली साहित्यकार तथा लेखक सरुभक्तका शब्दमा – “अबोधतामा विवाह गर्न अभिशप्त एक किशोरी, विधवा बन्न र अनिच्छापूर्वक सेतो वस्त्रहरूमा परिवेष्ठित हुन अभिशप्त एक युवती अनि जीवनका दुःखहरूबाट मुक्तिको खोजमा जीवन हराउन बाध्य एक वृद्धा ‘सेतो धरतीका’ चारित्रिक बिम्बहरू हुन् जसले कथित रूपमा नारीहरूको पूजा हुन्छ भनिने देश र समाजको कुरूपतालाई स्पर्शशील वाणी दिएका छन् ।”
आमाको आकाशबाट धरतीमा झरेको तारा शीर्षकभित्र हरियो रुख सुक्छ । “फुलिरहेको फूल झर्छ । सास फेराइको लामो अनुभवले पनि धोका दिन्छ । सबैभन्दा सजिलो नै सबैभन्दा गाह्रो भइदिन्छ ।” भनी न्यौपानेले लेखेका छन् । नहिँडेको बाटो शीर्षकभित्र मभन्दा धेरै ठुला छन् मेरा सारी र चोलो । नाडीभन्दा ठूला छन् बाला र चुराहरू भनेका छन् । ‘आमाले देखेको स्वप्न क्षितिज’ शीर्षकभित्र यहाँ आएपछि मेरो नयाँ बानीको विकास भएछ, आवाज ननिकालिकन रुनु भनी लेखेका छन् ।
यस उपन्यासमा लेखकले ‘सेतो’ शब्दलाई एक सामान्य रङ्गको रूपमा मात्र नलिई नारी जीवनको एक विडम्बनापूर्ण रङ्गहीन, अर्थहीन, हृदयविदारक अवस्थालाई झल्काउने पर्यायको रूपमा लिएका छन् । कथा र अक्षर उडेका किताबका सेतो पानाझैँ, सामाजिक मूल्य र मान्यताको त्यो अवस्था जसमा जीवन त छ तर जीवनका रङ्गहरूलाई सेतो पर्दाले यसरी छोपिएको छ कि हरेक मुना पलाउनु पूर्व नै भित्रभित्रै गुम्सिएर अर्थहीन बन्दै जिउँदो लासझैँ बाँच्न बाध्य छ । यस्तो अवस्था तब सृजना हुन्छ जब विवाहको अर्थ नै नबुझेकी बालिकालाई विधवाको कलङ्सहित सेतो वस्त्र पहिराइन्छ ।
एक अबोध बालिका जसको हातबाट खेलौना वा रातो चुरामात्र खोसिएको छैन, यहाँ त जीवनका सारा रङ्गहरू खोसिएका छन् जसरी हराभरा धर्ती नै सफेद अनि उजाड मरुभूमिझैँ पारिएको छ । फ्रेन्च दार्शनिक रुसोले भनेका छन् “मानिस स्वतन्त्र जन्मिन्छ तर जन्मिसकेपछि उसले आफूलाई सबैतिरबाट साङ्लोले बाँधिएको पाउँछ ।” न्यौपानेको उपन्यासमा पनि मुख्यपात्र यसरी नै सामाजिक रीतिरिवाजको साङ्लोले जकडिएकी अवस्थामा हुन्छिन् ।
यो एक वास्तविकता नै हो, धर्ती एक, जीवन र जिउने परिस्थिति अनेक भनेझैँ, यस उपन्यासमा लेखकले एक अपेक्षित जीवन अनि एक अनपेक्षित र दुर्भाग्यले भरिपूर्ण ‘पवित्र’ र ‘ताराको’ जीवनलाई समेत तुलनात्मकरूपमा प्रस्तुत गरेका छन् ।
भगवानसँग रिस शीर्षकभित्र –पे्रम, पीडा, पूजा, धर्म, धन, सुख, दुःख, हाँसो र देवघाट भन्नु पनि शरीर छउञ्जेलमात्र त रहेछ भन्ने लेखकको भावले उनी आध्यात्मिकता र भौतिकवाद दुबैमा विश्वास राख्छन् कि भन्ने अनुमान लगाउन सकिन्छ ।
विभिन्न रङ रसले भरिएको अपेक्षित जीवन जसको भाग्यमा हँुदैन उसको लागि जीवन केवल एक सङ्घर्ष बन्न पुग्छ र सङ्घर्षको कठोरताले बालक, वयस्क, वृद्ध केही भन्दैन केबल परजीवले जीवनको पोषकतत्व रस सोसेझैँ सोस्दै, गाल्दै, खियाउँदै एकदिन मृत्यु शय्यामा लगेर बजारिदिन्छ । यस प्रकारका जीवनले त केवल कल्पनाको मझेरीमा मात्र रमाउने मौका पाउँछन्, केही बेर रमाएका मात्र के हुन्छन् फेरि यथार्थका गड्गडाहटले झसङ्ग–झसङ्ग पारी बिउँझाई दिन्छ । यस्ता विचारहरूले लेखकले मानव जीवनलाई दुःखको भवसागरमा मात्र देखेको पनि भान हुन्छ ।
“जीवन र बोझ एकै हुन् दाजै, म बाँची के गरुँ?
लतार्छ समाज, नचाउँछ दैव ननाची के गरुँ?”
लाग्छ मुख्यपात्र ताराको मनले हरपल यही विरह गाइरहेको छ । समाज बदलिँदै जान्छ । तर, आफ्नो नबदलिएको जीवनका लागि भने अभिशाप बन्न पुग्छ । यो कुनै सानो कथामात्र नभई, ३६५ दिनको एक वर्ष र त्यस्ता कैयौँ दिनबाट बनेको ७०–८० वर्ष लामो झन्डै एक युग, एक सङ्घर्षपूर्ण जीवनको उत्पीडन हो ।
अप्ठ्यारा र क्लिष्ट शब्द मिसाएर लामा वाक्यमा उपन्यास लेखेमात्र ठुलो लेखक भइन्छ भन्ने मानसिकता बोकेकाहरूलाई ‘सेतो धरती’को भाषा शैलीले ल्वापा ख्वाइदिएको छ । सरल भाषाशैली भएपनि यो उपन्यास उपयोगी छ । उपन्यासले समाजमा रहेका बालविवाह, अनमेल विवाहजस्ता कुरीतिहरूलाई उजागर गर्न सफल भएको देखिन्छ । ‘सेतो धरती’ उपन्यासको मूल्य रु. ३५० राखिएको छ । प्रकाशक फाइन प्रिन्ट आइएनसी रहेको छ । विसं २०६८ सालमा प्रथमपटक प्रकाशित यस उपन्यासमा ३७६ पृष्ठ सङ्ख्या छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *