भर्खरै :

बोआओ सम्मेलन सुरु

महामारीपछिको आर्थिक पुनःस्थापना मुख्य विषय बोआओ, १९ अप्रिल । सन् २०२१ को बोआओ एसियाली मञ्चको सम्मेलन दक्षिण चीनको हाईनान प्रान्तको बोआओ सहरमा आइतबारबाट सुरु भएको छ । महामारीको कारण प्रायशः अनलाइन सम्मेलन भइरहेको सन्दर्भमा यो वर्ष भएको यो नै पहिलो भौतिक उपस्थिति सहितको अन्तर्राष्ट्रिय सम्मेलन हो । सम्मेलनमा सहभागीहरूले आर्थिक वृद्धि गतिवान बनाउन एसियाली देशहरूको आत्मविश्वास बढाउन मात्र नभई सम्मेलन आफैलाई विश्वव्यापी प्रभाव पार्ने अन्तर्राष्ट्रिय दबुको रूपमा लिएका छन् ।
‘संसारमा परिवर्तनः विश्वव्यापी शासन बलियो बनाउन र बेल्ट एन्ड रोड सहकार्य अघि बढाउन सहकार्य गरौं’ भन्ने मूल नाराका साथ भएको चार दिने सम्मेलन यसै साताको आइतबारदेखि बुधबारसम्म हुने छ ।
सम्मेलनस्थलमा महामारी नियन्त्रणका उपायको कडाईका साथ पालना गरिएको छ । सम्मेलनको हलको मुलद्वारमा तापक्रम नाप्ने रोबोटसँग उभिएका सुरक्षाकर्मीले ३७ डिग्री सेल्ससभन्दा बढी तापक्रम भए भित्र पस्न नदिइने बताए । ३७ डिग्री सेल्ससभन्दा बढी तापक्रम भएको व्यक्तिलाई सिधै न्युक्लिक एसिड परीक्षणमा पठाइने र आवश्यक चिकित्सकीय अवलोकन र उपचारमा पठाइने बताए ।
सम्मेलनको मुख्यद्वारमा तापक्रम नाप्ने रोबोटको अतिरिक्त मास्क र स्यानिटाइजर राखिएको छ । महामारी रोकथाम प्रयासअन्तर्गत खाना खाने ठाउँमा प्रत्येक टेबुललाई काँचले बारिएको छ ।
“महामारीबीच पनि ६० भन्दा बढी देश र क्षेत्रबाट झण्डै २६ सय प्रतिनिधिहरू सम्मेलनमा सहभागी छन् । १८ देश र क्षेत्रबाट १६० सञ्चारमाध्यमबाट १२ सत्र्न्दा बढी पत्रकारहरू पनि सम्मेलनमा सहभागी छन्”, सम्मेलन आयोजक समितिका सचिव ली पाओतोङले आइतबार पत्रकार सम्मेलनमा भने ।
“जम्माजम्मी भौतिक उपस्थितिको लागि ४ हजारभन्दा बढी सहभागीहरूले नाम दर्ता गरेका छन् । यो अनपेक्षित सङ्ख्यामा बढी छ । यो वर्षको यो संसारकै सबभन्दा ठुलो भौतिक उपस्थिति सहितको सम्मेलन बनेको छ”,लीले भने ।
सम्मेलनमा ४० जना विशिष्ट र पूर्व विशिष्ट अधिकारीहरू, ७४ जना मन्त्रीस्तर र पूर्व पदाधिकारीहरू, अन्तर्राष्ट्रिय संगठनका दर्जनौं प्रमुख र वरिष्ठ नेता, अन्तर्राष्ट्रिय संगठनका प्रतिनिधि तथा विश्वविख्यात कम्पनीका सयौं कार्यकारी प्रमुखहरू अनलाइन वा भौतिक उपस्थिति सहित सम्मेलनमा सहभागी बन्ने लीले जानकारी दिए ।
सम्मेलनमा कार्बन निष्पक्षता, जलवायु परिवर्तन र डिजिटल अर्थतन्त्र आदि विषयमा छलफल गरिने छ । सम्मेलनको औपचारिक उद्घाटन भने मङ्गलबार गरिनेछ ।
“हामी हजारौं मानिससँग प्रत्यक्ष रूपमा बस्दैछौं र हामी सुरक्षित छौं । यो अवस्थाले महामारी रोकथाम र व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा प्रष्ट हुन्छ । त्यसको निम्ति बलियो राजनीतिक इच्छाशक्तिको खाँचो हुन्छ”, चीनको लािग संयुक्त राष्ट्रका आवासीय संयोजक सिद्धार्थ चटर्जीले आइतबार दिएको सामूहिक अन्तर्वार्तामा भने । यसले चीनमा अनुशासन, धैर्यता र विज्ञानको प्रभावबारे धेरै कुरा बोलेको उनको भनाई थियो ।
“बाँकी संसारले पनि यही तरिका अपनाउनेमा म आशावादी छु र महामारीलाई सकेसम्म चाँडो पराजित गर्नेमा विश्वस्त छु”, उनले भने ।
बढ्दो एसियाली भूमिका
बोआओ सम्मेलन (बीएफए)ले आइतबार कोरोना महामारीको प्रभावमा एसियाली अर्थतन्त्रबारे वार्षिक प्रतिवेदन सर्वाजनिक गरेको छ । महामारीको प्रभाव स्वरुप एसियाली अर्थतन्त्रले गहिरो ¥हास भागेको छ । तथापि, एसियाली आर्थिक अवस्था समग्रमा संसारका अन्य भूभागभन्दा निकै राम्रो भएको देखाएको छ ।
खरिद क्षमता मापनको आधारमा सन् २०२० मा विश्व अर्थतन्त्रको औसतमा एसियाको हिस्सेदारी ४७.३ प्रतिशत पुगेको छ । सन् २०१९ को तुलनामा ०.९ प्रतिशतले बढेको छ । यसले विश्व अर्थतन्त्रमा एसियाको भूमिका अझ बढेको देखाएको छ । एसियाको सबभन्दा ठुलो अर्थतन्त्र चीनले गत वर्ष कुल गार्हस्थ उत्पादनमा २.३ प्रतिशत वृद्धिले शानदार नेतृत्व गरेको छ ।
सन् २०२१ को पहिलो चार महिनामा अघिल्लो वर्षको सो अवधिको तुलनामा चीनको अर्थतन्त्र १८.३ प्रतिशतले बढेको छ ।
आर्थिक प्रतिवेदनले एसियालीका सबै देशहरूबीचको सम्बन्ध अझ सघन बन्दै गएको देखाएको छ । सन् २०२१ को फेब्रुअरीसम्ममा एसियाभित्र र बाहिर १८६ वटा क्षेत्रीय व्यापार सम्झौताहरू भएका छन् । संसारभरको कुल क्षेत्रीय सहमतिमध्ये यसले ५४.९ प्रतिशत ओगटेको छ ।
सन् २०२० नोभेम्बर महिनामा भएको क्षेत्रीय बिस्तृत आर्थिक साझेदारी सहमति (आरसेप) मा हस्ताक्षर भए पछि क्षेत्रीय र विश्वव्यापी आर्थिक वृद्धिले गति लिएको छ । यसले एसियामा स्वतन्त्र व्यापार सम्झौतालाई अझ नयाँ गति दिने अपेक्षा गरिएको छ ।
“एसियामा वस्तु र सेवाको व्यापार सम्बन्ध पनि सघन बन्दै छ । एसियाली अर्थतन्त्रको आपसी व्यापार निर्भरता सन् २०१९ मा झण्डै ५० प्रतिशत थियो । दुई पक्षीय व्यापारको परिमाण पनि बढिरहेको छ”, अन्तर्राष्ट्रिय व्यापार तथा अर्थतन्त्र विश्वविद्यालयका उपसभापति लिन कुइचिनले आइतबार बोआओमा आयोजित पत्रकार भेटघाटमा भने ।
सन् २०२१ मा एसियाली अर्थतन्त्रमा लगातार वृद्धि हुने र वृद्धि ६.५ प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको थियो । एसियाको क्षेत्रीय आर्थिक वृद्धिलाई प्रभावित बनाउने मुख्य पक्ष भनेको महामारी नै हो ।
“अहिले महामारी रोकथाम र नियन्त्रण तथा पछिको आर्थिक पुनःस्थापनाले अझै पनि ठुलो अनिश्चय सामना गरिरहेको छ । संसारभरका सबै देशले यो कठिनाईबाट पार पाउन आपसमा सहकार्य गर्न अपरिहार्य भइसकेको छ”, साइनोस्टिल आर्थिक अनुसन्धान प्रतिष्ठानका प्रमुख अध्येता हु छिमुले भने ।
तथापि, संरा अमेरिकी एकपक्षीयताले अझै विश्व शासनमा प्रभाव जमाउने प्रयास गरिरहेको छ । यस परिस्थितिमा बहुपक्षीय बोआओ मञ्चको सम्मेलन महामारी नियन्त्रण तथा रोकथाम, आर्थिक पुनःस्थापना र क्षेत्रीय तनाव न्यून गर्न ठुलो भूमिका खेल्ने हुले आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *