भर्खरै :

नेपालभाषा सिकाउन आफै सिक्दै प्रशिक्षण सहायकहरू

काठमाडौँ, ६ वैशाख । काठमाडौँ महानगरपालिकाले स्थानीय भाषामा लागू गरेको स्थानीय पाठ्यक्रम अध्यापन गराउन नेपालभाषा प्रशिक्षण सहायक (स्यनामि) हरू अहिले प्रशिक्षणमा जुटिरहेका छन् । येँ देय् म्हसीके अध्यापन गराउन छानिएका करिब १८० शिक्षकहरूको महानगरभित्रका ६ वटा विद्यालयमा प्रशिक्षण तालिम सञ्चालन भइरहेको छ ।
तालिमका क्रममा स्यनामिहरूलाई पाठ्यक्रम कार्यान्वयन र पाठ्यपुस्तकलाई प्रयोगात्मकरूपमा अध्यापन कसरी गराउने भनेर प्रशिक्षण दिँदै आइरहेको छ । स्थानीय पाठ्यक्रम निर्माण समितिका सदस्य वरुण वैद्यले हाल शिक्षकहरू विद्यालय जाने बित्तिकै नेपालभाषामा पढाउन र विद्यार्थीलाई बुझाउन सम्भव नभएको भन्दै अहिले नेपालीमा नै विद्यार्थीहरूलाई सहजीकरण गरिने बताउनुुभयो ।
“पछि विस्तारै नेपालभाषा सहज हुँदै गएपछि त्यहीअनुसार कक्षा हुन्छ । अहिले हामी भाषा, लिपिभन्दा विद्यार्थीलाई नेवा संस्कृति सभ्यता बुझाउने प्रयासमा छौँ” उहाँले भन्नुभयो ।
हाल प्रशिक्षणमा सहभागीहरूमध्ये केही गैरा नेवारसमेत छन् । नेपालभाषामा पोख्त उहाँहरू यो पाठ्यक्रमले आउने दिनमा भाषाको मात्रै नभइ काठमाडौँ सभ्यताकै संरक्षण हुने बताउनुहुन्छ ।
“यो एक समुदायको मात्र भाषा होइन काठमाडौँको भाषा हो । यो बुझेर केही बिग्रिँदैन । अब यो भाषाको जगेर्नामा बल पुग्नेछ”, अदृशा चौधरीले भन्नुभयो । तालिममा सहभागी भइरहेका शिक्षकहरूले तालिमबाट आफ्नो मनोबल बढेको बताएका छन् । गैरनेवार बाहुल्य हुने विद्यालयमा कसरी पढाउने भन्ने विषयमा अन्योलमा रहेका शिक्षकहरू अब सरल ढङ्गले विषयलाई बुझाउनसक्षम भएको बताउँछन् ।
यता महानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयमा यही शैक्षिक सत्रदेखि यो पाठ्यक्रम लागू गर्ने भनिए पनि कोभिड सङ्क्रमणका कारण केही असहजता उत्पन्न भएको महानगर शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले बताउनुभयो । उनले अहिले केही समस्या देखिए पनि आउने शैक्षिक सत्रदेखि कुनै समस्या नहुने बताउनुभयो ।
“यो तालिम सकिने बित्तिकै शिक्षकहरू विद्यालय पुग्नेछन् । अहिले जति पढाउन सकिन्छ त्यति पढाउने हो । सबै विषयको अवस्था त्यस्तै छ । अर्को शैक्षिक सत्रदेखि सबै कुरा मिल्छ” उहाँले भन्नुभयो ।
वैशाख ६ गतेसम्म स्यनामिहरूलाई तालिम दिइनेछ । त्यसपछि उनीहरूलाई पायक पर्ने विद्यालयमा करारमा पठाइनेछ । सुवेदीले पाठ्यक्रम महानगरभित्रका सबै विद्यालयमा पुगिसकेको भन्दै पाठ्यपुस्तक पनि अर्को शैक्षिक सत्रसम्म तयार हुने बताउनुभयो ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्राक् स्वरूप, स्वास्थ्य र सरसफाइ, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयलाई यस पाठ्यक्रममा समेटिएको छ ।
बालबालिकालाई सिक्न सजिलो होस् भन्ने उद्देश्यले १ देखि ३ सम्म १०० पूर्णाङ्कमा १०० नै अभ्यासगत पठन–पाठन गरिएको छ भने कक्षा ४ र ५ मा ७५ अभ्यासगत र २५ सैद्धान्तिक पठन–पाठन हुनेछ । कक्षा ६, ७ र ८ मा भने ५० अभ्यासगत र ५० सैद्धान्तिक पठन–पाठन हुने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *