भर्खरै :

फ्रान्सेली पुँजीवादी क्रान्ति – ८

 फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्व
क्रान्तिलाई नेतृत्व गर्ने फ्रान्सेली पुँजीपति वर्गले क्रान्तिका सफलताहरूलाई आफ्नै फाइदाको निम्ति उपयोग ग¥यो । विशेष अधिकारहरू उन्मूलन गरिए । खान्दानीहरूको दमनको ठाउँमा धनी पुँजीपतिहरूको दमनलाई स्थापना गरियो । त्यतिमात्रै होइन क्रान्तिकारीहरूले क्रान्ति ल्याए । तर, त्यही क्रान्तिले क्रान्तिकारीहरूलाई खाए भन्ने उखानजस्तै बन्यो ।
जाकोविनहरूले सामन्त, जमिनदार, क्रान्तिविरोधी र ठुलठुला पुँजीपति वर्गको विरोधमा सङ्घर्ष गरिरहँदा जनताले तिनीहरूलाई समर्थन गरेका थिए । तर जब….. शक्तिमा पुगेर जाकोविनहरूले सहर र गाउँका गरिबहरूको आन्दोलनलाई दबाए, अनि जनताले तिनीहरूको समर्थन गर्न छोडे । तिनीहरू एक्लो परे । प्रतिक्रान्तिकारी पुँजीपति वर्ग धेरै लामो समयसम्म लाखौँ लाख शोषितहरूको झन्डाको पछाडि लागेन । आखिर जहाँ पनि तिनीहरूले मजदुर किसान जनताको विरोध गर्नेछन् । सर्वहारा वर्गको नेतृत्व भएको क्रान्तिले मात्र मजदुर वर्गले अन्तिम विजय पाउनेछ । यो समाजवादी क्रान्ति हुनेछ । जाकोविनहरूको सफलता र असफलताको शिक्षा त्यही हो । जिल्ला वा स्थानीय निकाय र कम्युनहरू भङ्ग गर्नु नै क्रान्तिको आत्मा समाप्त हुनु हो, त्यसरी क्रान्तिले पछि आफैमाथि घात ग¥यो, अनुभवको कमीले, शत्रुहरूको षड्यन्त्रले ।
पुँजीवादी क्रान्ति र सर्वहारा क्रान्तिबीचको मुख्य फरक बुझ्नु आवश्यक छ । पुँजीवादी क्रान्तिको मतलब शोषक वर्गको एक गुटबाट अर्को गुटमा शक्ति सार्नुमात्रै हुनेछ । शक्ति सामन्त वर्गको हातबाट पुँजीपति वर्गको हातमा जानु हो । समाजवादी क्रान्तिले उत्पादनका साधनको व्यक्तिगत स्वामित्वलाई अन्त गर्छ । यसले शोषणको मुख्य आधार सँगसँगै शोषक वर्गलाई पनि समाप्त गर्छ । १८ औँ शताब्दीमा पुँजीवादी व्यवस्थालाई फाल्न चाहिने आवश्यक अवस्थाहरू र समाजवादलाई स्थापना गर्न आवश्यक अवस्थाहरू तयार भइसकेका थिएनन् । त्यसपछि परिस्थितिमा हेरफेर आयो । आज पुँजीवादी व्यवस्थामा भिन्नता आएको छ । पुँजीवादी र पुँजीपति वर्ग बदनाम हुँदै र सङ्कटमा झेलिरहेका अवस्थामा छ र सर्वहारा वर्ग सचेत हुँदै र समाजवादको अस्थायी हार खाँदै पुरानो अनुभवबाट परिपक्व हुँदै उठिरहेको छ ।
फ्रान्सेली पुँजीवादी क्रान्तिको महत्वबारे माक्र्स र लेनिन
१६४८ मा बेलायती पुँजीपति वर्ग राजतन्त्रको विरोधमा खान्दानी र चर्चको स्थापनाको विरोधमा नयाँ खान्दानीहरूसँग मिलेका थिए ।
१७८९ मा फ्रान्समा पुँजीपति वर्ग स्वतन्त्र खान्दानी र स्थापित चर्चको विरोधमा जनतासँग मिल्यो ।
यी दुवै क्रान्तिहरूमा आन्दोलनको मोहडामा पुँजीपति वर्ग थियो । सर्वहारा वर्ग र व्यापारी वर्गको स्वार्थ पुँजीपति वर्गको स्वार्थभन्दा फरक थिएन । त्यस्तो अवस्थामा सर्वहारा वर्ग र व्यापारी वर्गको बीचमा पूर्णरूपले उपविभाजन भइसकेको थिएन । तिनीहरू पुँजीपति वर्गको स्वार्थलाई लागू गर्नमात्रै लडेका थिए, भनुँ भने तिनीहरू पुँजीपति वर्गको देखासिकीमा लडेका थिए । सम्पूर्ण फ्रान्सेली आतङ्कवाद खालि पुँजीपति वर्गका शत्रुहरू एकतन्त्र र सामन्तवादसँग बदला लिने गतिविधि थियो ।
बेलायतको १६४८ को क्रान्ति र १७८९ को फ्रान्सको क्रान्ति बेलायती र फ्रान्सेली क्रान्तिमात्र थिएनन् । ती क्रान्तिहरू युरोपेली ढङ्गका थिए । यी क्रान्तिहरूमा पुँजीपति वर्ग विजयी भएको थियो । तर, त्यसबेला पुँजीपति वर्गको विजय समाजमा नयाँ व्यवस्थाको विजय थियो । सामन्ती सम्पत्तिमाथि पुँजीवादी सम्पत्तिको विजय थियो ।
महान् फ्रान्सेली क्रान्तिलाई गम्भीर अध्ययन गरिनुपर्दछ । बिना कारण त्यसलाई महान् भनिएको होइन । कुन वर्गको निम्ति त्यसले काम ग¥यो ? पुँजीपति वर्गको निम्ति काम ग¥यो । यसले पूरा १९ औँ शताब्दीसम्म काम ग¥यो । यस शताब्दीले सम्पूर्ण मानव जातिलाई नयाँ सभ्यता र संस्कृति दियो । यो शताब्दी फ्रान्सेली क्रान्तिको पद चिह्न पछाडि हिँड्यो । सारा संसारभरि त्यो क्रान्ति निरन्तर अगाडि बढ्यो । त्यसलाई आर्थिकरूपमा पूरा गरियो । महान् फ्रान्सेली क्रान्तिले पुँजीपति वर्गको स्वार्थलाई पूरा गरिदियो । यद्यपि, तिनीहरू यसबारे चिन्तित थिएनन् । तिनीहरूले त्यसलाई स्वतन्त्रता, समानता र भ्रातृत्व शब्दभित्रै लुकाएर राखे ।
फ्रान्समा थर्मिडोर प्रतिक्रान्तिको राज (१७९५–९९)
९ थर्मिडोर (२७ जुलाई १७९४) को प्रतिक्रान्तिकारी विद्रोहपछि फ्रान्सको शक्ति क्रान्तिको समयमा सट्टा–पट्टाको व्यापारले धनी भएका पुँजीपति वर्गको हातमा गयो । नाफा खञ्चुवा व्यापारीहरूले राज्य सभामा मुख्य पदहरू हात पारे । शक्ति हत्याएपछि थर्मिडोरहरूको पहिलो काम जाकोविन हुकुमको संयन्त्रलाई ध्वस्त पार्नु थियो र पारे । त्यसलाई ठुलो वर्गको प्रतिक्रान्तिकारी संयन्त्रमा फेरिदिए ।
जाकोविन सङ्घ बन्द गरियो र ढोकाहरूमा लाहाछाप लगाइयो । सङ्घका स्थानीय शाखाहरू पनि बन्द गरिए । पुँजीवादी प्रतिक्रान्तिकारीहरूले पेरिसका स्थानीय निकाय वा ‘जिल्ला अड्डा’हरूलाई भङ्ग गरे । ती निकायहरूले नै क्रान्तिको निम्ति अत्यन्त महत्वपूर्ण काम गरेका थिए । पेरिसको क्रान्तिकारी स्थानीय शासनका सङ्गठनहरू उन्मूलन गरिए । यी सबै कदमहरूको पछाडि ठुलो प्रतिक्रान्तिकारी आतङ्कको भूमिका थियो । जाकोविनहरूलाई खोज्थे र गिरफ्तार गर्थे । ‘गाइल्ड युवक’ भनाउँदा गुट वा बिग्रेका केटाहरूले बाटामा भेटेका मजदुर र कालीगढहरूलाई पिट्थे, जाकोविनहरूको घरघरमा घुस्थे र भित्र बसेका सबैलाई निर्दयतापूर्वक कुटपिट गर्थे र त्यसलाई सजाय दिएको भन्थे ।
थर्मिडोरहरूले विरोधीहरूलाई निर्ममतापूर्वक दबाए । ‘नयाँ गणतन्त्रात्मक संविधान’ बन्यो । विधानसभालाई दुई तहमा विभाजित गरियो । सबैभन्दा उँचो कार्यकारी अध्यक्षता एक व्यक्तिको हातमा थियो । त्यसलाई ‘डाइरेक्टरी’ (Directory) भनिन्थ्यो । थर्मिडोरहरूले त्यसलाई ५ जनाको ‘डाइरेक्टरी’ बनाए । यसले अब विधानसभाको बहुमतको विरोधमा पनि काम गर्न लाग्यो ।
१७९५ मा एक नयाँ शासन विधान तयार गरियो । व्यवस्थापिकालाई दुई सदनको बनाइयो–५ सय व्यक्तिहरूको तल्लो सभा र एउटा माथिल्लो वा ठुलाहरूको परिषद् ।
माथिल्लो परिषद्को सदस्य बन्नको लागि उमेर ४० वर्ष नाघ्नुपर्ने र विवाहित हुनुपर्दथ्यो । मतदाताहरूले कर तिरेकै हुनुपर्दथ्यो ।

बाबेफ


‘डाइरेक्टरी’ (Directory)  वा सामूहिक नेतृत्वमा ५ जनाको एक कार्यपालिका बनाइयो । पाँच सदस्यहरूमा तीन–तीन महिनामा पालैपालो ‘डाइरेक्टरी’ को अध्यक्ष हुन्थे । अध्यक्ष तीन महिनाको निम्ति फ्रान्सको राष्ट्रपति हुन्थे । ती पाँच जनाका नाम हुन्– कार्नोट (CARNOT), लेटोरनियर (Letourneur), लारेभिलेर (Larevellier), रेवबेल (Rewbell) र बार्रास (Barras)  ।
कार्नोट शत्रु सेनालाई धपाउन ठुलो सङ्ख्यामा सैनिक सङ्गठनको निर्माण गर्ने क्रान्तिकारी सेनापति थिए । उनी नै डाइरेक्टरीको पहिलो अध्यक्ष बने । उनलाई ‘विजय प्रबन्धक’ वा ‘सुरक्षा प्रबन्धक’ भनिन्थ्यो ।
लेटोरनियर एक इन्जिनियर थिए भने लारेभिलेर एक गिरोन्डिस थिए । त्यस्तै रेवबेल एक जाकोविन थिए भने बार्रास एक दक्षिण फ्रान्सका निवासी, १७८९ मा संसदको तेस्रो भागमा निर्वाचित सदस्य थिए । पछि एक राम्रो जाकोविन र रोवेस्पियरको साहसपूर्वक विरोध गर्ने एक व्यक्ति थिए ।
पाँच सदस्य भएको त्यस शासन व्यवस्थाले न राजतन्त्रवादी खुसी थिए न त प्रजातन्त्रवादीहरू । यसकारण राष्ट्रियसभाबाट त्यसको विराध नहोस् भनी व्यवस्थापन विभागको दुवै सभाहरूको दुईतिहाइ सदस्य राष्ट्रियसभामा सदस्य चुनिन्थे । तर, राष्ट्रियसभाको त्यस आदेशको विरोधमा एक विद्रोह भयो । त्यस विद्रोहलाई दबाउन ‘डाइरेक्टरी’ सदस्य बार्रासले एक पातलो शरीरका चतुर सिपाहीलाई नियुक्त गरे । त्यस सिपाहीले विद्रोहलाई दबायो, जसको नाम नेपोलियन बोनापार्ट थियो । २६ अक्टोबर १७९५ को दिन राष्ट्रियसभा भङ्ग गरियो र फ्रान्सको शासनको बागडोर ‘डाइरेक्टरी’ को हातमा गयो ।
थर्मिडोरहरूको राष्ट्रियसभाले वस्तुहरूको (वस्तु निर्धारण) अथवा मूल्य बढाउने रोकलाई हटाइयो र तुरुन्तै नाफा खञ्चुवाहरूले भाउ बढाए ।
१७९५ को वसन्तमा भोका जनताले दुईचोटि विद्रोह गर्न कोसिस गरे । तर, दुवै कोसिसलाई दबाइयो ।
पुँजीवादको विकासको अर्थ वर्षौँसम्म जनताको दुःख कष्ट थियो । जीवनमा आवश्यकीय वस्तुहरूको मूल्य २३० दोब्बर उँचो थियो । तर, ज्याला खालि ६३ दोब्बर बढेको थियो ।
क्रान्तिको विरोधमा लगाइएको आतङ्कबाट फाइदा उठाएर राजतन्त्रवादीहरूले खूब क्रियाशिलता देखाए । भेन्डीमा नयाँ विद्रोह उठ्न थालेको थियो । तर, त्यसलाई धेरै गा¥होसित दबाइयो ।
सामन्तवादीहरूको विद्रोह
सरकारी नीतिबाट असन्तुष्ट भएर केही स–साना पुँजीपति वर्ग र मजदुरहरूले एक महत्वपूर्ण षड्यन्त्र गरे । बाबेफले त्यसको नेतृत्व गरेका थिए । अक्टोबर १७९५ मा बाबेफ र उनका साथीहरूले ‘सिद्धान्तनिष्ठ समाज’ भन्ने एक राजनैतिक क्लवको स्थापना गरे । त्यसमा पुराना धेरै जाकोविनहरू सामेल भए । तिनीहरू राती राती राँको बालेर बैठक र सभाहरू गर्थे । तिनीहरूले एउटा पत्रिका पनि निकालेका थिए, त्यसको नाम हो, ‘ट्रिव्युन’ अर्थात् ‘मञ्च’ वा ‘अग्रदूत’ ।
त्यस पत्रिकाले ‘सामन्तवादीहरूको गणतन्त्र’ स्थापना गर्ने उद्देश्य लिएर आफ्नो विचारहरूको प्रचार गथ्र्यो । त्यसको दोस्रो महत्वपूर्ण उद्देश्य धनी र गरिबको भेद हटाउनु थियो । तिनीहरू आफ्ना मानिसहरूलाई सेना, प्रहरी र शासनयन्त्र वा प्रशासनमा घुसाउँथे र आफ्नो उद्देश्य प्रचार गर्थे । तिनीहरूले पेरिसका जिल्ला–जिल्लामा विद्रोह सङ्गठित गर्न हातहतियार जम्मा गरे ।
षड्यन्त्र वा विद्रोह गरेर सत्ता सम्हालिसकेपछि पूर्णरूपले एक वैधानिक सरकार नबनाएसम्म एक गुप्त सञ्चालक समितिले देशको शासन चलाउने योजना बनाएको थियो । १७९६ मा एक विद्रोहको योजना बनाइएको थियो । तर, त्यस आन्दोलनमा सुरुदेखि नै पुलिसका गुप्तीहरू काम गर्दै थिए । विद्रोह हुनुभन्दा अगाडि नै नेताहरू पक्राउ परे तथा अरू भगाइए वा दबाइए ।
१७९७ मा बाबेफ र उनका सहयोगीहरूलाई ‘डाइरेक्टरी’ ले एक विशेष अदालतमा मुद्दा चलायो । मुद्दा र बहस ३ महिनासम्म चल्यो । त्यस मुद्दामा बाबेफले ‘डाइरेक्टरी’ लाई सा¥है निन्दा गरे तथा आफ्नो सिद्धान्तको प्रचार गरे । तर, ‘डाइरेक्टरी’ ले बाबेफ र सहयोगीहरूलाई ‘राजद्रोह’ र ‘षड्यन्त्र’ को निम्ति मृत्युदण्डको फैसला ग¥यो ।
तिनीहरूले बहादुरीपूर्वक आफ्ना विचारहरूलाई अलिकति पनि नलुकाइकन व्यक्त गरे । पुँजीवादी शासनयन्त्रलाई ध्वंश गर्ने आफ्नो उद्देश्यलाई बिनाछलकपट प्रस्तुत गरे । यसकारण तिनीहरूको मृत्युदण्डपछि पनि मानिसहरू तिनीहरूको विश्वास र इमानदारीताप्रति प्रशंसा गर्थे । बाबेफ र उनका समर्थकहरूले योजना गरेको विद्रोह फ्रान्सेली क्रान्तिकारी युगको अन्तिम र महत्वपूर्ण जनआन्दोलन थियो ।
बाबेफ १७६० मा उत्तरी फ्रान्सको एक गरिब परिवारमा जन्मेका थिए । १६ वर्षको उमेरमा उनी काम गर्न गएका थिए । उनी भन्थे, “पृथ्वीको फल सबैको हो तर भूमि कसैको पनि होइन ।”
“कम्युनिस्ट व्यवस्थामात्र सबभन्दा राम्रो र स्वस्थ व्यवस्था हो ।” बाबेफ फ्रान्स एक कम्युन हुनुपर्छ भन्ने पक्षमा थिए । जहाँ उत्पादनका सबै साधन साझा हुनेछ । आफ्नो सम्पत्ति कम्युनमा सार्न नचाहने सबै मालिकहरूलाई तिनीहरूको राजनैतिक अधिकारबाट वञ्चित गराइनेछ र ‘शङ्कास्पद’ घोषणा गरिनेछ । त्यसको मतलब ‘गिरफ्तार’ गरिनु हो । बाबेफको विचारअनुसार कम्युन समानताको सिद्धान्तमा आधारित हुनेछ । “हामीहरूले मानिस र नागरिकको अधिकारको घोषणापत्रमा भएको समानतामात्रै चाहेका होइनौँ” त्यसको अर्थ उनी आर्थिक समानता पनि चाहन्थे ।
बाबेफ नागरिकहरूको पूर्ण समानता चाहन्थे । उनको भनाइअनुसार एक कालीगढ अथवा एक किसानको रूपमा समाज हरेक सदस्यले उसको कामको फल एक साझा ढुकुटीबारे पाउनेछ । सबै मजदुरहरूको खाता राख्ने काम एक खास व्यक्तिले गर्नेछ । उत्पादन भएका हरेक वस्तु ‘समानताको आधारमा सबै नागरिकहरूलाई राम्रोसँग जाँचेर वितरण’ गरिनेछ ।
बाबेफका अनुसार समाजका हरेक सदस्यलाई उसले गरेको उत्पादन मात्रालाई ध्यान नदिएर सबभन्दा पूर्ण समानताको आधारमा उत्पादित वस्तुहरूलाई समानरूपमा वितरण गर्नु हानिकारक हुन्थ्यो । साम्यवादको पहिलो चरण समाजवाद हो । यस ढङ्गले अल्छि र काम नगरी हल्लिएर हिँड्नेहरूलाई उत्साहित गथ्र्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *