भर्खरै :

अझै बालबालिकालाई पत्रु खाजा

लम्की, ६ वैशाख । स्वास्थ्यको दृष्टिकोणले बालबालिकालाई पत्रु खाजा दिन प्रतिबन्ध लगाइए तापनि यसको न्यूनीकरण हुन सकेको छैन । दिवा खाजाका लागि उपलब्ध भएको रकमले बालबालिकालाई पकाएर खाजा खुवाउनुपर्ने व्यवस्थापन गरिएको छ । विद्यालयले भने बालबालिकालाई अझै पत्रु खाजा नै वितरण गर्दै आएका छन् ।
सरकारले बाल विकासदेखि कक्षा ५ सम्मका बालबालिकालाई दिवा खाजाका लागि सामुदायिक विद्यालयलाई वार्षिक आर्थिक सहयोग गर्दै आएको छ । भजनी नगरपालिकामा ३९ सामुदायिक विद्यालय छन् । सबै विद्यालयमा बालबालिकाको दिवा खाजाका लागि पैसा आउने गरेको भए पनि केही विद्यालयले पकाउने साधनस्रोतको अभाव देखाउँदै पत्रु खाजा नै वितरण गर्ने गरेको नगरपालिकाका शिक्षाशाखा प्रमुख सूर्यबहादुर सिंहले जानकारी दिनुभयो ।
“कोरोनाका कारण सबै विद्यालयमा व्यवस्थापन र समन्वयको अभावले पनि दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन सकिएको छैन”, उहाँले भन्नुभयो । सरकारले पनि खाजाका लागि पैसा पठाउने गरेको छ । पकाउन चाहिने अन्य साधनस्रोतको व्यवस्थापन हुन नसक्दा पनि सबै विद्यालयले पकाएको खाजा खुवाउन सकेका छैनन् । प्रतिविद्यार्थी दैनिक १५ रूपैयाँका दरले पैसा आउने गरेको छ । शिक्षा शाखा प्रमुख सिंहले निर्देशिकाअनुसार दिवा खाजाको व्यवस्थापन गर्ने भनेर ‘मेन्यु’ नै तयार पारेको जनाउँदै सबै विद्यालयमा यस वर्ष पत्रु खाजाको व्यवस्थापन नभएको पाइएको बताउनुभयो ।
जानकी गाउँपालिकाका केही विद्यालयले खाजाको लागि आएको रकम अभिभावकलाई वितरण गर्ने गरेको पाइएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख धर्मानन्द कपडीले केही विद्यालयले आफैँ पकाएर बालबालिकालाई दिवा खाजा दिने गरेको जनाउँदै केही विद्यालयले बालबालिकाका अभिभावकलाई विद्यालयमा बालबालिकाको हाजिरीका आधारमा रकम उपलब्ध गराउने र घरबाट खाजाको व्यवस्थापन भइरहेको जानकारी दिनुभयो । “विद्यालयले बालबालिकाको अभिभावकलाई रकम उपलब्ध गराउँछ र बालबालिकाले घरबाटै खाजा बोकेर ल्याउने गरेका छन्”, उहाँले भन्नुभयो । केही विद्यालयले भने आफैँ बालबालिकाको दिवा खाजाको व्यवस्थापन गर्दै आएको छ । सजिलो र खानामा पत्रु खाजा मीठो हुने भएकाले अभिभावकले पनि बढी पत्रु खाजाकै प्रयोग गर्दै आएको पाइएको छ ।
अभिभावकले बालबालिकालाई पकाएको खानेकुराभन्दा त्यही पत्रु खाजा किनेर दिने गरेका छन् । उहाँले अभिभावक पनि आफ्नो बालबालिकाप्रति गम्भीर नभएको जनाउँदै सजिलोको हिसाबले बालबालिकालाई पत्रु खाजा नै दिएर पठाउने गरेको भए पनि यसको न्यूनीकरणका अनुगमन भने गर्न नसकिएको बताउनुभयो ।
टीकापुर नगरपालिकामा भने बालबालिकालाई पत्रु खाजा नदिइएको शिक्षा शाखा अधिकृत नरेश अवस्थीले जानकारी दिनुभएको छ । उहाँले नगरपालिकाभित्र रहेका ३४ विद्यालयमा पत्रु खाजाको प्रयोग नभएको जनाउँदै त्यस्तो गरेको पाइएमा विद्यालयलाई कारबाही गरिने बताउनुभयो । “बालबालिकाको स्वास्थ्यमा हामी सबै जिम्मेवार छौँ । सरकारको निर्देशिकाअनुसार अगाडि बढेका छौँ” उहाँले भन्नुभयो । महिनाको एकपटक सबै विद्यालयमा हामीले छड्के अनुगमन गर्ने गरेका छौँ ।
लम्की चुहा नगरपालिकामा भने बालबालिकाको हाजिरीका आधारमा अभिभावकलाई पैसा उपलब्ध गराउँदै आएको नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले बताउनुभयो । “आफ्नो बालबालिकाप्रति अभिभावक बढी जिम्मेवार होलान् भनेर पैसा दिने गरेका छौँ”, उहाँले भन्नुभयो । यसको अनुगमन भइरहेको छ । त्यो उपाय पनि सफल भएन भने अर्को विकल्पमा जान्छौँ । जसरी पनि बालबालिकालाई पत्रु खाजाको पहुँचबाट टाढा गर्ने हाम्रो लक्ष्य छ ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले पत्रु खाजाले बालबालिकालाई मात्रै नभई जुनसुकै उमेरकालाई पनि राम्रो नगर्ने जानकारी दिनुभयो । उहाँले पत्रु खाजाले कुपोषण बढाउनुका साथै मानिसको आयु पनि घट्दै जाने बताउनुभयो । “पत्रु खाजा स्वास्थ्यको हिसाबले निकै हानिकारक हुन्छ । त्यसमा मानिसको शरीरलाई चाहिले फुड पिरामिड पनि हुँदैन”, उहाँले भन्नुभयो । स्वादमा मीठो भए पनि त्यसमा कुनै पौष्टिक तत्व रहेको हुँदैन । सरकारले गरेको लगानीलाई विद्यालय तथा अभिभावकले जिम्मेवारका साथ कसैको स्वास्थ्यमा खेलबाड नगरी निभाउन सक्नुपर्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *