भर्खरै :

विचौलिया–पुँजीवादको कुरूप उत्पादन

विचौलियाकै कारण तत्कालीन कृषि मन्त्रीले समयमै नेपाली किसानहरूलाई मल ल्याउन सकेका थिएनन् । कोभिड–१९ महामारीको पहिलो लहर सामना गर्न चीनसँग स्वास्थ्य सामग्री खरिद गर्दा सत्ता नजिकका विचौलियाहरूले ठुलै घोटाला गरेको बताइन्छ । सरकारी स्वामित्वको वायु सेवा निगमले विमान खरिद गर्दा विचौलियाहरूबाट ठुलै आर्थिक घोटाला हुने गरेको समाचार नयाँ होइन । अहिले भारतको सिरोम कम्पनीबाट कोभिडको खोप ल्याउन पनि विलम्ब हुनुमा स्वास्थ्य मन्त्री विचौलियाहरूलाई नै दोषारोपण गरिरहेका छन् । नेपालको प्रशासनिक प्रणालीमा विचौलियाहरूको प्रभाव यति गहिराइमा पुगिसकेको छ कि अब सामान्त्न्दा सामान्य घरायसी काम गर्नमात्र पनि विचौलियाको भर नपरी सुखै नपाइने अवस्था छ । कसैले आफ्नै नामको जमिन बेच्न वा आफू बस्नको लागि घडेरी किन्नसमेत विचौलियाकै भर । स्थानीय तहले कुनै स्वास्थ्य सामग्री वा प्राविधिक उपकरण किन्न खोजे पनि विचौलियाकै भर पर्नुपर्ने । यो व्यवस्थामा विचौलियाको यति बिगबिगी भइसकेको छ कि अब कुनै ठुला भनिएका सञ्चारमाध्यममा विज्ञापन दिँदा पनि विचौलियाको सहारा लिनुपर्ने अवस्था छ ।
कोभिड महामारीको कारण दैनिक ५० भन्दा बढी मानिस मरिरहेको र हजारौँ मानिस बिरामी परिरहेको बेला अत्यावश्यक खोपको खरिदमा समेत विचौलियाहरूले ‘आफ्नो भागको कमिसन’ को लागि अत्तो थप्दा खोप समयमै आउन सकेन । समयमै खोप लगाउन पाएको भए सङ्क्रमण दर र मृत्यु दर घट्ने थियो । खोपमा कमिसनको तानातानकै कारण खोप ल्याउन विम्लब हुँदा निधन भएका मानिसको मृत्युको निम्ति सरकार र विचौलियाहरू दोषी छन् । केही मानिसहरू विचौलियाहरूले कमिसन दाबी गर्नुलाई स्वाभाविक भएको बताउँदै छन् । खासमा पुँजीवादी व्यवस्था र प्रशासन यन्त्रमा कमिशनलाई अपरिहार्य र स्वाभाविक मान्ने गरिएको छ । कुनै पनि कामको लागि उत्पादक र उपभोक्ताबीच ‘सेतु’ को काम गरेको भन्दै विचौलियाहरूले कमिसन खानुलाई पुँजीवादी व्यवस्थाले ‘स्वाभाविक सेवा’ को रूपमा लिने गर्दछ । विचौलियाले ‘आफ्नो दक्षता प्रयोग गरी’ सेवा दिनुलाई पुँजीवादले भ्रष्टाचार वा अनियमितताको रूपमा लिने गर्दैन । किनभने सिङ्गो पुँजीवादी व्यवस्था नै विचौलियाकै भरमा टिकेको हुन्छ । विचौलिया नै उत्पादक र उपभोक्तामाथि शोषण गर्ने माध्यम हुने गर्छ । किसानले खेतमा उत्पादन गर्ने कृषि उत्पादनलाई बजारसम्म पु¥याएको भन्दै किसानले पाउने भन्दा धेरै गुणा नाफा कमाउने विचौलियाले किसान र उपभोक्ता दुवैलाई शोषण गरिरहेको हुन्छ । समाजवादी व्यवस्थामा राज्य अथवा सरकार आफैले उत्पादन प्रक्रिया र आपूर्ति व्यवस्थामा भूमिका खेल्ने भएकोले नाफा कुम्ल्याउने र नाफाको लागि शोषण हुने गर्दैन । नेपाली समाजको जरा तहसम्म फैलिएको विचौलियाको जगजगीको मूल कारण पुँजीवादी राजनीतिक व्यवस्था हो ।
पुँजीवादी व्यवस्थाको निम्ति मानवताभन्दा ठुलो विषय नाफा हुने गर्छ । माक्र्सको ‘नाफाको लागि पुँजीपति वर्ग आफैलाई झुन्ड्याउन पनि तयार हुन्छ’ भन्ने भनाइले पुँजीवादबारे धेरै कुरा बोलिसकेको छ । संसारमा अहिले राँकिरहेको कोभिडको महामारीले पुँजीवादी देशको अस्तित्व र पुँजीपतिहरूकै ज्यानमा समेत खतरा मडारिरहेको छ । कोभिडले धनी मानिसलाई ‘माया’ गरेको छैन । खोप कोभिड भाइरससँग प्रतिरोध गर्ने मानिससँग अहिलेसम्म भएको सबभन्दा धारिलो हतियार हो । त्यही हतियारले गरिबको मात्र होइन, धनीको पनि ज्यान जोगाउने हो । विडम्बना ¤ आज सम्पूर्ण मानिसको जीवन रक्षाको लागि अपरिहार्य खोपको खरिदमा समेत पुँजीपति वर्ग लाजै नमानी कमिसनको हिस्सेदारी मागिरहेको छ । केही व्यापारीलाई दोष दिएर मन्त्री साखुल्ले बन्ने प्रयत्नमा लागेका छन् । वास्तवमा सरकार र मन्त्रीहरू यही राजनीतिक र प्रशासनिक प्रणालीको पृष्ठपोषक भएकाले उनीहरूले विचौलिया र कमिसनको विरोध गर्न सकेका छैनन् । बरु, कमिसनको भागबन्डा नमिल्दा आज एकअर्कालाई हिलोछ्याप्ने र आफू बाहिर चोखो देखिने प्रयत्नमात्र भइरहेको हो । पुँजीवादको क्रुरता यो समयमा जनतासामु उजागरमात्र भएको हो । घाटमा लडाएको पुँजीपतिले आफ्नो मृत्युमा आफुलाई कति नाफा भयो भनी हिसाब गर्न छोड्दो रहेनछ भन्ने नग्न वास्तविकता हामी यतिबेला भोगिरहेका छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *