भर्खरै :

“जनताको साहित्य र साहित्यकार” बारे केही कुरा

आफूले देखेभोगेका, सुनेका, पढेका तथा अनुभव गरेका कुराबाट प्राप्त विषयवस्तुको सहयोगमा लेखक वा साहित्यकारहरूले आफ्नो कलम चलाउँछन् । साहित्यकारहरूले कथा, उपन्यास, गीत, नाटक, हाइकू, कविता, निबन्ध, लेख, काव्य, महाकाव्य लगायतमा आफ्नो कला प्रस्तुत गर्छन् । मजदुर–किसान र जनताको मन छुने गरी लेखिएको साहित्यमात्र जनप्रिय हुने गर्दछ, जनमानसमा ती जिवित रहन्छन् । जनताका समस्या, पीडा, अभाव, सङ्घर्ष, आन्दोलन लगायतबारे चर्चा गरिएका साहित्यको खोजीखोजी अध्ययन गर्छन् पाठक । कोही साहित्यकार भित्री मनैदेखि लेख्छन् भने कोही सौखले लेख्छन् त कोही पैसा लिएर लेख्ने गर्दछन् ।
समाज वर्गीय भएकोले साहित्य पनि वर्गीय नै हुन्छ । मजदुर–किसान, शोषितको पक्षमा लेखिएको साहित्य र मालिक, पुँजीपति, शोषकको पक्षमा लेखिएको साहित्य गरी दुई किसिमका साहित्य हुन्छन् ।
मजदुर–किसानका लेखक हरिबहादुर श्रेष्ठद्वारा लिखित ‘जनताको साहित्य र साहित्यकार’ पुस्तिका साहित्यमा रुचि राख्ने जो कोहीले अध्ययन गर्नुपर्ने पुस्तिका हो । मेरो हातमा नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला समितिले २०५८ जेठमा प्रकाशित गरेको उक्त पुिस्तकाको तेस्रो संस्करण छ । यसै संस्करण पढेको आधारमा यी पङ्क्ति लेख्दै छु ।
तेस्रो संस्करणको प्रकाशकीयमा साहित्य र साहित्यकारको माक्र्सवादी दृष्टिकोण बुझ्न पुस्तिका सहयोगी हुने विश्वास व्यक्त गरिएको छ ।
प्रत्येक साहित्यकारले देश र जनताको सेवा गर्ने मुख्य उद्देश्य राख्नुपर्ने सन्देश प्रवाह गर्नको निम्ति नै पुस्तिका प्रकाशन गरिएको दोस्रो संस्करणको प्रकाशकीय टिपोटमा उल्लेख गरिएको छ ।
पहिलो संस्करणको प्रकाशकीय टिपोटमा लेखक हरिबहादुर श्रेष्ठले केही वर्षभित्र लेख्नुभएका लेख तथा छलफलका टिपोटको सङ्गालोका रूपमा पुस्तिका तयार गरिएको कुरा स्पष्ट पारिएको छ ।
‘साहित्य के हो ?’ शीर्षकको लेखमा नेपाली समाज चुसाहा वर्ग र चुसाएर बस्ने वर्गमा विभाजित भएकोले साहित्य पनि कुनै एउटाको पक्ष या विपक्षमा लेखिएको हुन्छ भन्दै साहित्यले पनि आ–आफ्नो वर्गको सेवा गर्ने स्पष्ट पारिएको छ । साहित्य वर्गीय राजनीतिको एक प्रभावशाली हतियार भएको पनि लेखमा उल्लेख गरिएको छ ।
अन्याय, अत्याचार, शोषण, आक्रमण, लुटपाटको पक्षमा लेखिएको साहित्य प्रतिक्रियावादी साहित्य र कामदार वर्गको पक्षमा एवम् आक्रमण, थिचोमिचो र हस्तक्षेपको विरोधमा लेखिएको साहित्य प्रगतिशिल साहित्य हुने विषयलाई ‘प्रतिक्रियावादी र प्रगतिशील साहित्य’ शीर्षकले स्पष्ट पारेको छ । प्रगतिशील साहित्यले बहुमत मजदुर–किसानको सेवा गर्ने कुरा पनि सो लेखमा उल्लेख गरिएको छ ।
‘साहित्यले जनताको सेवा कसरी गर्छ ?’ शीर्षकको लेखमा शोषक, अन्यायी, अत्याचारीहरूको विरोधमा र सङ्घर्षशील मजदुर–किसानको पक्षमा लेख, व्यङ्ग्य, गीत, कवितालगायत रचना गर्नु नै जनताको साहित्य र कलाको सेवा गर्नु हो, जनताकै सेवा गर्नु हो भनी स्पष्ट व्याख्या गरिएको छ ।
‘पात्र र पात्रको चुनाव’ शीर्षकको लेखमा जनताका लेखक र कलाकारले सङ्घर्षमा होमिएका किसान–मजदुर कार्यकर्तालाई मूलपात्र बनाएर उसको व्यक्तित्वलाई पनि कलात्मक ढङ्गले प्रकाशमा ल्याएर साहित्य लेख्नुपर्नेमा जोड दिइएको छ ।
जनसङ्घर्षमा होमिएका किसान–मजदुर कार्यकर्तालाई पात्र बनाउनुभन्दा पहिले लेखक वा साहित्यकार आफै सङ्घर्षको क्षेत्रमा पुगेर अवलोकन गरे पात्रको व्यक्तित्वबारे जानकारी लिन सजिलो हुने विषय ‘पात्रको चुनावबारे’ शीर्षकको लेखमा उल्लेख गरिएको छ ।
‘हामी आदर्शवादी वा यथार्थवादी’ शीर्षकको लेखमा यथार्थमा आधारित आदर्शवादी साहित्य र आदर्शले ठीकसित सिङ्गारेको यथार्थवादी साहित्य र कला जनताको सङ्घर्षमा सहायक तत्व बन्ने स्पष्ट पारिएको छ ।
प्रगतिशील साहित्य यथार्थवादी हुन्छ तर सबै यथार्थवादी साहित्य प्रगतिशील हुँदैनन् । कुनै पनि साहित्य तत्कालीन समयको दर्शन, राजनीति र समाज व्यवस्थामा आधारित हुन्छ भन्ने विषय ‘के सबै यथार्थवादी साहित्य प्रगतिशील हुन्छन् ?’ शीर्षकको लेखमा उल्लेख गरिएको छ ।
प्रगतिशील भनेको अगाडि बढेको अर्थ लाग्छ । दास युगमा सामन्तवादी विचार र साहित्य प्रगतिशील हुन्छ भने सामन्ती युगमा पुँजीवादी विचार र साहित्य प्रगतिशील हुन्छ । त्यस्तै, पुँजीवादी युगमा समाजवादी विचार र साहित्य प्रगतिशील हुन्छ । तसर्थ, सबै माक्र्सवादी साहित्य प्रगतिशील हुन्छन् तर सबै प्रगतिशील साहित्य माक्र्सवादी हुन्नन् । ‘के सबै प्रगतिशील साहित्य माक्र्सवादी हुन्छन् ?’ शीर्षकको लेखमा स्पष्ट बुझाइएको छ ।
सामन्ती युगमा ईश्वर, धर्मकर्म, स्वर्ग र नर्कका विषयमा साहित्य लेखिन्थ्यो । त्यति बेला राजा–महाराजाहरूलाई ईश्वरको प्रतिनिधि र अवतारको रूपमा मान्थे मानिसहरू । बिस्तारै देख्न सकिने, छुन सकिने र थाहा पाउन सकिने कुरालाई मात्र मानिसले सही मान्न थाले । उनीहरूले दुःख सुख धर्मकर्म वा ईश्वरले गर्दा होइन भन्ने बुझ्न थाले । दुःखको प्रमुख कारण शोषण, कर, तिरोतिरान लगायत भएको बुझे । यो भौतिकवादी विचार हो । भौतिकवादी विचारको प्रभाव साहित्यमा पनि पर्न थाल्यो र यथार्थवादी साहित्यको विकास भयो । ‘यथार्थवादी साहित्यको विकास’ शीर्षकको लेखमा सरल र स्पष्ट भाषामा बुझाइएको छ ।
समाज बदल्ने मुख्य परिवर्तनकारी शक्ति भनेको मजदुर तथा किसान हुन् । लेखक, कवि र कलाकारहरूले तिनीहरूको बौद्धिक हतियार (प्रगतिशील साहित्य) उत्पादन गरिदिन्छन् । किसान–मजदुरमा भएका केही खोटहरू पखाल्ने काम साहित्यकारहरूले साहित्य र कलाबाट गर्छन् । तसर्थ, जनसङ्घर्षमा सहायक हुने विषयवस्तुलाई अगाडि ल्याउनु नै उदाङ्ग्याउनु हो । ‘उदाङ्ग्याउनुको अर्थ के हो ?’ शीर्षकको लेखमा उल्लेख गरिएको छ ।
‘उदाङ्ग्याउने र खोट देखाउने कसरी ?’ शीर्षकको लेखमा भनिएको छ–“साहित्यकारहरूले उपन्यास, कथा, नाटक, निबन्ध, गीत, कविता, काव्यमार्फत शोषक, सामन्त र पुँजीपतिहरूका लुकीचोरीका सबै कामलाई मजदुर – किसानका अगाडि उदाङ्ग्याउनुपर्छ । यसबाट तिनीहरूको चेतनाको स्तर बढ्छ र देशभक्तिको भावना बढ्छ ।”
मजदुर–किसानमा भूगोल, विज्ञान, इतिहास, समाजशास्त्र, राजनीतिशास्त्र आदिको ज्ञानको अभावले सांस्कृतिकस्तर उठ्न पाएको हुँदैन र सैद्धान्तिकस्तरको कमीले गर्दा सङ्गठन र सङ्घर्षबाट कममात्र उपलब्धि प्राप्त हुन्छ । तसर्थ, साहित्यकारहरूले तिनीहरूको निराशा र शोकलाई नयाँ जोश र बलमा बदलिदिन्छन् । यसले जनताको कमजोरी र खोटहरू हटाउन सहयोग पुग्छ । जसले क्रान्ति अगाडि बढाउन एक गोलीको काम गर्छ । यसरी साहित्यमार्फत मजदुर–किसानको सेवा गर्ने काम हुन्छ । ‘जनताको खोट किन र कसरी देखाउने ?’ शीर्षकको लेखमा यस्ता कुरा स्पष्ट पारिएको छ ।
मजदुर–किसान र जनताको मर्म बुझ्नु, दुःख कष्टलाई आफ्नै जस्तो ठान्नु भनेको जनताको जीवनलाई जनताकै आँखाले हेर्नु हो । अनिमात्र जनताको पक्षमा साहित्य रचना गर्न सकिन्छ । बल्ल जनताका साहित्यकार र कलाकार कहलिन्छन् । साथै, मजदुर–किसानको पार्टीको निर्देशनमा लेखिएको साहित्य नै जनताको साहित्यको धेरै नजिक पुग्छ र जनताले मन पराउँछन् । ‘जनताको साहित्यकार कसरी बन्ने ?’ शीर्षकको लेखमा साहित्यकार बन्न चाहनेलाई यसरी मार्गदर्शन गरिएको छ ।
जनताको साहित्य जनताको प्रचारका साधन हुन् । साहित्यलाई वर्गसङ्घर्ष र राजनीतिको हतियार बनाउनुपर्छ । साहित्यले बत्तिको काम गर्नुपर्छ । मजदुर–किसान र जनताको पक्षमा नलेखिएका सबै साहित्य जनताको निम्ति कागजका खोष्टा मात्रै हुन् । प्रतिक्रियावादी साहित्य जनता र क्रान्तिको लागि ‘मन्दविष’ हो । जनताको साहित्य वर्गीय र राजनैतिक प्रचार हो । ‘के जनताको साहित्य ‘प्रचार साहित्य’ हो ?’ शीर्षकको लेखमा प्रचार साहित्यबारे राम्रोसँग व्याख्या गरिएको छ ।
एक देशको शोषणविरोधी सङ्घर्षबाट अर्को देशका जनताले शिक्षा लिन्छन् र विजय हासिल गर्छन् । एक देशका जनताको सङ्घर्षलाई अर्को देशका जनताले समर्थन र सहयोग गर्छन् । यस्तो अवस्थामा मजदुर–किसान र जनताका लेखक, कवि र कलाकारहरू पनि अर्को देशका जनताको सङ्घर्षलाई समर्थन र सहयोग गर्नबाट अलग्ग रहन सक्दैनन् । विदेशमा भइरहेको स्वतन्त्रता र जनसङ्घर्षलाई समर्थन गर्नु अन्तर्राष्ट्रिय कर्तव्य हो । मजदुर–किसान र जनता अन्तर्राष्ट्रवादी हुन् । साहित्यकारहरूले पनि त्यसलाई मन पराउनुपर्छ । त्यसकारण, साहित्यकारहरू पनि अन्तर्राष्ट्रवादी हुन् । ‘साहित्यकारहरूको अन्तर्राष्ट्रिय कर्तव्य’ शीर्षकको लेखमा साहित्यकारहरूलाई आफ्नो देशको साथै अन्य देशको सङ्घर्ष र आन्दोलनको समर्थन एवम् सहयोगमा साहित्य रचना गर्न आव्हान गरिएको छ ।
जनताको साहित्यमा विचार पक्ष बलियो हुनुका साथै कला पक्ष पनि उत्तिकै बलियो भयो भने मात्र जनतामा त्यसले छिटो र गहिरो प्रभाव पार्न सक्छ । राम्रो लय र भाका भएका गीतहरू जनताले छिट्टै टिप्छन् र मन पराउँछन् । मजदुर–किसान र जनता आफै महान् कलाकार हुने भएकाले जनताका साहित्यकारहरूले तिनीहरूबाटै शिक्षा लिन्छन्, तिनको नम्रतापूर्वक पछि लाग्छन् र तिनकै बत्ति बन्छन् । ‘जनताको साहित्यमा कलापक्षको महत्व’ शीर्षकको लेखमा साहित्यमा विचारसँगै कलापक्षको पनि महत्व भएकोबारे स्पष्ट पारिएको छ ।
तसर्थ, मजदुर–किसान र जनताका असल, कर्मठ र प्रिय लेखक वा साहित्यकार बन्ने हो भने जनताका प्रिय साहित्यकार हरिबहादुर श्रेष्ठद्वारा लिखित जनताको साहित्य र साहित्यकार पुस्तिका अध्ययन र छलफल गरी व्यवहारमा कार्यान्वयन गर्नु आवश्यक छ ।
अहिले विश्वभरि कोरोनाको दोस्रो लहर फैलिएको छ । भारत र नेपालको खुला सिमानाको कारण नेपालमा पनि कोरोना समुदायस्तरमा फैलिसकेको छ । यस्तो अवस्थामा जनताका साहित्यकारहरू चुप लागेर बस्न सक्तैनन् । कोभिड महामारीविरुद्ध लड्न ओली सरकारले प्रभावकारी व्यवस्थापन गर्न सकेन, बेलैमा नेपाल–भारत सिमानामा क्वारेन्टिन र आइसोलेसन केन्द्र बनाएन, शासक दलहरू सत्ता चलखेलमा मात्र केन्द्रित भए । समाजवादी देश क्युवा र चीनले महामारी नियन्त्रणको निम्ति चिकित्सक, चिकित्सा सामग्री तथा औषधीमार्फत सहयोगी हात विश्वभर बढाइरहेका छन् । यस्ता विषयमा मजदुर–किसान र जनताका लेखक एवम् साहित्यकारहरूले सशक्त कलम चलाउनु आवश्यक छ । यसले नेपाली जनताले समयमै सचेत र सजग हुने मौका पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *