भर्खरै :

सांसद सुवालद्वारा स्वास्थ्यमन्त्री त्रिपाठीको ध्यानाकर्षण

काठमाडौँ, २ जेठ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई मोबाइलमार्फत भक्तपुर अस्पताल, ख्वप अस्पताललगायत कोभिड–१९ बिरामी उपचार भइरहेका अस्पतालहरूमा अक्सिजन र भेन्टिलेटरको अभाव हुँदा बिरामीको मृत्यु भइरहेको तर्फ ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले उद्योग विभागका महानिर्देशक जीवलाल भुसालको सार्वजनिक अभिव्यक्तिअनुसार काठमाडौँ उपत्यकाभित्र ४७ हजार थान अक्सिजन सिलिन्डर हुनुपर्नेतर्फ मन्त्री त्रिपाठीको ध्यानाकर्षण गराउँदै सङ्क्रमितहरू अक्सिजन र भेन्टिलेटरको अभावमा मृत्यु भइरहेकोमा सरकार टुलुटुलु हेरिरहेको गलत छ भन्नुभयो ।
सांसद सुवालले प्रधानमन्त्री केपी ओलीका प्रमुख निजी सचिव इन्द्र भण्डारीलाई मोबाइलमार्फत देशभरिका अस्पतालहरूमा अक्सिजन र भेन्टिलेटर नपाएर सङ्क्रमितहरू मृत्यु भइरहेको उल्लेख गर्दै जनताको गुनासो प्रम ओलीसम्म पु¥याएर सङ्क्रमितहरूलाई अक्सिजन र भेन्टिलेटर उपलब्ध गराउन आग्रह गर्नुभयो ।
सांसद सुवालले प्रम ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको मोबाइलमा सम्पर्क गरी सङ्क्रमितहरूको अक्सिजन र भेन्टिलेटर अभाव भएको जानकारी गराउन खोज्दा दुवैको मोबाइल नउठेको हुँदा मेसेज गरी सङ्क्रमितको समस्या सम्बोधन गर्न ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुवालले औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईलाई मोबाइलमार्फत सङ्क्रमितको लागि अक्सिजन र भेन्टिलेटर व्यवस्था गर्न सम्पर्क गर्न खोज्दा महानिर्देशक भट्टराईको मोबाइल अफ थियो ।
एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य शेरबहादुर तामाङले यही जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनबारे कुरा सुरू गर्नुभएपछि सांसद सुवालले भक्तपुर अस्पताल र ख्वप अस्पतालमा अक्सिजन र भेन्टिलेटरको पर्याप्त व्यवस्था गर्नुपर्ने र सङ्क्रमित अक्सिन नपाउँदा मृत्यु भइरहेको तर्फ सांसद तामाङमार्फत प्रम ओलीको ध्यानाकर्षण गराउनुभयो ।
सरूवा रोग केन्द्र टेकुका डाक्टरहरू एक लिटर भए पनि अक्सिजन ल्याऊ, बिरामीको मृत्यु हुन लाग्यो भनी याचना गरिरहेका छन् । बाग्मती प्रदेशको राजधानी हेटौँडामा पनि अक्सिजनको अभावमा उपचारमा समस्या भइरहेको छ । सुर्खेतमा अक्सिजनको चरम अभाव भएपछि कर्णाली प्रदेश अस्पतालमा बिरामी भर्ना बन्द छ । लुम्बिनी प्रदेशमा अक्सिजन सिलिन्डर घर–घरमा राखिएको हुँदा धेरै सङ्क्रमितको ज्यान गुमेको छ । गण्डकी प्रदेशमा भेन्टिलेटर गोदाममा राखिँदा सङ्क्रमितहरू अस्पतालमा छटपटिरहेका छन् ।
महामारीको घडीमा सरकारको हस्तक्षेपकारी भूमिका हुनुपर्नेमा सङ्क्रमितहरूको मृत्यु भइरहँदा समेत सरकार थाहा नपाएको जस्तो बसेको निन्दनीय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *