कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
यसो गम खाएँ । आजको विश्व ब्रह्माण्डमा मूल समस्या भनेको दुइटा जस्तो लाग्यो । एउटा हो अर्काको कमाइमात्र खाने र अर्को हो आफ्नो रगत–पसिनाको कमाइ खान नपाउने । आफ्नो परिश्रम, बुद्धि एवम् पसिना खर्च गरी कमाएको प्रतिफल आफू र आफ्नो परिवारलाई नपुगी दिन्न भन्ने चेत एकथरीमा र अर्काथरीमा अर्काको रगत–पसिना परेको कमाइ त्यसै खानु हुँदैन भन्ने चेत कसरी भर्ने ? हो भन्ने लाग्यो मलाई । यो हेर्दा, सुन्दा र लेख्दा सजिलो लाग्ने । तर, साँच्चै गर्नैैपर्दा सजिलो नहुने मात्र हो र ? असजिलो पनि हुनेरहेछ । अर्काको कमाइ सित्तै खानु हुँदैन । त्यो सजिलो पच्दैन । अर्काको परिश्रमको मूल्य नतिरी हुँदैन भन्ने चेत त थियो पहिलो । तर, संसारले प्रगति ग¥यो भनिन्छ भन्नलाई त । यो दुनियाँ हेर्दा यो मुद्दामा प्रगति भएजस्तो लागेन । अर्काको रगत–पसिना खानेहरूकै बोलवाला छ त । यसर्थ यो मामिलामा अरू गम्भीर चेत, चिन्ता र चिन्तनको जरूरी भएजस्तो लाग्यो । यता अर्काको पसिनाको कमाइ खानेहरूको त झन्डैझन्डै वर्षमा एकपल्ट स्वीट्जरल्यान्डको डाभोस भन्ने सहरमा जम्मा भई भेटघाट गरी हाम्रा अगाडि समस्या के के छन् त ? तिनको उपचार के हो ? भन्ने कुरा गरिन्छ ।
सचेतना बढाउने कसरी ?
यता आफ्नो कमाइ खान नपाउने वर्ग जो सारै ठूलो छ –बीच भने यस्ता डाभोस बैठकहरू हुँदैनन् भएका छैनन् । हो ! आजको युगमा शोषण गर्न हुँदैन भनिन्छ, परिश्रम गर्नेहरूको रगत पसिनाको मूल्य तिर्नुपर्छ भनिन्छ तर त्यो भन्नलाई मात्र भनिएजस्तो छ । काम गरिखानेहरूको डाभोस सम्मेलन कहिल्यै भएको छैन र हुने लक्षण पनि देखापर्दैन । हो ¤ त्यो डाभोस सम्मेलनको अगाडि अक्सफाम भन्ने एउटा संस्थाले संसारभरिकै आर्थिक एवं विकासको मुद्दा कतातिर फर्कन खोज्दै छ । नयाँ प्रवृत्तिहरू छन् छैनन् । भए के के छन् ? तिनको समाधान के के हुनसक्छन् भनी विज्ञहरूबीच छलफल गराइन्छ र रणनीति बनाइन्छ । जसले अर्काको रगत–पसिनाबाट आफू सम्पन्न एवं शक्तिशाली भएको छ । फेरि त्यो सम्पन्नताले निरन्तरता पाउने जुक्ति पत्ता लगाउँछन् र भविष्यलाई निर्धक्क बनाउँछन् । तर, आफ्नो कमाइ आफू खान नपाउनेहरूको सङ्ख्या यति ठूलो छ व्यवस्थापन गर्न पनि सजिलो छैन । फेरि आफ्नो परिश्रमको कमाइ आफूलाई पुगेपछि अरूलाई दिने संस्कार कसरी बसाल्ने ? यो मुद्दाले धेरैको टाउको दुखाएको छ । पसिना बगाउनेहरूको पेट कहिल्यै नभरिने तर अर्काको कमाइ खाएर अजीर्ण भई पाचक खाएर सन्तुष्ट हुनेहरूको कब्जामा छ आजको सिङ्गो संसार । यसका निम्ति सचेतना बढाउने कसरी ?
बिलगेटको कम्पनी भूतपूर्व भो
आजको दुनियाँ आफैँले गरेको अति उपभोगवादले घायल भइरहेको छ । प्रकृति र हामीबीचको असन्तुलन आजको प्रमुख समस्या हो भन्ने निष्कर्ष हो मेरो । आजको मान्छे जातले आफ्नो आजको सुख–सुविधाको निम्ति प्रकृतिको अधिकभन्दा अधिक शोषण ग¥यो । प्रकृतिउपर क्षतविक्षत गरायो । खनिज, इन्धन यति धेरै झिक्यो, यति धेरै झिक्यो जसले संसारका केही भूभाग मान्छे बस्न लायक नै नहुने भइसक्यो । जब पृथ्वी नै प्राणी बस्न लायक बन्दैन तब मान्छेले प्रगति ग¥यो कसरी भन्ने ¤ संसारमा जब जब प्रकृतिउपर अन्याय हुन्छ । तब तब प्रकृतिले मानव समुदायप्रति नै विद्रोह गर्छ । मलाई लाग्छ, अहिलेको कोरोनाको निर्मम ताड्ना जुन छ प्रकृतिले प्राणी जातिले गरेको अति दोहन, अति शोषण, अति उपभोगविरूद्धको विद्रोह हो । मान्छे कस्तो विचित्रको प्राणी रहेछ ? भर्खर भर्खरैकै कुरा हो संसारका एकताकाका धनी, सबैभन्दा धनी बिल गेट र मेलिन्डा गेट दम्पत्तिले अघिल्लो साता पारपाचुके गरेछन् । अहिले संसारभरका चौथा धनी बिल गेटसँग अहिले १२४ अर्ब डलर छ रे ! २७ वर्षअघि विवाह बन्धनमा बाँधिएको यो दम्पत्तिले तीन जना योग्य सन्तान हुर्काए रे । ६५ वर्षे गेट र ५६ वर्षे मेलिन्डा अब फेरि अरूसँग बिहे गर्छन् गर्दैनन् थाहा छैन । तर, फाउन्डेसनको कामलाई भने निरन्तरता दिन्छन् रे । उनीहरूले आफ्नो गोपनीयता र निजी जीवनमा हस्तक्षेप नगर्न सबैलाई आग्रह गरेका छन् । यो मान्छेको दृष्टान्त हो ।
विवाह यौनमात्र होइन सहारा !
मान्छेको निजी जीवन के हुँदोरहेछ । गोप्यता के हुँदोरहेछ ¤ बिल गेट र मेलिन्डाका पूर्वदम्पत्तिको यो आग्रह बढेपछि गोप्यता के हुँदो रहेछ भन्ने झन् खसखस लाग्यो । लोग्ने–स्वास्नीबीच केही गोप्यता होला र ? दम्पत्तिबीच पनि गोप्यता हुने भए कोसँग गोप्यता नहोला त ! संसारमा । मैले बुझेसम्म लोग्ने–स्वास्नी भनेको सम्पूर्ण समर्पण हो एकको अर्काप्रति । सम्पूर्ण समर्पण नभइकन सक्कली दम्पत्ति नै हुँदैन, एकल श्रीमती र एकल श्रीमान् हुने हाम्रोजस्तो समाजमा । जुन समाजमा पारपाचुके प्रथा कानुनसम्मत छ र छ धेरै चल्तीको पनि । मित्रहरूको जमघटमा नवदम्पत्तिले आफ्नी पूर्वपत्नीलाई मेरी पूर्वपत्नी हो, आफ्नो पूर्वपतिलाई मेरो पूर्वपति है भनी नवपतिसँग र नवपत्नीसँग परिचय गराइनु सामान्य शिष्टाचार मानिन्छ । त्यो समाजमा पनि पृथक भएका पूर्वपति र पूर्वपत्नीहरूले आफ्नो गोप्यता र निजी जीवनमा हस्तक्षेप नगर्न आग्रह गरिने रहेछ । पारपाचुके गरेको नयाँ जोडी बिल गेट र मेलिन्डाले आफ्ना निजी जीवनमा र गोप्यतामा हात नहाल्न बिन्ती गरेका छन् । पूर्वी संसार र पश्चिमी संसारमा विवाह, दाम्पत्य जीवन र यौन क्रियाशीलता विषयमा आ–आफ्नै मान्यता र परम्परा छन् । मैले बुझेसम्म पूर्वी समाजमा विवाह, दम्पत्ति भनेपछि यौनप्रधान मानिन्छ । तर पश्चिममा एउटाको अर्को सहारा मानिँदो रहेछ ।
Leave a Reply