भर्खरै :

शेयर बजार पुँजीवादी अर्थव्यवस्थाको स्नायु

काठमाडौँ, २६ जेठ । नेपालमा मङ्गलबार एकदिन १६ अर्ब ९५ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । शेयर खरिद बिक्रीमा लगानी बढेकोले पुँजी बजारमा लगानी भित्रिएको भनियो । शेयर खरिद बिक्री पुँजीवादी अर्थव्यवस्थाको स्नायु प्रणाली अर्थात् धनी र गरिबको खाडल बढाउने हो । पुँजीवादी अर्थव्यवस्थाले शेयर खरिद बिक्रीलाई प्रवद्र्धन गर्ने अनेक उपाय गरेको छ । नेपाल धितोपत्र बोर्डले पनि आफ्नो २९ औँ वर्षको अवसरमा नयाँ वर्षको रणनीतिक योजनाअन्तर्गत निजी क्षेत्रको अर्को स्टक एक्सचेन्ज स्थापना गर्न अध्ययन गराउँदै छ । यसले पुँजीवादी अर्थ व्यवस्थालाई थप मलजल गर्ने अर्थात् गरीब र धनीबीचको खाडल बढ्नेछ ।
पुँजीवादी अर्थव्यवस्थाका पक्षधर प्रम र अर्थमन्त्रीहरू यसलाई ‘पुँजी बजारमा देखिएको उत्साह’ भनी तारिफ गर्छन् । परिणाम आगामी दिनमा पुँजीवादी अर्थव्यवस्थाको सञ्चालक समितिको रूपमा सरकारहरू नाङ्गोरूपमा थप सार्वजनिक हुनेछन् । शेयरमा लगानी दोस्रो पक्षलाई (कामदार वर्ग) काम गराएर नाफा कुम्ल्याउने व्यवस्था हो । यसले धनी (पुँजीपति) वर्गलाई अल्छि बनाउँछ । अहिले शेयरमा लगानी जलविद्युत्, विकास बैङ्क र वित्त समूहमा बढेको देखिन्छ ।
नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा जोखिम बहन गर्नसक्ने क्षमतालाई ध्यानमा राखेर सतर्क भएर लगानी गर्न बरोबर आग्रह गरेको छ । शेयर कारोबारमा लामो समय लागेका एकजनाले धेरै लोभ गर्ने मान्छे डुब्ने जोखिम बढ्ने भएकोले शेयर बेचेर बाहिर निस्केको बताए । अहिले उनी दिनको १ लाख रूपैयाँ घाटा भइरहेको (शेयर मूल्य वृद्धि हुँदा) दाबी गर्छन् ।
पुँजीवादी अर्थव्यवस्थामा बीमाको व्यवस्था पनि अर्को ठगी धन्दा हो । आफूलाई अलिकति घाटा भएपछि निजी बीमा कम्पनीहरू बीमा योजना नै खारेज गर्छन् । कोभिड–१९ सङ्क्रमित बीमा व्यवस्था अहिले खारेजजस्तै छ । बीमा कम्पनीको शेयर खरिद बिक्रीमा पनि लगानी बढ्दो छ । राज्यको जिम्मेवारी एक एक पाइला गरी निजी क्षेत्रलाई दिने पुँजीवादी अर्थव्यवस्थाको नीति नेपालमा पनि बढ्दो छ । बहुदलयताका सरकारहरूको बजेटमा सार्वजनिक संस्थान निजीकरण यसको थप उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *