भर्खरै :

समाज सेवामा समर्पित शिल्पकारको सम्झना

विकास शिल्पकार आफ्नो पिता लक्ष्मीनारायण शिल्पकारसँग
भक्तपुरको सूर्यविनायकमा उबेला निकै कम जनघनत्व भएको बस्ती थियो । भक्तपुर नगरबाट विस्तारै मानिसहरू बसाइँ सर्दै थिए । हामी पनि २०४० सालतिर भक्तपुर नगरपालिका हाल वडा नं १ बाट बसाइँ सरेर सिपाडोल १ (हाल सूर्यविनायक नगरपालिका हाल वडा ८) मा स¥र्याैँ । सुरुका दिनहरूमा सूर्यविनायक चोकदेखि गणेश मन्दिरसम्म मुश्किलले २० घर थिए । घरहरू बढ्दै जाँदा टोल सुधार समितिको आवश्यकता आँैल्याएर टोलका अग्रजहरू मिलेर २०५० सालतिर लक्ष्मीनारायण शिल्पकारको अध्यक्षतामा बलाँक्व टोल सुधार समिति गठन भयो । भक्तपुर नगरभित्र हुँदा पनि उहाँ सामाजिक गतिविधिमा संलग्न हुनुहुन्थ्यो । समितिले नयाँ बस्ती भएकै कारण बाटोका पोलहरूमा बत्ती राख्ने, सरसफाइ, ढलनिकासदेखि विभिन्न कार्यहरू गरेको थियो । त्यो समितिले धिमे बाजाहरू सिक्ने, सिकाउने पनि गरेको थियो । उहाँ समुदायको लागि समाज सेवाका प्रेरणा बन्नुभयो । त्यसैले होला, २०५८ सालतिर हामी टोलका बच्चाहरू मिलेर एउटा बाल विकास समाजको स्थापना गर्याँै । यसको नेतृत्व मैले गर्ने मौका पाएँ । हामीले त्यसबेला सरसफाइ, दौड प्रतियोगिताजस्ता कार्यक्रम गरेका थियौँ । हामीलाई टोलका अग्रजहरूले साथ दिए । टोल सुधार समितिमा ४–५ वर्षको सेवापछि उहाँ व्यक्तिगत व्यापार व्यवसायमा लाग्नुभयो । उहाँले पछि आफ्नो जिम्मेवारी समाज सेवामा लाग्नुभएका समकालीन साथीलाई हस्तान्तरण गर्नुभयो र नयाँ कार्यसमिति गठन गर्नुभयो । आजकल सूर्यविनायकमा बस्ती विस्तार हुँदै जाँदा एउटै ठाउँमा पनि धेरै टोल सुधार समितिहरू छन् । केही वर्षयता फेरि उहाँको नेतृत्वमा टोलका अग्रजहरूले टोल सुधार समितिलाई क्रियाशील बनाए ।
हामी २०६०–६१ सालतिर व्यक्तिगत कारण फेरि बसाइँ सर्दै पाण्डोबजारमा (हाल सूर्यविनायक नगरपालिका वडा नं ६) मा सर्यौँ । पाण्डोबजारमा सरेपछि उहाँ पाण्डोबजार खानेपानी उपभोक्ता समितिलाई सक्रिय बनाएर खानेपानीको व्यवस्थापनमा टेवा पु¥याउने कार्यमा लाग्नुभयो । उहाँले त्यस उपभोक्ता समितिको उन्नति र विकास प्रवद्र्धनको निम्ति टोलको राजनैतिक र सामाजिकरूपले सक्रिय व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्नुभयो । काम गर्न नसके पदमा नबस्ने र काम गर्न इच्छुकहरूलाई मौका दिने उहाँको स्वभाव थियो । नेतृत्व पदमा नरहे पनि उहाँले कार्यसमिति सदस्य भएर सकेको सहयोग गरिरहनुभएको थियो । अहिले समितिले सिपाडोल वडा न ६ मा राम्रैसँग खानेपानीको व्यवस्थापन र वितरण गरेर त्यस क्षेत्रका जनतालाई सेवा दिइरहेको छ ।
एक जना दिदी सुस्त मनस्थितिको हुनुहुन्छ । उहाँ वयस्क हुनुभए पनि सोच्ने क्षमता बच्चाको जस्तै छ । समाजसेवी शिल्पकारले सुस्त मनस्थिति भएको बच्चाहरूका अभिभावकहरूको चुनौती र समस्या बुझेर सुस्त मनस्थिति अभिभावक सङ्घको संस्थापक अध्यक्ष भएर योगदान दिनुभयो । सुस्त मनस्थिति भएका बच्चाहरूलाई सङ्घको माध्यमबाट विभिन्न कार्यक्रम गरेर हौसला प्रदान गर्नेदेखि लिएर खेलकुद प्रतियोगिता गर्दै शारीरिकरूपले सबल बनाउने कार्य गरिरहनुभयो । दुई कार्यकालपछि नेतृत्व हस्तान्तरण गरिए पनि हालसालै उहाँलाई नै अध्यक्ष बनाएर सङ्घले आफ्नो गतिविधि गर्दै आएको थियो ।
२०६२ माघ १० गते उहाँलगायत ९–१० जना साथीहरू मिलेर सामाजिक सेवाको अवधारणाका साथ शुभेच्छा सहकारी संस्थाको स्थापना भयो । उहाँ संस्थाको संस्थापक अध्यक्ष बन्नुभयो । उहाँले संस्थालाई निरन्तर सेवा गर्दै जानुभयो । ३०–४० जना सदस्यबाट सुरु भएको संस्थामा अहिले सदस्य सङ्ख्या १०००–१५०० पुगेको छ । संस्थामा आइपरेका अनेक कठिनाइ र चुनौतीहरू नआत्तिकन उहाँले सामना गर्नुभयो । संस्थाको विकासको निम्ति उहाँ सदस्यहरूको आर्थिक समस्या समाधानको निम्ति घाम पानी नभनिकन लागिरहनुहुन्थ्यो । इमानदार र कुशल नेतृत्वकै कारण उहाँले तीन कार्यकाल अर्थात् ९ वर्ष अध्यक्ष भएर सेवा गर्नुभयो । पछि प्रबन्धको रूपमा काम गर्नुभयो । संस्थामा सदस्य विस्तारदेखि लिएर संस्थाको पुँजी विस्तारको निम्ति उहाँ सधैँ तल्लीन हुनुहुन्थ्यो । संस्थालाई बिग्रिन नदिन हरेक सदस्यहरूको आर्थिक नियतिलाई सूक्ष्मरूपले अध्ययन गरेर ऋण प्रवाह गर्नुहुन्थ्यो ।
उहाँ नेपाल मजदुर किसान पार्टीका सच्चा अनुयायी हुनुहुन्थ्यो । उहाँ त्यस क्षेत्रमा प्रत्यक्ष अप्रत्यक्षरूपमा पार्टीको सिद्धान्तको प्रचारप्रसारमा लागिरहनुहुन्थ्यो । फलतः २०५१ सालको मध्यावधि चुनावमा उहाँले भक्तपुर क्षेत्र नं २ को चुनाव प्रचारप्रसार समिति सदस्यको जिम्मवारी पाउनुभएको थियो । पछि २०७४ सालको स्थानीय निकायको निर्वाचनमा नेमकिपाको तर्फबाट सूर्यविनायक नगरपालिका वडा नं ६ बाट वडा सदस्यको रूपमा उठ्नुभएको थियो । पार्टीले दिएको हरेक जिम्मेवारी उहाँ इमानदारीपूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँ कहिले पनि सैद्धान्तिकरूपमा विचलित हुनुभएन, लोभलालचमा नफसी सदैव नेपाल मजदुर किसान पार्टीकै सच्चा र इमानदार सामाजिक कार्यकर्ता रहिरहनुभयो ।
निषेधाज्ञाका बीच संस्थाको कार्यालयमा हरेक दिन केही घण्टा सेवाग्राहीहरूका निम्ति समय दिइरहनुहुँदा साथै टोल सुधार समितिका सामाजिक कार्यहरूमा संलग्न भइरहँदा उहाँ पनि कोरोना भाइरसको सिकार हुनुभयो । उहाँ आफ्नो व्यक्तिगत जीवनमा परिवारबाहेक आफ्नो दायित्व पूरा गर्दै सामाजिक क्षेत्रमा लागिरहनुभयो । उहाँ अरूलाई दुःख दिन हुन्न, कसैको एक पैसा खानु हुन्न, आफ्नो कर्तव्य र अधिकारको बीच सधैँ सन्तुलन मिलाउनुपर्छ, ठूलालाई आदर र सानालाई माया गर्नुपर्ने व्यावहारिक शिक्षा दिइरहनुहुन्थ्यो । उहाँ सही सिद्धान्तमा अडिग रहनुहुन्थ्यो । पद र पैसा होइन, निष्ठापूर्वक आफ्नो कर्तव्यमा लाग्न जहिले पनि उहाँ प्रेरणा दिनुहुन्थ्यो । मिलनसार लक्ष्मीनारायण शिल्पकारप्रति हार्दिक श्रद्धाञ्जली ।

One response to “समाज सेवामा समर्पित शिल्पकारको सम्झना”

  1. Rabin pancha says:

    Well personalism ,a good leader

Leave a Reply

Your email address will not be published. Required fields are marked *