भर्खरै :

उत्तर भारत र दक्षिण भारतबीच अन्तरको वृत्तान्त

रामचन्द्र गुहा

हालसालै सन् १९६६ मा प्रकाशित वाल्टर क्रोकरको पुस्तक ‘नेहरूः अ कन्टेम्पोरारीज इस्टिमेट’ पुनः पढेँ । भारतका प्रथम प्रधानमन्त्रीको जीवनी र कृतित्वबारे त्यो पुस्तक एकै ठेलीमा प्रकाशित उत्कृष्ट पुस्तक हो । त्यो पुस्तकले नेहरूको देशबारे पनि धेरै रोचक जानकारी दिएको छ ।
म आफै भारतको दक्षिण भागको हुँ । मेरो ठाउँबारे पुस्तकमा यस्तो लेखिएको छः “भारत गणराज्यमा दक्षिण भारतले कमैमात्र प्राथमिकता पाएको छ । यसो हुनु भारतको लागि हानिकारक हो र दक्षिण भारतप्रतिको अन्याय हो किनभने केही महत्वपूर्ण विषयमा दक्षिण भारत अब्बल बन्दै आएको छ । जस्तैः दक्षिण भारतमा तुलनात्मकरूपमा हिंसा कम छ, मुसलमानविरोधी असहिष्णुता त्यहाँ कम छ, विश्वविद्यालयहरूमा अनुशासनहीनता र मारपिट पनि कमैमात्र हुने गर्छ, दक्षिण भारतको शैक्षिक स्तर उत्तम छ, त्यहाँ उत्तम प्रशासन छ, सरसफाइ छ । भ्रष्टाचार पनि अलि कम छ । अनि हिन्दू पुनःउदयको प्रभाव पनि कमै देखिन्छ ।”
क्रोकरले यी शब्द लेखेको आधा शताब्दीपछि अर्थशास्त्रीहरू सामुएल पल र कला सीथाराम श्रीधरले लेखेको पुस्तक ‘द पाराडक्स अफ इन्डियाज नर्थ–साउथ डिभाइड’ (सेज प्रकाशन, २०१५) प्रकाशित भयो । अधिकांशतः आधिकारिक स्रोतका तथ्याङ्कको मनग्य प्रयोग गरी त्यो पुस्तकले आर्थिक विकासको सन्दर्भमा उत्तर भारतको तुलनामा दक्षिण भारतले धेरै काम गरेको तर्क गरेको छ ।
पल र श्रीधरले दुई खालको तुलना गरेका छन् । पहिलो, उनीहरूले दक्षिण भारतको प्रमुख प्रान्त तालिमनाडु र उत्तर भारतको प्रमुख प्रान्त उत्तर प्रदेशबीच तुलना गरेका छन् । त्यसपछि तुलनात्मक अध्ययनलाई अलि फराकिलो बनाउँदै उनीहरूले दक्षिणका चार प्रान्त (तामिलनाडु, कर्णाटक, अविभाजित आन्द्र प्रदेश र केराला) र उत्तरका चार प्रान्त (उत्तर प्रदेश, बिहार, मध्य प्रदेश र राजस्थान) बीच तुलना गरे ।

दुरी
पल र श्रीधरको सन् १९६० सालको तथ्याङ्कको प्रयोगबाट तुलना सुरू गरेका छन् । त्यो वर्ष तामिलनाडुको प्रतिव्यक्ति आय उत्तर प्रदेशको तुलनामा ५१ प्रतिशतले बढी थियो । सन् १९८० दशकको सुरूमा यो दुरी अलि साँघुरिएर ३९ प्रतिशतमा झ¥यो । तर, त्यसपछिका दशकहरूमा भने दुरी अझ फराकिलो बन्दै गयो । सन् २००५ मा तामिलनाडुका जनताको औसत आम्दानी उत्तर प्रदेशका जनताको औसत आम्दानीभन्दा १२८ प्रतिशतले बढी थियो । (अनलाइनमा उपलब्ध तथ्याङ्कअनुसार सन् २०२१ मा यो दुरी झन्डै ३०० प्रतिशतमा पुगेको छ ।)
दक्षिण र उत्तर भारतलाई एक–एक एकाइ मान्दा सन् १९६०–६१ मा दुई क्षेत्रको प्रतिव्यक्ति आम्दानी ३९ प्रतिशतले अन्तर रहेको पुस्तकमा उल्लेख छ । चालीस वर्षपछि त्यो अन्तर १०१ प्रतिशत पुगेको छ । अहिले सन् २०२१ मा यो खाडल अझ फराकिलो बनेको छ । पल र श्रीधरले सङ्कलन गरेको तथ्याङ्कअनुसार उत्तरका प्रान्तहरूको औसत वार्षिक प्रतिव्यक्ति आम्दानी ४ हजार अमेरिकी डलर छ । दक्षिणका प्रान्तहरूको औसत वार्षिक प्रतिव्यक्ति आम्दानी दस हजार अमेरिकी डलर छ । अर्थात्, उत्तरको तुलनामा दक्षिणको औसत वार्षिक प्रतिव्यक्ति आम्दानी २५० प्रतिशतले माथि छ ।
पल र श्रीधरको तथ्याङ्क विश्लेषणले उत्तरको तुलनामा दक्षिणले दुई वटा क्षेत्रमा धेरै राम्रो उपलब्धि हासिल गरेको देखाएको छ । महिलाको साक्षरता दर, शिशु मृत्यु दर र जीवनको आयुजस्ता मानव विकासका सूचकहरूमा दक्षिणले प्रगति गरेको छ । दोस्रो, प्राविधिक शिक्षा, विद्युत् उत्पादन र सडकको गुणस्तर र फैलावटजस्ता आर्थिक विकासको लागि अहम् महत्वको क्षेत्रमा पनि दक्षिणले उत्तरको तुलनामा प्रगति गरेको छ । पहिलो सूचकहरूले आधुनिक अर्थतन्त्रमा सहभागी बन्ने स्वस्थ र शिक्षित नागरिक तयार गर्छ भने दोस्रो सूचकहरूले उत्पादन र सेवा क्षेत्रमा उत्पादकत्व र प्रभावकारिताको उच्च दर हासिल गर्नसक्ने बनाउँछ ।
सुशासनको सूचकका आधारमा पनि उत्तरको तुलनामा दक्षिणले दिगोरूपमा प्रभावकारी काम गरेको पल र श्रीधरले निष्कर्ष निकालेका छन् । दक्षिणका राज्यहरूमा सार्वजनिक विद्यालय र सरकारी अस्पतालहरू राम्ररी सञ्चालनमा छन् । सार्वजनिक विद्यालयमा विद्यालय छोड्ने विद्यार्थीहरूको सङ्ख्या न्यून छ । त्यस्तै सरकारी अस्पतालहरूमा चिकित्सकको सङ्ख्या धेरै छ र औषधि पनि मनग्य छ । उत्तरका सहरी झोपडपटी क्षेत्र (स्लम एरिया) को तुलनामा दक्षिणका त्यस्ता क्षेत्रमा शौचालयको सङ्ख्यामात्र धेरै होइन, शौचालयहरूको सरसफाइ पनि गतिलो भएको पाइयो । दक्षिणमा त्यस्ता क्षेत्रको लागि खानेपानी पनि सहज उपलब्ध छ ।
पल–श्रीधरको पुस्तकका धेरै चकित पार्ने निष्कर्षमध्ये उत्तर–दक्षिणको अन्तर तुलनात्मकरूपमा पछिल्लो मामिला हो भन्ने निष्कर्ष पनि हो । खासमा अहिले विश्वास गर्न गा¥हो हुनसक्छ– सन् १९६० मा ग्रामीण गरिबीको घटना उत्तर प्रदेशको तुलनामा तामिलनाडुको बढी थियो । सन् १९८० को दशकबाट मात्र उत्तरको तुलनामा दक्षिणले प्रगति गर्न थालेको थियो । अनि सन् १९९० को दशकमा मात्र दुई क्षेत्रबीचको अन्तर फराकिलो बन्दै गएको हो ।

पल–श्रीधरको अध्ययन अङ्कमा आधारित थियो । त्यसले मुख्यतः समाजशास्त्री वा गुणात्मक विश्लेषणलाई ओझेलमा पारेको थियो । दक्षिणमा सामाजिक सुधार आन्दोलनको महत्वबारे पुस्तकमा चर्चा गरिएको छ । तर, तुलनात्मकरूपमा न्यून हिन्दू–मुसलमान द्वन्द्वबारे केही बोलेको थिएन । दक्षिण र उत्तर भारतका सामाजिक र आर्थिक विकासमा यस्ता नाटकीय अन्तर आउनु पछाडि यस्ता कुराले पनि पक्कै भूमिका खेलेको छ ।

भिन्न प्रक्षेपण
पल र श्रीधरको ढाँचाको आधारमा उनीहरूले वाल्टर क्रुकरको पुस्तकको उल्लेख नगर्नु कुनै आश्चर्यको विषय होइन । तथापि, सन् १९६० को दशकमा क्रुकरले चित्रण गरेको सांस्कृतिक पक्षले दक्षिण र उत्तरबीचको भिन्न विकासका प्रक्षेपण बुझ्न मद्दत गर्नसक्छ । सन् १९९१ मा भारतको अर्थतन्त्रको उदारीकरण भयो । यो नीति परिवर्तनबाट लाभ लिन दक्षिण उपयुक्त स्थानमा पुगिसकेको थियो किनभने ऊसँग दक्ष र स्वस्थ जनशक्ति थियो ।
सन् १९९० दशकदेखि २००० दशकसम्म तामिलनाडु र आन्द्र प्रदेशजस्ता प्रान्तहरूमा कलकारखाना, इन्जिनियरिङ कलेज, सफ्टवेयर केन्द्र र औषधि उत्पादन बढिसकेको थियो भने उत्तर प्रदेश र बिहारजस्ता प्रान्तहरू साम्प्रदायिक र जातीय द्वन्द्वको अन्त्यहीन चक्रमा रूमलिरहेका थिए । राम जन्मभूमि आन्दोलनको परिणामस्वरूप हिन्दुत्वको आतङ्क उत्तरमा फैलिसकेको थियो भने दक्षिणमा ती कुरा (पूर्णरूपमा नभए पनि) मूलतः थिएन ।
पछिल्लो समय दक्षिणको तुलनामा उत्तरले किन यति प्रगति गर्नसक्यो भन्ने कुरा बुझ्न इतिहासको लामो बाटो पर्गेल्नुपर्छ । विगतको दशकमात्र होइन, विगतको शताब्दीमै पनि चियाउनुपर्ने हुन्छ । व्यापार र यात्रुको रूपमा (उपनिवेशवादीको रूपमा होइन) विदेशीहरूको आगमन र समुद्रसँगको पहुँचको कारण अन्य क्षेत्रका जनताको तुलनामा दक्षिणका जनता खुला मनका छन् र जातीय घृणाको सोचाइ कम छ । त्यसपछि इतिहासको अलि वर आउने हो भने दक्षिणले भारत विभाजनको आतङ्क अनुभव गरेन । विभाजनको लामो समयसम्मको पीडाबाट पनि दक्षिण जोगियो ।
सामाजिक पक्षमा नियाल्दा ब्राह्मण प्रभुत्ववादविरूद्धको चुनौती दक्षिणमा धेरै अघि नै सुरू भएको थियो । श्रीनारायण गुरू र पेरियारजस्ता चिन्तकहरू जात र लिङ्ग दुवै सन्दर्भमा अझ माझिएको अवधारणाको लागि मलिलो माटो तयार बनाएका थिए । त्यही भएर दक्षिण भारतमा ज्यापु समुदायका धेरै मानिस पनि उद्योगी व्यापारी हुनु र श्रमशक्तिमा महिलाको ठुलो हिस्सेदारी हुनुको कुनै संयोगमात्र थिएन । त्यो सामाजिक सुधार आन्दोलनमा देखिने र दीर्घकालीन प्रभाव हो ।
आफ्नो विस्तृत र तथ्यपरक लेखमा समाजशास्त्री एलिस तन्सले ‘दक्षिण र उत्तर भारतबीचको सबभन्दा नाटकीय क्षेत्रीय अन्तर लैङ्गिक सम्बन्धमा हुने’ तर्क गर्छिन् । उत्तरका महिलाहरूको तुलनामा दक्षिणका महिलाहरूले ‘आफ्नो शिशु जोगाउने, लेखपढ गर्ने, ढिला विवाह गर्ने, आफ्नो मन खाएको श्रीमान खोज्ने, आफ्नो श्रीमानसँग आपसमा छलफल गर्ने, कम सङ्ख्यामा बच्चा पाउने, आफ्नै नाममा सम्पत्ति राख्ने, आफ्नो दाइजोमाथिको नियन्त्रण, साथीहरूसँग घुलमिल हुने, समुदायमा स्वतन्त्रतापूर्वक हिंड्ने र पुरूषकै समकक्षीमा काम गर्ने सम्भावना बढी हुने’ तन्सको भनाइ छ ।
पक्कै पनि दक्षिण पूर्ण छ भन्ने कुरा कदापि होइन । तामिलनाडुका धेरै क्षेत्रमा दलित समुदायमाथि धेरै थरीका विभेद र अपमान हुने गरेको छ । त्यसले तामिलनाडु प्रान्त र त्यहाँको राजनीतिक संस्कृतिलाई लज्जास्पद बनाएको छ । दक्षिणकै एउटा अर्को राज्य कर्णाटकको सामाजिक र राजनीतिक जीवनमा हिन्दुत्वले बिस्तारै प्रभाव फैलाउन थालेको छ । त्यसले पक्कै पनि सुखद प्रभाव पारेको छैन । सन् १९६० को दशकमा दक्षिणमा ‘केही कम भ्रष्टाचार’ भएको हुनसक्छ । अहिलेको उत्तर–उदारीकरणको युगमा खानी र पूर्वाधार क्षेत्रमा ठुलठुला ठेक्कापट्टा हुनथालेपछि हैदरावाद, बेङ्गालुरू र चेन्नाईमा राजनीतिक नेताहरू भारतका अन्य क्षेत्रका नेताहरूभन्दा कुनै पनि कोणबाट फरक छैनन् ।
तथापि, तथ्याङ्क आफैले धेरै कुरा बोल्छ । समानुपातिक हिसाबमा भन्दा भारतको राष्ट्रिय अर्थतन्त्रमा उत्तर भारतको तुलनामा दक्षिण भारतले धेरै बढी योगदान गर्दै आएको छ । केन्द्रीय सरकारलाई तिर्ने कर र राजस्वमा पनि उत्तरको तुलनामा दक्षिणको योगदान बढी छ । समग्रतामा भन्दा उत्तरमा बस्ने भारतीयहरूको तुलनामा दक्षिणमा बस्ने भारतीयहरू स्वस्थ छन् । राम्रो खाना खान्छन् । धनी छन् । शिक्षित छन् । अनि स्वास्थ्य सेवामा पहुँच सहज छ । धेरै उत्तरका जनतालाई यो कुरा थाहा छ । त्यसकारण उनीहरू उत्तर छोडेर दक्षिणतिर लाग्दै छन् । म बस्ने बेङ्गालुरू सहरमा हिन्द–गङ्गा तटीय मैदान वरपरबाट आएको झल्काउने थर भएका सफल व्यापारीहरू धेरै छन् । (उत्तरको लखनउ सहरमा तामिल वा कन्नाडी वा मलायाली थर भएका धेरै व्यापारी होला जस्तो मलाई लाग्दैन ।) तथ्य प्रमाणले मध्यम र श्रमिक वर्ग पनि उत्तरबाट दक्षिणमै बढी बसाइ सरेको देखिएको छ । तर, दक्षिणबाट उत्तर जानेको सङ्ख्या कम छ ।
“भारतीय गणराज्यमा दक्षिण भारतले कममात्र प्राथमिकता पाएको छ”, सन् १९६६ मा वाल्टर क्रुकरले लेखेका थिए । पचास वर्षपछि हामी भन्न सक्छौँ, कम्तीमा आर्थिक हिसाबमा दक्षिण भारतले ठुलो प्रगति गरेको छ । तुलनात्मकरूपमा दक्षिणले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ किनभने क्रुकर आफैले पनि दक्षिणको सामाजिक र साँस्कृतिक पक्षबारे सङ्केत गरेका छन् । ‘हिन्दू पुनःउदय’ भन्दा दक्षिणले शिक्षा र सुशासनमा बढी जोड दिएको उनको बुझाइ थियो ।
यद्यपि, पछिल्ला दशकमा दक्षिणले सामाजिक र आर्थिक क्षेत्रमा जस्तोसुकै प्रगति गरे पनि भारतको राजनीतिक जीवनमा त्यसले निकै कममात्र महत्व राखेको छ । भविष्यमा यो अझ ओरालो लाग्ने सम्भावना छ । लोकसभामा विभिन्न प्रान्तको निर्वाचन क्षेत्र सङ्ख्या जनसङ्ख्याको आधारमा हेरफेर गर्ने प्रस्तावबारे छलफल र बहस चलिरहेकै छ । यदि निर्वाचन क्षेत्र हेरफेर भए केराला र तामिलनाडुजस्ता आफ्ना नागरिकको ठिक्कै ढङ्गले सेवा गरिरहेका राज्यहरूले केन्द्रीय सरकारको नीति निर्माणमा कमैमात्र प्रभाव जमाउन सक्नेछ र उनीहरूप्रतिको प्राथमिकता अझ ओरालो लाग्नेछ ।
उत्तर प्रदेश र बिहारजस्ता आफ्ना नागरिकको सेवामा खराब ढङ्गले प्रस्तुत भएका राज्यको भने केन्द्रीय सरकारको नीति निर्माणमा प्रभाव बढी रहनेछ । उनीहरू अझ बढी प्राथमिकतामा पर्नेछन् । यो बढ्दो विभेदले अहिले नै थिलथिलो भइसकेको भारतको सङ्घीय व्यवस्थामाथि थप दबाब र नयाँ चुनौती थपिनेछन् ।
(लेखक भारतका इतिहासकार हुनुहुन्छ ।)
स्रोतः टेलिग्राफ
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *