भर्खरै :

जथाभावी खनिएका सडकले बढायो पहिरोको जोखिम

डोटी, ८ असार । डोटी जिल्लाका नौ वटै स्थानीय तहमा सडक पु¥याउने नाममा यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ । पछिल्लो समय भइरहेको वर्षाद्ले यहाँका गाउँघरका सडक पूर्णरूपमा बन्द भएका छन् । डोजर अपरेटरका सनकका भरमा जथाभावी सडकको ट्रयाक खन्दा पहिराको जोखिम बढेको स्थानीय वासीको आरोप छ । विगतका निर्वाचनका समयमा गाउँ घरमा सडक पु¥याउने नेताले गरेका वाचाअनुसार खनिएका सडकले जिल्लामा समस्या निम्त्याएको उनीहरूको आरोप छ । जथाभावी खनिएका सडकले विकासभन्दा पनि विनाश बढाएको भन्दै यहाँका स्थानीयवासी आक्रोसित बन्न थालेका छन् ।
गाउँगाउँमा सडक पु¥याउने होडबाजीले सम्भाव्यता अध्यन तथा सर्वेक्षण बिना नै खनिएका यस्ता सडकले बस्ती नै पहिराको जोखिममा परेको दिपायल सिलगढी नगरपालिका–४ का सर्वजित देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “नामका सडक मात्रै भए कामका कुनै सडक भएनन्, मनपरि खनिएका सडकले अहिले पहिरा आउन थाल्यो ।” लाखौँ रकम खर्च गरेर निर्माण गरिएका यहाँका ग्रामीण सडक वर्षाद्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका वस्तीसमेत जोखिममा परेको शिखर नगरपालिका–१ कपल्लेकीका धनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “जथाभावी डोजर प्रयोग गरेर विनाअध्ययन र मापदण्डका सडक खनिएका छन्, सडक खन्दा डोजरले जमिननै हल्लाएको छ, अहिले पानी पर्दा पहिरा आएर सडक बगाएर चिरचिरा भएका छन्, अब कसरी गाडी चल्छन् ।”
जिल्लाका ग्रमीण क्षेत्रका खनिएका अधिकांश सडक डोजर मालिकलाई पोस्न तथा कार्यकर्ता पाल्नका लागि मात्रै भएको यहाँका स्थानीयको आरोप छ । यही असार १ गतेदेखि जिल्लामा परेको अविरल वर्षाका कारण यहाँका जोरायल–गड्सेरा, निरौँली, खसरे, नापानी, मौवा–मेल्लेक, खप्तड, अनागाड, बोगटान, मुडभारा–धुर्कोट, राजपुर–बागनेटी, शान्तिनगर–नारीदाङ सडक अवरुद्ध भएका छन् । पानीले सडकभरमा पहिरा आउनुका साथै सडक नै बगाएर चिरा चिरा बनाएको स्थानीयवासी बताउँछन् । सडक डिभिजन कार्यालयको कुनै सहकार्य तथा इन्जिनियरको कुनै नाप नक्साबिना डोजर अप्रेटरको डिजाइन र नक्साङ्कनले निर्माण भएका यहाँका सडकहरू अहिले बन्द अवस्थामा पुगेका हुन् ।
सडक निर्माणमा चलेको होडबाजीले हिउँदको समयमा यहाँका गाउँ गाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा अहिले पहिरा आउँदा सडक बन्द भएका छन् । यसरी खनिएका ती सडकमा पछिल्लोसमय पहिराको जोखिम बढेको केआइसिंह गाउँपालिका–५ तलिगाउँका स्थानीय तथा शिक्षक चेतराज भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुगेको थियो, अहिले पहिराले सबै सडक लग्यो, नागरिकका वस्ती मात्रै जोखिम बनायो ।”
जिल्लामा निर्माण गरिएका मापदण्डबिनाका सडक खारेज हुनुपर्ने यहाँका नागरिकको माग रहेको छ । यहाँका स्थानीय तहले पालिकाको बजेटले निर्माण गरिएका सडकको सर्वेक्षण आफूबाहेक अन्य कार्यालयका प्राविधिकलाई सर्वे तथा जाँच गर्न नदिँएका कारण अहिले पहिराको समस्या उत्पन्न भएको सडक डिभिजन कार्यालय कुल्पाते दिपायलका सडक प्रविधिकको आरोप छ ।
यहाँका सडक वस्तीमाथि तथा गाउँ तलबाट खनिएकाले वस्ती नै पहिराकोे उच्च जोखिम पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीय चक्रबहादुर विष्टले जानकारी दिनुभयो । प्राविधिक र वातावरणीय प्रभाव मूल्याङ्कन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको उहाँले आरोप लगाउनुभयो । रासस
तस्वीरः नेपाली टाइम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *