भर्खरै :

विगत, वर्तमान र भविष्यको त्रिपक्षीय चिन्तन सय वर्षपछिको भक्तपुर

—रुपकेशरी उलक
“भक्तपुर आश्चर्यजनक नगर हो । बिहान प्राचीन सहर जस्तो ! दिउँसो विश्वविद्यालय जस्तो र राती साँच्चै प्राचीन लुगा लगाएकी आधुनिक नर्तकी वा सुन्दरी जस्तो ।”
साँच्चै एउटा सुन्दर कल्पना, कल्पना मात्र होइन सुन्दर भविष्यको सुन्दर योजना हो सय वर्षपछिको भक्तपुर जुन परिकल्पनाभित्र पस्दा लाग्यो कुनै विशिष्ट परियोजनाभित्र पस्दै छु । भक्तपुरलाई सुन्दर कलात्मक साँस्कृतिक नगरीका रुपमा कालान्तर सम्मन जिउँदो बनाउने योजनाको रेखाङ्कन हो यो पुस्तक । भक्तपुर त एउटा केन्द्र मात्रै हो जहाँबाट सिङ्गो नेपालका साँस्कृतिक सम्पदाहरु जोड्ने रेखाचित्र यसमा समाहित छ ।
समयको लामो कालखण्ड विगत, वर्तमान र भविष्यत तीनै समयका साँस्कृतिक अवस्थाहरुको चित्रण र परिकल्पनाको छायाङ्कन यसमा गरिएको छ । भक्तपुरको सामाजिक, आर्थिक र साँस्कृतिक पक्षको विकासमा नेतृत्व गर्दै आउनुभएका एक सफल योजनाकार नारायणमान बिजुक्छें(रोहित)द्वारा लिखित ‘सय वर्षपछिको भक्तपुर’ पुस्तकको दोस्रो संस्करणभित्रका रचनाहरु भक्तपुरकै एउटा सानो कोठामा गुट्मुटिएर पढेँ, लाग्यो पुस्तक र लेखकभित्रका व्यापक चिन्तनहरुले मेरो सानो कोठाका चारै भित्ताहरु पन्छाइ दियो र भक्तपुरका हरेक वस्तु र ठाउँहरुप्रतिको माया अझ बढाइ दियो ।
पुस्तकमा सङ्ग्रहित रचनाका शब्दहरु सरल भइकन पनि ज्यादा आत्मीय भावका छन् । कुनै कथा पढे जस्तो अनि आफ्नै बजार र गल्लीका पचास वर्ष अघि र सय वर्षपछिका इतिहास र भविष्यको समग्र स्वरुप एकै खण्डमा कल्पना गराउन सक्ने खालका छन् । वर्तमान त आफैँ भोगिएकै छ जसमा आश्चर्य लाग्दैन बरु सय वर्षपछि बन्ने सहरको बनोट दशै वर्षमा बनाउन पाए भनि मन चाहिँ हतारिन्छ ।
पुस्तकभित्रका मूल पाठहरु ‘सय वर्षपछिको भक्तपुर’ शीर्षकमा लेखिएको टेबुलटेनिस खेलाडी रामुको डायरी, कृष्णको नाममा लेखिएको ‘ पचास वर्षपछिको नेपाल ’ र ‘पचास वर्ष पहिले’ शीर्षकमा लिखित जीवन्त घटना वर्णनहरु हुन् ।
‘पचास वर्षपहिलेको भक्तपुर’मा उल्लेखित विद्यार्थी मदन पात्र जसलाई दही पसलमा भएको छलफलकै कारण रातमा निन्द्रा लाग्दैन, जसको मनमा बारम्बार त्यही दुध—दही पसलको छलफल, नेपालको नक्सा, बाटाघाटाहरु र जनताका भावी जीवनका कुराहरु खेल्दै थियो उनै मदन पात्रले सय वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार बनाउन प्रस्तुत पुस्तकमा योजनाहरु कोरेका हुने भन्ने पाठक मनले ठम्याएको छ । कारण योजनाकारहरु निदाउँदैनन् बरु कल्पना गर्छन् र सुन्दर भविष्यको तय गर्छन् ।
पुस्तक पढ्दै गर्दा धेरै पटक लेखकको समाजशास्त्रीय चिन्तन र अध्ययनशीलताको प्रभावले युवा पाठकहरुलाई समाज र साँस्कृतिक पक्षमा अध्ययनशील बन्न घच्घचाएको अनुभव गरेँ । नजिकको देवता हेलाका रुपमा व्यवहार गरिएका कति विषयवस्तुप्रति गहिरिन प्रेरित गरेको पाएँ ।
कति कल्पना र चिन्तनहरुमा मानिसहरु मात्र परिकल्पना मात्रै देख्छन् । सय वर्षपछिको भक्तपुर पनि यसबाट अछुतो छैन । आधुनिकताको बाटोमा कुद्नु पर्ने बेला प्राचीन अवशेषलाई बोकी हिँड्ने ? भनि प्रश्न गर्नेहरु पनि नभएका होइनन् तर यसभित्रको परिकल्पनालाई गहन ढङ्गले हेर्ने हो भने प्राचीन अवशेषको भारी बोक्नु मात्र नभइ हाम्रो पहिचान र साँस्कृतिक धरोहरको जगेर्ना गर्दै आधुनिक विश्वको दु्रत मार्गमा जीवन हाँक्न बाटो देखाएको पाउनेछौँ ।
भाषा, सँस्कृति, परम्परा, भेषभुषा आदिको सुन्दर सङ्ग्रहालयको कल्पना सायद वर्तमानको क्षणिकतामा रमाउनेहरुले सोच्नै नसक्दा हुन् । विशिष्ट योजना विशिष्ट चिन्तनमा रहन्छ जुन प्रस्तुत पुस्तकले दर्शाएको छ ।
हाल दरवार स्क्वायर होस् वा टौमढीको सानो आँगनमा होस् विविध साँस्कृतिक झाँकीहरु देखाएर समय समयमा पर्यटकहरुलाई स्वागत गर्ने पर्यटन उद्योगीहरुले यो परिकल्पनालाई अँगाल्नै पर्छ ताकी समग्र सहर लेखकको परिकल्पनामा सिँगार्न अझ सहज होस् । भक्तपुरका जनताले आफ्नै पहिचानबाट अझ बढी विश्वमा परिचित हुन प्रस्तुत पुस्तकका योजनाहरु सार्थक बन्ने छन् । हरेक परिणाम कार्य र कारणमा निहित हुन्छ जसलाई कल्पना र परिकल्पनाले दो¥याएको हुन्छ । भक्तपुर साँस्कृतिक नगरी हो र यसलाई अझ बढी सिँगार्नुका साथै जीवन्त बनाउन सके मात्रै हामी जिउँदा रहनेछौँ । सिङ्गो देशको प्रतिनिधित्व गर्ने नेतृत्वदायी आशाका योजनाहरु साकार बनाउने आधार युवा वर्गमै निहित छ । पचास वर्ष पहिले दुध—दही पसलको छलफलकै कारण रातमा निन्द्रा हराएको मदन पात्रको छाया सबैतिर परोस् । सुन्दर भविष्यका चिन्तक तथा मार्ग दर्शक आदरणीय लेखकप्रति युवा मनको नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *