भर्खरै :

मलाई पटक्कै मन छैन

सरकार ! मलाई जग्गा खरिदबिक्रीको काम गर्न मन छैन । टोलका केही छिमेकी जग्गा खरिद बिक्रीमा लागे, उनीहरूले आफ्नै नातेदार र साथीभाइको जग्गा बिक्री गराई कमिसन खाए, निजी गाडी चढे, ठूलो घर बनाए, छोरोछोरीलाई महँगा विद्यालय र कलेजमा पढाए, महँगा कपडा लगाए, कतिले सुनको मोटामोटा चुरा र माला लगाए, भान्सामा मीठा मीठा परिकार पकाए ।
हो, सरकार ! उनीहरूले जस्तोसुकै मोजमस्ती जीवन बिताए पनि मलाई जग्गा खरिदबिक्री काम गर्न पटक्कै मन छैन । हरिया खेतीपाती, वनजङ्गल मासेर कङ्क्रिटको जङ्गल बनाउन दिन मलाई मन छैन ।
आँखाभरि आँसु पारेर आमाबुवाले मेरो भनाइमा सही थप्नुभयो । हाम्रा आमाबुवाले पुस्तौँदेखि खेतीपाती गरेर हामीलाई हुर्काउनुभएको हो । हामीले आधा पेट भएपनि आमाले पकाउनुभएको मीठो मानेर खाएका हौँ ।
सरकार ¤ तिम्रै नीति र ऐन नियमले जग्गा खरिदबिक्री बढेको हो । देशको सन्तुलित विकास जरुरी छ । बसाईसराई स्थानीय तहभित्र सिमित गर्नुपर्दछ । त्यतिले नपुगे जिल्लाभित्रमात्र बसाईसराई गर्न पाउने ऐन नियमको बन्दोवस्त गरिएको भए यति धेरै जग्गा खरिदबिक्री बढ्ने थिएन । यसकारण, गल्ती सरकारको हो, सिंहदरबारकै हो । पाँचथर जिल्लाका ५ सय परिवारले एकै वर्ष बसाईसराई गरेको खबर छ । यस्तै यस्तै कारण जग्गा खरिदबिक्री बढेको हो । काठमाडौँ उपत्यका र सहरमा जग्गा खरिदबिक्री यसकारण बढेको हो ।
हो सरकार ¤ वर्षामा पहिरो र डुबान बढेकोले पनि जग्गा खरिदबिक्री बढेको छ । उच्च पहाडी र हिमाली जिल्ला सदरमुकामलाई पनि सडक सञ्जालले जोड्नैपर्ने सरकारी नीति पनि पहिरोको कारण हो । त्यस्तै, जिल्लामा सडक होइन रोपवेले जोड्नु जरुरी छ । पहाडमा रुख काटेर डोजर चलाई सडक बनाउने, कुलो र अड्याउने पर्खाल नबनाउने सरकारको कामले नै अहिले पहिरो बढेको हो ।
मेलम्चीमा पहाड खोस्रेर ढुङ्गा निकाल्न लगाई ४०० ओटा क्रसर सञ्चालन गर्न लगाइएको हुँदा केही दिनअघि बाढी पस्यो । पनौतीसँगै ढुङ्गा निकालिएको पनि वर्षाैँ भयो । यो वर्ष त्यहाँ ढुङ्गाको पहाड नै खसेर पहिरो गयो । सरकार ¤ माटोको पहाड कसरी सुरक्षित होला ?
सरकार ¤ देशभरिका मानिस काठमाडौँमा अटाउने तिम्रो योजना नै गलत हो । यसकारण, पनि यहाँ जग्गा खरिदबिक्री बढेको हो । केही धनाढ्यहरूको जन्मथलो जिल्ला–जिल्लामा पनि घरजग्गा हुने र काठमाडौँ उपत्यका अनि प्रदेश राजधानीमा पनि हुने ? यही देखासिकी सरकारका उच्च तहका कर्मचारीले गरे । अहिले त सिंहदरबार र मातहतका सबै कर्मचारीलाई काठमाडौँ उपत्यकामा घर बनाउनैपर्ने भयो । वैदशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको लागि सस्तो ज्यामी बन्न पठाइएका अधिकांशलाई पनि काठमाडौँ उपत्यकामै घर बनाउनुपर्ने भयो । देशको सन्तुलित विकास गरी आ–आफ्नो जन्मथलोमै बसोवास गराउने काम सरकारले नगरेको हुँदा काठमाडौँ उपत्यकामा जग्गा खरिदबिक्री बढेको हो ।
सरकार ¤ अहिले त कुनै एउटा जिल्लाका दाजुभाइको परिवार नै काठमाडौँ उपत्यकाको कुनै ठाउँमा एउटा टोल नै बनाएर बसेको छ । देशको सन्तुलित विकास नगरी काठमाडौँ उपत्यकाकेन्द्रित बस्तीको विकासको मूल्य देशले चुकाउनुपर्ने छ । यसकारण, मलाई जग्गा खरिदबिक्रीको काम गर्न पटक्कै मन छैन ।
सरकारी पार्टीका कार्यकर्ताहरूको एउटा ठूलो भाग जग्गा खरिदबिक्रीमा छन् । सरकारले त्यस्ता कार्यकर्तालाई उत्पादनमूलक काममा लगाउनु जरुरी थियो । त्यसो नहुँदा हेर्दाहेर्दै राजधानी काठमाडौँ कङ्क्रिटको जङ्गलमा परिणत हुँदै छ । यसकारण, पनि मलाई जग्गा खरिदबिक्रीको काम गर्न मन छैन ।
हो सरकार ! केही धनाढ्यहरूले बैङ्कभन्दा बढी ब्याज लिएर जग्गा खरिदबिक्री गर्नेहरूलाई ऋण दिन्छन् । त्यस्ता ऋण उत्पादनमूलक काममा लगाइएको भए अलिकति भएपनि व्यापार घाटा घट्ने थियो । सरकार ! जग्गा बेच्ने र किन्ने दुवैसँग कमिसन खान पाएपछि खेती र अन्य बन्दव्यापारमा को लाग्छ ? कमिसन खान पल्केकाहरूमा संस्कार र संस्कृति पनि कमजोर हुन्छ । यसकारण, पनि मलाई जग्गा खरिदबिक्रीको काम गर्न मन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *