भर्खरै :

दोस्रो विश्वयुद्धको ‘दोस्रो मोर्चा’–३

त्यसपछि फ्रान्सका ११ डिभिजन सेनाको विषयमा कुरा मोडियो । जर्मनीबाट पराजित फ्रान्सेली सेना विभिन्न अवसरवादी जनरलहरूको नेतृत्वमा देशविदेश छरिएको थियो । फ्रान्सेली सेनालाई अमेरिकी शैलीमा सङ्गठित गरिएको थियो । तिनमा ३ चौथाई सैनिक फ्रान्सेली थिए र अन्य अफ्रिकाली थिए ।
रुजवेल्टले सैन्य समितिको बैठक राख्ने कि भनी प्रस्ताव गरे । सैन्य समितिले सरकार प्रमुखकै कुरा दोहो¥याउने हेक्का हुनाले स्तालिनले भन्नुभयो, “कुनै सैन्य समिति चाहिँदैन । यही सम्मेलनमा सबै टुङ्गो लगाउन सकिन्छ । हामीले मिति, कमान्डर र दक्षिण फ्रान्सको सहायक अपरेसन निक्र्योल गरे पुग्छ । हामीसित धेरै समय छैन । डिसेम्बर २ सम्म हामीले तेहरान छोड्नुपर्छ । हामीले तीन वा चार दिनमात्र भनी पहिल्यै तोकेका थियौँँ त !”
रुजवेल्ट :  सैन्य समितिलाई ओभरलर्डलाई आधार मानेर काम गर्न भनौँ ! त्यसलाई सघाउन अन्य अपरेसनको प्रस्ताव तयार गर्न लगाउँदा हुन्छ । मेरो प्रस्तावले समितिको काम सहज बनाऊला ।
स्तालिन :  हामी ओभरलर्डको मिति जान्न चाहन्छौँ ।
रुजवेल्ट :  ओभरलर्डको मिति क्युबेक बैठकमा तोकिएको थियो । त्यसमा तलमाथि नहोला ।
चर्चिल :  मैले राष्ट्रपतिको सैन्य निर्देशिकाको कुरा सुनँे । सिद्धान्तमा मेरो विमति छैन तर त्यसलाई जाँचबुझ गर्न समय लाग्ला । डिसेम्बर २ सम्म म तेहरानमै हुनेछु । सैन्य समितिको कुरामा यहाँहरूको विचार फरक आयो । तर, मलाई त्यस्तो समिति चाहिन्छ । ओभरलर्डको मिति छिनोफानो गर्न सैन्य समितिले जाँचबुझ गर्नुपर्छ ।
स्तालिन :  हामीले जाँचबुझ हुनुपर्छ भनेका छैनौँ ।
रुजवेल्ट :  म ओभरलर्डको भाका नसरेको देख्न चाहन्छु, चर्चिलजी भूमध्यसागरलाई बढी महत्व दिनुहुन्छ, भिन्नता सानो छ । यसलाई सैन्य समितिले किनार लगाउनेछ ।
स्तालिन :  हामीसित सैन्य समितिसँग भन्दा बढी अधिकार हुनाले यसलाई हामी नै किनार लगाउन सक्छौँ । अन्यथा नलागोस्, बेलायतलाई अपरेसन ओभरलर्डमाथि भरोसा त छ ¤? कि, रुसीहरूलाई सान्त्वना दिनमात्र बोलिरहेको छ, मेरो जिज्ञासा छ ।
चर्चिल :  ओभरलर्ड सुरु हुँदाका बखत जर्मनीविरुद्ध हामीले सारा शक्ति लगाउनेछौँ भन्नेमा म पक्का छु ।
रुजवेल्ट :  हामी भोकाएका छौँ, बैठक स्थगित गरौँ ¤ सैन्य समितिलाई भोलि बिहान काम चालु राख्न भनौँ !
स्तालिन: सैन्य समितिको बैठक पर्दैन, त्यसको खाँचो छैन । हाम्रो काम हामी आफै तीव्र पार्न सक्छौँ ।
चर्चिल : त्यसो भए राष्ट्रपतिजी र मैले कुरा टुङ्ग्याएर तपाईँलाई खबर गर्दा कसो होला ¤
स्तालिन :  यसरी हाम्रो काम छिटो हुनेछ ।
चर्चिल :  परराष्ट्रमन्त्रीहरूको समितिलाई के गर्ने ?
स्तालिन :  त्यो पनि पर्दैन । चर्चिलजी जोड गर्नुहुन्छ भने त्यसको गठन गर्न हामी अस्वीकार गर्दैनौँ ।
रुजवेल्ट :  त्यसो भए भोलि हप्किन्स, मोलोतोभ र इडनबीच छलफल हुनेछ ।
भोलिपल्ट अर्थात् ३० नोभेम्बरमा ‘दोस्रो मोर्चा’ बारे निर्णायक बैठक बस्यो । शिष्टाचार हटाएर सो वार्ताको सार तल दिइन्छ :
रुजवेल्ट :  बेलायत र अमेरिकाको निर्णयले मार्सल स्तालिन खुसी हुनुहुन्छ । अनुमति भए जनरल ब्रुकले निर्णय सुनाउनुहुन्छ ।
स्तालिन :  हुन्छ ।
चर्चिल :  जनरल ब्रुक अमेरिका र बेलायतको तर्फबाट बोल्दै हुनुहुन्छ ।
ब्रुक :  अपरेसन ओभरलर्ड मे महिनामा सुरु हुने निर्णय भएको छ । त्यसलाई दक्षिण फ्रान्सको अपरेसनले सघाउनेछ । यो कुरा अवतरण क्षमतामा निर्भर हुनेछ ।
चर्चिल : बेलायत र अमेरिकाको संयुक्त सैन्य समिति मार्सल स्तालिनसँग सम्पर्कमा रहनेछ । दुवैतिरबाट एकैचोटि शत्रुमाथि जाइलाग्नुपर्छ ।
स्तालिन : यो निर्णयको महत्वबारे म सचेत छु । यसमा खतरा पनि छ, जर्मनहरू पूर्वबाट पश्चिमतिर ओइरिन सक्छन् । ओभरलर्डमाथि भाँजो हाल्न नपाओस् भनेर मे महिनासम्ममा रुसले धेरै स्थानबाट जर्मनीविरुद्ध जोडदार आक्रमण गर्नेछ । मैले यसबारेमा रुजवेल्टजी र चर्चिलजीलाई बताइसकेको छु तर यहाँ पनि दोहो¥याउन चाहन्छु ।
रुजवेल्ट : मार्सल स्तालिनको यो निर्णयले म निकै खुसी भएको छु । हामीले संयुक्त कारबाहीको महत्व बुझ्दै छौँ, सँगै काम गर्न सिकेछौँ भन्ने विश्वास भएको छ । कमान्डर तोकिएको छैन, तीनचार दिनपछि कायरोमा भेट हुँदा त्यो टुङ्गो लाग्नेछ । मार्सल स्तालिनको अनुमति हुन्छ भने हाम्रा सैन्य अफिसरले यस विषयमा काम थालिहाल्नुपर्छ भन्ने मेरो प्रस्ताव छ ।
स्तालिन : हुन्छ ।

चर्चिल : आज गम्भीर निर्णय भएको छ । अवतरणको विषयमा राष्ट्रपतिजी, म र हाम्रो टोलीमा छलफल हुनुपर्छ । त्यसको बन्दोवस्त मिलाउन सकिन्छ । जूनसम्ममा हामी शत्रुविरुद्ध घमासान सङ्घर्षमा हुनेछौँ । मेरो विचारमा सैन्य मामिला टुङ्गिएको छ । अब हामी राजनीतिक विषयमा कुराकानी सुरु गर्न सक्छौँ । त्यसपछि मात्र पूर्ण सम्झौता आउनेछ । यसको लागि डिसेम्बर १ र २ को समय चाहिएला । मार्सल स्तालिन ३ डिसेम्बरमा फर्किन तयार हुनुहुन्छ भने हामी दुवै बस्नेछौँ ।
स्तालिन : हुन्छ ।
रुजवेल्ट : मार्सल स्तालिन थप एक दिन बस्न मान्नुभएकोमा म निकै हर्षित छु । हाम्रा सहयोगीहरूले संयुक्त वक्तव्यको मस्यौदा दिनेछन् ।
स्तालिन : सैन्य विषयसँग सम्बन्धित ?
चर्चिल : हो त ! वक्तव्य छोटो र रहस्यमय हुनुपर्छ ।
स्तालिन : तर, रहस्यवादी हुनुहुन्न !
चर्चिल : मलाई लाग्छ, हाम्रो जोडतोडको तयारी देखेर शत्रुले छिट्टै हाम्रो चाल पाउनेछ ।
स्तालिन : ठूलो अपरेसन थैलीमा लुकाउन सकिन्न ।
चर्चिल : हाम्रा सहयोगीहरूले तयारी कसरी लुकाउने र शत्रुलाई झुक्याउने भनी सोच्नुपर्ला ।
स्तालिन : यस्तो बेला हामी शत्रुलाई नक्कली ट्याङ्क, नक्कली विमान र नक्कली हवाई अड्डा बनाएर झुक्याउने गर्छौँ । ट्याङ्क र विमानलाई ट्रयाक्टरले तानेर चलाइन्छ । गुप्तचरहरूले यी चहलपहल हेरेर शत्रुलाई खबर गर्छन् । जर्मनहरूले तिनै ठाउँमा हमला गर्छन् । यसबीच शत्रुमाथि आक्रमण गर्ने स्थान सुनसान हुन्छ । सबै यातायात रातमा चालु रहन्छ । हामीले अनेक ठाउँमा ५ देखि ८ हजारसम्मका ट्याङ्कका पुत्ला, २ हजारजति विमानका पुत्ला र धेरै हवाई अड्डाहरू बनाउँछौँ । त्यसमाथि रेडियोको मद्दतले पनि शत्रुलाई छक्याइन्छ । आक्रमण नगर्ने स्थानमा रेडियो सूचनाहरू जोडतोडले आदानप्रदान हुन्छ । शत्रुले यी स्थानमा निगरानी गरिरहेको हुन्छ । उसले ठूलो आक्रमणको आशङ्का गर्छ । त्यसपछि उसले रातदिन ती निर्जन ठाउँमा गोलाबारी गर्छ । (अपरेसनका क्रममा स्तालिनको यो जुक्तिको राम्रो प्रयोग गरेर जर्मनीलाई झुक्याइएको थियो ।)
चर्चिल :  कहिलेकाहीँ सत्यलाई असत्यले जोगाउनुपर्छ । जेहोस्, शत्रुलाई झुक्याउने काम हुनेछ ।

झन्डै एक घण्टामा तेहरान सम्मेलनको यो तेस्रो बैठक सकियो । त्यसपछिका दुई बैठकमा राजनीतिक छलफल भयो । टर्की र कायरो सम्मेलनबारे खाजा खाँदा चर्चा भयो । गोलमेच बैठक अन्तिम थियो । त्यसमा युद्धपछि युरोपको व्यवस्थापनबारे छलफल भयो । छलफल पोल्यान्ड र जर्मनीको बाँडफाँटमा केन्द्रित थियो । प्रसङ्गवश भनिहालूँ, युद्धपछि जर्मनीलाई पाँच टुक्रा पार्नुपर्ने रुजवेल्टको प्रस्ताव थियो भने जातको आधारमा टुक्र्याउनुपर्ने प्रस्ताव चर्चिलको प्रस्ताव थियो । स्तालिनले जसरी टुक्र्याए पनि जर्मनीको एकतालाई कसैले छेक्न नसक्ने बताउनुभयो । त्यसो भए युरोपलाई टुक्र्याउने त भन्ने चर्चिलको प्रश्नमा स्तालिनले भन्नुभयो – “यसमा युरोपको कुनै साइनो छैन ।”
अन्ततः तेहरान सम्मेलनमा सोभियत सङ्घको जोडबलले गर्दा बेलायत अनकनाउँदै ‘दोस्रो मोर्चा’ खोल्न सहमत भयो । सम्मेलनमा बेलायतको नेतृत्व गर्ने चर्चिल तिनै व्यक्ति थिए, जसलाई सोभियत सङ्घमाथि जर्मन आक्रमणको पूर्व जानकारी थियो ।
बेलायती–अमेरिकी सैन्य सहयोग
युद्धताका बेलायत र अमेरिकाले सोभियत सङ्घलाई दिएको सैन्य सहयोगलाई पुँजीवादी इतिहासकारहरूले बढाइचढाई गर्ने गर्छन् । त्यसो त चर्चिलले पनि आफ्ना पत्राचारहरूमा यो सहयोगलाई अचाक्ली उछालेको पढ्न पाइन्छ । अमेरिकाले मित्र देशलाई सैन्य सामग्रीले सघाउन पास गरेको लेन्ड–लीज कानुनको खुब तारिफ हुने गर्छ । यसबारेमा केही तथ्य दिनु सान्दर्भिक हुन्छ ।
लेन्ड–लीज कानुन युद्ध अर्थतन्त्रको माध्यमबाट अकुत धनसम्पत्ति सोहोर्ने अमेरिकी नेता, व्यापारी र रणनीतिकारहरूको हतियार थियो । वास्तवमा यसैबाट ‘अमेरिकी सपना’ को झिलिमिली जन्मेको थियो । डिसेम्बर १९४५ सम्ममा अमेरिकाले ४९ अर्ब डलरको सैन्य सामग्री निर्यात ग¥यो । त्यसमध्ये ३० अर्ब ७० करोड डलरको सामग्री बेलायत र उसका सहयोगी देशलाई गयो भने हिटलरविरुद्ध मूल लडाइँ लडिरहेको सोभियत सङ्घलाई ९ अर्ब ८० करोड डलरको सामग्री दिइएको थियो । बाँकी रकमबराबरको सामग्री उसले फ्रान्स, चीनजस्ता देशलाई दियो । यसबीच सोभियत सङ्घले उल्टो लेन्ड–लीज सहयोग दिइरहेको कुरा इतिहासकारहरूले लुकाउने गर्छन् । सोभियत सङ्घले यस अवधिमा अमेरिकालाई ७ अर्ब ३० करोड डलरबराबरको कच्चा पदार्थ र अन्य सहयोग गरेको थियो । विशेषतः उसले ३ लाख टन कच्चा क्रोमियम, ३२ हजार टन कच्चा म्याङ्गनिज, प्रशस्त प्लाटिनम, भुवा र अन्य बहुमूल्य वस्तुहरू दिएको थियो । पूर्व अमेरिकी वाणिज्यमन्त्री जेसे एच. जोन्सले यस विषयमा भनेका थिए – अमेरिकीहरूले आफ्नो पैसा फिर्ता मात्र पाएनन्, बरु सोभियत सामग्रीहरूबाट प्रशस्त नाफा पनि कमाए ।

७ नोभेम्बर १९४१ मा अमेरिकाले सोभियत सङ्घलाई लेन्ड–लीज सहयोगको हात बढाएको थियो । तर, बेलायत र अमेरिकाले यतिबेला पनि ‘वचन’ को पालनामा ढिलासुस्ती देखाए । उनीहरूले १२०० विमान, १५०० ट्याङ्क र ५० वटा विमानप्रतिरोधी बन्दुक दिने ‘वचन’ दिएर रुसलाई खालि ७५० विमान, ५०१ ट्याङ्क र ८ वटा विमानप्रतिरोधी बन्दुक दिए । अमेरिकाको मात्र हेर्ने हो भने, युद्ध अवधिभर अमेरिकाले सोभियत सङ्घलाई ९ हजार ६ सय तोप, ७ हजार ट्याङ्क, १४ हजार ५ सय विमान, यातायातका साधन र अन्य सैन्य उपकरण दियो । यो समस्त सोभियत उत्पादनको क्रमशः झन्डै २ प्रतिशत, ७ प्रतिशत र ११ प्रतिशत हुन आउँछ । यसरी लेन्ड–लीज सहयोग सोभियत उत्पादनको सालाखाला ४ प्रतिशत हुन आउँछ भने अमेरिकी सैन्य बजेटको ३.५ प्रतिशत हुन आउँछ । यो नै सोभियत सङ्घलाई अमेरिका र बेलायतले दिएको बहुचर्चित ‘विशाल’ सहयोग थियो ।
सोभियत उत्पादन चानचुने थिएन । युद्धको प्रारम्भिक महिनाहरूमा रुसले १ करोड जनता र २ हजार ५ सय कारखानाहरूलाई पूर्वमा सा¥यो । छोटो समयमै पूर्वी भागमा २२ सय ५० ठूला उद्योगको स्थापना ग¥यो । ७ घण्टा कामको अवधि बढाएर ८ घण्टा पु¥याइयो, सुबोत्निक लागु गरियो । जनता खेत, खानी र उद्योगहरूमा बाँडिएर धमाधम उत्पादन कार्यमा लागे । युद्धको प्रतिकार गर्न सोभियत जनताले स्वेच्छापूर्वक सरकारी कोषमा धनपैसा जम्मा गरेर सहयोग गरे । यो सहयोगले रुसलाई एक वर्षसम्म युद्धमा टिकाएको थियो । युद्ध अवधिभर सोभियत सङ्घले प्रचुर सैन्य सामग्री उत्पादन ग¥यो । उसले ८ लाख ३४ हजार सानाठूला बन्दुक, १ लाख १२ हजार १ सय विमान र १ लाख २८ सय ट्याङ्क र स्वचालित बन्दुक उत्पादन गरेको थियो । जर्मनीले ६ वर्ष लगाएर गरेको उत्पादनको झन्डै दोब्बर उत्पादन सोभियत सङ्घले ४ वर्षभित्र ग¥यो । ट्याङ्क र बन्दुकहरूको हकमा ऊ जर्मनीभन्दा ३ गुना शक्तिशाली बन्यो र विमानको हकमा ८ गुना शक्तिशाली बन्यो ।
दोस्रो मोर्चाको घटनाक्रम
तेहरान सम्मेलनपछि दोस्रो मोर्चाको तयारी सुरु भयो । सम्मेलनमा मार्सल स्तालिनले वचन दिनुभएअनुसार लालसेनाले सन् १९४४ को जनवरीदेखि मे महिनासम्ममा शत्रुका १७० डिभिजन ध्वस्त पारिदियो । नाजी हाइकमानले जर्मनी र फ्रान्सबाट ४० डिभिजन सेना रुसी सिमानामा ओसा¥यो । यसले गर्दा ‘अपरेसन ओभरलर्ड’ सञ्चालन गर्न बेलायत र अमेरिकालाई सजिलो भयो ।
६ जून १९४४ मा बेलायती र अमेरिकी सेना फ्रान्सको नोरमेन्डीमा अवतरण ग¥यो । यो दोस्रो विश्वयुद्धको सबैभन्दा ठूलो अवतरण अपरेसन थियो । यी पश्चिमा सेनाले १०० किलोमिटर लामो मोर्चा बनाएर नोरमेन्डीमा ३० देखि ५० किलोमिटर भित्र घुसे । यसबीच उनीहरूले १ लाख १६ हजार शत्रु अफिसर र सिपाहीहरू नष्ट गरे । यसले सोभियत सङ्घलाई केही राहत भयो । किनभने, युद्ध सुरु भएदेखि नै पहिलोचोटि जर्मनीले एकैबाजि दुई मोर्चामा लड्नुपरेको थियो । यसले युद्धको अन्त्यलाई नजिक सा¥यो र क्षति घटायो । तर, दोस्रो मोर्चा कै निर्णायक लडाइँ यसबाट साबित हुन्न । किनभने, लडाइँको क्रममा सोभियत सङ्घले सामना गरिरहेको नाजी डिभिजनको सङ्ख्या २०० भन्दा बढी थियो भने फ्रान्स, बेल्जियम र हल्यान्डमा ५८ डिभिजन जर्मन सेना तैनाथ थियो । त्यसमाथि नोरमेन्डी अवतरणकै समय मिलाएर लालसेनाले १० जूनदेखि २५ जुलाईसम्ममा अनेकौँ स्थानमा जर्मन सेनामाथि आक्रमण ग¥यो । यो १ महिनाभित्र लालसेनाले १ हजार किलोमिटर लामो मोर्चा बनाएर शत्रुलाई ६०० किलोमिटर पछाडि धकेलिदियो । यसबीच १० लाख शत्रु अफिसर र सिपाहीहरूले ज्यान गुमाए । बर्लिन अब ६०० किलोमिटरको दुरीमा थियो । अत्तालिएका हिटलरले पश्चिम मोर्चाबाट ४६ डिभिजन सेना ओसारेर युद्धअघिको सिमारेखा रक्षा गर्ने आदेश दिए । ३१ जुलाई १९४४ को एक बैठकमा हिटलरले भने, “पूर्वी मोर्चा कसरी सामसुम पार्ने भन्ने चिन्ताले मलाई सबैभन्दा बढी चिन्तित तुल्याएको छ । भर्खरै मात्र मैले सबभन्दा ठूलो खतरा कहाँ छ भन्ने कुरा बुझेँ । त्यो पूर्वी नाकामा छ ।”
हुन पनि नोरमेन्डीमा पसेको दुई महिनापछि मात्र बेलायती र अमेरिकी सेना दक्षिण फ्रान्सबाट उत्तर लाग्न थाले । उनीहरू कछुवा चालले अघि बढ्दै थिए । उता फ्रान्सेली जनताले जर्मनहरूको प्रतिकार गर्दै थिए । बेलायती र अमेरिकी सेना पेरिसमा पुग्नुभन्दा अगाडि नै पेरिस फ्रान्सेली देशभक्तहरूको हातमा पुगिसकेको थियो ।
नोरमेन्डी घटनापछि पश्चिमा प्रचारमाध्यमले बेलायती र अमेरिकी बमबारीतिर देखाउँदै जर्मनीविरुद्धको ‘निर्णायक प्रहार’ भनी उछाले । तर, बेलायत र अमेरिका धुकचुककै अवस्थामा थिए । उनीहरूको १५ लाख टन बमले जर्मनीको कोइला उद्योगमा २ प्रतिशत र धातु उद्योगमा ५ प्रतिशत गिरावट आयो । अमेरिकी तथ्याङ्कअनुसार १८ प्रतिशत बममात्र औद्योगिक क्षेत्रमा खसेको थियो । खासमा उनीहरूले जानाजान पश्चिमको औद्योगिक क्षमतामाथि प्रहार गरेनन् । यसको उल्टो उनीहरूले धमाधम जर्मनीभन्दा पूर्वका उद्योगहरूमाथि बमबारी गर्न थाले । तर, हवाई हमला जर्मनीको लागि चिन्ताको विषय थिएन । जमिनको लडाइँ नै ‘निर्णायक’ थियो । डिसेम्बर १९४४ मा बेलायत र अमेरिका सुस्ताउँदा जर्मनीले आर्डेनासमा उनीहरूमाथि आक्रमण ग¥यो । अमेरिकी जनरल प्याटनले आफ्नो डायरीमा लेखे – अझै पनि हामीले यो युद्ध हार्न सक्छौँ । जनवरी १९४५ मा जर्मनीले फ्रान्सको अलसाकमाथि आक्रमण गरेपछि उनीहरू आत्तिए ।
प्रम चर्चिलले स्तालिनलाई अपर्झट सन्देश पठाएर ठूलो रुसी आक्रमण गरी जर्मन सेनालाई सामसुम पार्न आग्रह गरे । लालसेनाले बनिसकेको योजनाभन्दा ८ दिनअगाडि नै जर्मन सेनामाथि ठूलो आकारको आक्रमण ग¥यो । फेब्रुअरी १९४५ सम्ममा रुसी सेना बर्लिनबाट ६० किलोमिटरको दुरीमा पुग्यो । उसले जर्मन सेनाका हाँगाबिँगा काट्दै हङ्गेरीलाई युद्धबाट हात उठाउन बाध्य पा¥यो । आत्तिएको जर्मन हाइकमानले पश्चिम आर्डेनासबाट सेना झिकेर पूर्वतिर सोझ्यायो । यसरी ऊ पूर्वमा मात्र होइन, पश्चिममा पनि रक्षात्मक बन्न बाध्य भयो । यसरी सोभियत सङ्घले आफ्नो वचन पूरा ग¥यो । तर, यसबीच पनि पश्चिमाहरूले सोभियत सङ्घमाथि विश्वासघात गर्न छोडेनन् । भिस्तुला र ओदेर नदीबीच आक्रमण गर्ने बेला जर्मनीले नर्वेको सेना उपयोग गर्न नपाओस् भनेर सोभियत सङ्घले इटालीमाथि आक्रमण गर्न बेलायत र अमेरिकालाई अनुरोध गरेको थियो । यो अनुरोधलाई उनीहरूले लत्याए । यद्यपि, विश्वभर रुसी प्रतिष्ठा चुलिँदो थियो ।
पूर्वी मोर्चामा जर्मनीले एकपछि अर्को हार खाएकोले पश्चिममा जर्मन सेनाले प्रतिकार गर्न छोडे । यसले गर्दा पश्चिम मोर्चाको मित्र देशको सेना खुरुखुरु बर्लिनतिर लाग्यो । १६ अप्रिल १९४५ मा लालसेनाले बर्लिन सहर घेराबन्दीमा पा¥यो । यसलाई रुसले बर्लिन अपरेसन नाम दिएको थियो । २५ अप्रिलमा लालसेनासँग बर्लिननजिकै एउटा बस्तीमा अमेरिकी सेनाको भेट भयो । मे २ मा लालसेनाले बर्लिनमाथि निर्णायक प्रहार ग¥यो र मे ८ मा नाजी जर्मनीले आत्मसमर्पण ग¥यो ।
दोस्रो मोर्चाको महत्व
दोस्रो मोर्चा खोल्नमा बेलायत र अमेरिकाले किन ढिलासुस्ती देखाए ? यसको राम्रो उत्तर अमेरिकी सिनेटर ह्यारी ट्र्यूमेनले १९४१ मा दिएका थिए । उनले भनेका थिए – “जर्मनीले जित्छ भन्ने लागेमा हामीले रुसलाई सघाउनुपर्छ र रुसले जित्छ भन्ने लागेमा जर्मनीलाई सघाउनुपर्छ र यसरी उनीहरूले सकेसम्म धेरै मान्छे मार्नसक्ने परिस्थिति तयार पार्नुपर्छ ।” युद्ध चलिरहेमा अमेरिकी युद्ध अर्थतन्त्र आकासिने अमेरिकी नाफाखोरहरूको विचार थियो र रुजवेल्टमाथि पनि उनीहरूको ठूलो दबाब थियो । ट्र्यूमेन तिनीहरूकै प्रवक्ता थिए । चर्चिल सुरुदेखि नै रुसी क्रान्तिका शत्रु थिए र उनीभन्दा अघिल्ला प्रधानमन्त्री नेभिल च्याम्बरलिनको समयदेखि नै बेलायतले हिटलरलाई सोभियत सङ्घसँग भिडाउन चाहन्थ्यो ।
च्याम्बरलिनको कार्यकालमा फ्रान्ससँग मिलेर २९ सेप्टेम्बर १९३८ मा हिटलर र मुसोलिनीसँग गरिएको म्युनिख सम्झौता यसको सबैभन्दा भरपर्दो उदाहरण थियो । यही सम्झौताले फासीवादीहरूलाई पूर्वमा गई आँखा चिम्लेर मान्छे मार्ने छुट दियो । फेरि नाजीवादी हिटलरलाई उकास्ने र उचाल्नेहरू फ्रान्सेली, बेलायती र अमेरिकी पुँजीपतिहरू नै थिए । दोस्रो विश्वयुद्धपछि युद्धअपराधीहरूविरुद्ध मुद्दा चलाइएको नुरेम्बर्गको कैदमा हिटलरी युद्ध अर्थतन्त्रका निर्माता जाल्मर शाख्तले भनेका थिए – “जर्मनीको सैन्यकरण गर्ने पुँजीपतिहरूलाई मुद्दा चलाउन चाहनुहुन्छ भने तपाईँहरूले आफ्नै उद्योगपतिहरूमाथि मुद्दा दायर गर्नुपर्छ ।” आफ्नो पोल खुल्ने डरले सोभियत न्यायाधीशहरूले विमति जनाउँदा जनाउँदै पनि पश्चिमाहरूले शाख्तलाई अदालतबाट दोषमुक्त गरिदिए । यो भन्दा चर्को तथ्याङ्कहरूले बोल्छन् ः
१) युद्धकालमा जर्मनीले प्रयोग गरेका गह्रौँ ट्रकमध्ये ९० प्रतिशत ट्रक अमेरिकी कम्पनी ओपेल र फोर्डका कारखानाहरूमा बनेका थिए ।
२) जर्मनीले प्रयोग गरेका जु–८८ बमवर्षक विमानका ५० प्रतिशत इन्जिन र मि–२६२ लडाकु विमानका सम्पूर्ण इन्जिन ओपेल कम्पनीका थिए ।
३) जर्मन पनडुब्बीहरूले प्रयोग गर्ने इन्धन अमेरिकी कम्पनी स्ट्यान्डर्ड ओएलले आपूर्ति गरेको थियो ।
४) युद्धअघि बेलायत र अमेरिकाले मात्र जर्मन उद्योगहरूमा १ अर्ब डलर बराबरको लगानी गरेका थिए । जर्मनीको सैन्य अर्थतन्त्रमा प्रयोग भएको कच्चा पदार्थ र अन्य आपूर्तिको ५० प्रतिशत बेलायत, फ्रान्स, अमेरिका र उनीहरूको नियन्त्रणमा रहेका भूभागबाट गएको थियो ।
५) युद्धको क्रममा अमेरिकी संसदीय समितिले गरेको छानबिनअनुसार जनरल मोटर्स कर्पोरेसन, फोर्ड मोटर कम्पनी, आइटीटी, स्ट्यान्डर्ड ओएल, ओपेल, लोरेन्जजस्ता अमेरिकी कम्पनीहरूको सहयोगबेगर नाजी जर्मनीले युद्ध थाल्नै सक्दैनथ्यो । (निमित्त पात्र हिटलर मरे, उनका जन्मदाता यी कम्पनीहरू जीवित रहे !)
दोस्रो मोर्चाको खाँचो सबैभन्दा बढी सोभियत सङ्घलाई थियो किनभने पूर्वी मोर्चामा खुलेर लड्न पाएकोले नै जर्मनी र उसका आउरेबाउरेहरूले करोडौँ रुसी एवम् पूर्वी युरोपेली देशका नागरिक र सैनिकलाई सोत्तर पारेका थिए । बेलायत र अमेरिका दोस्रो मोर्चा खोल्न राजी हुनेछैनन् अथवा १९४२ वा १९४३ मा उनीहरूले दोस्रो मोर्चा खोल्न सक्नेछैनन् भन्नेमा मार्सल स्तालिन ढुक्क हुनुहुन्थ्यो । तैपनि, उहाँले कूटनीतिक दबाब दिन छोड्नुभएन । उहाँका कतिपय पत्रहरू यसै उद्देश्यले लेखिएका थिए । तेहरानमा देखिएको उहाँको विषयकेन्द्रित र खरो शैलीले यो कुरा झल्किन्छ । परराष्ट्रमन्त्री मोलोतोभलाई खुला वार्ताका लागि बेलायत र अमेरिका पठाउनुको आसय पनि त्यही थियो । रुसी जनता देशको निम्ति रगत बगाउन तयार थिए । दोस्रो मोर्चाको चर्चाले उनीहरूको मनोबल उठाउन महत्वपूर्ण भूमिका खेल्यो । रगतसँग साटेको विजयले विश्वभरिका जनताबीच सोभियत सङ्घ लोकप्रिय बन्दै गएको थियो । मोर्चा खोल्ने विषयमा पटकपटक भाका सारिरहँदा रुजवेल्ट र चर्चिल आफ्नै जनताको नजरमा खस्दै गए । यसबाट सोभियत सङ्घप्रति सकारात्मक देखिन उनीहरूमाथि जनदबाब बढ्यो । आफैले जन्माएको ‘दानव’सँग लड्न उनीहरू बाध्य भए । दोस्रो मोर्चा आफैमा निर्णायक लडाइँको मोर्चा नभए पनि यसले अलिकति रगत जोगाइदिएर सोभियत सङ्घको सेवा ग¥यो ।
सन्दर्भ ग्रन्थ :
१) रिकलिङ द पास्ट फर द सेक अफ द फ्यूचर । सं. पाभेल झिलिन आदि ।
२) कोरेस्पोन्डेन्स अफ द ग्रेट पेट्रियोटिक वार । भोल्युम १ र २ ।
३) द तेहरान, याल्टा एन्ड पोट्सड्याम कन्फ्रेन्सेज, डक्युमेन्ट्स ।
४) पहिलो र दोस्रो विश्वयुद्ध । विकास मुखर्जी र जेपी सिंह ।
५) सङ्क्षिप्त विश्व इतिहास । खण्ड २ । सं. प्रो. मानफ्रेद ।
६) इन्टरनेसनल मिलिट्री ट्राइब्युनल, नुरेम्बर्ग ।
७) मोलोटोभ रिमेम्बर्स । फेलिक्स चुएभ ।
प्रस्तुती : गणेश
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *