भर्खरै :

चिकपा नेपाली जनताको असल मित्र

(नेपाल प्राध्यापक समाजको आयोजनामा बुधबार चिनियाँ कम्युनिस्ट पार्टीको १०० औं स्थापना दिवसको अवसरमा आयोजित अनलाइन गोष्ठीमा व्यक्त मन्तव्य– सं.)
कोभिड–१९ महामारीको कारणले हामी सबै भौतिकरूपले एकै ठाउँमा जम्मा हुन सकिरहका छैनौँ । आजको यस भच्र्युअल कार्यक्रमले हामीमा हौसला बढाएको छ ।
यो गौरवको विषय हो– विश्वका कुनै पनि कम्युनिस्ट तथा मजदुर वर्गीय पार्टीको क्रान्तिकारी अनुभवबाट पाठ सिक्ने पद्धति नेमकिपाले बसालेको छ । कुनै पनि देशमा कामदार वर्गको पक्षमा भएका आन्दोलन तथा सङ्घर्षहरूको समर्थन गर्नु हाम्रो अन्तर्राष्ट्रिय कर्तव्य पनि हो । नेमकिपाको एउटा मित्र कम्युनिस्ट पार्टीको शतवार्षिक स्थापना दिवसमा हामीहरू उत्साहित हुनु स्वाभाविकै हो ।
चिनियाँ किसान आन्दोलनबाट प्रभावित भएर नेपालमा पनि विभिन्न समयमा किसान आन्दोलनहरू भएका थिए । निरङ्कुश पञ्चायत व्यवस्थाको कालरात्रिमा ‘चीन सचित्र’ पत्रिकामा छापिएका तस्बिरहरू पढ्दै राजनीतिक कक्षाहरू लिएर हुर्किएको पुस्ता हो हाम्रो ।
चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष का. माओ त्सेतुङ आफ्नो देशको परिस्थितिअनुसार क्रान्तिको नेतृत्व गर्न सफल हुनुभयो र त्यही जगमा दृढताका साथ उभिएर आजको चीन समृद्धिको शिखर चढिरहेको छ । राष्ट्रिय इतिहास गौरवपूर्ण नभई वर्तमान कदापि समृद्ध हुनसक्दैन भन्ने सत्य चीनको इतिहासबाट छर्लङ्ग बुझिन्छ । चिनियाँ क्रान्तिकारी इतिहासका प्रत्येक ‘गढ’ ले आधुनिक चीनको समृद्धिको भार थेगेका छन् । वीर देशभक्त क्रान्तिकारीहरूको स्मरण र सम्मान गर्दै चिनियाँ इतिहासको विमान नितरन्तर उडिरहेको छ ।
कोभिड–१९ को महामारीविरूद्ध लड्न चिनियाँ युवाहरूले देखाएको अदम्य साहस, परिश्रम र सेवाभावबाट सारा विश्व नै प्रभावित भएको छ । पुरानो पुस्ताले युवा पुस्ताप्रति गरेको संशय कोभिड – १९ को महामारीविरूद्ध लडेर युवा पुस्ताले हटाएको निष्कर्ष चिनियाँ साहित्यमा पाइन्छ । विज्ञान र प्रविधिमा अगाडि बढेको युवा पुस्ताले पुरानो पुस्ताको योगदानको गम्भीर अध्ययन तथा अन्तरक्रिया गर्न थालेको सन्दर्भ रहेका आलेखहरू पढ्न पाइन्छ । पुरानो पुस्ताको ज्ञान, सिप र दक्षताबाट सिकेर अगाडि बढ्ने चिनियाँ युवा पुस्ताको दृढता सबभन्दा महत्वपूर्ण पक्ष हो । सन् २०२१ जुलाई १ को दिन तियानन्मेन चोकमा भएको युवाहरूको प्रस्तुतिले धेरै ठुलो अर्थ राख्छ । यसलाई इतिहासको गल्तीबाट सिकेको भन्न सकिन्छ ।
सन् २०२० को अक्टोबरमा चिकपाले सार्वजनिक गरेको ‘पछाडिको छाल’ अर्थात् ‘दि वेभ बिहाइन्ड’ शीर्षकको एक भिडियोले पुरानो छाल बिसर्जन हुन्छ तर सँगै नयाँ छाल उठिरहनुपर्छ भन्ने सन्देश दिएको छ । का. माओले भन्नुभएझैँ इमानदार, जिम्मेवार तथा सार्वजनिक हितको चिन्ता गर्ने प्रत्येक नागरिकले क्रान्तिलाई अगाडि बढाउँछ । परिवर्तनको पाङ्ग्रालाई पछाडि धकेल्न जतिसुकै दुष्प्रयास गरे पनि प्रतिक्रियावादीहरू सफल हुने छैनन् ।
विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेजस्तै पुरानो पुस्ताबाट हामीले धेरै कुरा पाएका छौँ, नयाँ पुस्तालाई हामी के दिँदै छौँ भन्ने गम्भीर प्रश्न हाम्रो अगाडि उभिएको छ । कार्ल माक्र्सले भन्नुभएझैँ संसारको व्याख्या गरेरमात्र हुँदैन, संसार बदल्ने योद्धाको खाँचो छ । हामीले यस्ता छलफल तथा अन्तरक्रिया बौद्धिक विलासिताको निम्ति गरिरहको होइनौँ । माक्र्सवादजस्तो मानव जीवनोपयोगी सिद्धान्तको सार नै यही हो भन्ने मलाई लाग्छ ।
कोभिड–१९ को महामारीमा चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारको तर्फबाट नेपाली जनतालाई प्राप्त सहयोग तथा सद्भाव हाम्रो असल मित्रताको परिचायक हो । नेपालको पूर्वाधार तथा औद्योगिक विकासको निम्ति चीनले गरेको सहयोग अविस्मरणीय छ । विश्वभरका राजनैतिक पार्टीहरूसँग भाइचारा सम्बन्ध विकास गरिरहेको चिनियाँ कम्युनिस्ट पार्टीको उद्देश्यअनुसार हिजोमात्र चिकपाको आयोजनामा सम्पन्न एउटा अन्तर्राष्ट्रिय सम्मेलनपश्चात् विश्वका न्यायप्रेमी तथा साम्राज्यवादविरोधी शक्तिहरू उत्साहित भएका छन् ।
साथीहरू, कोभिड–१९ महामारीको क्रममा हामीले केही कर्मठ साथीहरू गुमाउनु परेको छ । उहाँहरूप्रति हामी हार्दिक श्रद्धाञ्जली गर्न चाहन्छौँ। यसैक्रममा कोभिड सङ्क्रमित केही साथीहरू निको भइसक्नुभएको छ । कोभिड सङ्क्रमित साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
कोभिड महामारीबिच साथीहरूले रोगीको उपचार गर्न तथा कोभिड खोप दिलाउन स्वयंसेवकको भूमिका निर्वाह गरी आफ्नो कर्तव्य निर्वाह गरिरहनुभएको छ । साथै, नेमकिपाका विभिन्न तहबाट अनलाइन प्रवचन कार्यक्रमहरूको आयोजना गर्न साथीहरूले भरथेग सहयोग गर्दै आउनुभएको छ । कामदार वर्गको राजनीतिक चेतनावृद्धिमा प्राध्यापक साथीहरूले आफ्नो क्षेत्रबाट सक्दो साथ दिनुभएको छ । महामारीको अप्ठेरो परिस्थितिमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकका लागि विभिन्न लेखहरू लेखेर साथीहरूले जनचेतना अभिवृद्धिमा एक एक इँटा थप्दै जानुभएको छ । ती सबै कर्मशील साथीहरूलाई पनि यो कार्यक्रममार्फत धन्यवाद दिन चाहन्छु । कोभिड–१९ को यो अवस्थामा, स्वास्थ्य चेतनालाई राजनैतिक चेतनाको अभिन्न भाग बनाउँदै जाउँ भन्ने मेरो विनम्र आग्रह छ ।
अन्तमा, चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिक दिवसको अवसरमा आयोजित यस कार्यक्रममा सारगर्भित विचार राख्नुभएकोमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँलाई विशेष धन्यवाद दिन चाहन्छु । अन्य सबै सदस्य र समर्थक र शुभेच्छुक साथीहरूको सक्रिय सहभागिताको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *