भर्खरै :

स्कर्पियो गाडी गुडाउँदै, फेसबुक र ट्वीटर चलाउने राउटे मुसाफिरको कथा

संसारको सातै महादेश र त्यहाँका हरेक जस्तो देशमा अझै अस्तित्वमा रहेका विभिन्न आदिवासी समुदाय र तिनीहरूको मौलिक जीवन शैलीको संरक्षण र संवद्र्धन राजनैतिक, सांस्कृतिक र अधिकारको मुद्दा बन्ने गरेको छ । नेपालकै हकमा करिब ५९ वटा सूचीकृत आदिवासी समुदायमध्येको पश्चिम नेपालको सुर्खेत, दैलेख र सल्यान जिल्लामा केन्द्रित राउटेहरू बेला मौकामा समाचारमा छाउने गरेकाछन् । मानव अधिकारका विभिन्न अन्तराष्ट्रिय महासन्धिहरूले पनि आदिवासीहरूको सामाजिक र सांस्कृतिक अधिकारका कुरोहरूलाई बलियो गरी उठाउँदै आएका छन् ।
बालसाहित्य सिर्जना र पठन सस्कृति प्रवद्र्धनका अभियन्ताका रूपमा क्रियाशील लेखक अनन्त वाग्लेले यस ‘कदम’ उपन्यासमार्फत आफूलाई जङ्गलका राजा ठान्ने राउटे समुदायको जीवनशैलीका विभिन्न पाटालाई उजागर गरेका छन् । त्यसै पनि आदिवासीहरूको जीवनशैली, उनीहरूले बोल्ने भाषा, रहनसहन, वैवाहिक सम्बन्ध र तिनीहरूको संस्कृतिका बारेमा आम मान्छेले फरक फरक अवधारण बनाएका हुन्छन् र अनेक जिज्ञासा पनि हुनु स्वभाविक हो । उपन्यास पढ्दै जाँदा राउटे समुदायकाबारेमा आम मानिसका ती चासो र जिज्ञासालाई पुस्तकले धेरै हदसम्म सन्तुष्ट पार्ने सहजै अनुमान लगाउन सकिन्छ ।
घुमन्ते जाति राउटेहरूको बोल्ने खाम्ची भाषा, उनीहरूको रितीरिवाज, कूल देवता, प्राकृतिक विप्दका बारेमा उनीहरूको विश्लेषणदेखि लिएर उनीहरूको जीवनका विविध पक्ष र आयामहरूका बारेमा स्थलगत निरीक्षण र सोध खोजमै आधारित कृतिभएको कारणले ‘कदम’ लाई, मात्र उपन्यासको कोटिमा राख्दा लेखकप्रति अन्याय हुनसक्छ । उपन्यासको कथा घटनाक्रमलाई पर्गेल्दै जाँदा लेखकले नयाँप्रयोग गरेको पनि देखिन्छ । आदिवासी समुदाय कसरी मूलधारको आधुनिक जीवन शैलीबाट प्रभावित हुन्छन् र विशेषगरी युवा वर्गमा आफ्नो आदिम र परम्परागत जीवन शैलीबाट उछिटिएर कसरी मूलधारमा समाहित हुने उनीहरूमा हुटहुटी चल्छन् भन्ने वास्तविकतालाई लेखकले उपन्यासको मूलचरित्र राउटे युवा ‘कदम’लाई अगाडि उभ्याएर वेलीविस्तार लगायका छन् ।
राउटे पुर्खाको धर्म भन्दा फरक इच्छा राख्ने कदमको लक्ष्य खलासी हँुदै ड्राइभर बनि विभिन्न ठाउँहरू घुम्ने, मान्छेका जीवनशैली हेर्ने, कुरा सुन्ने, फरक फरक परिकारहरू चाख्ने रहर अनुसार ड्राइभर बनेका कदमले आफ्नो समुदायको मान मर्यादालाई ख्यालराख्दै आधुनिकतालाई पनि सँगै लैजाने कोशिस गरेको देखिन्छ, जुन लेखकको आफ्नै आग्रह हुनसक्छ ।

यस समाजमा कदमले पनि काठका मदुस, पिर्का, सन्दुुस बनाउन नाताले काका पर्र्ने रउनासँग सिकेको हुन्छ । उसको लागि रउनाले एक अभिभावकको रूपमा राउटेहरूको रिती रिवाज, संस्कारलगायत बाहिरी दुनियाँका बारेमा बुझाउने अनि माया र सम्मान गर्ने पथ प्रदर्शकको रूपमा देखाइएको छ ।

उपन्यासका मूख्यपात्र कदम रलेख रचनाकार सिम्रिक शर्मासँगको भेटको दौरानमा गरिएका कुराकानीमा आधारित भएर लेखकले राउटे समाजको ऐनानै पस्केका छन् । कर्णाली प्रदेशको दैलेखको गुराँस वनको त्यो सानो मुसाफिरकदम जसले जङ्गलदेखि सिंहदरबारसम्मको यात्राको क्रममा अनगिन्ति चरणहरू पार गर्दै आफ्नै राउटे मुखियाको आँखा छल्दै स्वअध्ययन गरी सामाजिक, राजनैतिक र दार्शनिक कुरा गर्न सिपालु भइसकेका नौला राउटेको कथा पनि हो कदम ।
लोपोन्मुख आदिबासीको काठमाडौँमा भेला हुँदा राउटेका तर्फबाट मूखियासहितको टोलीमा कदम पनि पर्न सफल भएका थिए जसबाट उनलाई संसारका फिरन्ता अर्थात् मुसाफिरहरूको एउटा भव्य सम्मेलन गर्ने पहिलो योजना सुनाउन र सल्लाह गर्न लेखकसँग भेटेको हुन्छ ।
घोष्टराइटर एव्म साहित्यत्यकार, सम्पादकसँगको भेटघाटमा राउटे समाजमा उसले देखेका, भोगेका र सुनेका मुख्य मुख्य घटनाक्रमहरूको वर्णन गरेका छन् । प्रसव पीडा, मातृत्व शिशुस्याहारजस्ता अत्यन्त संवेदनशील विषयमा राउटेहरूको जङ्गली प्रवृत्ति अथवा बन्देज, अज्ञानताका कारण भोग्नुपरेको समस्याका बारेमा उलेख्य गरेको छ । प्राकृतिक प्रकोपबाट चट्याङले गर्दा कदमले आफ्ना बाबु घोघने गुमाउनुपरेको र विधवा राउटी र उनीहरूका परिवारलाई गरिने भेदभावका बारेमा पाठकहरूको ध्याणाकर्षण गर्न खोजिएको छ ।
पछिल्लो समयमा काठमा विभिन्न सामानहरू बनाई बेचविखन, साटासाट गरी आफ्नो आवश्यकता पूरा गर्ने यस समाजमा कदमले पनि काठका मदुस, पिर्का, सन्दुुस बनाउन नाताले काका पर्र्ने रउनासँग सिकेको हुन्छ । उसको लागि रउनाले एक अभिभावकको रूपमा राउटेहरूको रिती रिवाज, संस्कारलगायत बाहिरी दुनियाँका बारेमा बुझाउने अनि माया र सम्मान गर्ने पथ प्रदर्शकको रूपमा देखाइएको छ ।
राउटे संस्कृति धर्मअनुसार मस्त र भुइँयारलाई पूजा गर्छन्, राजालाई विष्णु अवतारको रूपमा पुज्ने, पुरुषहरू गुना अर्थात् बाँदरको शिकार गर्ने, नाचगान गर्दै रक्सी, जाँड खाने, आफ्ना मुन्छ्या मरेपछि ठाउँ सरी गर्ने परम्परा र प्रचलन रहेको तथ्यहरू उपन्यासले प्रस्ट्याएको छ । राउटेहरू तीन कुरामा अडिग हुने सन्दर्भ पुस्तकको विभिन्न ठाउँहरूमा भेटिन्छन् । उनीहरू दुनियाँले झैँ पढ्दैन, घर बनाएर बस्दैन र जागिर नि खाँदैन ।
सुकिलामुकिला मान्छे त धेरै चोटी आए राउटे बस्तीमा तर राउटेहरूका दुःख सुखमा साथ दिने रसदपानी, लत्ताकपदा, चाडपर्व, औषधिमूलो एव्म उनीहरूको समस्यालाई सम्बन्धित ठाउँसम्म पु¥याउने, नेतादेखि लिएर प्रधानमन्त्रीसम्मको भेटघाटको चाँजोपाँजो मिलाउने एक संस्थाका सहयोगी हातका रूपमा कर्मा दिदीलाई एक सहजकर्ताका रूपमा प्रस्तुत गरिएको छ ।
कदमले गुरुजी बन्न खाएको हन्डरदेखि गाउँलेहरूसँगको झगडा, काँक्रेबिहारमा भेटिएका ज्ञानी बुद्ध र मायादेवीले दिएको आशिष, भयानक सडक दुर्घटना भई त्रिशुली नदीमा खसेको र एक फिरन्ता अघोरीबाबाले अर्का फिरन्तालाई बचाएको घटना, खलासी डाइभरहरूबाट पाएको सङ्गत र माया तथा शरीरमा चार पाऊ कीरा परुञ्जेल घाउले थलिँदाको अवस्थाको बयानले उपन्यासलाई थप रुचिकर बनाइएको छ ।
कृति अनुसन्धान मूलक हो भन्ने तथ्य राउटेहरूले भक्तपुरको ताइचिन च्यूरा, दैलेखमा कार्यरत रोहितका कार्यकर्ताहरूको प्रसङ्ग र भक्तपुरको भ्रमणको सिलसिलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ ‘रोहित’ को उत्सुक स्वभावकाबारेमा उल्लेख गरिएको तथ्यले पनि प्रस्ट्याएको छ । (१८९ –२०० पेज) ।
नेपालको एक फिरन्ते जातिको जीवन शैली, उनीहरूको वर्तमान अवस्था साथै उनीहरूमा प्रेम र प्रणयका बारेमा धारणा र चलनचल्तीमा हुने गरेका युवायुवतीको सम्बन्धका नालीबेली समेत पुस्तकमा समावेश गरिएका छन् । लेखकले प्रेम भन्नासाथ शारिरीक सम्बन्ध र यौनका कुराहरूलाई जोड्ने आधुनिक समाजको विकृति, साँघुरो र छाडा सोचलाई चुनौती दिँदै यस्तो मामलामा शहरियाहरूले पाखे मानिने आदिवासीहरू नै सौम्य भएको तर्क पेश गरेका छन् । त्यस्तै, प्रेमका बारेमा आजसम्मका विभिन्न दार्शनिक र चिन्तनहरूको अवधारणलाई राउटे राउटीहरूको प्रसङ्गसँग गाँस्दै पुस्तकमा प्रस्तुत गर्नसम्म भ्याएका छन् (पेज २६३) । प्रेम र प्रणयकै चचौको सिलसिलामा राउटे समुदायको एउटा अनौठो तथ्य पनि पुस्तकमा उल्लेख गरिएको छ । गरिबी, अशिक्षा, कुपोषण त छ, अरु समान्य नेपालीको भन्दा औसत आयु पनि राउटेहरूको कम नै छ तर उनीहरूकोमा अहिलेसम्म कोही अन्ध, अपाङ्ग र बहुला बच्चा नजन्मेको र नभएको उनीहरू दाबी गर्छन् (पेज – २६४) । राउटेहरूको दाबी साचो हो भने यो तथ्य साँच्चिकै अनुसन्धानको विषय हुनसक्छ । के अन्ध, अपाङ्ग बच्चा जन्मनु आधुनिकताको उपहार हो ?वा मानिस बहुलाउनु जटिल समाजको उपज हो ?
राउटे समुदाय र उनीहरूको संस्कृतिलाई जोगाउने र प्रवद्र्धन गर्ने सम्बन्धमा लेखकको राउटे पर्यटन अवधारणालाई एक नवीन विचारमान्न सकिन्छ । तर, वास्तविकतामा यसले कसरी साकार रूप लेला त्यो त भविष्यको गर्भमै रहेकोे छ । समग्रमा भन्नुपर्दा पुस्तक सबैका लागि पठनीय त छ नै । समाजशास्त्र र मानवशास्त्रका विद्यार्थीहरू तथा अन्य आदिवासी समुदाय र संस्कृतिको अध्ययताहरूको लागि पनि उत्तिकै उपयुक्त देखिन्छ । सललल बगेको भाषाशैलीले पाठकलाई झ्याउ मान्ने अवस्थामा पु¥याएको छैन ।
लेखक : अनन्त वाग्ले
आवरण : सुन्दर बस्नेत
भाषा : पुष्कर पन्थी
प्रकाशक : काठमाण्डु पब्लिकेशन
संस्करण : पहिलो, चैत २०७७
वितरक : बुक ल्यान्ड, ५४०९०४५
पृष्ठ :  ३१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *