भर्खरै :

भक्तपुर सल्लाघारीमा बसपार्क बनाउने काठमाडौँ महानगरपालिकाको प्रस्तावप्रति भक्तपुर नगरपालिकाको विरोध

भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित खुलाक्षेत्रमा ‘बसपार्क बनाउने’ विषयमा भक्तपुर नगरपालिकाले मङ्गलबार एक सार्वजनिक विज्ञप्ति जारी गरी असहमति जनाएको छ । भक्तपुर नपाले जारी गरेको वक्तव्यको पूर्ण पाठ प्रस्तुत छ :
‘भक्तपुर पोष्ट डटकम’को २०७८ साउन ३० गते प्रकाशित ‘भक्तपुरको सल्लाघारीलाई बसपार्क बनाउनुपर्ने काठमाडौँ महानगरको निष्कर्ष’ शीर्षकको समाचारमा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारमा काठमाडौँ महानगरपालिकाले गठन गरेको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले काठमाडौँ उपत्यकाबाट पूर्व जाने सार्वजनिक सवारी साधनलाई जडिबुटी नजिक मनोहरा खोला कोरिडोर वा भक्तपुरको सल्लाघारीस्थित तीनकुने सडक किनाराबाट सञ्चालन गर्नुपर्ने व्यहोरासहितको प्रतिवेदन तयार गरेको उल्लेख छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले भक्तपुर सल्लाघारी तीनकुने सडक किनारबाट तत्कालको लागि धुलिखेल पूर्वतर्फका सार्वजनिक सवारी सञ्चालन गर्न सकिने उल्लेख गरिएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र गन्तव्य बनाई आउने देशका विभिन्न भागका सवारी साधनहरूलाई व्यवस्थित गर्ने उद्देश्यले आफ्नो क्षेत्राधिकार बाहिर गएर भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी खुला जग्गामा पार्किङ्ग व्यवस्थाको लागि प्रतिवेदन तयार गर्नु आपत्तिजनक छ । काठमाडौँ महानगरलाई आफ्नो क्षेत्राधिकार बुझ्न र स्थानीय सरकारको स्वायत्तताबारे अध्ययन गर्न पनि भक्तपुर नगरपालिका सचेत पार्न चाहन्छ ।
२०७८ साउन २२ गते शुक्रबारका दिन काठमाडौँ महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गीको नेतृत्वमा एक प्रतिनिधिमण्डल भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेटको लागि आएको थियो । भेटको क्रममा विभिन्न विषयका साथै समाचारमा उल्लेखित यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलको विषयमा पनि सामान्य छलफल भएको थियो । सो क्रममा प्रमुख प्रजापतिले उपप्रमुख खड्गीलगायत कार्यदलका सबै सदस्यहरूलाई भक्तपुर सल्लाघारीस्थित १०८ रोपनी जग्गामा भक्तपुर नगरपालिकाले २०६० सालदेखि नै ख्वप विश्वविद्यालय स्थापना गरी सोअन्तर्गत चिकित्सा शास्त्र अध्ययनका लागि सदुपयोग गर्ने योजना रहेको विस्तृत जानकारी दिनुभएको थियो । छलफलको क्रममा बसपार्कजस्ता अत्यन्त व्यस्त हुने संवेदनशील विषयमा सबैसँग गहन छलफल गरी उपयुक्त ठाउँमा टुङ्गो लगाउनुपर्ने पनि सुझाव दिनुभएको थियो । बसपार्क क्षेत्रमा हुने वातावरणीय र सांस्कृतिक प्रदुषण, आर्थिक र सामाजिक प्रभावलगायतका विषयमा गम्भीरताका साथ अध्ययन हुनुपर्ने पनि सुझाव दिनुभएको थियो । यसरी भेटघाट र छलफलसमेत भएको विषय र भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक अधिकार क्षेत्रको विषयमा अनधिकृत रूपले काठमाडौँ महानगरपालिकाले गठन गरेको अध्ययन कार्यदलले प्रतिवेदन पेश गर्नु खेदजनक विषय हो ख्वप विश्वविद्यालय स्थापना गर्न नदिने जालसाजी हो ।
भक्तपुर नगरपालिकामा २०५४ सालमा नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू निर्वाचित भएर पदबहाली भएपछि निर्वाचन घोषणापत्रको प्रतिबद्धताअनुसार २०५६ सालमा ख्वप उच्च मा.वि, २०५८ सालमा ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेज, २०६० सालमा ख्वप बहुप्राविधिक अध्ययन संस्थान, २०६५ सालमा ख्वप कलेज अफ इन्जिनियरिङ र पछि शारदा मा.वि. र शारदा कलेज सञ्चालन गरी भक्तपुर नगरपालिकाले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएका यी कलेजहरूमा नेपालका मनाङबाहेक ७६ जिल्लाका हजारौँ विद्यार्थीले अध्ययन गरिसकेका छन् र हाल ६५ जिल्लाको ६ हजारभन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
भक्तपुर नगरपालिकाले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्य लिएर विद्यालय र कलेजहरू स्थापना गरेको हो । यी शैक्षिक संस्थाहरूबाट देशकै लागि आवश्यक प्राविधिक र प्रशासनिक दक्ष जनशक्ति उत्पादन भइरहेको छ । ख्वप विश्वविद्यालयको विधेयक तयारी गरी वि.सं. २०६४ सालमा उक्त विधेयक शिक्षा मन्त्रालयमा दर्ता भयो तर राजनैतिक पूर्वाग्रह र पक्षपातका कारण उक्त विधेयक धेरै ढिला संसदमा पुग्यो । अन्य धेरै विश्वविद्यालयका विधेयकहरू संसद्मा पेश भए । २०६८ सालसम्ममा ख्वप विश्वविद्यालयको विधेयकबारे शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबीच लुकामारी नै चल्यो । सो क्रममा भक्तपुर नगरपालिकाले शिक्षा मन्त्रालयमा ताकेता गरिरह्यो र सम्भाव्यता अध्ययनको लागि संसदीय टोली गठन पनि भयो । उक्त टोलीले ख्वप विश्वविद्यालयको पूर्वाधार अध्ययन गरेर सरोकारवालाहरूसँग छलफल ग¥यो र ख्वप विश्वविद्यालयसँग पर्याप्त पूर्वाधार भएको निष्कर्ष निकाल्यो । विधेयक सांसदहरूको हात – हातमा पुग्यो तर संसदमा औपचारिकरूपमा अझै पेश भएको छैन । राज्यको पुर्नसंरचनासँगै सङ्घीयता अभ्यास गर्ने क्रममा भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गरी देशको निम्ति महत्वपूर्ण योगदान दिने काममा निरन्तर प्रयासरत छ ।
नेपाल ट्रष्टको नाममा रहेको उक्त जग्गा भक्तपुर नगरपालिकाले नेपाल ट्रष्टसँग समन्वय गरी आफ्नै लगानीमा चारैतिर पर्खाल लगाई गेटहरूको व्यवस्था गरी संरक्षण गर्दै आएको हो । यसर्थ काठमाडौँ महानगरपालिकाको यातायात सञ्चालनसम्बन्धी अध्ययन कार्यदलद्वारा भनपाको सहमतिविना यातायात सञ्चालनसम्बन्धी पेश गरेको प्रतिवेदनलाई भनपाले गैरजिम्मेवार र स्थानीय तहको अधिकारमाथि हस्तक्षेपको रूपमा लिएको छ । नेपाल ट्रष्ट नियमावली २०६५ मा ट्रष्टको सम्पत्तिलाई विद्यालय, महाविद्यालय वा विश्वविद्यालयजस्ता शैक्षिक संस्था र स्वास्थ्य संस्था खडा गरी सञ्चालन गर्ने गराउनेलगायतका शैक्षिक क्षेत्रमा सदुपयोग गर्न उपलब्ध गराउने उल्लेख छ । यसरी ट्रष्टको नियमले समेत शैक्षिक क्षेत्रको लागि नै सदुपयोग गर्ने नियममा व्यवस्था भएको उक्त जग्गामा बसपार्क सञ्चालनको प्रस्ताव नियमसम्मत छैन । साथै भक्तपुर नगरपालिकाको भौगोलिक र प्रशासनिक कार्यक्षेत्रको सल्लाघारी क्षेत्रमा बसपार्क सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको कार्यदलले प्रस्ताव गर्नु सङ्घीयताको मर्म विकेन्द्रीकरणको भावना र स्थानीय स्वायत्तताको सिद्धान्तविपरीत रहेको प्रस्ट पार्न चाहन्छ ।
काठमाडौँ महागरपालिकाले आफ्नो भौगोलिक क्षेत्रमा रहेको बसपार्कलाई भ्यू टावर र अन्य व्यवसायिक प्रयोजनको लागि प्रयोग गरी पैसा कमाउने उद्देश्यले बसपार्कहरू विस्थापित गर्ने र अन्य स्थानीय तहमा बसपार्क स्थानान्तरण गर्ने नियत राम्रो होइन । आफ्नो क्षेत्रको यातायात व्यवस्था गर्ने काम स्थानीय तहको आफ्नो काम हो । काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन काठमाडौँ उपत्यकाका स्थानीय तहहरूको मात्र नभई नेपाल सरकारकै समस्या हो । यसको समाधानको लागि सरोकारवाला सबै पक्षहरूसँग गम्भीर छलफलको आवश्यकता छ । अनियन्त्रितरूपमा जनसङ्ख्या वृद्धि र अनियन्त्रितरूपमा यातायातको साधन आयात गर्नाले काठमाडौँ उपत्यकाको यातायातसम्बन्धी समस्या विकराल बन्दै गएको हो ।
राजनैतिक दलहरूको निहीत स्वार्थका कारण काठमाडौँ उपत्यका झन्झन् अव्यवस्थित हुँदै गएको छ । भक्तपुर नगरपालिका काठमाडौँ उपत्यकालाई सांस्कृतिक राजधानीको रूपमा स्थापित गरी शिक्षा, स्वास्थ्य, प्रशासनिक र आर्थिकलगायतका गतिविधिहरूलाई देशका विभिन्न ठाउँहरूमा विकेन्द्रित गर्दै लानुपर्ने पक्षमा छ । देशको सन्तुलित विकासको अवधारणाअनुसार सङ्घीयतालाई अझ बलियो बनाउन देशका सबै भौगोलिक र प्रशासनिक क्षेत्र विकेन्द्रित बनाइनुपर्छ । तसर्थ, कुनै पनि स्थानीय तहले अर्को स्थानीय तहको क्षेत्राधिकार भित्रको विषयमा सम्बन्धित स्थानीय तहको सहमतिविना बोल्न र कुनै कार्य गर्न मिल्दैन । भक्तपुर नगरपालिका उक्त समाचारसँग सम्बन्धित कार्यदल, कार्यदलका पदाधिकारीहरू र काठमाडौँ महानगरपालिकालाई समेत सो सम्बन्धमा ध्यानाकर्षण गर्न चाहन्छ ।
—भक्तपुर नगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *