भर्खरै :

सांस्कृतिक पर्व सापारु औपचारिकतामा सीमित

भक्तपुर, ७ भदौ । भाद्रकृष्ण प्रतिपदाका दिन (जनै पूर्णिमाको भोलिपल्ट) प्रत्येक वर्षझैँ यो वर्ष पनि काठमाडौँ उपत्यकालगायत देशका विभिन्न स्थानमा गाईजात्रा पर्व मनाइयो । विशेषगरी नेवार समुदाय या नेवार बस्तीमा परिवारका कुनै सदस्यको मृत्यु भएको वर्ष दिवङ्गतको स्मरणमा यो पर्व मनाइँदै आएको हो । फरक ठाउँमा फरक शैलीमा मनाइने यो ऐतिहासिक, सांस्कृतिक, मनोरञ्जनात्मक र व्यङ्ग्य प्रदर्शन गर्ने पर्व हो । अन्य स्थानको भन्दा नितान्त फरक शैली र मौलिकता झल्केको हुन्छ भक्तपुरको गाईजात्रामा ।
कोरोना महामारीको कारण गएको वर्ष र यो वर्ष गाईजात्रामा घिन्ताङघिसी र नाचगान नल्याउन आग्रह गरिएको थियो । गाईजात्रामा भीड नगर्न या औपचारिकतामा सीमित गर्न सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले गरेको आग्रहअनुसार घिन्ताङघिसी र नाचगानको प्रदर्शन नभएको हो । भक्तपुरको गाईजात्राका विभिन्न विशेषताहरूमध्ये घिन्ताङघिसी र नाचगान पनि एक हो । बाजाको ताल र स्वरमा एउटै खुट्टाको चाल र शैलीमा घिताङघिसीको नाच हुन्छ । आफ्नै मौलिक चालमा नाच्ने घिन्ताङघिसीमा पश्चिमेली शैलीले छोइसकेको छ । डिस्को शैलीमा घिन्ताङघिसी नाच्नु यसको विकृति हो ।
गाईजात्रा पर्वमा बनाइने ताहामचा (ताहा साँ) र ‘साँचा’ मा महिला र पुरुषको पोशाकले सजाएर निश्चित बाटोमा नगर परिक्रमा गर्नु यहाँको अर्को विशेषता हो । महिला मरे महिलाको पोशाक र पुरुष मरे पुरुषको पोशाकमा ‘ताहामचा’ (ताहा साँ) र ‘साँचा’ बनाइएको हुन्छ । ताहा साँ उमेर पुगेका मानिस र ‘साँचा’ बालबालिकाको बनाइन्छ । यसरी नै कतिले शिव पार्वतीको भेषमा त कतिले साँढेको प्रतिमूर्ति बनाएर नगर परिक्रमा गरिएको हुन्छ ।
गाईजात्रा दिवङ्गतहरूको स्मरण गर्नुमात्र होइन, वर्षभरिमा कति महिला, पुरुष तथा बालबालिकाहरूे मरे भन्ने जानकारी बोध पनि हुन्छ । मृतकको सङ्ख्या थाहा पाउन श्रद्धालुहरूले प्रत्येक ‘ताहा साँ’, ‘साँचा’ आदिलाई मिठाइ बाँडेको हुन्छ । यो पनि भक्तपुरमा मनाइने गाईजात्राको विशेषता हो ।
नाचगान प्रस्तुत गर्नु पनि यस पर्वको विशेषता हो । गाईजात्राको पछिल्लो दिनदेखि आ–आफ्नो चोक, टोल या स्थानमा परम्परागत तथा आधुनिक नाचगान निकालिएको हुन्छ । गाईजात्राको बेला यहाँ रहेका सबै नाचगान देखाइनुपर्छ भन्ने मान्यता छ । यहाँ देखाइने नाचहरूमा भैल नाच, देवी नाच, लाखे नाच, भालु नाच, खिचा नाच, ख्या नाच, कवांचा नाच, नागाचा नाच, मयुर नाच, जङ्गली नाच रहेका छन् । त्यस्तै कलाँली नाच, गाइँचा नाच, कपास बाट्ने नाच तथा आधुनिक ख्याल, नाटक तथा अन्य प्रदर्शन पनि हुन्छ । यी नाच साँझदेखि राति अबेलासम्म देखाइन्छ । यी नाच पनि गाईजात्राको निश्चित मार्गको घेराभित्र रहेको चोक, आँगन, दबुली आदिमा देखाइन्छ ।
व्यङ्ग्य प्रदर्शन गर्नु पनि गाईजात्राको अर्को विशेषता हो । समाजमा घटेका विकृति, विसङ्गति, कमी कमजोरी र आपराधिक घटनाको विरोधमा व्यङ्ग्य गर्ने या उदाङ्ग्याउने काम गाईजात्राकै दिनदेखि सुरु भएको हुन्छ । पहिले पहिले व्यङ्ग्यको नाउँमा अश्लील प्रदर्शनी पनि हुन्थ्यो । विभिन्न भेषभूषा लगाएर पेटी पेटीमा गाईजात्रा हेरिरहेका महिलाहरूसँग ख्याल ठट्टा गर्ने, हँसीमजाक गर्ने र मनोरञ्जनको नाउँमा अश्लील कुराकानी भएको हुन्थ्यो । अश्लील दृश्य र अश्लील बातचितमा सुधार गर्न नेपाल मजदुर किसान पार्टीले तीनचार दशकअघि नै गाईजात्राको दिन सांस्कृतिक अभियान छेडेको थियो । उक्त अभियानमा देश विदेशमा भएका राजनीतिक घटनालाई समेटेर व्यङ्ग्य प्रदर्शन गर्दै घिन्ताङघिसी नाचेको हुन्थ्यो । प्रदर्शनीमा ठूला शक्ति राष्ट्रले अन्य स्वाधीन र सार्वभौम देशमाथिको आक्रमण, दमनको दृश्य हुन्थ्यो, त्यस्तै कार्टुन हुन्थ्यो । टोलका एक नागरिकदेखि संसारका विभिन्न देशका राष्ट्रप्रमुखहरूको अत्याचार, शोषण, दमन र अपराधलाई उदाङ्ग्याइएको हुन्थ्यो । नेमकिपाले यसलाई सांस्कृतिक परिवर्तनको रूपमा प्रयोग गरेको थियो । यस्ता प्रदर्शन टोलटोलबाटै सुरु हुन्थ्यो । यस्ता प्रदर्शनी कहिले नेक्राविसङ्घ त कहिले नेक्रायुसङ्घले पनि गरे । यो प्रदर्शनी कोरोना महामारी फैलिनु अघिल्लो वर्षसम्म चालू थियो ।
सांस्कृतिक परिवर्तन गर्ने उद्देश्यले गरिएको उक्त अभियानले पहिले देखाइने अश्लील दृश्य, अश्लील अभिनय र अश्लील बातचित पूर्णतः रोकेको थियो । तर, पछिल्ला दिनमा फेरि अश्लील दृश्य, अश्लील अभिनय र पच्छिमेली शैलीमा घिन्ताङघिसी प्रदर्शन भइरहेको देखिन्छ । आफ्नै शैलीको घिन्ताङघिसी नाच्न, आदर्शोन्मुख समाज बनाउनमा टेवा पुग्ने खालका प्रदर्शनीहरू गर्नु आवश्यक देखिन्छ ।
दुई वर्षअघि सम्म गाईजात्राको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानको हल, नाचघरको हल र राष्ट्रियसभा गृहमा प्रहसन हुन्थ्यो । तर, कोरोना भाइरसको कारण गाईजात्रा हास्यव्यङ्ग्य कार्यक्रम भएन । वर्षभरिका विभिन्न विकृति, विसङ्गतिप्रति व्यङ्ग्य गर्दै विगतका विसङ्गति र कमी कमजोरी फेरि नदोहोरिऊन् भन्ने ध्येयले प्रहसन कार्यक्रम राखेको हुन्थ्यो । यस्ता प्रहसनले मनोरञ्जन दिनुको साथै सकारात्मक सन्देश बाँडेको हुन्छ । त्यसरी नै विभिन्न पत्रिका र म्यागाजिनहरूमा व्यङ्ग्यात्मक कार्टुन, कविता आदि लेखिएको हुन्थ्यो ।
गाईजात्रा देश विदेशका विसङ्गतिविरुद्ध अभिव्यक्त गर्ने एक अर्को माध्यम पनि हो । सामाजिक, राजनीतिक एवम् धार्मिक विकृतिलाई चोटिलो व्यङ्ग्य प्रहार गर्ने भएकोले गाईजात्रामा सबैको ध्यान गएको हुन्छ । गाईजात्रा हाम्रो संस्कृतिको एक नमुना हो । यसको भावनामा हामीले आँच पु¥याउने काम गर्नु हुँदैन । हिजो निरङ्कुश पञ्चायतमा समेत तीखो व्यङ्ग्य हुने यस पर्वमा आफ्नो शैली छोड्न नहुने संस्कृतिविद्हरूको भनाइ छ ।
गाईजात्रा पर्व भक्तपुरबाहेक धुलिखेल, बनेपा, दोलखा, त्रिशुली, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौडा, लमजुङ, पोखरा आदि स्थानमा हुन्छ ।
‍‍‍‍‍‍‍‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *