भर्खरै :

कुहिरोमा हराएको काग : देउवा सरकार

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले अझै पनि पूर्णता पाउन सकेको छैन । विशेषतः सत्ता गठबन्धनमा सामेल दलहरू र नेकाभित्रकै झगडाको कारण सरकारले पूर्ण आकार ग्रहण गर्न सकेको छैन । देउवाको सत्तारोहणको निम्ति अहम् भूमिका खेलेको माधव नेपाल समूहको अझै पनि अनिश्चित राजनीतिक कार्यदिशाको कारण सरकारले दरिलो खुट्टा टेक्न सकेको छैन । नीतिगत हिसाबमा देउवा सरकार दिशाहीन छ । ‘अनपेक्षित र अचानक’ हातमा परेको सरकार सञ्चालनको निम्ति देउवाले कुनै योजना र नीति पनि बनाउन सकेको देखिएन । सरकारसँग न पूर्ववर्ती सरकारको कार्यक्रम त्यागेर नयाँ नीति बनाउन सक्ने सामथ्र्य छ न त आफ्नै ढङ्गले अघि बढ्ने कुनै योजना छ ।
नेकाको आसन्न महाधिवेशनलाई केन्द्रमा राखी देउवाले आफ्नो गुट निकट र विवादित छविका व्यक्तिलाई मन्त्री बनाउँदा काङ्ग्रेसकै इत्तर गुटका नेताहरूले सरकारप्रति अपनत्व अनुभव गर्न सकेका छैनन् । प्रतिपक्ष बस्नुपर्दाको पीडाबोधको कारण काङ्ग्रेसभित्रै विपक्षी खेमाका नेताहरूले खुलारूपमा सरकारको आलोचना नगरे पनि त्यहाँभित्र ‘घाँटी काट्ने प्रतिस्पर्धा’ भने चलिरहेको देखिन्छ । महाधिवेशन तयारीको क्रममा सङ्गठित सदस्यताको वितरणमा भइरहेको झगडामा पनि यस्तो प्रतिस्पर्धा प्रतिबिम्बित भइरहेको छ ।
देउवा र नेकाले विगतमा नेपाली जनताबीच आफ्नो गिरेको छवि उकास्न अहिले सरकार सञ्चालनको निम्ति अनपेक्षितरूपमा आएको अवसरको भरपुर उपभोग गर्ने मनसाय बनाएको छ । तर, जीर्ण साङ्गठनिक संरचना, पार्टीभित्रको गुटगत चरम वैमनस्यता र नीतिगत नवीनताको अभावले त्यस्तो मनसाय चाहनासम्म बनेको छ, काङ्ग्रेसले व्यवहारमा लागु गर्न सकेको छैन । खासमा नेकाले पछिल्लो संसदीय निर्वाचनमा पराजयको कारण केही पाठ निश्चय पनि सिकेको छ । तर, काङ्ग्रेसमा सुधारको चाहना भने व्यवहारमा कम चाहनामा बढी भएको यथार्थ अवस्था देउवा सरकारको चालढालबाट देखिँंदै छ ।
देउवा सरकारले न कोभिड–१९ महामारी नियन्त्रणको निम्ति कुनै नयाँ प्रभावकारी योजना ल्याउन सकेको छ न त महामारीकै कारण कमजोर बनेको आर्थिक अवस्थामा सुधारको निम्ति कुनै कार्यक्रम नै ल्याउन सकेको छ । भारतका चिकित्सक र विज्ञहरू आगामी अक्टोबर महिनामा तेस्रो लहरको महामारी उत्कर्षमा पुग्ने सम्भावना देखाइरहेका छन् । खुला सीमा र व्यापक जनसम्पर्कको कारण भारतमा फैलिएको सङ्क्रमणको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्ने गरेको छ । भारतले तेस्रो लहर सामनाको तयारी गर्दै गर्दा देउवा सरकार भने अझै कुहिरोमा हराएको कागजस्तै बनेको छ । के गर्ने कसो गर्ने केही मेलोमेसो पाउन नसकेको सरकार ¤ एक त आफ्नै दलभित्रको अव्यवस्था, त्यसमाथि सत्ता गठबन्धनमा अन्योलको कारण देउवा सरकार न हाँसको चाल न कुखुराको चाल भएको छ ।
देउवा सरकार र सिङ्गो सत्ता गठबन्धनको ध्यान जनताले सामना गरिरहेका समस्या र चुनौतीको सामनाभन्दा पनि आसन्न चुनावमा आफ्नो पल्ला भारी गर्न चुनाव खर्चको जोहोमा बढी केन्द्रित देखिएको छ । राज्यका तीन तहको चुनाव नजिकिंदै गरेको अवस्थामा चुनावमा आफ्नो अङ्कगणितीय बहुमत र त्यसअघि दलहरूका महाधिवेशनमा आ–आफ्ना गुटलाई बलियो बनाउनमा नै देउवा सरकारको बढी मिहिनेत भइरहेको देखिन्छ ।
पटक–पटकको नेका सरकार भोगिसकेका नेपाली जनताले नेकालाई नजिकबाट चिनेको छ । नेकाबाट के अपेक्षा गर्ने र नगर्ने भन्ने कुरा जनतालाई थाहा छ । विगतका काङ्ग्रेस सरकारका काम कारबाहीलाई आधार मानेर यतिबेला नेपाली जनता देउवा सरकारले कम्तीमा नबिगारे हुन्थ्यो भन्ने मनसाय राखेका छन् । दिशाहीन देउवा सरकारले कम्तीमा देशलाई थप भयावह अवस्थामा नपु¥याओस् भन्ने जनताको चाहना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *