भर्खरै :

अफगानिस्तानको ‘काबुलीवाला’

हाम्रो बाल्यकालमा हामीले रवीन्द्रनाथ टैगोरको कथा र बलराज सहनीको चलचित्र ‘काबुलीवाला’ बाट अफगानिस्तान चिनेका थियौँ । ‘काबुलीवाला’ स–साना केटाकेटीलाई भुटेको बदाम बाँड्दै हिँड्थ्यो । अनि आफ्नो झोलाबाट जादुगर लट्ठी निकालेर केटाकेटीलाई जादु देखाएर खुसी बनाउँथ्यो ।
बितेका झन्डै चालिस वर्षमा अफगानिस्तानको छात्तीमाथि संरा अमेरिका र सोभियत सङ्घले थोपरेका फोहोरी लडाइँको बेलुनमा त्यो काबुलीवाला कहीं हरायो । त्यसो त तपाईं त्यो बेलाको काबुलीवाला हिजोआजको तालिवान हुनुपर्ने भन्न सक्नुहुन्छ । तर, यो कुरा मलाई भने चित्त बुझ्दैन । एक जना हिन्दु बङ्गाली केटी मिनीको अनुहारमा आफ्नी छोरीको तस्बिर देख्ने रहमत अर्थात् ‘काबुलीवाला’ तालिवानी कदापि हुनसक्दैन ।
आजको अफगानिस्तानमा ‘काबुलीवाला’ र उसकी छोरी खोज्न अलि मिहिनेत पर्छ । त्यसको निम्ति तपार्इँ भारतीय मूलधारका सञ्चारमाध्यम र स्टुडियोबाट बाहिर आउनुपर्ने हुन्छ ।
आउनुस् तपाईँलाई म ‘काबुलीवाला’ की छोरीलाई भेटाउँछु । अनि उनीसँग हामी मिलेर सोधौँ–अमेरिका र तालिवानमध्ये कसलाई छान्नु ठीक हुन्छ ?
अफगानिस्तानमा एउटा भूमिगत महिला सङ्गठन छ । त्यसको छोटकरी नाम रावा हो अर्थात् अफगान क्रान्तिकारी महिला सङ्घ । सन् २०१९ मा त्यसका एकजना सक्रिय कार्यकर्ता सामिया वालिदको अन्तरवार्ता प्रकाशित भएको थियो । त्यसमा उनले भनेकी थिइन्,“अमेरिकाले अफगानिस्तानमाथि हमला गर्दा महिलाको अधिकारलाई पनि मुद्दा बनाएको थियो । तर, बितेका १८ वर्षमा हामीले के उपलब्धि हासिल ग¥यौँ ? मात्र हिंसा, हत्या, यौन हिंसा, आत्महत्या र अन्य विपत्तिहरू । अमेरिकाले इस्लामिक अतिवादीलाई शक्तिमा राखेको छ । ती अतिवादीहरू नै अफगान महिलाका सबभन्दा ठुला शत्रु हुन् । साम्राज्यवादीहरूको बितेका चार दशकमा यही रणनीति बन्दै आएको छ । जेहाद, तालिवान, आइएसआइएसजस्ता इस्लामिक अतिवादीहरूलाई बढावा दिइएको छ । उनीहरू हत्यारा अपराधीमात्र होइनन्, बरु महिलाविरोधी अन्धभक्त पनि हुन् । खासमा हामीमाथि दमन गर्नेमध्ये अमेरिका पनि हो ।
हामी अफगान महिलाको मुक्ति साम्राज्यवादी उपनिवेशीकरण, इस्लामिक अतिवाद र कठपुतली सरकारबाट मुक्तिमा मात्र सम्भव देखेका छौँ ।
अमेरिकाले शिक्षित महिलालाई सरकार र अन्य संस्थामा मात्र सीमित राखेको छ । गैरसरकारी संस्था, नागरिक समाजलाई सजाउने पुतलीजस्तै बनाइएको छ । यसका दुई वटा प्रयोजन छन् । पहिलो, अमेरिकाले यी महिलाहरूलाई संसारसामु अफगान महिलाको वास्तविक अवस्था लुकाउन प्रयोग ग¥यो । अनि आफ्नो कष्टदायक युद्धलाई उचित ठह¥याउन तिनको प्रयोग गरियो । दोस्रो, यस्ता शिक्षित महिलाहरूलाई आफूसँग राखेर उनीहरू महिलाहरू क्रान्तिकारी सङ्घर्षमा नलागून् भन्ने चाहन्छन् ।
जनताको समाजवादी अफगानिस्तानको लागि लडिरहेका महिलाहरूको लागि तालिवान र संरा अमेरिकामध्ये कसलाई छान्ने भन्ने प्रश्नको उत्तर दिन अनिवार्य छैन । उनीहरूको छनोट जीवन र मृत्युबीच हो । मृत्यु र मृत्युमा कसरी छनोट हुनसक्छ ? काबुलीवालाकी छोरीहरू हामीलाई त्यही भन्दै छन् ।
अब आउनुस्, ‘काबुलीवाला’का छोराहरूलाई भेटौँ । यो विषयमा उनीहरूको भनाइ के हो, बुझौँ ।
संरा अमेरिकाले सन् २००१ मा अफगानिस्तानमाथि कब्जा जमाएको ठीक तीन वर्षपछि अफगानिस्तानका पाँच वटा कम्युनिस्ट पार्टीहरू मिलेर ‘अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) स्थापना ग¥यो । स्थापना भएयता त्यो पार्टीले इस्लामिक अतिवाद र अमेरिकी साम्राज्यवाद दुवैविरुद्ध लडिरहेको छ ।
पार्टीका एक जना संस्थापक सदस्य (जसको सन् २०१९ मा निधन भयो) कमरेड जियाले सन् २०११ मा ‘अमर ज्वाला’ नामको पत्रिकामा एउटा लेख प्रकाशित गरेका थिए । लेखको शीर्षक थियो–के तालिवान लड्छ वा साम्राज्यवादी कठपुतली सरकारसँग सहमति गर्छ ?’ (स्मरणीय छ, सन् २०११ मा संरा अमेरिकाले सन् २०१४ भित्रमा अफगानिस्तान छोड्ने घोषणा गरेको थियो । तर, विभिन्न कारणले संरा अमेरिका त्यत्तिबेला अफगानिस्तानबाट फर्केन ।) सन् २०११ मा जियाले लेखेका वाक्यहरू आज सही प्रमाणित भएका छन् । तालिवानले संरा अमेरिकासँग सम्झौता ग¥यो र ‘शान्तिपूर्ण’ ढङ्गले सत्तामा आयो ।
अफगानिस्तानबाट अमेरिकालाई धपाउने भावनाको कारण केही सर्वसाधारण तालिवानको समर्थनमा आएको साँचो हो । तर, कुनै पनि सङ्गठनको चरित्र त्यसको नेतृत्वले निर्धारण गर्छ । तालिवान भनेको निःसन्देह अफगानिस्तानका घोर प्रतिक्रियावादी सामन्ती हुन् ।
तालिवान र संरा अमेरिकाबीच सम्झौता भएपछि अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी)ले जारी गरेको वक्तव्यमा भनिएको छ– “सम्झौतापछि अब तालिवान अमेरिकी साम्राज्यवादको हिस्सा भयो ।”
अफगानिस्तानमा अमेरिकी पराजय ठीक छ किनभने उसले स्थायी प्रकृतिको सरकार नै बनाउन सकेन । लाखौँ कोसिस गरेर पनि अमेरिकाको कठपुतली सरकार काबुलबाट बाहिर जानै सकेन । सन् २०११–१२ मा अमेरिकाले तालिवानलाई सत्तामा ल्याउने विकल्पको विषयमा सोच्न थाल्यो । बन्द कोठाहरूमा दुई पक्षबीच संवादको थालनी भइसकेको थियो । तर, विभिन्न आन्तरिक र बाह्य सन्तुलन नमिल्दा त्यो प्रक्रियाले गति लिन सकेन । अन्ततः सन् २०२० को फेब्रुअरीमा तालिवानले संरा अमेरिकाका सबै सर्त मान्न तयार भयो र सत्ता हस्तान्तरण सहज बन्यो । यसक्रममा विभिन्न सशस्त्र समूहले संरा अमेरिकी सेनामाथि हमला गर्दा तालिवानले जोगाएको समाचार पनि बाहिर आएको छ ।
बदलिँदो विश्व परिस्थितिमा (आर्थिक सङ्कट र चीनको उदय) धेरै देशमा आफ्नो सेना तैनाथ गर्न संरा अमेरिकालाई गाह«ो छ । त्यसकारण, ऊ निश्चित स्थानमा मात्र आफ्नो ध्यान केन्द्रित गर्न चाहन्छ । यतिबेला संरा अमेरिकाको सबभन्दा प्राथमिक विषय भनेको चीनलाई घेराबन्दीमा पार्नु हो । उसको दोस्रो प्राथमिकता भनेको मध्यपूर्वमा आफ्नो अवस्था बलियो बनाउनु हो । यी सबै प्राथमिकताको सापेक्षमा हेर्दा अफगानिस्तान उसको निम्ति घाँडो बनेको थियो । उसले अफगानिस्तानमा मात्र २ त्रिलियन डलर खर्च गरिसकेको छ । तर, अझै पनि त्यहाँ कुनै स्थायी प्रणाली बन्न सकेको छैन ।
अफगानिस्तानको ग्रामीण क्षेत्रमा तालिवानको प्रभाव र विगतका कठपुतली सरकारहरूभन्दा तालिवानप्रति जनताको समर्थन देखेर अमेरिकाले तालिवानलाई नै तुलनात्मकरूपमा स्थायी शक्ति देखेको छ । जसरी बितेका ७० वर्षमा साउदी अरबको सन्दर्भमा पिटु अमेरिकाको सबभन्दा विश्वासिलो शक्ति बन्दै आएको छ ।
तालिवानको नृशंसताको निकै कुरा गर्ने भारतीय सञ्चारमाध्यमहरू साउदी अरबको नृशंसताबारे कुरा गर्दैनन् । महिलाहरूको सन्दर्भमा साउदी अरब पृथ्वीमै सम्भवतः सबभन्दा क्रूर सरकार हो ।
कति जना मान्छेले पत्रकार खसोस्सगीको निर्मम हत्याबारे प्रश्न उठाएको छ ? उनलाई टर्कीस्थित साउदी दूतावासमा कसरी मारिएको थियो भन्ने विषयमा कतिले औंला ठड्याएको छ ? सारिया कानुन पालना गरिरहेको साउदी अरबले भारतका प्रधानमन्त्री मोदीलाई सबभन्दा ठुलो पुरस्कार दिँदा मोदीका भक्तहरूले यो विषयमा चुँ पनि बोलेनन् । के उनी अमेरिकी समर्थक भएकाले नै यो सब भइरहेको हो ?
निर्ममताको हाम्रो परिभाषा के हो ? आफ्नो चर्चित चलचित्र ‘एक्सटर्मिनेट अल द ब्रुट्स’ (सबै निर्मम निर्मुल गर) मा रावल पेकले ‘युरोपेली अमेरिकीहरूसँग अरू सभ्यतासँग भन्दा एउटा लाभ भएको बोलेका छन् । उनीहरू टाढैबाट मार्ने काममा पोख्त छन् । कालान्तर भन्ने ठाउँमा टाढाबाट मार्नुलाई नजिकबाट मार्नुभन्दा बर्बर मानिन्छ । तालिवानले जब नजिकबाट कसैलाई मार्छ अथवा कसैको घाँटी रेटे हामीलाई त्यो बर्बर लाग्छ । तर, जब अमेरिकीहरूले विवाह समारोहमा ड्रोन अथवा हवाई हमला गर्छ त्यसलाई हामी त्यत्ति बर्बर मान्ने गर्दैनौँ । अफगान जनतामाथि संरा अमेरिकी आड प्राप्त उत्तरी मोर्चाले कस्तो नृशंस निर्मम व्यवहार गरेको थियो भन्ने कुरा हामीले बिर्सिसक्यौँ । विशेषतः सन् २००१ मा युद्धपूर्व अफगान महिलाहरूमाथि कस्तो निर्मम व्यवहार गरिएको थियो ? हामीले बिर्सियौँ किनभने सञ्चारमाध्यमले यो कुराको चर्चा गर्न छोडे ।
‘द न्युज क्लिक’को समाचारअनुसार संरा अमेरिकाले सिँगो संसारमा औसत प्रतिदिन १२१ वटा बम हान्छ, प्रतिवर्ष ४४ हजार ०९६ वटा बम हान्ने गर्छ । त्यसको अर्थ अमेरिका संसारलाई पुनः ढुङ्गेयुगमा फर्काउन लगातार लागिपरेको छ । के अमेरिका अझै सभ्य देश हो त ? सन् २००१ यता बितेका बीस वर्षमा अमेरिकी हमलाबाट झन्डै ५० हजार अफगानी नागरिकको हत्या भएको छ । सन् २०१४ उता यमनमा भएको गृहयुद्धमा २० लाख ३३ हजार यमनी नागरिकको हत्या भएको छ । यमनको यो नरसंहारको निम्ति संरा अमेरिकी समर्थन प्राप्त साउदी अरब सरकारमात्र जिम्मेवार छ ।
इतिहासका विद्यार्थीहरूलाई थाहा छ, कुनै बेला अफगानिस्तानलगायत अधिकांश मुसलमान देशहरूमा कम्युनिस्ट पार्टी या त सरकारमा थियो अथवा सशक्त प्रतिपक्षमा थिए । आज जसलाई हामीले मुसलमान अतिवादी भनेर चिनेका छौँ, त्यत्तिबेला उनीहरू साउदी अरबमा खुम्चिएर बसेका थिए । यो विषयमा तरिक अलीले आफ्नो चर्चित पुस्तक ‘बुश इन बेबिलोन’मा विस्तारमा लेखेका छन् ।
समाजवादी रुस र अन्य समाजवादी देशले समाजवादको बाटो छोडेपछि संसारका सबै कुनामा अमेरिका र रुसले पक्षधर बनाउने खोजे र ती देशहरूलाई एक अर्काविरुद्ध प्रयोग गर्ने प्रयास गरे । अफगानिस्तान पनि उनीहरूको लडाइको एउटा थलो बन्यो ।
सत्य के हो भने साम्राज्यवाद र प्रतिक्रियावादी सामन्तवाद एकअर्काबिना बाँच्न सक्दैनन् । परिणामतः हाल ४० लाख जनसङ्ख्या भएको देशमा बितेका चालीस वर्षमा २ करोड २० लाख अफगान नागरिकको हत्या भइसकेको छ ।
भन्नुको अर्थ, तालिवान यो खतरनाक खेलको एउटा निकै सानो खेलाडीमात्र हो ।
अफगानहरूसँग भारतीयहरूको कस्तो सम्बन्ध छ भन्ने विषयमा सन् १९३० मा चन्द्रसिंह गर्वालले निकै राम्ररी लेखेका छन् । पेशावरमा उनले अफगान जनताको छायाङ्कन गर्न नमान्दा उनी त्यहाँ एघार वर्ष जेल बसेका थिए । तर, अफगानिस्तानमा सोभियत हमला र सन् २००१ मा अमेरिकी हमलाको निर्लज्ज समर्थन गरेर भारतीय जनताको मित्रताको परम्परालाई भारत सरकारहरूले धोका दिए ।
मानवताको भविष्य ‘काबुलीवाला’ र ‘चन्द्रसिंह गरवाल’मा छ । जो जो आ–आफ्नो देशमा आ–आफ्नै तरिकाले लडिरहेका छन्, हामीले उनीहरूमाथि आशा राख्नुपर्छ । आज त्यो सङ्ख्या निकै कम र नदेखिने भएको छ । तर राति सूर्य देखिँदैन । त्यसको अर्थ सूर्य नउदाउने भने होइन । संसारमा उज्यालो नहुने पनि होइन ।
नेपाली अनुवादः मेरिना

Leave a Reply

Your email address will not be published. Required fields are marked *