ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
(आज ‘राखी’ हो । शास्त्रीय भाषामा जनैपूर्णिमा । जुन घरमा पस्दै छौँ हामी, त्यस परिवारमा यसलाई ‘राखी’ वा ‘रक्षाबन्धन’ भनिन्छ । पछिल्लो छिमलका छोराछोरी नास्तिक छन् । उनीहरूका नजरमा जनै, टीका आदिको त्यति महत्व छैन, जति भेटघाट, भाइचारा र आत्मीयताको छ । तीनै जना उच्च शिक्षा अध्ययन गर्दै छन् । चाडबाडलाई खानपिनले टारेपछि उनीहरू सधैँझैँ छलफलमा होमिए ।)
दिदी १ : सानु, तँ नागरिक आन्दोलनतिर लागिस् रे, हो ?
भाइ : ओलीले गैरसंवैधानिक तरिकाले संसद् विघटन गरेपछि गइदिएँ दिदी ।… एक नागरिकको हैसियतले संविधान र विधिको पालन गर्नु र गराउनु हाम्रो कर्तव्य हो, हैन र ?
दिदी २ : तिमीले पनि नागरिक आन्दोलनको मासुभात खायौ त्यसो भए ?
भाइ : मासुभात बाँडेको थियो भनेर कसले भन्यो ?
दिदी २ : होस्टेलकी रुममेटले… । ऊ पनि गएकी थिई आन्दोलनमा ।
दिदी १ : मासुभातको कुरा छोड । संविधान पालन गर्नु र गराउनु हाम्रो कर्तव्य हो भनेर किन लाग्यो ?
भाइ : हामीलाई पढाइएकै यही हैन र ? विधिको शासन… ।
दिदी २ : त्यसो हो भने तिम्रो नजरमा नेपाली नागरिकले एमसीसीको पक्ष लिनुपर्छ भन्ने अर्थ लाग्यो । किनभने, तिनै नागरिकको प्रतिनिधित्व गर्ने सरकारले अमेरिकासँग त्यो गोप्य सम्झौता गरेको थियो । के तिमी एमसीसीको पक्षमा छौ ?
भाइ : सोसल मिडियामा यत्तिका छलफल हेरेपछि मैले कसरी एमसीसीको पक्ष लिने आफै भन न !
दिदी २ : तर, तिमी त विधिको पालन गर्ने नागरिक हैन र ?!
(आफ्नै विचारको पासोमा फस्न पुगेकोले भाइ अवाक भयो ।)
भाइ : दिदी हेर्नुस् न सान्दिदी जिस्काउँछिन् !
दिदी : तर्कमा दम त छ सानु ! बरु तैँ भन, नागरिक समाज के हो ?
भाइ : राज्य र बजारबाट मुक्त तप्कालाई नागरिक समाज भनिन्छ । यसले समाजको आर्थिक र सांस्कृतिक विकासमा टेवा दिन्छ । गरिबी, अशिक्षा, चेलीबेटी बेचबिखन, दुव्र्यसनी, विभेदविरोधी अभियानहरू चलाउनु, मानव अधिकारलगायत विषयमा कानुनी सङ्घर्षहरू गर्नु नागरिक समाजको कार्यक्षेत्रभित्र पर्छ । यी कार्यहरू गैरनाफामुखी हुन्छन् ।… त्यसैले भन्छु, सान्दिदी, मासुभात खान म नागरिक आन्दोलनमा गएको थिइन ।
दिदी २ ः तिमीले एउटा कुरा बताएनौ । नागरिक समाजका मानिसहरू प्रायः बुद्धिजीवी तहबाट आएका हुन्छन् । धेरैजसोले विभिन्न एनजीओ, आइएनजीओमा काम गरिरहेका हुन्छन् । हुनेखाने परिवार…
भाइ : सोझै मालदार भन न ! किन कुरा घुमाउनुप¥यो ?
दिदी १ : अर्को कुरा पनि छ सानी । नागरिक समाजले खुला बजार अर्थतन्त्रको पक्ष लिन्छ ।
भाइ : कसरी ? यसमा त राजनीतिक आस्थाको कुरै हुन्न । राजनीतिक पार्टीहरूले देशलाई लुट्नु लुटे भनेर नै हामी युवाहरूले नागरिक आन्दोलन रोजेका थियौँ । त्यहाँ गएपछि कसैको झोले बन्नुपर्दैन ।
दिदी १ : हैन, मैले यसको जन्मकथा भन्दै थिएँ । फेरि समाज विज्ञानमा कुनै पनि चीजका धेरै परिभाषाहरू हुन्छन् । मूलधार वा उदार पुँजीवादी परिभाषालाई मात्र हाम्रा पाठ्यपुस्तकमा बढी जोड दिइन्छ ।
भाइ : भन्नुस् ।
दिदी १ ः युरोपमा १८ औँ र १९ औँ शताब्दीमा पुँजीवादको विकास भइरहेको थियो । पुँजीवादले आफूसँगै एउटा अलग समाज, अलग नीतिनियमहरू पनि जन्मायो । त्यसैले एडम स्मीथ, जोन स्टुआर्ट र रिकार्डोजस्ता राजनीतिक अर्थशास्त्रीहरूले नयाँ समाजलाई ठूलो आशाले हेरे । उनीहरूले नयाँ समाजले मानव जीवनलाई प्रगतिशील, जागरुक र स्वतन्त्र बनाउने देखे । यो नयाँ समाजलाई नागरिक समाज भनियो । खुला बजार अर्थतन्त्रलाई यही जीवनसम्मको सिँढी मानिन्थ्यो ।
भाइ : अर्थशास्त्रीहरूले पनि कहीँ जीवनको कुरा गर्छन् र ?
दिदी २ : सानु, त्यो जमानाका अर्थशास्त्रीहरूले “हामीले कस्तो खालको अर्थ प्रणाली अपनायौँ भने असल मानिस बन्न सक्छौँ” भनी चिन्तन गर्थे । उनीहरू मूलतः दार्शनिक हुने गर्थे र नैतिकता वा सदाचारबारे कलम चलाउँथे । विकास, अर्थनीति, नाफाजस्ता कुरामा उनीहरूको रुचि थिएन । खासमा त्यसबेला जन्मिँदै गरेको नयाँ समाज र राजनीतिको सम्बन्धबारे अध्ययनलाई नै राजनीतिक अर्थशास्त्र भनिन्थ्यो । छुट्टै अर्थशास्त्र भन्न थालेको १९२० तिरबाट मात्र हो ।
दिदी १ : सामन्ती समाज एकदम नियन्त्रित थियो । युरोपका गाउँहरूमा सामन्तहरूका ठूलठूला मौजाहरू हुन्थे । सहरमा मौजाजस्तै गील्डहरू हुन्थे । कुनै सामान कति, कहिले, कसरी उत्पादन गर्ने र कहाँकहाँ बेच्ने, यस्ता कुराहरू विभिन्न पेशाका गील्ड नायकहरूले निर्धारित गर्थे । एउटा गील्डमा जन्मेको बच्चाले त्यही पेशाबाट जीवन निर्वाह गर्नुपथ्र्यो । पेशा फेर्ने सम्भावना कम थियो । हामीकहाँको जातिप्रथाजस्तै ।
एडम स्मीथले जागीर र गील्डको नियन्त्रणलाई तोडेर खुला बजार अर्थतन्त्रमा जानुपर्ने बताए । उनले सही भनेका थिए, खुला बजार अर्थतन्त्रले त्यसबेला मान्छेलाई पहिलेभन्दा धेरै स्वतन्त्रता दिएको थियो ।
भाइ : मैले भनेँ नि म गएको नागरिक आन्दोलनमा काङ्ग्रेसीहरूमात्र थिएनन्, कम्युनिस्टहरू पनि थिए !
दिदी २ : दिदीले पनि भन्नुभयो त, समाज विज्ञानमा अनेक परिभाषा हुन्छन् भनेर । फेरि तिमीले नागरिक समाजको जुन परिभाषा दिएका थियौ, त्यो भर्खरै दिदीले व्याख्या गरेको उदारवादी परिभाषा हो । आदर्श पुँजीवादीहरू आफूलाई उदारवादी भन्छन्, यो त थाहा होला तिमीलाई ।
दिदी १ : अब म हेगेलको कुरा गर्छु ।
भाइ : थिसिस, एन्टी थिसिस र सिन्थिसिस ?
दिदी २ : ठीक भन्यौ । भन्नुस् दिदी… ।
दिदी १ : (खुला) बजार अर्थतन्त्रले गर्दा बजारमा लेनदेन बढिरहेको थियो । त्यसले एकदम नयाँ समाजलाई जन्म दिँदै थियो । हेगेलले समाजमा बनिरहेका नयाँ मानवीय सम्बन्धहरूलाई केलाए । यी मानवीय सम्बन्धलाई उनले नागरिक समाज भने र त्यसलाई थिसिस, एन्टी थिसिस र सिन्थिसिसको आँखाबाट हेरे ।
हेगेलले समाजमा तीन मुख्य सम्बन्ध हुन्छन् भने । परिवार, नागरिक समाज र राज्य । परिवार निःस्वार्थ मायाको क्षेत्र हो । त्यहाँ आमाबाले छोराछोरीको हेरचाह गर्नुपर्ने हुन्छ, भाइबहिनीबीच माया हुन्छ । नागरिक समाज स्वार्थको क्षेत्र हो । मानिस आफ्नो स्वार्थ पूर्ति गर्न बजार जान्छ । यसमा व्यक्तिले आफैलाई महत्व दिन्छ । निःस्वार्थ र स्वार्थबीचको उल्झन वा अन्तरविरोधलाई राज्य नामको एउटा तटस्थ सम्बन्धले समन्वय गर्छ ।
भाइ : अलि प्रस्ट पार्नुस् त दिदी ।
दिदी १ : मानिस स्वाभवैले निःस्वार्थी छ र स्वार्थी पनि । एकातिर इगोइस्ट (आफूकेन्द्रित) छ, अर्कोतिर सोसल (सामाजिक) छ । एकातिर, युनिभर्सल छ, अर्कोतिर पार्टिकुलर छ । हेगेलले भने – मान्छेको स्वार्थीपनले नै उसलाई निः स्वार्थी बनाउँछ । स्वार्थी हुनु र निःस्वार्थी हुनु दुवै मान्छेको अस्तित्वको लागि जरुरी छ । कार्ल माक्र्स हेगेलको यो कुरामा सहमत थिए ।
मान्छे स्वतन्त्र बन्ने क्रममा अरूसँग उसको निर्भरता पनि बढ्दै जान्छ । एक्लो मान्छेले आफूलाई चाहिने सबथोक उत्पादन गर्नसक्दैन । त्यसैले श्रम प्रक्रियाले मानिसहरूबीच अनेक सम्बन्धहरू जन्माउँछ । यसैलाई समाज वा नागरिक समाज भनिन्छ । बाहिरबाट हेर्दा नागरिक समाज स्वार्थहरूको योग हो, भित्रबाट यो हामीबीचको अन्तरसम्बन्ध हो । यही आर्थिक र सामाजिक अन्तरसम्बन्धले अदालत, सङ्घसंस्था, प्रहरीजस्ता सामूहिक संस्थापन बनाउँछ । यस्ता संस्थाहरूले मानिसबीचको सामाजिकीकरण बढाइदिन्छ ।
उदारवादीहरू प्रत्येक व्यक्तिसँग राज्यको सम्बन्ध हुन्छ भन्छन् । हेगेल भन्छन् – व्यक्तिहरू एउटा निश्चित समुदायसँग जोडिएका हुन्छन्, ती समुदाय निश्चित वर्ग वा मौजासँग जोडिएका हुन्छन् र मौजाहरू राज्यसँग जोडिएका हुन्छन् । अर्थात्, राज्य सामूहिकता जनाउने विभिन्न नागरिक समाजको माध्यमबाट व्यक्तिसँग जोडिएको हुन्छ । युनिभर्सल र पार्टिकुलरबीच, निजी र सामूहिकबीच नागरिक समाजको माध्यमबाट राज्यले समन्वय गर्छ, तिनलाई जोड्छ । यसरी हेगेलको नजरमा राज्य एउटा तटस्थ संयोजनकारी र बुद्धिमत्तापूर्ण सिद्धान्त र एकाइ हो । त्यो व्यक्ति र समूहभन्दा माथि हुन्छ ।
दिदी २ : हेगेलसँग मतभेद राख्ने विचारकहरू पनि छन् । त्यसबारे म भन्छु । पानी पिउनुस् दिदी ।… हेगेलले राज्यले सबैको स्वार्थको रक्षा गर्छ, युनिभर्सल र पार्टिकुलरका फरक स्वार्थ पहिचान गर्दैन भनेर निरङ्कुश तानाशाहीको वकालत गरे । यो उदारवादीहरूको आरोप हो ।
दिदी १ : हेगेलले युनिभर्सल र पार्टिकुलरका फरक स्वार्थ नठम्याएको भनेर म मान्दिन । बरु, उनले राज्य नामको एउटा जटिल एकाइका माध्यमबाट ती दुई स्वार्थलाई द्वन्द्वात्मक तरिकाले जोड्न खोजेका थिए । यो गजबको अवधारणा थियो । यसमा रहेको खोट माक्र्सले देखाए ।
भाइ : माक्र्सले के भने ?
दिदी १ : त्यसबेला तल्लो वर्ग राजनीतिमा अटाउन्नथ्यो । उसलाई मतदानको अधिकार थिएन । फ्रान्सेली क्रान्तिमा सम्पत्ति भएकालाई मात्र मतदानको अधिकार दिइएको थियो । मौजा वा सम्पत्ति नै नभएको कामदार वर्ग नागरिक समाजमा कहाँ पर्छ ? हेगेलसँग यसको उत्तर थिएन ।
नागरिक समाज लेनदेन, लुछाचुँडी, स्वार्थको क्षेत्रको हो भन्नेमा माक्र्स हेगेलसँग सहमत थिए । तर, नागरिक समाजभित्र गरिबको शोषण पनि हुन्छ भनी माक्र्सले नै बताए । हेगेलले राज्यलाई नागरिक समाजभन्दा माथि मानेका थिए । माक्र्सले त्यसलाई उल्ट्याइदिए । उनले राज्यलाई नागरिक समाजको उपज भने । राज्य नागरिक समाजका आपसी स्वार्थहरूबाट जन्मिन्छ र त्यसले सम्पत्तिशाली वर्गको स्वार्थ जोगाउने काम गर्छ ।
माक्र्स आन्दोलन र क्रान्तिको युगमा जन्मेका थिए । पुराना सामन्ती संरचनाहरू भत्किँदै थिए । नयाँ परिवर्तनहरू हुँदै थिए । तर, ती परिवर्तन राजनीतिक तहमै सीमित थिए । राजनीतिक परिवर्तनले गर्दा कानुनको नजरमा सबै नागरिकहरू समान बन्न पुगे । तर, तल्लो वर्गको स्थिति सुधारिएन । नयाँ पातहरू पलाए, तर जरामा परिवर्तन भएन । यो परिवर्तनले नागरिक समाजभित्रको अन्तरविरोध हल गरेन । जातीय, नश्लीय, लिङ्गीय भेदहरू जस्ताको तस्तै थिए । त्यसैले ती परिवर्तनलाई माक्र्सले आंशिक परिवर्तन भने । राजनीतिक परिवर्तनले वर्गीय समस्यालाई निजी समस्या भनेर किनार लगाइदियो । अब सम्पत्तिको स्वामित्वको कुरालाई राज्यले व्यक्तिगत कुरा भनिदियो । नागरिक समाजमा, अर्थतन्त्रमा वर्गीय भेद बाँकी रह्यो । यी भेदप्रति आँखा चिम्लेर राज्यले समाजको आधारभूत अन्तरविरोधलाई एकपछि अर्को पुस्तामा प्रसार गर्दै जान्छ । राज्य एउटा वर्गीय राज्य देखापर्छ । त्यसैले माक्र्सवादीहरू भन्छन्, राज्य एउटा वर्गले अर्को वर्गलाई दबाउने औजार हो ।
समाजको व्याख्या गरेपछि माक्र्सले समाधान पनि पत्ता लगाए । उनले भने – राज्य र समाजबीचको खाडल पुरेको खण्डमा मानिस मुक्त हुनेछ । आँखामा पट्टि बाँधेर कानुनी तहमा विभेद हटाइयो, तर नागरिक समाजको तहमा विभेद हटाइएन । समाजमा खाडल रहिरह्यो । त्यही खाडल पुरेको खण्डमा मान्छेको मुक्ति हुनेछ ।
भाइ : मान्छेको मुक्ति भनेको के हो ?
दिदी २ : माक्र्सको आँखामा मान्छे एउटा विचारशील, रचनात्मक र चेतनशील प्राणी हो । त्यसैले मान्छेले सचेत श्रम गर्छ । यस्तो श्रम गर्दा मान्छे खुसी हुन्छ । तर, अहिले यो श्रम अरूको कैदमा छ । अरूको भन्नाले नाफाको कैदमा छ । मान्छेको श्रम रचनात्मक नभएर श्रम शक्ति बन्न पुगेको छ । किनबेचको वस्तु बनेको छ । श्रमलाई नाफा बढाउने शक्ति बनाउँदा श्रमिकलाई निरस र उच्चाट लाग्छ । श्रमिक आफ्नो श्रमको मालिक हुन्न, बरु कमारो हुन्छ । उसमा अलगावको भावना पैदा हुन्छ । काम गर्ने बेला उसले निचोरिएको र लुटिएको महसुस गर्छ । त्यसैले हाम्रो समाजमा धेरै मान्छेलाई आफ्नो पेशा मन पर्दैन । मान्छेको आवश्यकता हेरेर सौन्दर्य रच्नेभन्दा पनि कमाउने कुरामा बढी चासो हुन्छ । काम नगरेको बेला मात्र उसले आफू बाँचिरहेको महसुस गर्छ ।
मान्छेको श्रम र त्यसबाट हुने उत्पादन पहिले मान्छेको व्यक्तित्वको अंश थियो । अब त्यो मालिकको सम्पत्ति बन्छ । मान्छेको मोल हुन्न । उसले उत्पादन गरेको सामानको मोल नै उसको मोल बन्छ । अरू मान्छेलाई उसले मान्छे देख्दैन । बरु उसले मेरो लागि के गर्नसक्ला भनी अरूलाई जोख्छ । मान्छेलाई उसको सम्पत्तिको आधारमा आदर गरिन्छ । सम्पत्तिले मान्छेको प्राकृतिक स्वभावलाई नष्ट गर्छ, हामीलाई भ्रष्ट बनाइदिन्छ । हामी सम्पत्तिको पछि दौडिन थाल्छौँ । यो बिमुखता वा अलगावलाई हटाएरमात्र मान्छे मुक्त हुनेछ । माक्र्सले यसैलाई मान्छेको मुक्ति भनेका हुन् ।
भाइ : यो त गज्जबको कुरा रहेछ ।
दिदी १ : हो सानु, अलगावको सिद्धान्तले मान्छेलाई आफ्नै जीवन नियाल्न सघाउँछ । माक्र्सले मानव समाजलाई दिएको यो एउटा अमूल्य उपहार हो ।
माक्र्सले नागरिक समाजबारे हेगेलको अवधारणालाई गरिबहरूको नजरबाट हेरे । हेगेल र फायरबाखले धर्ममा मान्छेको अलगावको अभिव्यक्ति देखे । माक्र्सले निजी स्वामित्व र त्यसले पैदा गर्ने सामाजिक व्यवस्थासँग अलगावलाई जोडे । नागरिक समाजभित्रको मालिक वर्ग गरिबहरूको मिहिनेत खोसेर बाँच्ने गर्छ । त्यसैले मालिकहरूको नैतिकता र चेतना भ्रष्ट भएको छ । हामी सुविधासम्पन्न मान्छेलाई एडभान्स वा स्मार्ट भन्छौँ । माक्र्सले त्यसलाई उल्टो देख्छन् । मान्छे जति बढी पुँजीपति बन्छ, त्यति उसमा नाफा कमाउने र धन थुपार्ने तलतल जाग्छ । ऊ नाफाको दास बन्छ । त्यस प्रक्रियामा मान्छेको प्रकृति अथवा रचनात्मक श्रम गर्ने स्वभाव दब्छ । नाफाले मान्छेलाई अमानवीय बनाउँदै लाग्छ । यसलाई माक्र्सले ‘स्वत्वको ह्रास’ भनेका छन् ।
अघि म समाधानको कुरा गर्दै थिएँ ।… उदारवादीहरूले सम्पूर्ण मूल्य श्रमबाट सिर्जना हुन्छ भन्छन् । तर, पुँजीवादी समाजमा जसले जति मूल्य पैदा गर्छ, उसको त्यति नै अवमूल्यन हुन्छ । मूल्य जति धनीले कुम्ल्याउने हुनाले धनी दिनदिनै अकासिँदै जान्छ, गरिब झन्झन् खस्किँदै जान्छ । सम्पत्ति नभएको यही टाट पल्टिँदो सर्वहारा वा युनिभर्सल वर्गले मानव जातिलाई मुक्ति दिन सक्छ भन्ने माक्र्सको ठहर छ । यो वर्ग नागरिक समाजबाट जन्मे पनि ऊ त्यसको हिस्सा होइन । ऊसित सम्पत्ति छैन । सम्पत्तिमाथि निजी स्वामित्वकै कारण उसको स्थिति खस्किँदै गइरहेको छ । उसले नै समग्र मानव समाजलाई उल्ट्याउन सक्छ, मान्छेको भाग्य फेर्न सक्छ, समस्त नागरिक समाजलाई सभ्य तुल्याउन सक्छ, त्यस समाजलाई प्रजातान्त्रिक बनाउन सक्छ । यसप्रकार कम्युनिस्ट क्रान्तिलाई माक्र्सले मानव जातिको मुक्तिको बिन्दु मान्छन् ।
नागरिक समाजमाथि थप प्रकाश ग्राम्स्कीले छरे । सानीले यसैबारे अध्ययन गर्दै छे । ग्राम्स्कीले के भनेका छन्, बता सानी ।
दिदी २ : पुँजीवादको विकाससँगै केही युरोपेली देशले संसारभरि माल उत्पादनमा एकाधिकार जमाए । बेलायतलाई त्यसबेला संसारको कारखाना भनिन्थ्यो । प्रविधिको विकाससँगै युरोपेली देशहरूले आफूलाई सैन्यकरण गरे । बजार र स्रोतसाधनको लुछाचुँडीका कारण साम्राज्यवादी देशहरूबीच प्रथम विश्वयुद्ध भयो । यसै बेला रुसमा समाजवादी क्रान्ति भयो । अक्टोबर क्रान्तिको प्रभाव विश्वभर फैलियो । युरोपका विभिन्न देशमा क्रान्तिका लहरहरू देखिन थाले । तिनलाई कुल्चिन पुँजीवादले फासीवादको रूप लियो । त्यसबेला ग्राम्स्की इटालीको कम्युनिस्ट पार्टीका महासचिव थिए । उनी लेनिनका समर्थक थिए । ‘उनको बुद्धिलाई २० वर्षसम्म सोच्न दिनुहुन्न’ भनेर मुसोलिनीका न्यायाधीशहरूले उनलाई जेलमा हाले । त्यहाँ उनले नोटबुकहरू लेखे । त्यही नोटबुकमा उनका मुख्य विचारहरू पढ्न पाइन्छ ।
जेल नोटबुकमा ग्राम्स्कीले मुख्यतया तीनवटा कुरा उठाएका छन् । माक्र्सले बेलायतजस्तो उन्नत पुँजीवादी देशमा पहिलो समाजवादी क्रान्ति हुने देखेका थिए । तर, क्रान्ति रुसमा भयो । ग्राम्स्कीको प्रश्न थियो, उन्नत युरोपेली देशहरूमा भन्दा पहिले रुसमा क्रान्ति किन भयो ?
युरोपमा सत्ता दुई भागमा बाँडिएको थियो – राजनीतिक समाज र नागरिक समाज । ती दुवै समाजको लगाम शासकहरूको हातमा हुन्छ । राजनीतिक समाजमा सेना, प्रशासन, अड्डा अदालत, ऐनकानुन, राजनीतिक दल र संसद् पर्छन् । नागरिक समाजभित्र मिडिया, सोसल मिडिया, धर्म, संस्कृति, शिक्षालय, कला, साहित्य, सङ्गीत, विज्ञान आदि पर्छ । यो समाजले सोच, जनमत वा वैचारिक बहसको निर्माण गर्छ । खासमा यसले शासकहरूकै विचार फैलाउँछ । र तल्लो वर्गलाई दिमागीरूपमा गुलाम वा दास बनाइराख्छ । यसले सुधारमा जोड दिन्छ, तर जगैदेखि समाजको परिवर्तनमा रुचि लिन्न । नागरिक समाज विचारको क्षेत्र वा सुपर स्ट्रक्चरमा मात्र सीमित हुन्न । यो अर्थतन्त्र वा बेससँग जोडिएको हुन्छ । बाँच्नको लागि यसलाई मालदार सङ्घसंस्था चाहिन्छ । यसको लागि यसले शासक वा नाफाखोरहरूकै मुख ताक्छ । तलको जग वा शोषणलाई जीवित राख्न यसले माथिको बौद्धिक प्रभुत्व वा हेजीमोनी कायम राख्छ ।
भाइ : सान्दिदी, यी कुरा बताएर कतै तिमीले ममाथि हेजीमोनी थोपर्दै त छैनौ ?!
दिदी २ : तिमीले राम्रो जिज्ञासा राख्यौ ? हेजीमोनी आफैमा राम्रो वा नराम्रो भन्ने हुन्न । कसैको विचारको प्रभाव पर्नु असल पनि हुनसक्छ, खराब पनि हुनसक्छ । जस्तो किसानमाथि सर्वहारा वर्गको वैचारिक प्रभाव पर्नसक्छ । यसलाई गलत भन्न सकिन्न । कसको हेजीमोनी वा वैचारिक प्रभुत्व छ र किन छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । समाजको सन्दर्भमा ग्राम्स्कीले शासकहरूको बौद्धिक प्रभुत्वलाई हेजीमोनी भने । यसको लागि राज्यले नै रसदपानी खुवाउने बौद्धिक संस्थापन वा नेतृत्व हुन्छ भनेर ग्राम्स्कीले पहिलोचोटि जोड दिए । हिजेमनीको अवधारणा माक्र्सवादी साहित्यमा नौलो थिएन । माक्र्सकै पालादेखि शासकहरूले बन्दुकले मात्र शासन गर्दैनन्, बरु बुद्धि वा कलमले पनि शासन गर्छन् भनिन्थ्यो । ग्राम्स्कीले त्यसलाई अझ समृद्ध पारे ।
ग्राम्स्कीले बताए – हिजेमनीकै कारण रुसमा क्रान्ति भयो, युुरोपमा भएन । रुसमा जारका विचारहरू फैलाउने नागरिक समाज थिएन । तर, युरोपमा बलियो नागरिक समाज थियो । नागरिक समाजले शासक र शोषणलाई धमिलो बनाइदिन्थे । त्यसैले युरोपको तल्लो वर्ग नागरिक समाजका अनेक मतहरूबीच कुहिराको काग बन्थ्यो । उसले शत्रु र मित्र छुट्याउन सक्दैनथ्यो, त्यसैले उसले क्रान्तिबारे सोच्न पाएन । उसले सरकारलाई आफ्नो अभिभावक देख्यो । रुसका मुख्य बुद्धिजीवीहरूले जारको पक्षपोषण गर्दैनथे । त्यसैले आफ्नो शत्रु को हो भनी रुसी कामदार वर्गले स्पष्ट देख्न सक्यो र त्यसका विरुद्ध सङ्घर्ष गरेर क्रान्ति ग¥यो ।
उदारवादीहरूले बजार र राज्यका विरुद्ध गएर नागरिक समाजले व्यक्ति वा नागरिकको हकहितको रक्षा गर्छ भन्थे । ग्राम्स्कीले उनीहरूको विचार उल्ट्याइदिए । उनले नागरिक समाजले नागरिकहरूको खतराबाट बजार र राज्यको रक्षा गर्छ भनिदिए ।
भाइ : यो एउटा पक्ष भयो, अरू ?
दिदी २ : हेजीमोनी वा वैचारिक प्रभुत्वले अहिलेको पुँजीवादी व्यवस्थामा सबैजना खुसी छन् भनी देखाइरहन्छ । खुला बजार र संसदीय प्रणाली नै ठीक छ, त्यसमा अलिकति सुधार गरे पुग्छ भनी बताइन्छ । मूलधारका सिनेमा, सङ्गीत, मिडियामा यस्तै कुरा देखाइन्छ । तर, विचारको क्षेत्रमा लडाइँ पनि चलिरहेको हुन्छ । हिजेमनीको विरुद्ध काउन्टर हिजेमनी चल्छ । जनताका साहित्यकार, पत्रकार, कलाकार, सङ्गीतकार पनि हुन्छन् । तिनलाई जैविक बुद्धिजीवी भनिन्छ । यो व्यवस्था कायम राख्ने वा नराख्ने भन्ने विषयमा मात्र नभई मानिसहरूबीच, मालिक र कामदारबीच, महिला र पुरुषबीच कस्तो सम्बन्ध हुनुपर्छ भन्ने विषयमा पनि सङ्घर्ष चलिरहेको हुन्छ ।
मान्छेले व्यवस्थै उल्ट्यायो भने पनि धेरै समय टिकाउन सक्दैन । त्यसैले एउटा बृहत् सांस्कृतिक क्रान्तिको आवश्यकता हुन्छ । शासकहरूको सोचलाई जरैबाट नष्ट गर्नुपर्ने हुन्छ र एउटा नयाँ खालको संस्कृति निर्माण गर्नुपर्छ । उदारवादीहरूले राजनीतिक परिवर्तनको कुरा गरे, माक्र्सले आर्थिक क्रान्तिमा जोड दिए, ग्राम्स्कीले सांस्कृतिक क्रान्तिको पनि आवश्यकता देखे । सांस्कृतिक क्रान्ति अन्य क्रान्तिजस्तो सजिलो हुँदैन । अरू क्रान्ति नियमित युद्धजस्तो हुन्छ । शत्रु पक्ष एकअर्कासामु उभिन्छन् र लडाइँ सुरु हुन्छ । तर, सांस्कृतिक क्रान्तिमा शत्रुहरू अगाडिपछाडि भइरहन्छन् । यो एउटा गुरिल्ला युद्धजस्तो हुन्छ । यसमा लडाकूहरूले मुख्य मुद्दाको लागि सहायक मुद्दाहरू छोड्दै लड्न सक्छन् । यसरी मुख्य शत्रुविरुद्ध एउटा संयुक्त मोर्चा बनाउन सकिन्छ । ग्राम्स्कीको युगमा मुख्य मुद्दा फासीवादसँगको लडाइँ थियो । अन्य बहसहरू एकातिर थन्काएर फासीवादसँग लड्नु महत्वपूर्ण थियो ।
ग्राम्स्कीको विचारले संसारमा ठूलो प्रभाव पा¥यो । अमेरिकामा धेरै आन्दोलनहरू उठे । ती आन्दोलनहरू समाजका पुराना वा संस्थापनको संस्कृतिविरुद्ध लक्षित थिए । त्यहाँ राजनीतिक पार्टीको नेतृत्वभन्दा पनि विशेष इस्यू वा मुद्दामा रहेर आन्दोलनकारीहरू एकजुट भएका थिए ।
भाइ : हो, म पार्टीनिरपेक्ष भएर आन्दोलनमा गएको थिएँ । म पनि ग्राम्स्कीपन्थी भएँ, आधुनिक भएँ । हैन त ?
दिदी १ : यहाँनिर तैँले सानीको एउटा कुरा बिर्सिस् । ग्राम्स्की लेनिनका अनुयायी थिए । उनी बोल्शेभिक पार्टीको सङ्गठन शैलीका पक्षधर थिए । तत्कालीन युरोपमा फासीवादविरुद्ध लड्न उनले संयुक्त मोर्चाबन्दीको कुरा गरेका थिए । त्यो एउटा कार्यनीति थियो । तर, क्रान्ति नै मूल समाधान हो भन्नेमा उनलाई शङ्का थिएन । क्रान्ति समग्र राज्यसँगको लडाइँ हो, निजी सम्पत्तिको अधिकारविरुद्धको लडाइँ हो, पूरै नागरिक समाजलाई सभ्य बनाउने यात्रा हो । क्रान्तिका लागि राज्यको सङ्गठित शक्तिविरुद्ध अर्को सङ्गठित शक्तिको खाँचो पर्छ । त्यो शक्ति ग्राम्स्कीले बोल्शेभिक पार्टीको सङ्गठन ढाँचामा देखेका थिए । त्यसैले बिना पार्टी वा सङ्गठन क्रान्तिको कुरा अमेरिकाको वालस्ट्रीट आन्दोलनजस्तै बन्न पुग्नेछ । त्यो अन्ततः सुधारमा गएर टुङ्गिनेछ ।…
दिदी २ ः उम… फासफुस हुनेछ भन्नु न दिदी । रोजा लक्जेम्बर्गले सोधेझैँ सोध्छु, सानु तिमी सुधार चाहन्छौ कि क्रान्ति ? नेपालको नागरिक समाजका नेताहरूको बेस के हो, आधार के हो ? आन्दोलनकारीहरूलाई मासुभात खुवाउने पैसा कहाँबाट आयो ? के तिनीहरू सरकारमा गइरहने कुनै दल विशेषका आउरेबाउरे हुन् ? तिनीहरू कहाँ काम गर्छन् ? ती संस्थानका दाताहरू सरकारी, विदेशी, को हुन् ? यसबाट उनीहरू कसका स्वार्थ रक्षक हुन् भन्ने स्पष्ट हुन्छ ।
दिदी १ : सानु र सानी, खासमा नेपाली नागरिक समाजको अग्निपरीक्षा एमसीसीको मुद्दामा हुनेछ । एमसीसीविरोधी सङ्घर्षमा कति ठूलो आन्दोलन पैदा गर्छ, त्यसैबाट नागरिक समाजको वास्तविकता नापिनेछ ।
आजलाई टुङ्ग्याऔँ ।
(सबैजना राखीको अवसरमा उपहार पाएका पुस्तकहरू पल्टाउन थाल्छन् ।)
Leave a Reply