भर्खरै :

‘पूर्ण वैद्यको ‘लः लः ख’ कविता सुन्ने पाठक म पहिलो थिएँ’

जुल्फीकर अलि भुट्टोलाई फाँसि दिएको विरूद्धमा सुरू भएको विद्यार्थी आन्दोलन बुटवलमा पनि फैलिसकेको थियो । त्यस आन्दोलनमा विद्यार्थीका साथसाथै चालक, सहचालक, रिक्सा चालक, टाँगा चालक र फूटपाथमा सुत्ने मान्छेहरू समेत सहभागी हुन थालेका थिए । त्यो समय म समतल नापी टोली बुटवलमा थिएँ । विद्यार्थी आन्दोलन चर्कँदै थियो । प्रहरीबाट लाठी चार्ज र आन्दोलनकारीको तर्फबाट ढुङ्गा मुढा हुँदा प्रहरी र सर्वसाधारण जनता घाइते भएको कार्यालयको झ्यालबाट हेर्दै थिएँ । प्रहरीहरूको ज्यादती देख्दा मलाई पनि आन्दोलनमा भाग लिउँ लिउँ जस्तो लाग्थ्यो । तर, सरकारी जागीरको जन्जीरले पछाडि तानिन्थ्यो र म बिस्तारै सेलाउँदै जान्थे ।
एक दिन कार्यालयमा बिदा लिई का. रोहितलाई भेट्न दरभङ्गास्थित पार्टी कार्यालयमा गएँ । उहाँले त्यहाँबाट बुटवल क्याम्पस अध्यापन गर्ने प्रा. सूर्यलाल कर्माचार्यलाई भेट्ने काम दिनुभयो । प्रा. कर्माचार्य पनि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र भक्तपुर तुलाछेँ टोलका हुन् भन्ने थाहा पाएँ । उहाँ भक्तपुरकै बासिन्दा भए तापनि मैले उहाँलाई चिनेको थिइनँ । त्यसपछि म बुटवलस्थित आफ्नै कार्यालयमा फर्केँ । म फर्केको भोलिपल्ट बुटवल क्याम्पसमा प्रा. कर्माचार्यलाई भेट्न गएँ । क्याम्पस हाताभित्र उहाँको आवास गृह रहेछ । आवास गृह बाहिर एउटी महिला लुगा धुँदै हुनुहुन्थ्यो । उहाँसँग प्रा. कर्माचार्यबारे सोधपुछ गरेँ । उहाँ आफै प्रा. कर्माचार्यकी पत्नी हुनुहुँदो रहेछ । उहाँले ‘यही हो’ भनेर प्रा. कर्माचार्यलाई बोलाउनुभयो । कर्माचार्यज्यू मूल ढोकामा आउनुभयो । मैले नमस्कार गरेँ । उहाँले सोध्नुभयो – “किन आउनुभयो ?” त्यसबेला मसँगै न्हुछेबहादुर ढुकुछु पनि थिए । कर्माचार्यलाई मैले नचिने पनि धुकुछुले चिनेका रहेछन् । तपाइँलाई भेट्नको लागि मलाई नारायणमान बिजुक्छेँ (रोहित) ले पठाउनुभएको भनेर जवाफ दिएँ । जवाफ सुनेर प्रा. कमाचार्य अत्यन्त जँगिदै भन्नुभयो – “नारायणमान बिजुक्छेँलाई मैले चिनेको छैन । तपाइँ जानुस्, यहाँ नबस्नुस् !उसँग मेरो कुनै सम्बन्ध छैन । जानुस् तपाइँहरू !”
म भक्तपुरकै मान्छे हुँ भने तापनि उहाँले वास्तै गर्नुभएन । भावनामा डुबेको म नयाँ कार्यकर्ता ! कर्माचार्यको व्यवहारले चित्त दुख्यो र निन्याउरो मुख लिएर फर्केँ । क्याम्पस हाता बाहिर पुग्न लाग्दा क्याम्पसकै चउरमा कवि पूर्ण वैद्य एक्लै बसिरहनुभएको देखेँ । कवि वैद्य साहित्य सम्मेलनमा बरोबर भेटिरहने व्यक्ति हुँदा उहाँलाई राम्ररी चिन्थेँ । “अहो ¤ पूर्ण दाइ ।”, भन्दै उहाँको अगाडि गएँ । उहाँ अत्यन्त खुशी हुनुभयो । उहाँ पनि त्यही क्याम्पसकै प्राध्यापक हुनुहुँदो रहेछ । क्याम्पसमा आउनुभएको कारण सोधेपछि मैले प्रा.कर्माचार्यबाट आफूलाई भएको व्यवहारबारे पनि बताएँ । “त्यो मान्छे त्यस्तै हो, अस्ति पनि पश्चिमाञ्चलको एक जनालाई यस्तै व्यवहार देखाउनुभयो । मान्छे ठीक छैन । एकदम डरछेरूवा हो । चित्त नदुखाउनु, बरू मेरो डेरामा जाऊँ” भनेर मलाई उहाँको डेरामा लग्नुभयो । डेरामा अरु कोही थिएन । सुनसान थियो । साधारण कोठा थियो । मलाई एउटा कुर्सीमा बसाउनुभयो । उहाँले एउटा कापी लिएर “तिनाउ खोलाको प्रभावबाट मैले पानीलाई विम्ब बनाएर अलि अलि कविता कोरेको छु । भाइले सुनिदिनु है ¤” भन्दै आफूले रच्नुभएको पानी विषयको कविता पाठ गर्नुभयो ।
आफूले रचेको रचना सुन्ने व्यक्ति नभएको बेला कवितामै चासो राख्ने व्यक्ति भेटेको हुँदा उहाँको अनुहारमा उज्यालो देखियो । उहाँले रच्नु भएको ‘लः’ कविताहरू बुझ्न मलाई गा¥हो भो । तैपनि सुनिरहेँ । उहाँले १५–२० वटा कविता पाठ गर्नुभयो । उहाँको डेरा मेरो डेरासँगै तिनाउ खोलाको किनारामा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *