ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
वडा कार्यालयमा गएर भर्खर कुर्सीमा मात्र बसेको थिएँ । वडावासीहरू आ–आफ्ना समस्याहरू लिएर कार्यालय प्रवेश गरे । मैले सबैलाई नमस्ते गर्दै सोफामा बस्न आग्रह गरेँ । एक जना वडावासीको समस्या सुन्दै गर्दा अर्काे एक जना ज्येष्ठ नागरिक ‘मलाई गा¥हो भयो वडाध्यक्षज्यू, म काठमाडौँबाट ट्याक्सी चढेर आएको, म बिरामी मान्छे, मेरो सिफारिस पहिले गरिदिनुप¥यो” भन्दै मेरो अगाडिसम्म आएर टेबुलमाथि फाइल राखिदिनुभयो । ज्येष्ठ नागरिकले सोफामा बस्दै भन्नथाले, “वडाध्यक्ष भाइ, मेरा तीनजना छोराहरू छन् । कुनै छोराले पनि हेरेनन् । म आज हो कि भोलि माथि जाने बेला भइसक्यो । भाइले मलाई चिन्छ कि चिन्दैन मलाई थाहा छैन । तर, म यही वडाको वडावासी हुँ । मेरो पुरानो घर यही वडा कार्यालयको दाहिनेपट्टिको लाइनमा पर्दछ । अहिले मेरा भाइ बुहारीहरू बस्छन् । म र मेरो परिवार काठमाडौँमा बस्दै आएका छौँ । एक जना छोरा यहीँ बस्छ । म र मेरी श्रीमतीमात्र छौँ । अरू छोराहरू अलग्ग अलग्ग बस्छन् । मेरो एउटा सानो जग्गा छ । यही टोलमा हो यो जग्गा । सायद भाइलाई पनि थाहा होला । मेरो घर अगाडिको खुला ठाउँ छाडिएको जग्गा नै मेरो हो । मैले पनि धेरै वर्षअगाडि एक जना टोलवासीसँग किनेको हुँ । मेरा छोराहरूले मलाई नहेरेको हुँदा अब यो जग्गा बेच्न लागेको हुँ । भाइ वडाध्यक्षज्यूले मलाई छिटो सिफारिस दिनुहोला ।” मैले बुढा बाको फाइल पल्टाएँ र आवश्यक कागजातहरू भए नभएको सबै हेरेँ । फाइलमा निवेदन, पुर्जा, मालपोत रसिद, घर जग्गा मूल्याङ्कन करका कागजातहरू सबै रहेछ । मैले सचिवलाई फिल्ड निरीक्षणको तोक लगाएँ । तोक लगाउँदै गर्दा अग्रज पार्टी कार्यकर्ताले विगतमा भनेको कुरा झल्याँस याद आयो । वडामा कोही मानिस भिड भएको बेलामा हतार भयो भनी कोही मान्छे सिफारिस लिन आएमा पक्कै पनि त्यस्तो मानिस र त्यसको फाइलदेखि अलि सचेत हुनुपर्छ भनी अग्रज पार्टी कार्यकर्ताहरूले भनेको कुरा याद गरेँ । त्यही भएर मैले तोक लगाइसकेपछि पनि फाइलमा सबै कागज पुगे नपुगेको र बुढा बालाई नियालेर हेरेँ । तर, मलाई त्यस्तो सचेत हुनैपर्ने कुनै विशेष कुरा नभएकोले फाइल सचिवलाई सिफारिस बनाउनको लागि बुढा बालाई दिएर पठाएँ । बुढा बा पनि वडाध्यक्ष भाइ निकै जाती मान्छे भन्दै फाइल लिएर सचिवलाई भेट्न गए । वडा कार्यालयमा धेरै मानिस भएकोले बुढा बाको फाइलमा पहिले तोक लगाइदिएकोले कतिले पालो मिचेको गुनासो गरे । तर, मैले वडावासीसँग माफी माग्दै ज्येष्ठ नागरिक भएकोले धेरै दुःख नदिउँ भनेर फाइल हेरेको अनुरोध गरेँ । मेरो नरम जवाफले गर्दा वडावासी कोही नरिसाएको जस्तो लाग्यो । त्यसपछि मैले बिस्तारै अरूको समस्या सुन्दै गएँ र फाइलहरूमा पनि तोक लगाउन थालेँ ।
बुढा बा त तोक लगाएको दस मिनेटपछि नै सचिव मेरो अफिसमा आइपुगे । सचिवको अनुहारमा अलि अलि रिस अनि अलि अलि आवेश प्रस्टै देखिन्थ्यो । सचिवसँगै बुढा बा पनि सँगै माथि आइपुगे । सचिवले अलि रिसाएरको स्वरमा मलाई जवाफ दिनुभयो, “सरले यस फाइलमा तोक लगाउनुभएको उपयुक्त भएन । हुन त यस वडामा तपार्इँ मेरो हाकिम हुनुहुन्छ । तपाईँको कुरा काटेकोमा क्षमा याचना गर्दछु र तपाईँको तोक आदेश पालना पनि गर्दछु । तर, पनि सरलाई सरको अनुमति भए यस फाइलमा उल्लेख भएको जग्गाको सम्बन्धमा अलि जानकारी गराउन चाहन्छु । हुन त यस फाइलमा सिफारिस दिने सबै कागजात पुग्छ । सरले त्यही भएर सिफारिस बनाउन तपार्इँले तोक लगाई दिनुभएको होला । तर, पनि तपार्इँजस्ता जनप्रतिनिधिले कानुनी पक्षमात्र नभई व्यवहारिक समुदायको हितमा पनि काम गर्नुपर्ने जस्तो लाग्छ । यो जग्गा किनबेच गर्न पहिला पनि यस वडा कार्यालयमा आएकै हो । त्यसबेला पनि हामीले यो जग्गालाई घर बाटोको सिफारिस दिएका थिएनौँ । यो जग्गा कसैको निजी जग्गा होइन । हुन त लालपुर्जा व्यक्तिको नाममा छ । तर, पनि यो जग्गा कृष्ण भगवानको हो भनी अदालतबाट फैसला भएको कागज छ । टोलवासीहरू पनि यो जग्गा सार्वजनिक प्रयोजनको लागि हो भन्छन् । वडाध्यक्षज्यू, यस टोलको नभई अर्को टोलको भएको हुँदा तपाईँलाई पहिलाको घटनाबारे थाहा छैन होला, तर म विगत दुई दशकदेखि यस अफिसमा सचिव भएर काम गरेको हुँदा मलाई राम्रोसँग जानकारी छ । त्यसैले, तपाईँले यस फाइलको सिफारिस दिनको लागि निर्वाचित समिति र वडावासीसँग एकचोटि छलफल गरेको खण्डमा राम्रो होला सर ।” सचिवको कुरा सुनेपछि बुढा बा रिसाएर कराउन थाले, “कहाँकृष्ण भगवानको नामको जग्गा हो ? मेरो जग्गालाई सार्वजनिक कहाँभन्न पाइन्छ ? मेरी श्रीमतीको नाममा बकाइदा पुर्जा छ । नगरपालिकालाई हरेक वर्ष मालपोत तिर्दै आएको छु । टोलवासीले सार्वजनिक भन्दैमा हुन्छ र ? कृष्ण भगवानको जग्गा भनेर कहाँ लेखेको छ ? सचिव भएर यस्तो झूट बोल्ने हो र ?” अफिसमा धेरै मान्छे भएकोले सचिवलाई थप नबोल्न इसारा गरे । कुरा छोट्याउँदै बुढा बालाई नरम स्वरमा मैले भनेँ, “बुढा बाको श्रीमतीको नाममा त पक्कै पुर्जा छ । अनि कर पनि तिरेकै देखिन्छ । तर, पनि वडाले आवश्यक ठानेमा एक पटक फाइललाई रोकेर अध्ययन गर्न मिल्छ । बुढा बा आजलाई घर जानुस् । तपार्इँ एक हप्तापछि आउनुस् । अनि तपाईँलाई सिफारिस दिन मिल्ने वा नमिल्ने म निर्णय दिन्छु ।” मेरो नरम स्वरले गर्दा बुढा बाको रिस पनि कम भयो भने सचिवको अनुहार अलि उल्यालो देखियो ।
त्यस दिन बेलुका खाना खाएर ‘मजदुर’ दैनिक पत्रिका हेर्दै थिएँ । मोबाइलमा एक व्यक्तिको फोन कल आयो । अपरिचित व्यक्तिले मलाई भने, “वडाध्यक्षज्यू, दिउँसो अफिसमा धेरै व्यस्त होला । त्यसैले आज बुढा बाले वडा कार्यालयमा ल्याएको फाइलको विषयमा कुरा गर्न ५ बजेपछि बाहिर कुरा गर्नुप¥यो । भोलि तपाईँले अलि समय मलाई दिनुप¥यो । बाहिर कतै बसेर खाजा पनि खाउँला । तपार्इँको भोलि कहीँकतै बैठक छ भने मिलाउनुस् ।” मैले जवाफ फर्काए, ‘तपाई को हो ? अफिस समत्र्न्दा बाहिर किन कुरा गर्नुप¥यो ? बुढा बालाई एक हप्तापछि आउनु भनेको छु । फेरि किन अफिस समयपछि भेट्ने ? तपाईँ कुरा गर्ने भए अफिसमा नै आउनुस् । म त ५ बजेपछि व्यस्त नै हुन्छु । भोलि तपार्इँ प्रथम प्रहरमा नै अफिस आउनुहोला ।”
भोलिपल्ट त्यस अपरिचित व्यक्ति वडा कार्यालयमा आएर प्रथम प्रहरमै उसले भन्यो, ‘हेर्नुस् वडाध्यक्षज्यू, आज बुढा बाको तर्फबाट म वकालत गर्न आएको हुँ । त्यो जग्गा कुनै हालतमा पनि सार्वजनिक होइन न त कृष्ण भगवानको नै । सचिवज्यू बढी बोल्दै हुनुहुन्छ । पुर्जा बकाइदा बुढा बाकी श्रीमतीको नाममा छ । अरू कुरा किन चाहियो वडा कार्यालयलाई ? प्रमाण भएपछि पुगिहाल्यो नि । तपाईँले किन वडावासीसँग बुझिराख्नुप¥यो ? खुरुक्क सिफारिस दिए भइहाल्छ नि । बरु वडाध्यक्षज्यूलाई अलिअलि खर्च चाहिए भन्नुस् । त्यही भएर पनि ५ बजेपछि भेट्छु भनेको । तपाईँले कुरा नै बुझ्नुभएनछ । रिसलाई नियन्त्रण गर्दै मैले जवाफ फर्काएँ, ‘तपार्इँको बुढा बाको फाइलमा पक्कै केही कैफियत छ । त्यही भएर तपाईँले मलाई ५ बजेपछि भेट्न खोज्नुभएको हो । तपार्इँको फाइलमा त्यस्तै कुनै कैफियत छैन भने म तपाईँलाई तत्कालै सिफारिस दिन सक्छु । तर, तपार्इँको कुुराले मलाई कैफियत भएको कुरामा झन् विश्वास भयो । तपाई वडा कार्यालयबाट जान्नुस् अहिले नै ।” मैले कार्यालय सहायकलाई बोलाएर त्यस भलाद्मी व्यक्तिलाई बाहिर लिएर जान निर्देशन दिएँ ।
वडाको निर्वाचित समितिको बैठकले बुढा बाको फाइलबारे टोलवासीसँग बुझ्न शनिबार बैठक राख्ने निर्णय गरेको थियो । शुक्रबार निर्वाचित समितिको बैठकले त्यस जग्गामा केही कैफियत भएको ठहर गरिसकेको थियो । टोलवासीको धारणा बुझ्न सार्वजनिक सूचना टाँस गरी शनिबार बिहान वडामा बैठक बोलाइएको थियो । बिहान सात नबज्दै वडा अफिसमा मानिस जम्मा भइसकेको थिए । बुढा बा र त्यस भलाद्मी व्यक्तिमात्र अनुपस्थित थिए । केही समयपछि उनीहरू पनि आइपुगे । सुरुमा फाइलको जग्गाको पृष्ठभूमि बताएँ । त्यसपछि टोलवासीलाई बोल्न अनुमति दिएँ । टोलवासीमध्येकै एक पाको व्यक्तिले त्यस जग्गाको विषयमा बेलीविस्तार लगाए, ‘यो जग्गा कुनै पनि हालतमा त्यस बुढा बाको नभएको र वि.सं. १९९० सालको भूकम्पअघि त्यस ठाउँमा एक सन्तान नभएको दम्पत्ती बस्ने गरेको र ९० सालको भूकम्पमा त्यस घर भत्किँदा दुवै लोग्ने स्वास्नीको मृत्यु भएपछि त्यो जग्गा खण्डहरमा परिणत भएको हो । हाल आएर यो बुढाले मालपोतमा घूस खुवाएर आफ्नो नाममा पुर्जा बनाएको हुनुपर्छ । साथै विजया दशमीको अष्टमी र नवमीमा त्यस ठाउँमा कृष्ण भगवान स्थापना गरी भक्तपुरवासीले पूजा गर्दै आएको ठाउँ भएकोले यो जग्गा कृष्ण भगवानको हो र सार्वजनिक प्रयोजनको जग्गा हो । यो जग्गा बेच्न कुनै पनि हालतमा वडाले सिफारिस दिनु हुन्न । जनप्रतिनिधि नभएको बेला पनि सचिवलाई धेरै दबाब दिएर यस बुढा बाले जग्गा बेच्न खोजेका थिए । अहिले पनि यही षड्यन्त्र गर्न खोज्दै छ । त्यसलगत्तै अरू वडावासीहरूलाई आ–आफ्नो धारणा राख्ने अनुमति दिएँ । बैठकमा वडावासी सबैको त्यही राय आएपछि जनप्रतिनिधिहरूलाई बोल्ने मौका दिएँ । जनप्रतिनिधिहरूले कानुनी पक्षमात्र नलिई व्यवहारिक पक्षलाई मध्यनजर गर्नुपर्ने र सार्वजनिक जग्गाहरूको संरक्षण नगरपालिकाले गर्नुपर्ने राय दिए । त्यसपछि मैले छलफलको निचोड निकाले र निर्णय सुनाएँ, “यो जग्गाको सम्बन्धमा टोलवासीहरूको रायलाई ध्यानमा राख्दै जिल्ला अदालतले गरेको फैसलासमेत अध्ययन गरी हाललाई सिफारिस नदिने र थप छलफल गर्दै जाने निर्णय गरिएको छ ।”
मेरो निर्णय सुनेपछि टोलवासीले तालि बजाएर स्वागत गरे भने बुढा बा र त्यस भलाद्मी व्यक्ति शिर निहु¥याएर वडा बाहिर गए । धन्यवाद दिई छलफललाई टुङ्ग्याएँ ।
Leave a Reply