भर्खरै :

सिमाना, कालोपन र साम्राज्य

दुई दिन लाग्यो, जम्मा दुई दिन लाग्यो संरा अमेरिकी सरकारलाई हाइटीबाट शरण माग्दै अमेरिका आइपुगेका ६ हजारभन्दा बढीलाई पुनः हाइटीमै फर्काउन । करिब १५ हजार तीमध्ये सबै हाइटियन भएको अनुमान छ, टेक्सासको डेल रियो र मेक्सिकोको सिउडाड अकुनाबीचको रियो ग्रान्डे नदीको किनारामा क्याम्प बनाएर बसेका थिए । सेप्टेम्बर १८ को दिन अमेरिकाका मूलधारका मिडियाले दुई देशको सिमानामा आएका ती हाइटीका आप्रवासीहरूको कारणले सङ्कट आउन सक्ने समाचार प्रशारण गरे । लगत्तै सेप्टेम्बर २० को दिन बाइडेन प्रशासन तिनीहरूबाट छुटकारा पाउने कोसिसमा लागिहाल्यो, सयौंको सङ्ख्यामा होमल्यान्ड सेक्युरिटी एजेन्टस् (गुप्तचर प्रहरी) परिचालन ग¥यो, तिनीहरूलाई अमेरिकी तटरक्षक फौज र स्थल सेनाको पनि साथ रह्यो । त्यसबारे जमैकाको समाचारपत्र द ग्लिनरले लेख्यो – “यो अभियान संरा अमेरिकाको इतिहासमा दसकौंपछिको सबैभन्दा शिघ्र गतिको र ठूलो आकारको आप्रवासी र शरणार्थीहरूलाई अमेरिकाबाट निकाला गर्ने कारबाही हो ।”
संरा अमेरिकी जातिवादीहरूको दृष्टिमा यस शिघ्र गतिको, अकल्पनीय कदम मात्र ‘टेक्सासलाई कब्जा गर्न आएका आप्रवासीहरूको बथान’ प्रतिको भित्री घृणामात्र थिएन बरू यो कालो रङ्गदेखिको त्रास र ‘राष्ट्रलाई सङ्क्रमित पार्न’ सिमाना पार गर्दै अमेरिका भित्रन चाहने काला मानिसका भुतहरू पन्छाउने प्रयास थियो । हाइटियनहरूले कालोपनको पनि कालोपनको प्रतिनिधित्व गर्छन्, तिनीहरूका अग्रजहरूले प्रागऐतिहासिक कालदेखि रहेको गोरा सर्वोच्चतालाई अमेरिकी महादेशमै पहिलोपटक चुनौती दिएका थिए । त्यसैले अमेरिकी सीमा गस्तीका गुप्तचर प्रहरीहरूका नजरमा हाइटीका आप्रवासीहरूको राक्षसीकरण गरिएका तस्विरहरूमात्र अगाडि थिए र तिनीहरूले कालोपनलाई त्यसैअनुसार बुझे र व्यवहार गरे । तर, अमेरिकी सीमारक्षकहरूका ती कारबाहीले विश्वकै प्रगतिशील मानिसहरूको माझमा मानवीय मूल्य र नैतिकतालाई लिएर समान किसिमको आगो बालिदियो, नत्र अरू बेला तिनीहरू हाइटीको राजनीति र अमेरिकी नीतिहरूमा कमैमात्र चासो दिने गर्थे ।

निश्चय पनि त्रासले तथ्यमाथि विजय हासिल गरिसकेको छ । हामी सर्वसाधारण जनतालाई यो पनि थाहा छैन कि के सिमानामा आइपुगेका ती सबै काला शरणार्थीहरू हाइटीबाटै आएका थिए वा अन्तबाट पनि ? पटक–पटक समाचारमा बताइएको थियो कि दक्षिण र मध्य अमेरिकाभरिका काला आप्रवासीहरू अमेरिका प्रवेश गरिरहेका छन् । ती आप्रवासीहरू ब्राजिल, भेनेजुयला, होन्डुरस, निकारागुआका साथसाथै अफ्रिका महादेशबाट समेत आइरहेका बताइएका थिए । तर, हाइटीको कालोपन, हाइटीले विशेष किसिमको कालोपनको प्रतिनिधित्व गरेर गोरा सर्वोच्चताको राज्य (संरा अमेरिका) लाई त्रसित पारिरहेको छ ।
हाइटीका मानिसहरूप्रति संरा अमेरिकाले गरेको पछिल्लो जातिवादी व्यवहारप्रति हाम्रो पूर्ण निन्दा छ र त्यसले अन्य आप्रवासीहरूप्रतिभन्दा भिन्न कसरी काला मानिसहरूको आप्रवासनप्रति अमेरिकी सरकार विभेदकारी रहेको छ भनी छर्लङ्ग पारेको छ । तर, हामीले अमेरिका–मेक्सिको सिमानामा देखिएको आप्रवासीहरूको लहरलाई व्यापक ज्ञपमा संरा अमेरिका र त्यस क्षेत्रमा पश्चिमा साम्राज्यवादको भूमिकालाई नबुझिकन बुझ्नै सक्दैनौँ । त्यसरी नबुझ्नुको अर्थ हामीले कब्जा गरिएका हाइटी र हाइटीका मानिसहरूलाई पश्चिमा संसारभन्दा भिन्न देखाउने साम्राज्यवादी दृष्टिकोणलाई निरन्तरता दिनु हुनेछ । त्यसैले हामीले हाइटियनहरूको आप्रवासनमा मात्र ध्यान दिएर पुग्दैन बरू हाइटियन आप्रवासनको संरचनागत र ऐतिहासिक कारणहरूबारे पनि चिन्तन गर्नैपर्छ ।
डेल रियोको सिमानामा १५ हजार आप्रवासीहरू बिनाकारण त्यत्तिकै उत्पन्न भएका थिएनन् । तिनीहरू त हालैका हाइटी, मध्य र दक्षिण अमेरिकी देशहरू र अफ्रिकी देशहरूमा भइरहेका अशान्ति, असुरक्षा र बेरोजगारीका स्थितिबाट मुक्त हुने आशाले भागेर आएका केही अभागीहरू मात्र हुन् । फेरि ती क्षेत्रबाट अमेरिकामा शरण माग्नेहरूलाई वर्षौंदेखि यस्तै दुव्र्यवहार हुँदै आएको छ । हाइटी, मध्य र दक्षिण अमेरिकी देशहरू र अफ्रिकी देशहरूबाट आएका हजारौं आप्रवासीहरू अहिले पनि मेक्सिकोमा महिनौँदेखि र कतिपय त वर्षौंदेखि रोकिएर बसेका छन् । यसको दुई मुख्य कारण छन् ः पहिलो र सबैभन्दा तत्कालीन कारण त संरा अमेरिकाको घरेलु नीतिमा आएको परिवर्तन हो । जबसम्म संरा अमेरिकालाई जनशक्तिको आवश्यकता थियो, उसले आफनो देशलाई शरणार्थीहरूको स्वर्गको रूपमा प्रचार ग¥यो । सन् २०१९ मा आएर ट्रम्प प्रशासनले ‘मेक्सिकोमै रोक’ कार्यक्रम कार्यान्वयन ग¥यो । आर्थिक वृद्धि र रोजगारी सिर्जनामा असफल भएका अमेरिकी सरकारको त्यस कार्यक्रमले शरणार्थीहरूलाई मेक्सिकोमै रोकिनलाई भन्यो तर उनीहरूको निवेदनलाई अमेरिकी आप्रवासन अदालतमा सुनुवाइको प्रक्रियामा लगाइदियो । यो प्रक्रियाले महिनौंमात्र होइन वर्षौं लाग्ने देखियो । उदाहरणको लागि २०१९ को अन्तिममा अमेरिका–मेक्सिको सिमानाको मेक्सिकोतिर १६ हजार बालबालिकासहित ५६ हजार शरणार्थीहरू थिए । उनीहरू आप्रवासन अदालतको प्रक्रिया टुङ्गिने र अमेरिका प्रवेश गरेर काम गरेर बस्न पाउने आशामा छन् । त्यस प्रक्रियालाई ढिलो गर्दै संरा अमेरिकाले मिटरिङ्ग प्रणाली लागू ग¥यो जसअनुसार अमेरिकी सीमारक्षकहरूले शरणको अनुमति प्राप्त गरिसकेका दैनिक केही दर्जन मानिसहरूलाई मात्र प्रवेश दिने गर्दछ । यो मिटरिङ्ग प्रणाली ओबामा प्रशासनकै पालामा २०१६ मा लागू गरिएको थियो । यो संरा अमेरिकाको शरणार्थीहरूलाई फर्काउने प्रभावकारी चाल मात्र हो ।

यहाँ यो पनि मननयोग्य छ कि संरा अमेरिकाको यो शरणार्थीहरूप्रतिको दमनकारी उपाय मेक्सिको सरकारको संलग्नबिना सफल कार्यान्वयन हुनसक्दैन । ट्रम्प प्रशासनले –मेक्सिकोमा रोक– नीति लागू गर्नका लागि मेक्सिकोका वामपन्थी राष्ट्रपति आन्ड्रेज म्यानुअल लोपेज ओब्राडरको सरकारलाई आफ्नो नीतिमा सहकार्य गर्न अथवा आर्थिक नाकाबन्दी सामना गर्न धम्की दिएको थियो । आर्थिक मन्दीबाट गुज्रिरहेको देश मेक्सिकोका राष्ट्रपतिका अगाडि तत्काल अमेरिकासित सहकार्यबाहेकको अर्को राम्रो विकल्प थिएन हो तर पछिबाट ओब्राडरले सहकार्यबाहेक अगाडि बढेर धेरै काम गरे । उनले देशको उत्तरी र दक्षिणी सिमानामा मेक्सिकन नेशनल गार्ड र सैनिकहरू समेत परिचालन गरे । जहाँ नेशनल गार्ड र सैनिकहरूबाट आप्रवासी र शरणार्थीहरूमाथि क्रुरतापूर्वक आक्रमण भयो र आप्रवासीहरूको समूहहरूलाई छिन्नभिन्न पार्ने काम भयो ।
ट्रम्पले त क्रुरतापूर्ण नीतिलाई कार्यान्वयन र विस्तारमात्र गरेका थिए तर ती नीतिहरू त ओबामाकै पालामा बनेका थिए । आफ्नो कार्यकालको अन्तिमतिर मार्च २०२० मा ट्रम्पका सल्लाहकारहरूले शरणार्थी र आप्रवासनसम्बन्धी अमेरिकी र अन्तर्राष्ट्रिय कानुनहरूलाई नै छल्न कोभिड–१९ को महामारीको बहानालाई प्रयोग गर्न सुझाव दिए । त्यो सुझाव ‘सङ्घीय नियमावली संहिताको टाइटल –४२’ नाममा कुख्यात भयो । टाइटल –४२ ले रोग नियन्त्रण केन्द्र–सीडीसीको नाममा अमेरिकी सरकारलाई सङ्क्रामक रोग बोकेर आउनसक्ने व्यक्तिहरूलाई रोक्ने नाउँमा जो कोहीलाई अमेरिका प्रवेशमा रोक लगाउन सक्ने अधिकार दिन्छ । सीडीसीले हाइटीलाई कोभिड–१९को उच्च जोखिम भएका देशको सूचीमा राख्यो जबकि हाइटीमा तुलनात्मक रूपमा सङ्क्रमण दर कम रहेको छ । त्यस्तै सीडीसीले १९८० को दसकमा हाइटियनहरूले एचआईभी÷एडसको भाइरस बोक्नसक्ने षड्यन्त्रपूर्ण प्रतिवेदन दिएर विभेदपूर्ण व्यवहारका लागि आधार प्रदान गरेको थियो । हाइटियनहरूमा सङ्क्रमण दर कति छ त्यसको मतलब छैन, पहिले ट्रम्पले र अहिले बाइडेनले कुनै उचित प्रक्रियाबिना नै हाइटी र ल्याटिन अमेरिकाका कालो वर्णका मानिसहरूलाई विभेदपूर्ण व्यवहार गरिरहेको छ । हालै एक सङ्घीय अदालतका न्यायाधीशले संविधानविपरीत भन्दै बाइडेनको टाइटल – ४२ को प्रयोगलाई रोक्ने आदेश दियो । त्यसको विरूद्ध बाइडेन प्रशासनले माथिल्लो अदालतमा पुनरावेदन गरेको छ ।
अमेरिकामा शरण खोज्ने आप्रवासीहरूको सङ्ख्या बढ्दै जानुको दोस्रो मुख्य कारण आप्रवासीहरू स्वयम्ले ‘माइग्रेन्ट क्याराभान’ को नाममा सङ्गठन बनाएर अघि बढ्नु हो । आफ्नो देशमा राजनीतिक अस्थिरताको कारण आर्थिक प्रगतिको सम्भावना नदेखेका आप्रवासीहरू ठूलो सङ्ख्यामा ‘माइग्रेन्ट क्याराभान’ को नाममा सङ्गठित भएर आफ्नै सवारी साधनको प्रयोग गरेर स्थलमार्ग भएर अन्तर्राष्ट्रिय सिमाना नाघ्ने गर्छन् । यस्तो पहिलो ठूलो आकारको ‘माइग्रेन्ट क्याराभान’ २०१८ को सुरूमा होन्डुरसबाट मेक्सिको आइपुगेको थियो । अहिले ‘माइग्रेन्ट क्याराभान’ लाई आप्रवासीहरूले आफूलाई अपराधीहरूको आक्रमण र शोषणबाट बचाउने र आफ्नो खतरनाक लामो यात्रामा समुदाय साथमा हुने उपायको रूपमा लिन थालेका छन् । हालैका क्याराभानहरूमा अमेरिकामा शरण खोज्ने कोलम्बिया, भेनेजुयला, एल साल्भाडोर, होन्डुरस, क्युवा, हाइटी, गिनियालगायत सबैजसो ल्याटिन अमेरिकी देशका समूहहरू समावेश भएका छन् ।
यद्यपि आप्रवासन नै समस्याको समाधान होइन तर आप्रवासीहरूमाथि सरकारहरूबाट भइरहेका अन्याय, अत्याचार र जातिवादी घृणाले भरिएका आक्रमणहरू जायज होइनन् । अमेरिका–मेक्सिको सिमानामा हाइटीका आप्रवासीहरूमाथि अमेरिकी सिपाहीहरूबाट भएका अत्याचार सहनयोग्य थिएन । अमेरिकी साम्राज्यवादले सेना खटाएर सिमाना बन्द गर्नुभन्दा आप्रवासन सुरू हुने अवस्था नै आउन नदिनेबारे सोचेको भए राम्रो हुन्थ्यो । सत्य त यो हो कि यदि संरा अमेरिका र त्यसका पिछलग्गूहरूले हाइटीको सम्प्रभुताको सम्मान गर्दै त्यहाँ हस्तक्षेप र चलखेल नगरेको भए न हाइटीको अवस्था आजजस्तो खराब बन्थ्यो न अमेरिका–मेक्सिको सिमानामा हाटियन आप्रवासीहरूको भीड हुन्थ्यो । हो यदि अमेरिकी सेनाको कब्जाकालमा हाइटीमा ३ हजारभन्दा मानिसको ज्यान जानेगरी हैजाको सङ्क्रमण नल्याएको भए हाइटीका मानिस आफ्नो देश छोडेर अमेरिका–मेक्सिको सिमानातिर अगाडि बढ्ने थिएनन् । यदि संयुक्त राष्ट्र सङ्घ, संरा अमेरिका, ओएएस र क्षेत्रीय स्वार्थ समूहहरूले हाइटी राज्य विघटनका लागि मिलेर काम नगरेको भए, जननिर्वाचित नेताहरू हटाएर वा मारेर आफ्ना दक्षिणपन्थी कठपुतलीहरूलाई स्थापना नगरेको भए र हाइटीलाई संरा अमेरिका र त्यसका पिछलग्गुहरूको उपनिवेशमा परिणत नगरेको भए सायदै हाइटीको आप्रवासीहरू सिर्जना हुन्थे ।
अमेरिकी साम्राज्यवाद स्वयम्ले धेरैलाई आफ्नो देशमा बस्न नसक्ने अवस्था उत्पन्न गरी हाइटीको आप्रवासी सङ्कट सिर्जना गरेको हो । हाइटीका शरणार्थीहरू सिधै हाइटीबाट अमेरिका वा अमेरिकातिर हानिएका थिएनन् । उनीहरू पहिले ब्राजिल, भेनेजुयला, कोलमिबयाजस्ता ल्याटिन अमेरिकी देशमा पुगेका थिए र ती देशमा बस्न सकिने अवस्था नरहेपछि उनीहरू अमेरिकातिर मोडिएका हुन् । उदाहरणको लागि ब्राजिलमा लुला दा सिलभाको नेतृत्वमा मजदुर पार्टीको सरकार रहेसम्म त्यहाँ आप्रवासीहरूको सुरक्षा र रोजगारको बन्दोबस्त थियो । त्यसको ठाउँमा पूर्वसैनिक दक्षिणपन्थी जायर बोल्सोनारो राष्ट्रपतिमा आएपछि आप्रवासी र शरणार्थीमैत्री नीति उल्टाएर उनीहरूलाई लेखेट्न थाल्यो । ब्राजिलमा सम्पन्न फिफा विश्वकप २०१४ र २०१६ को विश्व ओलम्पिक सफल पार्न सस्तो ज्यालामा काम गरेका हाइटीका आप्रवासीहरूलाई त्यस गुणको बदला रोजगार र देशबाटै निकाला गरेर तिरिएको छ ।
शरण खोजिरहेका हाइटीका मानिसहरूलाई संरा अमेरिकालगायत विभिन्न देशमा जातिवादी घृणाको दृष्टिले गरेका आक्रमण र अत्याचारहरूको निन्दा गर्न जरूरी छ । साथै अमेरिका– मेक्सिको सिमानामा दुःख पाइरहेका सबै आप्रवासीहरूमाथि भइरहेका अन्यायहरूको विरोध गर्न पनि हामीले बिर्सन मिल्दैन । पृथ्वी सबै मानिस र प्राणीहरूको साझा घर हो । हामीले अमेरिकी गोरा सर्वोच्चतावादीहरूलाई प्रश्न गर्नुपर्छ ः हाइटीका मानिस शरण माग्न आउँदा रिसाएकाहरूले हाइटीमा किन आफ्नो उपनिवेशवादी योजना लागू गरिरहेका छौ ?

(जेमिमा पियरे ब्ल्याक मामिला प्रतिवेदनका लेखक, हाइटी ÷ अमेरिका शान्तिका लागि काला जातिको मोर्चाका संयोजक तथा क्यालिफोर्निया विश्वविद्यालय लसएन्जलसमा काला जाति अध्ययनका प्राध्यापक हुन् ।)
अनुवाद– प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *