भर्खरै :

दसैँको यात्रा सुरक्षित गर्नको लागि

दसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकालगायत देशका प्रमुख सहरबाट घर फर्किनेहरूका कारण आगामी साताबाट लामो दूरीका यातायातका साधनको व्यस्तताको चाप बढ्दै जाने देखिन्छ । कोभिड–१९ सङ्क्रमण दर तुलनात्मकरूपमा न्यून भएको अवस्थामा घर फर्किने मान्छेको सङ्ख्या यो वर्षअघि बढ्ने छ । यस्तो अवस्थामा राज्यले केही क्षेत्रमा विशेष संवदेनशीलता देखाउन विलम्ब गर्नुहुन्न ।
प्रथमतः कोभिड महामारीको बहानामा यातायात सेवा सञ्चालकहरूले मनपरी भाडा असुल्ने समस्याबारे राज्यका जिम्मेवार निकायले विशेष ध्यान दिन जरूरी छ । राज्यका निकायले वैज्ञानिक आधारमा निश्चित भाडा दर निर्धारण गरी त्यसको कडाइपूर्वक पालना गराउन जरूरी छ । लामो दूरीका यातायात सेवा सञ्चालकले जथाभावी भाडा उठाउँदा त्यसै पनि महामारीको मारमा उपभोक्ता अर्को मारमा पर्नेछन् ।
दोस्रो, सुरक्षित यात्राको लागि राज्यका निकायहरूले ध्यान पु¥याउनुपर्छ । यो वर्ष भएको अत्याधिक वर्षाको कारण बाटोघाटो र पुलपुलेसा बिग्रे–भत्केका छन् । ती बिग्रे–भत्केका सडक सवारी दुर्घटनाको कारण नहोस् भन्नाको निम्ति तिनको जीर्णोद्धारमा सरकारी निकायले अहिले नै तदारूकता देखाउन जरूरी छ । त्यस्तै सवारी चालक र मजदुरको कमजोरी र लापर्वाहीको कारण हुने दुर्घटना रोकथामको निम्ति पनि प्रहरी प्रशासनले समयमै ध्यान र आवश्यक तयारी गर्न जरूरी छ ।
तेस्रो, कोभिड–१९ को सङ्क्रमण दर तुलनात्मकरूपमा न्यून भए पनि अझै पनि महामारीको खतरा टरिसकेको छैन । विज्ञहरू अझै पनि लापर्वाही भए अर्को लहर कुनै पनि बेला आउन सक्ने चेतावनी दिइरहेका छन् । संसारको अनुभवले धेरै मानिस जम्मा हुने मेला, खेलकुद कार्यक्रम, चाडपर्वबाट सङ्क्रमण तीव्र गतिमा फैलिने गरेको देखाएको छ । लामो दूरीको यात्रामा सावधानीका उपाय नअपनाए सङ्क्रमण त्यहीँबाट पनि फैलिने जोखिम हुन्छ । स–सानो कमजोरी र लापरबाहीले फेरि पनि अर्को आपत्ति आउनेप्रति सबै नागरिक सजग हुनुपर्छ । केही हजार थप आम्दानी कमाउने नाममा हुने कमजोरीले सिङ्गो देश नै आपत्मा पर्ने अवस्था बन्नुहुन्न ।
चौथौ, दसैं–तिहार मनाउन भारतमा श्रम गर्न गएका धेरै नेपाली घर फर्किन्छन् । भारत अझै पनि महामारीको जोखिममा रहेको देश हो । त्यसकारण खुला सीमा नाघेर नेपाल फर्किने नेपालीहरूको पनि राम्ररी स्वास्थ्य परीक्षणमा राज्यले जिम्मेवार भूमिका निभाउनुपर्छ । सीमावर्ती क्षेत्रमा झारा टार्ने हिसाबले नभई कम्तीमा ज्वरोको परीक्षण गर्ने, मास्क अनिवार्य गर्नेजस्ता न्युनतम नियमको पालनामा जोड दिनुपर्छ ।
दसैं–तिहारमा लापरबाहीको कारण सङ्क्रमण बढ्न सक्नेबारे स्थानीय तह पनि चनाखो बन्नुपर्छ । स्थानीय तहमै महामारी रोकथाम र नियन्त्रणको निम्ति सजगता अपनाउन आवश्यक छ । ठूलठूला मेलामा स्वास्थ्य मापदण्डको पालना अनिवार्य गर्न स्थानीय तहले सक्रियता देखाउन जरूरी छ ।
दसैंपछि सङ्क्रमण दर बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखी सङ्घीय र प्रदेश सरकारहरूले आवश्यक पूर्वाधार विकासलाई ध्यान दिन जरूरी छ । नेपालमा खोप लगाउनेको दर कदरयोग्य भए पनि बहुमत जनतालाई खोप लगाउने लक्ष्यबाट सरकार अझै टाढा छ । खोप लगाएका मानिसमा समेत सङ्क्रमण भइरहेको अवस्थामा एकातिर खोप अभियानलाई व्यापक बनाउनुपर्ने अवस्था छ भने अर्काेतिर खोप लगाइसकेका मानिसले पनि सावधानीका उपाय पालना गर्नुपर्ने छ ।
दसैं–तिहार निश्चय पनि सामाजिक सद्भाव फैलाउने उत्सव हुन् । ती चाडपर्वलाई आवेशपूर्ण नभई सजगताका साथ मनाउन जरूरी छ । संस्कृति जीवनको लागि हो, विनाशको निम्ति हुने कुनै पनि गतिविधि संस्कृति हुनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *